‘नयाँ दल’का दुःख र विरोधाभास

‘नयाँ दल’का दुःख र विरोधाभास


भनिरहनु परेन-२०७० को दशकमा ‘वैकल्पिक राजनीति’ र ‘नयाँ दल’ एक बलियो विमर्श र नयाँ राजनीतिक यथार्थ बनेर सामुन्ने आयो । २०६० को दशकमा यी शब्दावली विरलै प्रयोग हुन्थे ।

राजनीति ‘वैकल्पिक’ र ‘नयाँ’ हुन सक्दछ भन्ने सोच नै कमजोर थियो । नयाँ दलहरूको उदय, विकास र विस्तार असम्भव जस्तो मानिन्थ्यो । दलका संख्या त धेरै नै हुन्थे, दल बनाउने, नेता हुने रहर धेरैले गर्थे तर तिनले ‘वैकल्पिक’ र ‘नयाँ’ दाबी गर्दैनथे ।

आज पनि न दलको संख्यामा कुनै कमी छ न नेता हुने रहर गर्नेहरूको । भर्खरै जसपा नेपाल फुटेको छ । विभाजित जसपाको समेत गणना गर्दा संसद्भित्र १३ दल भएका छन् । निर्वाचन आयोगमा यो वर्ष ११८ दलको दर्ता अद्यावधिक थियो । सायद विभाजित जसपा ११९ दल बन्न पुग्यो ।

प्रथमतः यो प्रश्न उठ्छ कि यी मध्ये वैकल्पिक वा नयाँ दल कसलाई भन्ने ? कुुन दल नयाँ हो, कुन हैन ? के कारणले नयाँ हो वा हैन ? दल त कति छन् कति ? कुन नयाँ, कुन पुराना ? छुट्याउने आधार के ? यो आफैंमा जटिल प्रश्न हो ।

निर्वाचन आयोगमा दर्ता हुने मितिले कुनै दल नयाँ वा पुरानो हुने हैन । कुनै राजनीतिमा नचिनिएको, कम चिनिएको मान्छे वा राजनीतिमै नभएको कसैले दल बनाउँदैमा नयाँ हुने हैन । गैरराजनीतिक पृष्ठभूमिका युवा/युवतीले दल बनाए नयाँ हुने हैन ।

यसबारे मान्छेका आ–आफ्ना मापदण्ड होलान् । मेरो आफ्नै मापदण्ड छन् । मैले दलहरूलाई वैचारिक धारका रूपमा हेर्दछु । पुरानै वैचारिक धारमा फुट भयो, नयाँ गुट वा समूह जन्मियो, त्यसले भिन्नै पार्टी निर्वाचन आयोगमा दर्ता गर्‍यो वा घोषणा गर्‍यो भने त्यसलाई नयाँ भन्न सकिन्न ।

नयाँ दल हुन त्यसको सोच र अभ्यास दुवै नयाँ हुनुपर्दछ । कम्तीमा अस्तित्वमा भइरहेका दलहरूभन्दा फरक सोच, संस्कार, संस्कृति र अभ्यास हुनुपर्दछ । केही न केही त्यस्तो नयाँ गुण वा गुणस्तर हुनुपर्दछ ।

यस मापदण्डबाट हेर्दा– राजावादी, रुढीवादी, निरंकुशतावादी वा लोकतन्त्र विरोधी दल नयाँ मानिंदैनन् । राप्रपा एक हजार पटक टुक्रिए पनि त्यसको कुनै पनि समूह वा गुट नयाँ हुँदैन, पुरानै हुन्छ ।

किनकि निरंकुशतावाद, वंश, नश्लवाद वा ‘कन्जर्भेटिज्म’ एक निकै पुरानो विचार हो । नेपालका सन्दर्भमा यो जहानियाँ राणाशासन, निर्दलीय पञ्चायती व्यवस्था र शाहवंशीय राजतन्त्रसँग जोडिएर आएको छ । शताब्दीऔंदेखि यो शक्ति नेपाली समाजमा छ । देशमा सबैभन्दा लामो शासन गर्ने विचार र शक्ति पनि यही हो । यो धारमा थुप्रै दल, समूह होलान्, तर ती नयाँ हैनन् ।

उदार–लोकतान्त्रिक, प्रजातान्त्रिक समाजवादी वा कांग्रेस धारका दलहरूलाई पनि नयाँ हैन । यो धारमा नेपाली कांग्रेस बाहेक कुनकुन र कति दल छन्, गणना गरेको छैन । ११९ भित्र पक्कै यो वैचारिक धारका दल होलान्, तिनलाई नयाँ वा वैकल्पिक मान्नुपर्ने कुनै कारण र आधार छैन ।

विश्व सन्दर्भमा यो धेरै पुरानो विचार हो । बेलायतको गौरवमय क्रान्तिको समयमा सुरु भएको । लोकतान्त्रिक आन्दोलनको प्रारम्भिक चरणमा यो निकै क्रान्तिकारी र प्रगतिशील विचार थियो । प्रकारान्तरले यो एक शास्त्रीय लोकतन्त्र प्रारूप–प्रतिनिधिमूलक लोकतन्त्रको जडतामा फस्यो ।

‘प्रजातान्त्रिक समाजवाद’ वा ‘सामाजिक लोकतन्त्र’ पनि एक्काइसौं शताब्दीका लागि कुनै नयाँ विचार हैन, न त यसले कुनै नयाँ तथा उन्नत अभ्यासको मार्गदर्शन नै गर्न सक्दछ । यो धारको राजनीति उन्नाइसौं शताब्दीको उत्तरार्धतिर जर्मनीबाट संस्थागत भएको थियो । फर्डिनान्ड लासाल, एडबर्ड बर्नस्टिन, कार्ल काउत्स्की आदि यो धारका मुख्य चिन्तक थिए ।

नेपालमा यो धारको पहिलो दल नेपाली कांग्रेस हैन, प्रजापरिषद् थियो । नेपालमा यो विचार, आन्दोलन र दलको इतिहास करिब एक शताब्दी लामो हुन्छ । यो धारको दलले बारम्बार चुनाव जितेको छ, बारम्बार सत्तामा गएको छ । २००७ सालपछि, २०१५ सालको आम चुनावपछि र २०४६ सालयताको अवधि सबैलाई एकठाउँ जोड्दा यो धारको विचार र दलले करिब १८ वर्ष यो देशमा शासन गरेको छ । यसले गर्ने अभ्यास र दिन सक्ने ‘डेलिभरी’ को सीमा प्रष्ट भइसकेको छ तसर्थ यो पनि नयाँ हैन ।

नेपालमा थप एक थान दल चाहिएकै हैन । कुनै नयाँ मान्छेले खोलेको पार्टी चाहिएकै हैन । कुनै हिरो, सेलिब्रेटी, प्रियतावादी नायक, हल्लाबाज वा प्रोपोगान्डिष्ट चाहिएकै हैन । पुराना दलहरूले सृजना गरेको असफलताको निराशामा खेलेर आफ्नो राजनीतिक महत्वाकांक्षाको रोटी सेक्ने कुनै चतुर, ठग वा पदलोलुप मान्छे चाहिएकै हैन

बीपी कोइरालालाई प्रारम्भिक लोकतान्त्रिक आन्दोलनकोे युगको एक आदर्श, मानक वा नायक मान्न सकिन्छ, तर; बीपी विचार र सिद्धान्तले देश अघि बढ्न सक्दैन । बीपीको विचारमा मूलतः उन्नाइसौं शताब्दीको उदारवाद, सम्वद्र्धनवाद, समाजवाद र आदर्शवादको समिश्रण थियो, जो एक्काइसौं शताब्दीको उन्नत लोकतन्त्र र समृद्ध अर्थतन्त्रका लागि मार्गदर्शन बन्न सक्दैन ।

विश्व परिवेश र नेपालको विशिष्टता दुवै दृष्टिकोणले कम्युनिस्ट धार पनि नयाँ हैन । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित भएबाट गणना गर्दा यो विचार करिब २०० वर्षको हुन लाग्यो । उन्नाइसौैं, बीसौं र एक्काइसौं तीन शताब्दी छोइसक्यो ।

सोभियत संघदेखि पूर्वी युरोपसम्म, चीन–उत्तरकोरियादेखि क्युवासम्म, पश्चिम बंगालदेखि नेपालसम्म यसको अभ्यास र परिणाम संसारले देखिसक्यो । यस विचार र आन्दोलनका कतिपय आधारभूत प्रस्तावना नै असान्दर्भिक मात्र हैन, हास्यास्पद सावित भइसकेका छन् । जस्तो– सर्वहारा राज्य, अतिरिक्त मूल्य, एकदलीय सोभियत शासन व्यवस्था, निजी सम्पत्तिको उन्मूलन, बजार अर्थतन्त्रको अन्त्य र कम्युन प्रणाली जस्ता अवधारणा बिल्कुलै वाहियात सावित भइसकेका छन् ।

देशभित्र यो धारको दलले ७५ वर्ष पूरा गरेको छ । मनमोहन अधिकारी यो धारका पहिलो प्रधानमन्त्री थिए । कम्युनिस्ट धारबाट ५ जना प्रधानमन्त्री देशले पाइसक्यो । यो धारको दलले सरकारको नेतृत्व गरेको अवधि करिब १६ वर्ष हुन्छ । संयुक्त सरकारमा त यो २०४६ सालयता करिब चार दशकदेखि छ ।

मधेशकेन्द्रित वा अन्य क्षेत्रीय समूहलाई पनि मैले नयाँ मान्दिनँ । २००७ सालतिरै वेदानन्द झाले तराई कांग्रेस बनाएका थिए । क्षेत्रीय दलहरूको कथा यहींबाट सुरु भएको हो ।

बहुसांस्कृतिकतावादी, विविधतायुक्त देशमा क्षेत्रीय तथा प्रादेशिक दलहरू हुनु कुनै नयाँ कुरा हैन । भारतीय लोकतन्त्रमा यस्ता दलहरू धेरै छन् । तिनले आ–आफ्नो प्रदेशमा राम्र्रै काम पनि गरेका छन् । तर, यी दलको सीमा के हो भने यिनले राष्ट्रिय विकल्प दिंदैनन् ।

देशकै नेतृत्व गर्ने आत्मविश्वास यस्ता दलमा हुँदैन । हामीलाई यतिखेर देश बनाउने, राष्ट्रनिर्माण गर्ने शक्ति चाहिएको छ । यी त्यस्तो शक्ति बन्दैनन् । क्षेत्रीय दलहरूले क्षेत्रीय भावनाकै प्रतिनिधित्व गर्दछन् तर राष्ट्र निर्माण गर्ने शक्तिको ‘साझा मनोविज्ञान’ आवश्यक हुन्छ । विविध मनोविज्ञान र राष्ट्रिय समुदायलाई सबैको आत्मसम्मानमा ठेस नपुग्ने गरी, सार्थक सहभागिता, समावेशिता र समुचित प्रतिनिधित्व हुने गरी एकठाउँमा ल्याउने क्षमता हुनुपर्दछ ।

त्यसो भए नयाँ दल वा वैकल्पिक दल कुन हुन् त ? नयाँ दल वा वैकल्पिक दलको अर्थ हो कि एक्काइसौं शताब्दीको उत्तरआधुनिकतावादी युगलाई नेतृत्व गर्ने विचार, सोच, संस्कार, सवाल र अभ्यास भएका उन्नत लोकतन्त्रवादी दलहरू । नयाँ दल वा वैकल्पिक दलका निम्न मुख्य पाँचवटा वैचारिक कार्यभार हुन्छन् ।

एक– पूँजीवाद, साम्यवाद, सम्बद्र्धनवाद, क्षेत्रीयतावाद जस्ता विचारमा त्यसले विश्वास गर्दैन । सबै विचारधाराका प्रगतिशील पक्षहरूलाई नयाँ सामञ्जस्यतापूर्ण एकत्रीकरण गर्दछ । त्यस्तो विचारमा उदारवाद, समाजवाद, महिलावाद, जैविकतावाद र राष्ट्रवादका उन्नत पक्षहरूको समिश्रण हुन्छ ।

दुई– लोकतन्त्रलाई त्यसले एक नयाँ परिभाषा, भाष्य, व्याकरण, अर्थ, चरित्र, स्वरूप र अभ्यास दिन्छ । मूलतः त्यो सहभागितामूलक, प्रत्यक्ष, समानुपातिक–समावेशी, संघात्मक, पारदर्शी र सुसंस्कृत लोकतन्त्र हुनुपर्दछ ।

तीन– सुशासनको मुद्दामा कहिल्यै कुनै प्रकारको सम्झौता गर्दैन । सबै प्रकारका ठगी, अनैतिकता, तस्करतन्त्र, अपारदर्शिता र भ्रष्टाचारबाट मुक्त हुन्छ । यसका लागि संरचनागत र संस्कारगत दुवै पक्षमा उल्लेखनीय सुधार गर्न राजी हुन्छ ।

चार– नागरिकको स्वाभिमान र समृद्धि त्यसको मुख्य लक्ष्य हुन्छ । खुल्ला बजार अर्थतन्त्र, राज्य–समाजवाद, राज्य–पूँजीवाद, मिश्रित अर्थतन्त्र जस्ता अर्थतन्त्रका शास्त्रीय सोच र ढाँचाबाट मुक्त हुन्छ र गतिशील सन्तुलनमा आधारित सामाजिक बजार अर्थतन्त्रको अभ्यास गर्दछ । समावेशी विकास, समन्यायिक वितरण र समतामूलक समृद्धिको अभ्यास गर्दछ ।

पाँच– पाँचौं सीमान्तकृत जातीय, भाषिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक समुदायलाई विग्रह, अलगाव, क्षेत्रीयतावाद र प्रतिशोधतिर हैन, समावेशिता, सामाजिक न्याय, पहिचान र अधिकारको सम्बोधन मार्फत राष्ट्रिय चरित्रमा एकीकृत गर्दछ र राष्ट्रनिर्माणको एक नयाँ अध्यायमा योगदान गर्दछ ।

यदि यी पाँच तत्वलाई एकठाउँमा ल्याउने हो, नेपालमा माथि उल्लिखित चारवटै पुराना विचारधारा र दल असान्दर्भिक हुन्छन् ।

काठमाडौंमै मेयर वालेन्द्र शाहको अर्को पार्टी बन्यो वा उनका समर्थकले भोट दिएनन् भने रास्वपाको हालत के होला ? यो पाटो सोच्नयोग्य छ । अर्थात् रास्वपाको उदयको आधार वैकल्पिक राजनीतिमा त्यो बेला छाएको रिक्तता, शून्यता र ‘ग्याप’ थियो

यो आवश्यकतालाई राजावादी, कांग्रेस, कम्युनिस्ट वा क्षेत्रीयतावादी कुनै पनि शक्ति र दलले पूरा गर्न सक्दैनन् । यो निष्कर्ष कुनै पूर्वाग्रह हैन, अहिलेसम्मको व्यावहारिक संपरीक्षणबाट पुष्टि भएको सत्य हो । करिब चार दशक लामो अभ्यासबाट निस्किएको निष्कर्ष हो ।

यस अर्थमा नेपालमा थप एक थान दल चाहिएकै हैन । कुनै नयाँ मान्छेले खोलेको पार्टी चाहिएकै हैन । कुनै हिरो, सेलिब्रेटी, प्रियतावादी नायक, हल्लाबाज वा प्रोपोगान्डिष्ट चाहिएकै हैन । पुराना दलहरूले सृजना गरेको असफलताको निराशामा खेलेर आफ्नो राजनीतिक महत्वाकांक्षाको रोटी सेक्ने कुनै चतुर, ठग वा पदलोलुप मान्छे चाहिएकै हैन । कदम–कदममा कुरा फेर्ने, चुनाव अघि एउटा, चुनावपछि अर्कै कुरा गर्ने, मतदातालाई ढाँट्नु, झुक्याउनुलाई राजनीतिको कला ठान्ने कुनै धूर्त ‘डेमागग्’ चाहिएकै हैन ।

नयाँ दलहरूको सबैभन्दा ठूलो र पहिलो विरोधाभास यही हो । तिनले नयाँ र वैकल्पिक दल किन, के उद्देश्यले, कुन लक्ष्य वा ग्याप पूरा गर्न, कुन ऐतिहासिक कार्यभारका लागि चाहिएको हो भन्ने आधारभूत मार्गचित्र नै कोर्न सकेनन् । आफ्नो औचित्य र स्पेश आफैं ठम्याउन सकेनन् । आफ्नो कार्यभार र कर्तव्य आफैं बुझ्न सकेनन् । यसर्थमा ती जन्मँदै असफल हुन अभिशप्त थिए । नागरिक अपेक्षा र ऐतिहासिक कार्यभार एकातिर थियो, तिनका नेताको सोच, स्वार्थ, निर्णय, कर्म र कार्यशैली अर्कैतिर थियो ।

नयाँ र वैकल्पिक दल बनाउने अलिक देखिने प्रयास २०७० को दोस्रो संविधानसभा निर्वाचनताका उज्ज्वल थापा नेतृत्वको विवेकशील दलबाट भयो । थापासँग मैले जम्मा दुईपटक मात्र भेटें । तर, दुवै भेटमा घण्टौं लामा कुरा गरेका थियौं, फोनमा पनि बेलाबेला कुरा हुन्थ्यो ।

उनमा कतिपय विचार, विषय र सन्दर्भ परिपक्व भइसकेका थिएनन् । तर, एक इमानदार हृदय भने थियो । उनी आफ्नै प्रारम्भिक विचारलाई पनि पुनः परिमार्जन गर्दै थिए । जस्तो कि नागरिकता सम्बन्धी उनको पछिल्लो लेख धेरै स्तरीय र प्रष्ट थियो, तर प्रारम्भिक दिनमा उनी यो सवालमा यति प्रष्ट थिएनन् ।

थापाको ‘वैकल्पिक राजनीति’ प्रतिको आधारभूत अभिमुखीकरण भने ठीक थियो । उनी ‘लेफ्ट–राइट’ विभाजनमा फस्न चाहँदैनथे । हामी जस्तै उनी ‘फरवार्ड’ पार्टीको कल्पना गर्थे । उनमा ‘सेन्टर–लेफ्ट अरियन्टेशन’ थिए । कोभिड–१९ को समयमा उनी कलिलो उमेरमै बिते । उनी कस्ता नेता बन्थे भन्न सकिन्न । तर, उनी असाध्यै इमानदार मानिस थिए । थापासँग वैकल्पिक राजनीतिप्रति इमानदार हृदय थियो ।

तर, उनको समस्या अपरिपक्वता र स्वस्फूर्ततावाद थियो । उनको समूह असाध्यै कलिलो उमेरका मानिसले बनेको थियो जो विचार र एजेन्डामा भन्दा बढी ‘उमेर–समूह अवधारणा’ मा विश्वास गर्थे । ‘पुराना र पाको उमेरका मान्छे सबै खराब हुन्छन्’ भन्ने सोच बलियो थियो । कार्यशैलीमा ‘प्रग्माटिज्म’ कम थियो । त्यसका बाबजुद विवेकशील समूह आफ्नै तरिकाले अघि बढ्न सक्थ्यो, सिक्दै, सच्याउँदै, यदि साझा समूहसँगको अनावश्यक एकता र विभाजनको मार खप्नु नपरेको, शिकार हुनु नपरेको भए ।

त्यसपछि साझा पार्टी आयो । उज्ज्वल थापा र साझा पार्टीका नेता रवीन्द्र मिश्रको चरित्र ठीक उल्टो थियो । उज्ज्वल कतिपय कमजोरीका बाबजुद इमानदार थिए तर मिश्रमा सबैभन्दा अभाव भएको चिज नै ‘इमानदारी’ थियो ।

थापा हृदयले ‘इमानदार’ थिए, मिश्र मुखले ‘इमानदारी’ को कुरा गर्थे । उनले पार्टीका चार घोषित स्तम्भमध्ये एक ‘इमानदारी’ लाई बनाएका थिए, तर, उनीसँग हुँदै नभएको वा सबैभन्दा कम भएको चिज नै इमानदारी थियो ।

खासमा उनी ‘वैकल्पिक राजनीति’ को बढ्दो लोकप्रियतालाई प्रयोग गरेर युवापुस्तामा दक्षिणपन्थ फैलाउन चाहन्थे । उनको हृदय ‘सेन्टर–टु–राइट’ थियो, तर मुखले कुरा ‘सेन्टर–टु–लेफ्ट’ को गर्नु परेको थियो । राजावादीको आरोप उनीमाथि ‘भूमध्यरेखा र मनुज चौधरी’ कै बेलादेखि थियो ।

उनी बारम्बार भन्थे– ‘म राजावादी हुँदै हैन, हुने छैन ।’ त्यो झुट थियो । उनका यावत् कर्म, बोली वचनमा राजावाद झल्किन्थ्यो । तर, उनी मुखले भने सधैं ढाँट्ने गर्थे ।

उनले विवेकशील समूहको चीरहरण मात्र गरेनन्, मुमाराम खनाल, डा. सूर्यराज आचार्य, केशव दाहाल जस्ता दिग्गजहरूलाई पनि केही समय राम्रै गरी ढाँटे, झुक्याए, धोका दिए । अन्ततः ‘मार्ग परिवर्तन’ गरी आफ्नै बाटो लागे । राजावादी भए । ‘सेन्टर–टु–लेफ्ट’ को कुरा गर्ने मान्छे ‘सेन्टर–टु–राइट’ मात्र हैन, ‘फार राइट’ मा पुगे । यो अध्याय पनि यसै समाप्त भयो । मान्छेका दुर्भाग्य र नियति– यस्तो समूह र नेतालाई पनि वैकल्पिक राजनीति र नयाँ दल ठानेर देश केही समय झुक्कियो ।

अलिकति कुरा नयाँ शक्ति र डा. बाबुराम भट्टराईको पनि गरौं । नयाँ युगको नयाँ लोकतान्त्रिक दल र वैकल्पिक राजनीतिको मोह वा आसक्तिमा मैले पनि करिब ७ वर्ष नयाँ शक्तिमा बिताएँ । डा. भट्टराईलाई साथ दिएँ । आज सम्झिंदा त्यो कुरा आफैंलाई कस्तो कस्तो अनौठो, असहज र मूर्खतापूर्ण लाग्छ । कताकता हृदयमा हीनता र पश्चात्तापको भावना पनि आउँछ ।

नयाँ शक्ति सुरुवात गर्न लाग्दा काकरभिट्टाको साहित्य महोत्सवमा हुँदा डा. देवेन्द्रराज पाण्डेसँग भेट भएको थियो । पाण्डेले मसँग भन्नुभएको थियो– बाबुरामजीको आफ्नै सीमा बनिसक्यो ।

मसँग त्यो सीमा थिएन । तर, मैले पनि ‘लोक दल’ बनाउन सकिनँ । नयाँ शक्ति आवश्यक हो । तर, बाबुरामजीको ऐतिहासिक व्यक्तित्वको सीमा र नयाँ शक्तिको आवश्यकता बीच विरोधाभास छ । बरु तपाइँहरूले आफैं आँट गरेको भए राम्रो हुन्थ्यो । त्यतिखेर हामीसँग त्यस्तो आँट भएन ।

