आजभोलिको भाइरल शब्द ‘अर्गानिक’, यात्राको क्रममा वा कुनै नयाँ ठाउँको होटल, पसल जताततै केही स्थानीय खानेकुरा खाइयो भने त्यो अर्गानिक भन्ने गरेको सुनिन्छ।
खान दिनेले पनि र शहर, अन्य ठाउँहरूबाट जानेहरूले पनि पहाडतिर वा नयाँ गाउँठाउँमा पुग्दा पाइने खाइने स्थानीय खानेकुरालाई अर्गानिक भन्ने गरेको सुनिन्छ।
मेरै बारीमा, आफ्नै गाउँमा, घरमा फलेको, आफ्नै कौसीमा फलेको आदि इत्यादि। के यी र यस्ता उत्पादनहरू साँच्चिकै प्राङ्गारिक उत्पादन हुन् त ? आउनुहोस् केही चर्चा गरौं।
प्राङ्गारिक वा अर्गानिक उत्पादन भनेको के हो ?
साधारण भाषामा अर्गानिक/प्राङ्गारिक/जैविक उत्पादन भन्नाले बीउ, बिरुवामा वा जमिनमा कुनै पनि रासायनिक पदार्थको प्रयोग विना गरिएको उत्पादन भन्ने बुझिन्छ। बीउ, बिरुवा लगाउने समयदेखि उत्पादन भई उपभोक्तासम्म पुग्दासम्म कुनै किसिमका रासायनिक पदार्थको सिधा सम्पर्कमा नआएका बाली वस्तु अर्गानिक हुन् भन्ने मान्यता राखिन्छ।
हरेक देशको आ-आफ्नै प्राङ्गारिक मापदण्डहरू रहेका छन्। नेपालका लागि अर्गानिक प्रमाणीकरण गर्ने ओसीएन (अर्गानिक सर्टिफिकेसन नेपाल) भन्ने संस्था रहेको छ। ओसीएन नेपालले नेपालभर विभिन्न बालीहरूमा प्राङ्गारिक प्रमाणीकरण गर्ने गर्दछ। साथै अन्य देशमा निर्यात हुने बाली वस्तुहरू निर्यात गर्ने देशको मापदण्ड अनुसार पनि प्रमाणीकरण गरिदिने गर्दछ। के के छन् त नेपाली प्राङ्गारिक मापदण्डहरू ? आउनुहोस्, छोटकरीमा चर्चा गरौं-
प्राङ्गारिक खेती गरिने जमिन
प्राङ्गारिक खेती हुने कित्तालाई प्रदूषण र मिसावटबाट जोगाउन प्राङ्गारिक र रासायनिक खेती हुने कित्ता छुट्टै हुनुपर्दछ। रासायनिक मल, वृद्धि प्रवर्तक र रोग/कीरा/झार नाशक विषादी जस्ता कुनै किसिमका रसायन प्रयोग गरिएको हुनुहुँदैन। प्राङ्गारिक खेती हुने कित्तालाई प्रदूषण र मिसावटबाट जोगाउन प्राङ्गारिक र रासायनिक खेती गरिने कित्ताहरूबीच मध्यवर्ती क्षेत्र र बाली हुनुपर्दछ।
प्राङ्गारिक र रासायनिक खेतीबीच सडक भएमा ४ मिटर र अन्य अवस्थामा कम्तीमा ५ मिटर मध्यवर्ती क्षेत्र हुनुपर्दछ। प्राङ्गारिक प्रमाणीकरणका लागि निम्न अनुसारका उपजहरू स्वीकार्य हुने छैनन्:
- एकै कित्ता जमिनमा प्राङ्गारिक र रासायनिक दुवै तवरका खेती भएमा।
- एकआपसमा मिसावटको सम्भावना रहेका समानान्तर उत्पादन भएमा।
रासायनिक मल, वृद्धि प्रवर्तक र रोग/कीरा/झार नाशक विषादी जस्ता कुनै किसिमका रसायन प्रयोग भएको हुनुहुँदैन। रसायनको संसर्गमा आएका मेसिन, औजार तथा उपकरणहरू सफा गरेर मात्र प्राङ्गारिक खेती गरिने जमिनमा प्रयोग गर्नुपर्दछ।
बाली उत्पादन
पाएसम्म र हुँदासम्म स्थानीय जात र प्राङ्गारिक प्रमाणीकरण भएका बीउविजनको प्रयोग गर्नुपर्दछ। प्राङ्गारिक प्रमाणीकरण भएका बीउविजन नपाइएमा रासायनिक तरिकाले उत्पादित तर रासायनिक पदार्थ/विषादीमा उपचार नगरिएका बीउविजन प्रयोग गर्न सकिन्छ। पशुपक्षीका लागि आवश्यक पर्ने घाँस र दाना प्राङ्गारिक उत्पादनबाट आपूर्ति हुनुपर्दछ।
माटो, पानी र मलखाद व्यवस्थापन
माटोको गुणस्तर सुधार गर्न कुनै किसिमका रासायनिक मल प्रयोग गर्न पाइँदैन। न्यूनतम ९० दिन कुहाएर राम्रोसँग पाकेको गोबरमल वा गोबरग्याँसबाट निस्केको लेदो मल बाली काट्न/टिप्न भन्दा ३० दिन अगावै माटोमा मिलाउनुपर्दछ। राम्रोसँग नपाकेको गोबरमल वा गोबरग्याँसबाट निस्केको लेदो प्रयोग गर्नुहुँदैन, यदि प्रयोग गर्नुपर्ने अवस्था आएमा बाली काट्न/टिप्न भन्दा १२० दिन अगावै माटोमा मिलाइसक्नुपर्दछ।
कुखुरापालन फार्मबाट कुखुराको मल ल्याएर प्रयोग गर्नुपर्दा प्रमाणीकरण निकायबाट स्वीकति लिई यस्ता मललाई लाभदायक जीवाणुहरूको प्रयोग गरी पूर्ण रूपले कुहाएर मात्र प्रयोग गर्नुपर्दछ।
प्राङ्गारिक मलको रूपमा पशुपक्षीको रगतको धुलो, गाईवस्तुको मलमूत्र, राम्ररी कुहिएको कुखुराको मल, हरियो झ्याउ, नीमको पिना, तोरीको पिना, अन्य कुनै बालीको पिना, चट्टानको धुलो, हड्डीको चूर्ण, फलका बोक्रा, दिउली, काठको धुलो, खरानी, धानको भूस, प्राकृतिक चुन र अण्डाको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ।
रोग, कीरा तथा झारपात नियन्त्रण
रोग, कीरा र झार नियन्त्रणमा रासायनिक तवरबाट फ्याक्ट्री निर्मित साबुन तथा सरफहरू लगायत कुनै किसिमका रासायनिक विषादी प्रयोग गर्न पाइँदैन।
प्राङ्गारिक बालीमा रोग–कीरा व्यवस्थापनमा नीम, बकाइनो, रिठ्ठा, अर्खुल, तीतेपाती, असुरो, तुलसी, सुर्ती जस्ता वनस्पतिबाट बनाइने झोल तथा धुलोजन्य वानस्पतिक कीटनाशक, खनिज पदार्थ, खरानी, प्राङ्गारिक खुर्सानी, प्याज, लसुन र वनस्पति तेल, बत्ती, लिसो, फेरोमेन र खोल्से पासो जस्ता भौतिक तरिका प्रयोग गर्न सकिन्छ। च्याउ उत्पादनमा अप्राङ्गारिक तरिकाले उत्पादन गरेको पराल प्रयोग गर्न पाइँदैन।
बाली/बीउ भण्डारण
बाली/बीउ भण्डारण गर्दा प्राङ्गारिक र अप्राङ्गारिक उपजहरूलाई मिसाएर राख्न हुँदैन। प्राङ्गारिक उपज राम्रोसँग प्याकिङ्ग गरिएको र उपभोक्तासम्म पुगुन्जेल सुरक्षित रहने गरी लेबल लगाइएको हुनुपर्दछ। प्राङ्गारिक उपज भण्डारण गरिने कन्टेनर र स्थान (कोठा या गोदाम) मा कुनै किसिमको रसायन प्रयोग गर्न पाइँदैन। फलफूल, बालीनाली तथा सागसब्जी पकाउन वा रंग विकसित गर्न कुनै किसिमको रसायन प्रयोग गर्न हुँदैन।
व्यावसायिक उत्पादनको लागि रूपान्तरण अवधि
रूपान्तरण अवधि प्राङ्गारिक खेती सुरु भएको मितिदेखि गणना गरिन्छ, रुपान्तरण अवधिको पहिलो वर्षमा (प्राङ्गारिक प्रणालीमा ल्याइएको एक वर्षसम्म) प्रमाणीकरण गर्ने निकायले बेला–बेलामा निरीक्षण गर्नुपर्दछ तर प्रमाणीकरण चिह्न भने प्रयोग गर्न पाइने छैन।
रूपान्तरण अवधिको दोस्रो र तेस्रो वर्षको उत्पादनलाई राम्रोसँग निरीक्षण गरेर प्रमाणीकरण निकायले ‘रूपान्तरण अवस्थाको प्रमाणीकरण चिह्न’ प्रदान गर्न सक्छ। चौथो वर्षदेखि प्रमाणीकरण भएपछि मात्र प्राङ्गारिक उपजहरूका लेवलमा ‘प्राङ्गारिक उत्पादन’ (अर्गानिक प्रोडक्ट्स) भन्ने शब्दावली र चिह्न प्रयोग गर्न सकिन्छ।
प्राङ्गारिक वा अर्गानिक उत्पादन कति प्रकारका हुन्छन् ?
- प्रमाणित चिह्न प्राप्त गरेका प्राङ्गारिक उत्पादनहरू: यस्ता उत्पादनहरू प्रमाणित गर्ने निकायले प्रमाणित गरेर चिह्न प्रदान गरेका उत्पादनहरू हुन्। कुनै व्यक्ति, फार्म जस्ता निकायले सम्पूर्ण प्राङ्गारिक सिद्धान्तमा आधारित भएर प्राङ्गारिक निरीक्षकको निगरानीमा उत्पादित वस्तुहरू हुन्छ।
- सहभागितात्मक ग्यारेन्टी प्रणाली (पीजीएस): सहभागितात्मक ग्यारेन्टी प्रणाली भनेको स्थानीय रूपमा केन्द्रित गुणस्तर प्रणालीद्वारा उत्पादन भएका उत्पादनहरू हुन्। यस्ता उत्पादनहरू सरोकारवालाहरूको सक्रिय सहभागिताको आधारमा समूह/उत्पादकहरूलाई प्रमाणित गर्छन् र विश्वास, सामाजिक सञ्जाल र ज्ञान आदानप्रदानको जगमा उत्पादन हुन्छन्। यस्तो उत्पादन समूहगत उत्पादनहरू हुन्।
- अर्गानिक बाई डिफल्ट पूर्व निर्धारित वा स्रोतमै प्राङ्गारिक: परम्परागत रूपमा नै अहिलेसम्म कुनै किसिमका रसायन प्रयोग नगरी गरिएका उत्पादनहरू। नेपालमा कतिपय स्थानमा अहिलेसम्म कुनै किसिमका रसायन नपुगेका ठाउँका उत्पादनहरू। परम्परादेखि नै कुनै प्रकारका रासायनिक पदार्थहरू प्रयोग नगरिएका ठाउँ र त्यहाँका उत्पादनहरूलाई अर्गानिक बाई डिफल्ट भनिन्छ।
केही प्रश्न
- कस्तो उत्पादन प्राङ्गारिक हुन् ? माथि प्रस्तुत गरिएका सिद्धान्तमा आधारित भएर गरिएको उत्पादनलाई प्राङ्गारिक उत्पादन भन्नुपर्दछ। यस सिद्धान्त बाहेक अन्य किसिमबाट गरिएको उत्पादनलाई प्राङ्गारिक भन्न नसकिने वा नमिल्ने हुन्छ।
- कस्तो उत्पादन स्थानीय हुन् ? कुनै पनि भूगोलमा गरिएको उत्पादनहरू स्थानीय उत्पादन हो। स्थानीय उत्पादनहरू प्राङ्गारिक र रासायनिक दुवै हुन सक्छ। स्थानीय उत्पादन अर्गानिक हुँदैन भन्ने होइन, तर माथिको सामान्य सिद्धान्त विना गरिएको उत्पादनहरूलाई प्राङ्गारिक मान्न सकिंदैन। स्थानीय उत्पादनहरू दुवै प्राङ्गारिक र रासायनिक प्रक्रियाबाट उत्पादन गर्न सकिन्छ। सबै स्थानीय उत्पादन प्राङ्गारिक हुन्छन् भन्ने भ्रम हो।
- हाम्रो गाउँको उत्पादन, मैले आफ्नै बारीमा उत्पादन गरेको प्राङ्गारिक हो कि होइन ? तपाईंले यदि माथि भनिएको जस्तो कुनै किसिमका रासायनिक मल वा विषादी उत्पादन गरेर उत्पादन गर्नुभएको छ भने त्यो रासायनिक उत्पादन हो तर प्राङ्गारिकको सिद्धान्त बमोजिम कुनै किसिमका रसायन प्रयोग नगरी उत्पादन गर्नुभएको छ भने त्यस्तो उत्पादन प्राङ्गारिक हुन्, जसलाई प्रमाणीकरण नगरे पनि प्राङ्गारिक नै हुन्। आफ्नै बारीको, गाउँको उत्पादन प्राङ्गारिक नै हुन्छ भन्ने भ्रम हो।
- मैले केही विषादी हालेको छैन मेरो उत्पादन प्राङ्गारिक हो कि होइन ? तपाईंले रासायनिक विषादी प्रयोग नगरे पनि माटोमा रासायनिक मल प्रयोग गर्नुभएको छ, वा रासायनिक मल प्रयोग गरेको खेतमा प्रयोग गरेको कृषि औजार, उपकरण राम्ररी सफा नगरी आफ्नो बारीमा प्रयोग गर्नुभएको छ भने त्यस्तो उत्पादन पूर्णरूपमा प्राङ्गारिक मान्न सकिन्न। विषादी नहाल्दैमा प्राङ्गारिक हो भन्ने पनि भ्रम हो।
- मैले एग्रोभेटबाट ल्याएर औषधि? (बिषादी) हालेको छु, त्यो प्राङ्गारिक उत्पादन हो कि होइन? एग्रोभेटबाट कीरा/रोग नियन्त्रण गर्नका लागि कुनै किसिमको रासायनिक विषादी प्रयोग गर्नुभएको छ भने त्यो उत्पादन प्राङ्गारिक उत्पादन हुन सक्दैन।
- तरकारीमा कीरा लागेको छ, यो अर्गानिक हो कि होइन ? तरकारीमा कीरा लाग्दैमा त्यो प्राङ्गारिक हो भन्न सकिन्न, मुख्य कुरा त्यो तरकारी कहाँ कसरी उत्पादन भएको हो र त्यो उत्पादन गर्नेले उत्पादन सम्बन्धी सम्पूर्ण जानकारी नदिएसम्म त्यसलाई प्राङ्गारिक मान्न सकिन्न। रासायनिक उत्पादनमा पनि विषादीको प्रभाव सकिएपछि कीरा लाग्न सक्छ त्यसैले कीरा लागेको उत्पादन प्राङ्गारिक नै हुन्छ भन्ने भ्रम हो।
- हेर्दै आकार–प्रकार नमिलेको प्राङ्गारिक हो कि होइन ? प्राङ्गारिक उत्पादन हेर्दै आकार–प्रकार नमिलेको हुन्छन् भन्ने होइन, अर्गानिक उत्पादनहरू पनि सर्लक्क मिलेको आकार–प्रकार भएको हुन्छन्, बाली जात अनुसारको गुण हरेक उत्पादनमा हुन्छन् तर कहिलेकाहीं कीराले आक्रमण गरेमा फल/पातको आकार–प्रकार फरक पर्न सक्छ त्यसैले आकार–प्रकार नमिलेको उत्पादन प्राङ्गारिक उत्पादन नै हो भनेर बेच्नु ठगी हो भने किन्नु भ्रम।
(कृषि, जीविकोपार्जन तथा जलवायु परिवर्तन क्षेत्रमा विगत १५ वर्षदेखि कार्यरत लेखक प्राङ्गारिक निरीक्षक हुन्।)