प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार

थाइल्यान्डमा अब ३० दिनभन्दा बढी बस्न चाहने अमेरिकी नागरिकसहित दर्जनौँ देशका पर्यटकले अनिवार्य रूपमा भिसा लिनुपर्ने भएको छ।
कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्र पुनर्जीवित गर्न थाइ सरकारले सन् २०२४ जुलाईदेखि ९३ देशका नागरिकलाई ६० दिनसम्म भिसाविना नै बस्न दिने व्यवस्था लागू गरेको थियो। तर, सरकारले उक्त सुविधा खारेज गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्बाट पारित नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकको बसाइ अवधि सम्बन्धित देशका आधारमा निर्धारण गरिनेछ।
थाइ सरकारले राष्ट्रिय सुरक्षाको चुनौती र जटिल बन्दै गएको भिसा प्रणालीलाई यो परिवर्तनको मुख्य कारण जनाएको छ। थाइल्यान्डमा पछिल्लो समय लागूऔषध तस्करी, मानव बेचबिखन तथा अन्य आपराधिक गतिविधिमा विदेशी नागरिकहरूको संलग्नता बढ्दै गएपछि सरकारले आफ्नो नीति पुनरावलोकन गरेको हो।
गृहमन्त्री अनुटिन चानविराकुलले वर्तमान आर्थिक अवस्था र राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै भिसा नीतिमा संशोधन आवश्यक भएको बताएका छन्।
यसअघि अमेरिका, बेलायत, अस्ट्रेलिया, चीन, फ्रान्स, जर्मनी, भारत, इटाली र स्पेनलगायत देशका नागरिकले ६० दिनसम्म भिसाविना नै थाइल्यान्ड बस्न पाउने सुविधा उपभोग गर्दै आएका थिए।
थाइ विदेश मन्त्रालयका अनुसार अब अधिकांश देशका नागरिकले ३० दिनभन्दा बढी बस्न चाहेमा भिसाका लागि आवेदन दिनुपर्नेछ। केही देशसँग भएको पारस्परिक सम्झौताअनुसार भने बसाइ अवधि फरक हुन सक्ने जनाइएको छ। नयाँ भिसा व्यवस्था ‘रोयल गजेट’ मा प्रकाशित भएको १५ दिनपछि कार्यान्वयनमा आउनेछ।
थाइल्यान्ड एसियाको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ। सन् २०१९ मा करिब ४ करोड पर्यटक भित्रिएको थाइल्यान्डमा कोभिड महामारीपछि पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको थियो।
पछिल्ला दुई वर्षमा भने पर्यटक आगमन पुनः बढ्न थालेको छ। सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म करिब १ करोड २० लाख पर्यटक थाइल्यान्ड पुगिसकेका छन्।
यसैबीच, राजधानी बैंककमा अनुमतिविना सञ्चालन भइरहेको एक अन्तर्राष्ट्रिय विद्यालयमा छापा मारेर श्रम अनुमति (वर्क पर्मिट) नलिई काम गरिरहेका १० जना विदेशी नागरिकलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।