प्रकाशित मिति : भाद्र १८, २०८१ मंगलबार
नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरुले बताएका छन ।
अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ । मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ । यी सबै नसर्ने रोग हुन् ।
स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उहाँको अनुभव छ । खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ ।
धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ । अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ डा कोजु भन्नुहुन्छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ का अनुसार नसर्ने रोगबाट वार्षिक ४ करोड १० लाखले ज्यान गुमाउने गरेका छन् । जुन विश्वव्यापी रुपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो ।
हरेक वर्ष १ करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन् । नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन् ।
कार्डियो भास्कुलर रोग (सिभिडी ) बाट वार्षिक १ करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रुपमा ज्यान गुमाउने गरेका छन् । नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ ।
सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहम भूमिका खेलिरहेका छन् ।
नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ ।
रोकथाममा ध्यान दिन आवश्यक एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घ रोग, सुक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ । यो रोगबाट जुनसुकै उमेरका व्यक्तिहरु प्रभावित हुन सक्छन् । उपचारात्मकभन्दा रोकथाममा नै सुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ ।
मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भन्नुहुन्छ वंशाणुगतबाहेक जङ्क फुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ । सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनी रोग बढिरहेको देखिन्छ ।
मोबाइल हेर्ने बानीले एकोहिरने हुन्छ जसले गर्दा स्ट्रेस तह पनि बढ्दै गएको देखिन्छ । स्वस्थ्यकर खाना जस्तै तरकारी, फलफूल खानुपर्छ । व्यायाम र धुमपानबाट टाढा रहे धेरै रोगबाट बच्न सकिन्छ डा कोजु भन्नुहुन्छ ।
उहाँकाअनुसार मोबाइल टिभीमा लत लगाउनुभन्दा खेलकुदमा अभिभावकले ध्यान दिनुपर्छ । नेपालले नसर्ने रोगका कारणले अल्पायुमा हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।
त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ ।