डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट


जीवनमा धेरै रहर जन्मन्छन् । तीमध्ये थोरै मात्र भाग्यमानी रहरहरू पूरा हुन्छन्, धेरै रहर त मरिजान्छन् । त्यसैले होला, निबन्धकार कृष्णचन्द्रसिंह प्रधानले आफ्नो निबन्धमा लेखेका छन्– ‘आत्महत्या गर्ने मान्छे एकपटक मर्छ, तर जिउँदो मान्छे दिनमा सयौं रहर मारेर सयौं पटक आत्महत्या गरिरहेको हुन्छ । किनकि मन भनेकै आत्मा हो र मनको रहर मार्नु पनि एक प्रकारको आत्महत्या नै हो ।’

मेरो मनमा पनि धेरै अघिदेखि पटक–पटक उठ्दै, मर्दै, उठ्दै गरिरहेको एउटा रहर थियो– डोल्पाको फोक्सुण्डो भ्रमण । जब–जब एउटा मनमा फोक्सुण्डो भ्रमणको रहर जाग्थ्यो, तब त्यसका लागि मन मिल्ने साथी, यात्राको लागि उपयुक्त मौसम र समय, आवश्यक खर्चपर्च आदि सबै कुराको संयोजन मिलाउनु कठिन हुन्थ्यो । मनले आँट गर्दा शरीरले साथ नदिने, शरीरले आँट गर्दा मनले साथ नदिने । यस्तै अन्तद्र्वन्द्वको भुमरीमा परेर धेरै पटक फोक्सुण्डो यात्राको मेरो रहर रहरमै सीमित रहेको थियो ।

एक दिन मित्र धर्म तिवारीको फोन आयो । उहाँको प्रश्न थियो– अंकल, फोक्सुण्डो जाने हो ? फोक्सुण्डोको नाम सुनेर तत्कालै मनमा तर्क वितर्कका अनेक ज्वारभाटा उठे । एक मनले मौका परेको बेला खुरुक्क जा भन्यो । अर्को मनले फोक्सुण्डो जान सोचे जस्तो त्यति सजिलो कहाँ छ र ? भन्यो । यस्तै मानसिक अन्तद्र्वन्द्वकोे बीचमा मैले तत्काल निर्णय दिन सकिनँ ।

बाटो कठिन भएकोले बीचमा कुनै शारीरिक अप्ठ्यारो परेमा के गर्ने भन्ने मेरो प्रश्नको उत्तरमा उहाँले जहाँबाट जान सकिन्न त्यहींबाट फर्कौंला भन्नुभएको थियो । उहाँको यो धारणाले मेरो रहरलाई अझ बल थप्यो । तर जाने वा नजाने विषयमा एक दिनपछि निर्णय दिने कुरा सुनाएँ र समय मागें । उहाँले सहमति जनाउनुभयो ।

यस अघि कुनै प्रसंगमा फोक्सुण्डो यात्रामा हिंडेका कोही मानिस बीच बाटोबाटै हिउँ परेर फर्किएको भन्ने सुनेको थिएँ । तर फोक्सुण्डो कुन बाटो कसरी जाने भन्ने मलाई केही जानकारी थिएन । सामान्य ज्ञानमा नेपालको सबभन्दा गहिरो ताल फोक्सुण्डो र फराकिलो ताल रारा भन्ने पढेको थिएँ । सुन्दर ताल रारा यसअघि नै पुगिसकेको हुँदा फोक्सुण्डो जाने रहर भने धेरै वर्षदेखि मनको अन्तरकुन्तरमा भुसको आगो जस्तै जीवितै थियो । त्यही रहर बेलाबेला वनतरुलको टुसा जस्तो पलाइरहन्थ्यो ।

इन्टरनेट खोलेर फोक्सुण्डोको उचाइ हेरें, जसको सतह ३५८९ मिटर लेखिएको रहेछ । त्यसपछि आफूले विगतमा भ्रमण गरेका मुक्तिनाथ, गोसाइँकुण्ड तथा पाथीभराको उचाइसँग तुलना गरें । ती सबै फोक्सुण्डो भन्दा बढी उचाइमा रहेछन् । अझ गोसाइँकुण्ड (४३८० मिटर) त फोक्सुण्डोभन्दा करीब ८०० मीटर माथि नै रहेछ, जुन ठाउँमा म दुई पटक सहज रूपमा पुगिसकेको थिएँ । यसपछि बाँकी अरू सबै कुराको संयोजन मिलेमा जाने आँट गरें र धर्मजीलाई खबर गरें ।

फोक्सुण्डो जानको लागि काठमाडौंदेखि नेपालगञ्ज र नेपालगञ्जदेखि डोल्पाको जुफालसम्म हवाई यात्रा नै उपयुक्त मानिन्थ्यो । काठमाडौंदेखि नेपालगञ्जसम्मको टिकट त सजिलै पाइन्थ्यो तर नेपालगञ्जदेखि जुफालसम्मको टिकट पाउन निकै कठिन हुन्छ भन्ने सुनेको थिएँ । जे जति कठिन भए पनि टिकटको चाँजोपाँजो मिलाउने जिम्मा धर्मले लिनुभयो । मलाई हाइसन्चो भयो ।

नभन्दै उहाँले त्यसको ३/४ दिनपछिको लागि दुवै रुटको टिकट मिलेको खबर गर्नुभयो । चैत महिनाको निर्धारित दिन र समयमा हामी नेपालगञ्जमा जुट्यौं र एउटा होटलमा बस्यौं । त्यहाँबाट जुफालसम्मको लागि हवाई टिकटको आश्वासन पाएको भए तापनि पिपलपाते मौसमको कारण निर्धारित समयमै उड्न पाइने कुरामा मन ढुक्क हुनसकेको थिएन । यस्तै दोमन र हपहपी गर्मीको बीचमा जसोतसो नेपालगञ्जको त्यो रात काटियो र भोलिपल्ट बिहान उठेर झोलीतुम्बा बोकी लोकल टेम्पो चढेर दुई भाइ एअरपोर्टतिर लाग्यौं ।

शे-फोक्सुण्डोमा राममणि दुवाडी

नेपालगञ्जबाट जुफालसम्मको टिकट नपाउनु, टिकट पाए पनि प्लेन न उड्नु, उडिहाले पनि बीचैबाट फर्कनु जस्ता असामान्य कुरा पनि त्यहाँ सामान्य मानिने रहेछ । तर हाम्रो यसपालिको साइत राम्रै परेछ । हामीलाई उडाउने प्लेन एक खेप हुम्ला पुगेर आउने आश्वासन बाँडेर सिमकोटतिर उड्यो । प्रतीक्षाको घडी लामो भएन । करीब सवा घण्टामा प्लेन आइपुग्यो ।

हामीलाई निम्तो आयो र ग्राउण्डमा छिर्‍यौं, जहाजभित्र पस्यौं र आआफ्नो सिटमा बस्यौं । यस अघि सात घुम्तीको बाटोमा ट्रक ठाडै उकालो लागेको थाहा थियो । जहाज पनि नेपालगञ्जबाट उडेर उत्तराभिमुख हुँदै त्यसैगरी उकालो लाग्यो । करीब १५ मिनेट उडेपछि जुफाल पुग्नु केही अघि जहाजले दुई हिमाली चुचुरालाई दायाँबायाँ पारेर एउटा घुम्ती पार गर्नुपर्ने रहेछ । जहाजको आकाशे बाटोका दायाँ–बायाँ हामीलाई स्वागत गर्न बसे जस्तै दुई हिमशिखर देखिन्थे, जसलाई जहाजको झ्यालबाट हात लम्काएर बाहिर निकाल्ने हो भने छुन सकिन्छ कि जस्तो नजिकै लाग्थ्यो ।

दृश्य यति रमाइलो र आकर्षक थियो कि आकाशमै एकछिन जहाज रोकेर ती टाकुरालाई केहीबेर एकटक हेरिरहूँ जस्तो लाग्थ्यो । दुई पहाडको बीचमा जहाज उड्ने खाली आकाश साँघुरो थियो । जहाज थोरै दायाँबायाँ लागेमा तिनै पहाडमा छुने खतरा त्यत्तिकै थियो । तर रैथाने भइसकेका कुशल पाइलटहरूले आकाशको त्यही साँघुरो गल्लीबाट जहाज घुमाउँदै सजिलै अगाडि बढाए ।

उत्तराभिमुख भएर उकालो चढेको जहाज भेरी नदी घुमेकै दिशामा पूर्वतर्फ मोडिएर केही बेरमा डोल्पाको जुफाल विमानस्थलमा पाइला टेक्न पुग्यो । विगतमा भनेको दिन जहाज नपाएर हप्तौंसम्म नेपालगञ्ज बस्नुपरेका कथा धेरैको मुखबाट सुनेको थिएँ र त्यो अवस्था हामीले भोग्न नपरोस् भन्ने मनोकामना पूरा भयो ।

जहाजबाट ओर्लियौं र वरिपरि अपलक आँखा घुमाउँदै रहस्यमयी डोल्पाको नयाँ संसारको उत्सुकतापूर्वक दृश्यावलोकन गर्न लाग्यौं । त्यत्तिकैमा धर्मजीले जहाजमा उहाँकै छेउमा रहनुभएको डोल्पाको प्रदेश माननीय पद्मा विष्टसँग परिचय गराउनुभयो । माननीयज्यूले निकै शिष्टतापूर्वक हामीलाई हार्दिक स्वागत गर्नुभयो । उहाँले हामीलाई आफ्नो मोबाइल नम्बर दिनुभयो र डोल्पामा रहुन्जेल कुनै पनि बेला सानो ठूलो कुनै पनि समस्या परेमा आवश्यक सहयोगको लागि तत्काल उहाँलाई फोन गर्न भन्नुभयो ।

उहाँले फोक्सुण्डो यात्राको क्रममा कसैकसैलाई लेक लाग्ने समस्या देखिन सक्ने भएकोले त्यसमा होसियार हुन र साथमा केही औषधि बोक्न पनि सल्लाह दिनुभयो । उहाँ सरकारी ओहोदाले मात्र नभएर बोली, वचन र व्यवहारले पनि साँच्चैको माननीय हुनुहुँदोरहेछ भन्ने अनुभूति भयो । उहाँको त्यो शिष्टता, नम्रता र सहयोगी भावना देखेर हामी निकै प्रभावित भयौं र उहाँसँग बिदा माग्यौं । त्यसपछि जुफालदेखि सदरमुकाम दुनैसम्म लोकल गाडी चढेर अगाडि बढ्यौं ।

भेरी नदीको किनारमा दुनै बजारको अवस्थिति उत्तर दक्षिण साँघुरो र पूर्वपश्चिम केही लमतन्न परेको थियो । अर्को शब्दमा भन्नुपर्दा यो सालको पात खिपेर बनाइने दुनो जस्तै रहेछ । सायद दुनो जस्तो आकारको भएकोले यसलाई दुनै भनेको पनि हुन सक्छ । अथवा दुईतिर अग्ला अग्ला पहाडको फेदीमा दुन (बेसी)जस्तो सानो समतल जग्गा भएकोले दुन भन्दाभन्दै दुनै भनिएको पनि हुनसक्छ । यी दुवै सम्भावनाहरू सत्यताको नजिक रहे तापनि वास्तविकता के हो भन्ने कुरा अनुसन्धानको विषय थियो ।

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट
डोल्पाको सदरमुकाम दुनै बजार

दुनै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग मेरा सहयात्री धर्म तिवारीको गहिरो मित्रता रहेछ । उहाँले हामीलाई खादा ओढाएर दुनैको चिसो वातावरणमा न्यानो स्वागत गर्नुभयो र नजिकको होटलमा लगेर खाना खुवाउनुभयो । खाना खाँदै गर्दा हामीले उहाँसँग त्यहाँबाट फोक्सुण्डो यात्राको लागि आवश्यक जानकारी, यात्राको दूरी, यात्रामा अपनाउनुपर्ने सावधानी तथा बास बस्ने सम्भावित ठाउँ आदिको बारेमा जानकारी लियौं ।

हामी दुवै जना त्यो यात्राको लागि नौलो भएकोले प्रमुख प्रशासकीय अधिकृतले स्थानीय एकजना किशोरलाई हाम्रो पथप्रदर्शकको रूपमा व्यवस्था गरेको जानकारी गराउनुभयो । त्यो आत्मीय सत्कार तथा प्रबन्ध देखेर उहाँलाई धन्यवाद दिंदै हामी दिउँसो मध्याह्नतिर पथप्रदर्शक विष्णु बूढाको साथमा दुनैबाट फोक्सुण्डोको लागि अघि बढ्यौं ।

दुनै पुगेर खाना खाएपछि मलाई नमीठो किसिमले टाउको दुखेको अनुभूति भएको थियो । माननीय पद्मा विष्टले भन्नुभए झैं मलाई पनि लेक लागेको संकेत हो कि भन्ने चिन्ता बढेको थियो । यदि यहीं नै लेक लागेको हो भने अगाडि बढ्नु झन् दुस्साहस हुन्थ्यो । तर त्यत्तिकैमा यात्रा रोकिहाल्न पनि मन लागेन र जुन बेला बढी कठिन हुन्छ, त्यति बेला फर्कौंला भनेर सतर्कतापूर्वक हामी अघि बढ्यौं ।

पथप्रदर्शक विष्णुको थर बूढा भए पनि उहाँ त्यही १७/१८ वर्षको सुकुमार किशोर हुनुहुन्थ्यो । थोरै र आवश्यक कुरा मात्र बोल्ने तर बोल्दा मुसुक्क हाँसेर बोल्ने उहाँको बानी अनुकरणीय थियो । बाटोमा कहाँ आराम गर्ने, कति हिंड्ने, कहाँ खाजा खाने, कहाँ बास बस्ने, कुन होटलमा बस्ने आदि चिन्ताको भारी उहाँलाई नै बोकाई हामी उहाँको साथमा निश्चिन्त भएर अघि बढेका थियौं । अर्को शब्दमा भन्नुपर्दा उहाँको उमेर हाम्रोभन्दा धेरै कम भए पनि यात्रा अवधिभरका लागि उहाँ हाम्रो अभिभावकको भूमिकामा हुनुहुन्थ्यो ।

उहाँ बाटोमा पर्ने हरेक ठाउँको बारेमा परिचय दिंदै जानुहुन्थ्यो, हामी थप सोध्दै जान्थ्यौं । यसरी उहाँको साथ र सहयोग पाएर हाम्रो बाटो मात्रै काटिएको थिएन, महत्वपूर्ण जानकारी पनि पाइरहेका थियौं । किनकि एक त उहाँ दुनैको स्थानीय हुनुहुन्थ्यो भने उहाँले यसअघि एक–दुई पटक फोक्सुण्डोको भ्रमण गरिसक्नुभएको थियो ।

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट

अब हाम्रो मुख्य गन्तव्य फोक्सुण्डोतर्फको यात्रा शुरु भयो । जसको लागि दुनैबाट फेरि केहीबेर पश्चिम हिंडेर ठूली भेरी र सुलिगाड खोलाको संगममा पुग्यौं र भीमपुल नाम गरेको झोलुंगे पुल तरेर उत्तरतर्फ लाग्यौं । यो पुलको नाम चन्दननाथ गुल्मका २८ चैत २०६० मा दिवंगत भएका सिपाही स्व. भीमबहादुर सुनुवारको सम्झनामा नामकरण गरिएको रहेछ ।

हामी पुल पारिको सैनिक ब्यारेक पार गरेर ५ मिनेट हिंडेपछि सुलिगाडबाट खोलामाथिको पहिलो झोलुंगे पुल तरेर उत्तरतर्फ लाग्यौं । त्यहाँबाट फोक्सुण्डो राष्ट्रिय निकुञ्ज शुरु हुने रहेछ । अब फोक्सुण्डो सम्मको हाम्रो यात्रा यही खोलाको किनारै किनार हुने रहेछ । दुनैबाट हाम्रो यात्राको लागि पथप्रदर्शकको रूपमा विष्णु बूढा आउनुभएको थियो भने अब हाम्रो अर्को पथप्रदर्शकको रूपमा सुलिगाड खोला पनि थपियो ।

सुलिगाड खोला भनौं वा नदी, साँच्चै सुकुमार, सफा र सुन्दर थियो । खोला आफ्नो गतिमा ढुंगाहरूसँग ठोक्किंदै र लडीबुडी गर्दै अविराम बगिरहेको थियो । मैले जिन्दगीमा यस्ता हजारौं खोला देखें, सयौं खोला तरें, तर यति कञ्चन र निर्मल पानीको खोला विरलै देखें हुँला । सफा पानीको कारण खोलाको कुनै ढुंगामा लेउको कुनै लेस पनि थिएन । यसबाट पानीमुनिको लेउ पानीको कारण नभएर पानीमा मिसिएको हिलो र फोहोरका कारण लाग्ने रहेछ भन्ने तथ्य जानकारी भयो ।

साउनमा गडगडाएर बग्ने कतिपय खोलामा चैतमा कमिला हिंड्छ भन्थे, तर हिमतालबाट बगेको सुलिगाडलाई चैतको खडेरी होस् वा भदौको भेल, खास प्रभाव पार्ने रहेनछ । विशालकाय ढुङ्गामा पानीको तीव्र वेग ठोक्किंदा निस्केको पानीका स–साना कणहरू मिश्रित हावाको झोक्काको स्पर्श पाएर किनार छेउछाउका वनस्पति र बुट्यानहरू ताजा र चमकदार देखिन्थे भने पदयात्रीलाई पनि आर्द्र हावाको झोक्काले शरीरमा स्फूर्ति प्रदान गरिरहेको हुन्थ्यो ।

वारिपारि गगनचुम्बी पहाड, पहाडको छातीबाट बीच–बीचमा झरेका झरना, बीचमा ढुंगाहरूसँग ठोक्किंदै र लडीबुडी गर्दै छङछङ गर्दै बग्ने खोला, खोलाको किनारै किनार बाटो, कतै निकै साँघुरो, कतै केही फराकिलो, हिंड्दा होस पुर्‍याउनुपर्ने, गोडा अलिकति तल–माथि परे एकनिमेषमै खोलामा डुबुल्की मार्न पुगिने यात्रा ! हिमाली भेगको जनजीवन देखाउने ओस्कारको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुगेको क्याराभान चलचित्रका नायक थिन्ले लोन्डुपको निधन यही पदमार्गबाट चिप्लिएर भएको रहेछ । ढुंगा र पहाडमा पानीको तीव्र वेग ठोक्किंदा निस्केको अनवरत आवाजले वरपरको परिवेशलाई निरन्तर गुञ्जायमान पारिरहेको हुन्थ्यो ।

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट

मनमा प्रश्न उठ्थ्यो, वारिपारिका पहरामा ठोक्किंदै आएकोे यो आवाज कति हजार वा लाख वर्षदेखि निरन्तर आइरहेको होला ? खोला माथिको ढुङ्गामा धोबिनी, जुरेली र लामपुच्छ«े जातका चराहरू पुच्छर हल्लाउँदै खुशीले नाचिरहेका हुन्थे । यिनै अद्भुत मनोरम विशेषताले होला, सुलिगाडको किनार समाएको केही बेरमै मेरो टाउकोदुखाइ कुन बेला निको भएछ, पत्तै नपाई म त फूलको थुंगा जस्तै हलुका, स्वस्थ र फुर्तिलो भइसकेछु ।

पथप्रदर्शक विष्णु बूढा र मनोरम सुलिगाडको साथ पाएर हाम्रो यात्रा निरन्तर अघि बढिरह्यो । फरक यत्ति थियो कि सुलिगाड दक्षिणतिर बगिरहेको थियो भने हामी त्यसैको किनारैकिनार उत्तरतर्फ अघि बढिरहेका थियौं । अब हिमाल हेर्न उत्तर होइन, दक्षिणतर्फ फर्कनुपर्ने भयो । हाम्रा उत्सुक पाइलाहरूले पहाडका पत्रहरू चिर्दै जाँदा मनमा अब के आउला, त्यसपछि के आउला भन्ने उत्सुकताका पानाहरू थपिंदै जान्थे ।

यात्राको क्रममा उही सुलिगाड खोलो पटक–पटक तर्दै वारिपारि गथ्र्यौं । एक–डेढ घण्टाको यात्रापछि कतै–कतै चियापसल भेटिन्थे, जसलाई पर्यटकको भाषामा ‘टी हाउस’ भनिंदो रहेछ, जहाँ चिया, चाउचाउ, बिस्कुट र रेडबुल बाहेक अरू केही पाइन्नथ्यो । कतै–कतै फोक्सुण्डो पुगेर फर्केका पदयात्रीहरू भेटिन्थे ।

त्यस्ता पदयात्रीमा काठमाडौं वा अन्य शहरबाट गएका युवायुवतीका समूह बढी हुन्थे । शहर बजारमा हुर्केर पनि यस्ता दुर्गम पदयात्रामा रुचि राख्ने नयाँ पुस्ताको संख्या धेरै रहेछ भन्ने जानकारी पायौं । पदयात्रामा क्याम्पसको छोटो विदाको उपयोग गरेर ट्रेकिङ्गमा जाने विद्यार्थीको संख्या पनि निकै पाइयो ।

गर्मी चढेसँगै बेसीबाट लेक फर्केका घरमूली सहित तिनका चौंरी र भेडाको बथान बाटोमा यत्रतत्र भेटिन्थे । घरमूलीहरू प्रायः घोडामा हुन्थे भने चौंरी र भेडालाई खाद्यान्न वा अन्य आवश्यक सामानको भारी बोकाइएको हुन्थ्यो । घरमूलीलाई सघाउने चौंरी, खच्चड र भेडा थिए, तर तिनलाई सघाउने कोही थिएन । तिनको मर्म तिनका साहुजीले कति बुझ्थे, कति बुझ्थेनन्, तिनै अवाक् प्राणीलाई मात्र थाहा होला ।

अरूको गतिमा हिंड्न नसक्दा उल्टै तिनले लौरोको सिप्कनु खानुपर्दथ्यो । यस्तै मीठा नमीठा दृश्यहरू हेर्दै, बेलाबखत ढुंगामा टुसुक्क बसेर थकाइ मार्दै हामी अपराह्न सुजन होमस्टे हुँदै साँझ २६६१ मिटरको उचाइमा अवस्थित वासस्थल छेक्पा पुग्यौं । छेक्पा सुलिगाडकै किनारमा रहेको सानो बस्ती थियो, जहाँ ४/५ वटा ग्रामीण घर (होटल) हरू रहेछन् ।

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट
पदमार्गको छेप्का गाउँ । तस्वीर : सामाजिक संजाल

यहाँ दुनैबाट हिंडेका तथा फोक्सुण्डो यात्राबाट फर्केका अधिकांश पदयात्री बास बस्दा रहेछन् । हामी पनि तिनैमध्येको एउटा होटलमा बास बस्ने निधो गरेर झोला बिसायौं ।

छेक्पा फोक्सुण्डो जाने बाटोमा सुलिगाड खोलाको किनारामा रहेको सानो बजार हो, जहाँ ढुङ्गा–माटोले बनाइएका ५/७ वटा घरहरू छन् । तिनै घरहरूमा यात्रीका लागि गाँस र बासको व्यवस्था गरिन्छ । हामी पनि सहयात्री विष्णु बुढाको छनोटको होटलमा बस्यौं । बेलुकी चिसो बढ्दै थियो । हात धुन धाराको पानी छुन पनि चिसोले आत्थु–आत्थु गर्नुपर्थ्यो ।

