प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार

अमेरिकामा बसोबास गर्ने नेपाली युवतीहरूको सौन्दर्य, प्रतिभा, र आत्मविश्वासको उत्सवको रूपमा आयोजना गरिएको ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि न्यू जर्सीकी दिया श्रेष्ठले जितेकी छन्। न्यूयोर्कको मेलरोज बलरुममा सम्पन्न यस प्रतियोगितामा उनले अन्य १६ प्रतिस्पर्धीलाई पछि पार्दै ताज आफ्नो शिरमा सजाएकी हुन्।

ड्रीम्स युनिभर्सलद्वारा प्रस्तुत र हेल्दी च्वाइस एस्थेटिक हस्पिटलको मुख्य प्रायोजनमा आयोजित कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट आएका १७ जना प्रतिस्पर्धीहरूबीच कडा र रोचक प्रतिस्पर्धा भएको थियो। अन्तिम चरणमा पुगेका प्रतिस्पर्धीहरूमध्ये निर्णायकहरूको मूल्याङ्कनको आधारमा कृष्मा सुवेदी फर्स्ट रनर अप तथा टेक्ससकी आर्या कोइराला सेकेन्ड रनर अप घोषित भइन्।
कार्यक्रमको शुरुवातदेखि अन्त्यसम्मको माहोल निकै उत्साहपूर्ण र मनोरञ्जनात्मक रहेको थियो। प्रतियोगिताको कोरियोग्राफी चर्चित कोरियोग्राफर सदिक्षा श्रेष्ठले गरेकी थिइन्। उनको निर्देशनमा प्रतिस्पर्धीहरूले गरेको तालिमप्राप्त रिहर्सल र मञ्चमा प्रस्तुत गरेको वाककला, प्रतिभा र व्यक्तित्वले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रम सञ्चालनको जिम्मेवारी सुरेश शाही र सागरिका श्रेष्ठले कुशलतापूर्वक सम्हालेका थिए। उनीहरूले आफ्नो आकर्षक शैली र उत्कृष्ट समय व्यवस्थापनमार्फत सम्पूर्ण कार्यक्रमलाई रोचक र व्यवस्थित बनाएका थिए। कार्यक्रमको बीचमा विभिन्न कलाकारहरूले आकर्षक सांगीतिक र नृत्य प्रस्तुति दिएर वातावरणलाई थप जीवन्त बनाएका थिए।
यस वर्षको प्रतियोगितालाई अझ गरिमामय बनाउन नेपाल र अमेरिकाका प्रतिष्ठित कलाकार, व्यावसायिक तथा विज्ञहरूको सहभागिता रहेको एक सशक्त निर्णायक मण्डलमा चर्चित अभिनेत्री आँचल शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेता अनुप बिक्रम शाही, व्यवसायी राजेन्द्र श्रेष्ठ, बासु फुलारा, दिनेश सेनक्चुरी, जुबिली शेर्पा, डा. दिलाशा न्यौपाने र स्निहा श्रेष्ठ जस्ता व्यक्तित्वहरू सामेल थिए।
उपाधि विजेता दिया श्रेष्ठले अब नेपालमा आयोजना हुने प्रतिष्ठित ‘मिस नेपाल २०२६’ मा सीधै सहभागिता जनाउने अवसर पाउनेछिन्। कार्यक्रमका संस्थापक शैलेन्द्र श्रेष्ठले यो प्रतियोगिता केवल सौन्दर्य प्रदर्शन गर्ने मञ्च मात्र नभएको बताए। उनले भने, “मिस नेपाल नर्थ अमेरिका महिला सशक्तिकरण, नेतृत्व क्षमता र आत्मविश्वासलाई प्रवर्द्धन गर्ने एउटा अभियान हो। हामीले अमेरिकामा बसोबास गर्ने नेपाली युवतीहरूलाई आफ्नो प्रतिभा र आत्मविश्वास प्रदर्शन गर्न अन्तर्राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराएका छौं। यो केवल उपाधि जित्ने कुरा मात्र होइन, यो त नेतृत्व, सामाजिक उत्तरदायित्व र हाम्रो सांस्कृतिक पहिचानको उत्सव हो।”