प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार

तस्वीर : सिन्ह्वा/रासस
दक्षिण लेबनानमा संयुक्त राष्ट्र सङ्घका तीन शान्ति सैनिकको मृत्यु भएपछि संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ।
फ्रान्सका विदेशमन्त्री जीन नोयल बारोटले आफूले यस बैठकको माग गरेको र घटनाको कडा निन्दा गरेको बताएका छन्।
लेबनानस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन (युनिफिल) ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बानी हाय्यान नजिकै भएको अज्ञात विस्फोटमा परी शान्ति सैनिकहरू सवार सवारी साधन नष्ट भएको र उनीहरूको मृत्यु भएको जनाएको छ।
विदेशमन्त्री बारोटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इजरायली सैनिकहरूले संयुक्त राष्ट्र सङ्घका कर्मचारीमाथि गर्ने यस्ता सुरक्षा उल्लङ्घन र धम्कीपूर्ण कार्यहरू अस्वीकार्य र अनुचित रहेको बताएका छन्। उनले यसबारे पेरिसस्थित इजरायली राजदूतलाई समेत जानकारी गराइसकेको उल्लेख गरे।
यसैबिच, लेबनानका लागि संयुक्त राष्ट्र सङ्घकी विशेष समन्वयकर्ताले पनि घटनाको घोर निन्दा गर्दै तत्काल युद्धविराम गर्न आह्वान गरेकी छन्।
उता, इजरायलले लेबनानमा संयुक्त राष्ट्र सङ्घका सैनिकहरू मारिएको घटनाबारे छानबिन भइरहेको जनाएको छ।
इजरायली सेनाले दुईवटा छुट्टाछुट्टै घटनामा संयुक्त राष्ट्र सङ्घका सैनिकहरूलाई “क्षति पुगेको” स्वीकार गर्दै ती घटनाहरूको विस्तृत अनुसन्धान भइरहेको बताएको छ।
यसअघि संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानमा युनिफिल अन्तर्गत कार्यरत तीन जना शान्ति सैनिक मारिएको पुष्टि गरेको थियो।