नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान



मेरो पहिलो भोट शृङ्खला-२

घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे । सडक वरिपरिका घरहरू धुलोले छपक्कै छोपेको छ । सास रोकिएलाझैं हुन्छ । यो अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको दुर्दशा हो ।
३ वर्ष भयो यहाँका स्थानीय यसरी नै बाँच्न विवश छन् ।

ठेकेदारलाई दिएको समय सकियो । तर, काम सकिएन ।

‘फेरि एक वर्षको म्याद थप भएको छ नि,’ सहकर्मी कपिल कोइरालाले सुनाए । उनका अनुसार यो सडकखण्ड १५.८ किलोमिटर मात्र हो । तर सम्झौताअनुसार स्तरोन्नति भएन ।

यही सडकखण्डको २८ किलो चोकबाट ८०० मिटर भित्र छ, काठमाडौं विश्वविद्यालय । यो सडकबाट स्थानीय मात्र होइन, विश्वविद्यालयमा अध्ययनरत २२ हजार विद्यार्थी र शिक्षक पनि प्रताडित छन् ।

अनलाइनखबरको टिम ‘मेरो पहिलो भोट’ को शृङ्खलाका लागि केयू पुगेको थियो । प्रतिनिधिसभा चुनावमा पहिलो पटक भोट दिन तयार भएका जेनजीलाई पच्छ्याउदै हामी केयू पुगेका थियौं ।

जेनजी विद्यार्थीसँग अबको उम्मेदवार कस्तो हुनु पर्छ ? कस्तो एजेन्डा आजको आवश्यकता हो ? सामाजिक सञ्जालले चुनावमा कस्तो प्रभाव पार्छ ? यी र यस्तै प्रश्नमा विद्यार्थीले खुलेर आफ्नो मत राखेका छन् ।

प्रिय पाठक आउनुहोस्, पहिलो पटक मत दिन आतुर विद्यार्थीले राखेका मतहरू पढौं, हेरौं ।

अब भाषण मात्र होइन, सही शासन

केयूमा अध्ययनरत विद्यार्थीले पनि सूर्यविनायक–धुलिखेल सडकखण्डबाटै विषय उठान गरे ।

‘यहाँ आउँदै गर्दा सडकको हालत देख्नुभयो ?,’ विद्यार्थीले प्रतिप्रश्न गरे, ‘वर्षौंसम्म पनि यति सडक बन्दैन ? देश कसरी चल्छ ? कसरी बन्छ ?’

विद्यार्थीका प्रश्नैप्रश्नले मथिङ्गल हल्लिन्छ । तर अब उनीहरू प्रश्नको जवाफ मतबाट दिने तयारीमा छन् ।

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

२१ फागुनको चुनावमा सही प्रतिनिधिलाई मत दिने योजना उनीहरूले सुनाए ।

तीमध्येका एक हुन् सलोन तिम्सिना । ‘यसले गरेन, उसले सकेन भन्ने आरोप–प्रत्यारोप र भाषणमै सीमित छ । अब घृणाको आधारमा होइन, समाधानको आधारमा राजनीति गर्नसक्ने व्यक्ति चाहिन्छ,’ उनको निष्कर्ष छ, ‘नयाँ किसिमको राजनीति गर्नसक्ने मान्छे नै अहिलेको आवश्यकता हो ।’

तर, कस्तो प्रतिनिधि ?

प्रतिनिधिबारे उनीहरूले फरक–फरक मत जाहेर गरे ।

प्रसिद्ध पोखरेल अनुभवी प्रतिनिधिको आवश्यकता देख्छन् । ‘अनुभवी प्रतिनिधिले मात्र दिगो परिवर्तन ल्याउन सक्छ,’ उनले भने, ‘अनुभव बिना कुन परिवर्तन गर्ने, कसरी गर्ने भन्ने स्पष्ट हुँदैन ।’

तर, चुनावबाट प्रतिनिधि चुनिँदैमा तत्कालै आमूल परिवर्तनको सम्भावना देख्दैनन् उनीहरू । ‘अहिले देश एकदमै क्रिटिकल स्टेजमा छ, त्यसैले अत्यधिक ‘एक्स्ट्रिम’ परिवर्तन सम्भव छैन,’ उनले भने ।

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

सुशासनको खोजी

असल राज्य व्यवस्था र कल्याणकारी शासन व्यवस्थाको पक्षमा नयाँ पुस्ता एकमत देखिए । यस पटक सुशासनको एजेन्डालाई कार्यान्वयन गर्ने उम्मेदवार उनीहरूले चाहेका छन् ।