डा. भट्टराईको नयाँ शक्तिमा केही प्रवृत्तिगत र केही निर्णयगत त्रुटिहरूको चाङ थियो । त्यसका लागि को जिम्मेवार थियो भन्ने प्रश्न उठ्ला । नैतिक दायित्व सबैमा साझेदारी होला । डा. भट्टराईले मूल नेतृत्वको हिसाबले अलिक बढी नैतिक जिम्मेवारी लिनुपर्ने हुन्छ ।

वैकल्पिक राजनीतिले संस्था र संस्थागत प्रक्रियाको खोजी गर्दछ । शास्त्रीय वा आधुनिक लोकतन्त्रले पुगेन, अझ बढी उन्नत लोकतन्त्र चाहिन्छ भन्छ । तर, नयाँ शक्तिमा कुनै संस्थागत प्रक्रिया थिएन । कसले कहाँबाट कसरी निर्णय लिन्छ, थाहै हुँदैनथ्यो । थाहा पाउँदा धेरै चिज बिग्रिसकेको हुन्थ्यो । पार्टीमा बसेर चर्को विरोध गर्न पनि उचित नहुने, निर्णयहरूको सार्वजनिक प्रतिरक्षा पनि गर्न नसकिने अवस्था थियो ।

रास्वपाले आज यो यथार्थ बिर्सिएको मात्र छैन, हिजो आफैंलाई समर्थन गरेको वा भोट दिएको जनमतलाई चिढ्याउँदै छ । यही तरिकाले चले हिजोका विवेकशील, साझा, नयाँ शक्तिको जस्तै रास्वपाको पनि पतन टाढा छैन

नयाँ र वैकल्पिक बनाउने भन्ने तर पुरानासँगको सहकार्यको मोह र आसक्तिबाट मुक्त हुन नसक्ने समस्या व्यापक थियो । पुरानैको गठबन्धनमा घुस्रेर दुईचार सीटका लागि कटौरा थाप्ने र भीख माग्ने प्रवृत्ति बलियो थियो । चुनावैपिच्छे वा त्यो प्रकारको अप्राकृतिक गठबन्धन, विजातीय एकता र विभाजन नयाँ शक्तिका मुख्य कमजोरी थिए । डा. भट्टराईमा एक अनौठो चरित्र के थियो भने उनका हरेक निर्णयपछि कुनै न कुनै समूहले पार्टी छोड्थ्यो र पार्टी झन्–झन् कमजोर हुन्थ्यो । सफल नेताका कुनै निर्णयपछि पार्टी थोरै भए पनि बलियो हुनुपर्दछ । नयाँ शक्तिमा त्यसको ठीक उल्टो हुन्थ्यो ।

लामो समयको माओवादी संलग्नता र कम्युनिस्ट स्कुलिङको कारण डा. भट्टराईको आफ्नै प्रकारको सोच, कार्यशैली र निर्णय–प्रक्रियाको ढाँचा बनिसकेको छ । आफ्नै स्वभाव र सीमा बनिसकेको छ । डा. पाण्डेले ठीकै भनेका थिए डा. भट्टराईको व्यक्तित्वमा ‘ऐतिहासिक विरोधाभास’ व्याप्त छ । उनी नयाँ र वैकल्पिक दलको मूल नेता हुनका लागि उपयुक्त पात्र थिएनन्– फलतः नयाँ शक्तिको प्रयास पनि तुहिएर गयो । थुप्रै मान्छेले अनावश्यक दुःख व्यहोरे । अनाहकमा राजनीतिक जीवन दाउमा लगाए ।

अहिले नयाँ दलका रूपमा संसद्मा तीनवटा दल छन्— जनमत पार्टी, नागरिक उन्मुक्ति र रास्वपा । यी तीनवटै दल र यसका मुख्य नेताले जे गर्दैछन्, त्यसबाट के पुष्टि हुन्छ भने यी वैकल्पिक राजनीति गर्ने दल हैन, नयाँ दल पनि हैनन्, थप एक थान दल मात्र हुन् । पुरानै चरित्रको नयाँ संस्करण, पुरानै सिन्डिकेटका नयाँ साझेदार मात्र हुन् ।