त्यति दुर्गम पुग्दा पनि होटलका दराजमा शहरबाट आयातीत बियर, चाउचाउ, रेडबुल बाहेक स्थानीय उत्पादनका कुनै वस्तु देखिएनन् । कतैकतै ताजा रायो साग देखिंदो रहेछ, तर त्यो पनि दुर्लभ । पाउनु पनि कसरी ? डोल्पा भन्दा माथि हिउँदको ६ महिना हिमपात र अत्यधिक चिसोका कारण सबै जना गोठका चौंरी र भेडालाई साथमा लिएर बेसी (दुनै वा सोभन्दा तल) झर्दा रहेछन् र चैत लागेपछि तिनै चौंरी र भेडालाई खाद्यान्न र लुगाफाटो बोकाएर गाउँ (लेकतिर) फर्कंदा रहेछन् । अनि बल्ल आफ्ना जग्गा हुनेले चैत–वैशाखतिर बारीको हिउँ पन्छाएर खनजोत गरी खेती गर्दा रहेछन् ।

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट
सुलीगाड खोलामाथिको काठे पुल ।

हामी भोलिपल्ट बिहान उठेर तातो चिया र नास्ताले खाली पेटलाई थामथुम बनाएपछि सुलिगाडको किनारै किनार उकालो लाग्यौं । केही माथि गएपछि बाटोको छेउमा एउटा विद्यालय रहेछ जहाँ त्यस वरपरका नानीबाबुहरू आवासीय रूपमा अध्ययन गर्दा रहेछन् । त्यहाँबाट निकै अघि बढेपछि २/४ घर भएको एउटा गाउँ आइपुग्यो, जहाँ बिहानको खाना खायौं र अघि बढ्यौं ।

यहाँसम्म आइपुग्दा हामीले सुलिगाड खोलामा करीब १२ पटक काठे पुल तर्दै वारिपारि गरिसकेका थियौं । छेप्काबाट अगाडि बढेपछि बीच–बीचमा नेपाली सेना र डोल्पा राष्ट्रिय निकुन्जको अफिस पनि पर्दछन् ।

जब छहरा भन्ने ठाउँ आयो, त्यसपछि नाकै ठोक्किने ठाडो उकालो शुरू भयो । यो उकालो फोक्सुण्डो यात्रा गर्ने पदयात्रीको लागि अन्तिम र कठिन उकालो, अझ भनौं; अग्निपरीक्षा नै रहेछ । छहरा गाउँबाट माथि लागेपछि फोक्सुण्डो तालको किनारमा रहेको रिङ्गमो गाउँ नपुगेसम्म कुनै चियापसल र पानी पिउने ठाउँ पनि रहेनछ । तसर्थ बीचको लागि आवश्यक पिउने पानी र केही खानेकुरा साथमै लैजानुपर्ने रहेछ ।

करीब ५०० मिटर जति यस्तो अप्ठ्यारो बाटो हिंडेपछि बल्ल सुरक्षित तेर्सो बाटो आयो र मन ढुक्क भयो । वरिपरि कोणधारी सल्लाको वनको बीच हुँदै करीब आधा घण्टा तेर्सो बाटो हिंडेपछि साँझमा हामी रिङ्गमो गाउँ पुग्यौं । जहाँ पाटन जस्तो फराकिलो जग्गामा करीब १५/२० घर रहेछन् । तर उक्त गाउँका सबै घरका मानिसहरू करीब ५/६ महिना अघि हिमपात र चिसोबाट जोगिन आ–आफ्ना घोडा, चौंरी, खच्चड, भेडा र जहान परिवार साथमा लिएर बेसी झरेका अहिलेसम्म नफर्केका कारण अधिकांश घरका झ्यालढोका बन्द नै रहेछन् । बल्लबल्ल २/३ घरमा भने मान्छे भेट्यौं, जो हिजो अस्ति मात्र बेसीबाट गाउँ फर्केका रहेछन् । तीमध्ये एकजना लामाको घरमा बास पाइयो । हामी तीनै जना त्यही घरमा झोला बिसाएर चिरप्रतीक्षित फोक्सुण्डो तालको पहिलो दृश्यावलोकन गर्न विलम्ब नगरी सरासर त्यतातिर लाग्यौं ।