‘महत्वपूर्ण कुरा ट्रान्सपरेन्सी हो । ठूला–ठूला आश्वासनभन्दा पनि ग्राउन्ड लेभलमा काम गर्ने व्यक्ति चाहिन्छ,’ दीपबाबु न्यौपाने सुनाउँछन्, ‘मुख्य कुरा करप्सन गर्नु भएन । इमानदारीका साथ गर्ने प्रतिनिधि चाहिन्छ ।’

सुयोग्य पौडेल पनि यसैमा सहमति जनाउँछन् । ‘जेनजी आन्दोलनको मुख्य कारण नै एन्टी–करप्सन हो । करप्सनमा जिरो टोलरेन्स हुनुपर्छ,’ पोखरेलले थपे ।

रोजगारी सिर्जना गर्ने

युवा सधैं विदेश पलायन हुने हो ? देश रेमिट्यान्सबाट मात्र चल्ने हो ? अब यो प्रश्नको समाधान दिने प्रतिनिधि उनीहरूले चाहेका छन् ।

‘देशका युवालाई रोजगारी सिर्जना गर्ने र देश विकासमा ध्यान दिने प्रतिनिधि हुनुपर्छ,’ रञ्जिता पुरी भन्छिन्, ‘नेपालमा स्रोत-साधन धेरै छ । तर त्यसको उचित उपयोग हुन सकेको छैन ।’

नेपालमा के छैन ? सबै छ तर सही नेतृत्वको अभाव भयो । ‘स्रोत-साधनको सही तरिकाले प्रयोग गर्नसक्ने नेतृत्व चाहिन्छ,’ उनले थपिन् ।

जनताप्रति उत्तरदायी प्रतिनिधि

यतिबेला उम्मेदवारहरू मत माग्न घरदैलोमा छन् । तर चुनावपछि मतदातालाई बिर्सने प्रवृत्ति छ । जनताको मतबाट निर्वाचित भएपछि जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा उनीहरूको छ ।

‘जनताप्रति उत्तरदायी प्रतिनिधि चाहिन्छ । पढेका युवाहरू विदेश जाने ‘ब्रेन ड्रेन’ रोक्न व्यवसाय र रोजगारीका लागि राम्रो वातावरण बनाइदिनुपर्छ,’ प्रणीता कँडेलले भने, ‘नेपोटिज्म र करप्सनलाई समर्थन गर्ने विकास स्वीकार्य हुँदैन ।’

उत्सव भुर्तेलले पनि यसैमा सहमति जनाए ।

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

‘जसरी सरकार विधायिकाप्रति उत्तरदायी हुन्छ, त्यसरी नै विधायिका पनि सरकार र जनताप्रति उत्तरदायी हुनुपर्छ । त्यसो भए मात्र उनीहरू साँचो अर्थमा जनप्रतिनिधि हुन्छन्,’ उनले भने ।

नयाँ–पुरानो पुस्ता भनेर होइन समस्याको समाधान गर्ने प्रतिनिधि उनीहरूले चाहेका छन् । ‘नयाँ–पुरानो वा लोकप्रियताका आधारमा होइन, समस्याको जड पहिचान गरेर समाधान खोज्न सक्ने प्रतिनिधि हुनुपर्छ,’ सबल नेपालले भने ।

नेपालमा केही नभएको पनि होइन तर देखिनेगरी नभएको निचोड उनीहरूको छ । ‘करप्सन मुख्य समस्या हो । नेपालमा केही विकास र अचिभमेन्ट भएका छन् । तर ती देखिएका छैनन्,’ सुनिभा श्रेष्ठले भनिन्, ‘आफ्नो क्षेत्रमा राम्रो काम गरेर अचिभमेन्ट हासिल गर्ने व्यक्तिहरूलाई सपोर्ट गर्नुपर्छ ।’

सोसल मिडियाको प्रभाव : फ्याक्ट चेक आवश्यक

जेनजी–विद्यार्थीले सामाजिक सञ्जालले पारेको प्रभावबारे पनि आ-आफ्नो मत प्रकट गरे । सामाजिक सञ्जालबाट जेनजी आन्दोलनले त्यो रूप लियो । चुनावमा झन् प्रभाव नपर्ने कुरै भएन । सञ्जालको सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्छन् जेनजी–विद्यार्थी ।

‘सोसल मिडियाले राजनीतिक धारणा बनाउन ठूलो प्रभाव पार्छ । नेताहरूले पनि नबुझी ‘लाइक गरिदिनुहोस्, रिच बढाइदिनुहोस्’ भनेर भाषणमै भन्न थालेका छन् । अहिलेको समयमा यसको प्रभाव ठूलो छ,’ तिम्सिनाले भने ।