त्यसको पहिलो प्रमाण– यी दलको अनावश्यक सत्ता मोह र सहकार्य हो । यी दललाई अहिले सरकारमा जानुपर्ने न कुनै आवश्यकता थियो, न त्यस्तो जनादेश थियो, न उनीहरू त्यसका हकदार थिए, न उनीहरू विना सरकार नै गठन हुन नसक्ने अवस्था थियो । चुनाव अघि यिनले विकल्प दिने कुरा गरेका थिए– चुनावपछि पुरानाकै सहयोगी र साझेदार भएर निस्किए ।

पुरानाका जुन विकृतिको चर्चा गरेर यिनले जनमत आफूतिर ताने, छोटो समयमै आफैं त्यसको शिकार भइसके । अनावश्यक आन्तरिक किचलोले नागरिक उन्मुक्ति पार्टीलाई लगभग विघटनको अवस्थामा पुर्‍याएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबारे अहिले नै यसै भन्न सकिंदैन । तर, २०८४ को चुनावसम्म पुग्दा रास्वपा अर्को विवेकशील–साझा र रवि लामिछाने अर्को रवीन्द्र मिश्र भएर निस्किए भने कसैले आश्चर्य नमाने हुन्छ ।

रास्वपाको उदयको आधार रवि लामिछानेको व्यक्तिगत लोकप्रियता हो भन्ने धेरैलाई भ्रम छ । चितवन जस्ता केही जिल्ला र निर्वाचन क्षेत्रमा त्यो केही हदसम्म हुन पनि सक्दछ । तर, मुख्य कुरा त्यो हैन । उदाहरणका लागि धरानमा रास्वपा उम्मेदवारले पाएको भोट रवि लामिछानेको व्यक्तिगत लोकप्रियता हो भनेर कसैले भन्छ भने पत्याउन सकिन्न । त्यो त्यसअघिको स्थानीय निर्वाचनमा हर्क साम्पाङले निर्माण गरेको जनमतको कोल्टेफेराइ मात्र थियो ।

काठमाडौंमै मेयर वालेन्द्र शाहको अर्को पार्टी बन्यो वा उनका समर्थकले भोट दिएनन् भने रास्वपाको हालत के होला ? यो पाटो सोच्नयोग्य छ । अर्थात् रास्वपाको उदयको आधार वैकल्पिक राजनीतिमा त्यो बेला छाएको रिक्तता, शून्यता र ‘ग्याप’ थियो । पुरानासँग रिसाएकाहरूले वा नयाँ विकल्प खोज्नेहरूले भोट हाल्ने ठाउँ नै थिएन ।

विवेकशील, विवेकशील साझा र नयाँ शक्ति आफ्नै कारणले सिद्धिएका थिए । कांग्रेस–माओवादी अवैचारिक गठबन्धनको कारण शहरिया मध्यम वर्ग, युवा पुस्ता र लोकतान्त्रिक जनमत कांग्रेससँग बिच्किएको थियो । उपत्यकामा ती निर्वाचन क्षेत्र नै रास्वपाले बढी जितेको हो– जहाँ पाँचदलीय गठबन्धनबाट माओवादी उम्मेदवार थिए । बालेन्द्र शाहलगायत स्वतन्त्र उम्मेदवारले स्थानीय निर्वाचनमा बनाएको जनमत समेत त्यहीं ओइरिएको थियो ।

रास्वपाले आज यो यथार्थ बिर्सिएको मात्र छैन, हिजो आफैंलाई समर्थन गरेको वा भोट दिएको जनमतलाई चिढ्याउँदै छ । यही तरिकाले चले हिजोका विवेकशील, साझा, नयाँ शक्तिको जस्तै रास्वपाको पनि पतन टाढा छैन । रास्वपाको विद्यमान चरित्र र निर्णयले नयाँ दलको आवश्यकतालाई पूरा गर्दैन बरु थप विरोधाभास मात्र सिर्जना गर्दछ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School