सामाजिक सञ्जाल चलाउँदा जिम्मेवार हुनुपर्नेमा उनीहरू एकै मत राख्छन् ।

‘सोसल मिडिया सबैभन्दा बढी जेनजीले प्रयोग गर्छन् । पार्टीहरूले यसलाई इन्फ्लुएन्सको माध्यम बनाइरहेका छन्, जसले सजिलै अरूलाई प्रभावित गर्नसक्छ । त्यसैले हामी जिम्मेवार हुनुपर्छ, घरमै पनि सचेतना फैलाउनुपर्छ,’ पोखरेलले भने ।

सामाजिक सञ्जालमा आएको सही हो/होइन आफैंले फ्याक्ट चेक गर्नुपर्ने धारणा उनीहरूको छ । ‘मिस इन्फर्मेसनको पछि लाग्नु हुँदैन । फ्याक्ट चेक गर्नु हाम्रो जिम्मेवारी हो,’ तिम्सिनाले भने ।

प्रसिद्ध पनि फ्याक्ट चेक गर्नुपर्ने मतमा सहमत हुन्छन् । ‘सोसल मिडियामा जे पोस्ट गरे पनि त्यसकै आधारमा रेडिकल हुनु हुँदैन । आफैं फ्याक्ट चेक गर्नुपर्छ,’ उनले भने ।

सामाजिक सञ्जालमा उम्मेदवारको गलत प्रचार भएका उदाहरण पनि प्रशस्तै छन् । त्यस्तो अफवाहको पछि लाग्न नहुनेमा उनीहरू सचेत देखिए ।

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

‘पार्टीका सबै व्यक्ति खराब हुँदैनन् । सबै नयाँ पार्टीका व्यक्ति राम्रा हुन्छन् भन्ने छैन । पार्टीभन्दा व्यक्ति, उसको आचरण र नैतिकता हेर्नुपर्छ,’ न्यौपानेले भने ।

सामाजिक सञ्जालको सकारात्मक पाटो पनि छ । कुन उम्मेदवार कस्तो हो भनेर मुझ्न मद्दत गरेको छ । ‘कसको ब्याकग्राउन्ड कस्तो छ भन्ने बुझ्न मद्दत गर्छ । यसको राम्रो र नराम्रो दुवै पक्ष छ,’ पौडेलले भने ।

सञ्जालमा फैलिने भ्रामक मिथ्या सूचनाबारे उनीहरू सचेत देखिए । ‘डिजिटल युगमा सोसल मिडियामा मिस इन्फर्मेसन र दुष्प्रचार फैलिने सम्भावना बढी हुन्छ । प्रयोगकर्ताले सूचना सत्य हो/होइन जाँच गरेर मात्र प्रतिक्रिया दिनुपर्छ,’ पुरीले भनिन् ।

सञ्जालमा आएकै आधारमा अन्तिम धारणा बनाउन नहुने निचोड उनीहरूको छ । ‘सोसल मिडियालाई समाचार हेर्ने टुलका रूपमा मात्र प्रयोग गर्नुपर्छ, अन्तिम धारणा बनाउन होइन,’ कँडेलले भनिन् ।

भुर्तेल र नेपाल पनि सामाजिक सञ्जाल हेरेर दृष्टिकोण बनाउन नहुने मत राख्छन् । ‘रिल्स वा पोस्ट हेरेर ‘यो मान्छे राम्रो छ’ भनेर विश्वास गर्नु हुँदैन । फ्याक्ट चेक गरेर आफ्नै दृष्टिकोण बनाउनुपर्छ,’ उनीहरूले भने ।

तर, भोट हाल्न उत्साहित

यी जेनजी विद्यार्थी निराशा र आक्रोशका बीच पनि पहिलो पटक भोट हाल्न उत्साहित छन् । गत भदौमा भएको जेनजी आन्दोलनले पनि उनीहरूलाई भोट दिन उत्साहित बनायो । नयाँ-पुराना उम्मेदवारभन्दा पनि विकासका एजेन्डा हेरर मत दिने मनस्थितिमा उनीहरू छन् ।

भविष्यप्रति आशावादी हुँदै उनीहरूले भने, ‘भविष्यप्रति होप छ । पढाइ सकेपछि देशमै बस्ने वातावरण हुनुपर्‍यो । गुणस्तरीय शिक्षा चाहियो । विकास ‘बाटो मात्र’ होइन, हाम्रो भविष्य सुनिश्चित हुनुपर्‍यो ।

र, उनीहरूले भने– हाम्रो पहिलो भोट देशका लागि ।

तस्वीर-भिडियो : शंकर गिरी/कमल प्रसाईं अनलाइनखबर

मेरो पहिलो भोट शृङ्खला-१





Source link

Leave a Comment