एकछिनको सम्यक् दृश्यावलोकनपछि बाँकी रहर भोलि बिहान मेट्ने गरी हामी आफ्नो वासस्थानतिर फर्कियौं र खानपिन गरेर सुत्यौं । सुत्न त सुत्यौं, तर निदाउन सके पो ! अत्यधिक चिसो भएकोले ओछ्यान तताउन निकै बेर लाग्थ्यो भने चिसो हुन एकछिन पनि लाग्दैनथ्यो । दिनभरको थकाइले गर्दा अधकल्चो निद्रामा रात काटियो र बिहान तातो चियाले पेट तताएर फोक्सुण्डोतिर लाग्यौं ।

फोक्सुण्डो डोल्पाको सदरमुकाम दुनैबाट ३५ किमी उत्तरतर्फ करीब ३६०० मिटरको उचाइमा अंग्रेजी अक्षर ‘वाई’ आकारको रूपमा रहेको मनोरम ताल हो । कान्जीरोवा र धवलागिरि हिमशृंखलाको बीचमा पर्ने यो ताल वरिपरिबाट हिउँ पग्लिएर जम्मा भएको पानीबाट बनेको र निकै उचाइमा रहेकोले हिउँद याममा यो तालमा वरफ जम्ने रहेछ । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रामसार क्षेत्रमा रहेको छ । यसको गहिराइ ६५० मिटर र लम्बाइ ४.८ कि.मी. रहेको उल्लेख छ । त्रिभुजाकारमा फैलिएकोले यसको एक छेउबाट अर्को छेउ देख्न सकिन्न ।

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट
फोक्सुण्डोको किनारमा रहेको रिङ्गमो गाउँ

तालको छेउछाउमा रिङ्गमो गाउँ बाहेक अन्य मानव बस्ती नभएको र प्रदूषणका अन्य स्रोत नभएकोले होला, यसको पानी कञ्चन, सफा र नीलो पाइन्छ । त्यसैले यसलाई नेपालको सर्वाधिक सफा पानीको तालको रूपमा पनि चिनिन्छ । यो तालको दक्षिण पूर्व दिशामा करीब ८०० वर्ष पहिले निर्मित धार्मिक हिसाबले महत्वपूर्ण प्रसिद्ध शे गुम्बा छ भन्ने जानकारी पाइयो ।

तर समयाभावले हामी त्यहाँसम्म पुग्न सकेनौं । उक्त गुम्बामा शताब्दीयौं पहिलेदेखि बहुमूल्य मूर्ति, गरगहना र धातुहरू रहेकोमा द्वन्द्वकालमा ती वस्तुको चोरी भएको भन्ने स्थानीय मानिसको भनाइ रहेछ ।

बिहानको घाम तालमा प्रतिबिम्बित हुँदा तालको दृश्य निकै सुन्दर देखिने रहेछ । आकाशमा सूर्यको स्थान फेरिएसँगै त्यसको परिवर्तित किरणले यो तालको पानीको रंग पनि बदलिइरहने रहेछ । तालको आकार तीनकुने भएकोले त्यसको कुनै पनि छेउबाट तालको पूरै भाग देख्न नसकिने र पूरै ताल हेर्न डाँडाको शिखरमा पुग्नुपर्ने र सोको लागि थप केही घण्टा यात्रा गर्नुपर्ने हुँदा समयाभावले गर्दा हामी त्यही किनार बाहेक अन्यत्र जान सक्ने अवस्थामा थिएनौं ।

वरिपरि अग्लाअग्ला डाँडाकाँडाहरूले घेरिएको यो तालको पारिपट्टि भित्तामा सानातिना गुम्बा जस्ता केही घरहरू देखिन्थे । यो तालको वरिपरि पाखाहरूमा करीब २० वटा बौद्ध स्तूप छन् भनिन्छ । बोन र बौद्ध धर्मावलम्बीहरूका लागि यो ताल पवित्र तीर्थस्थलको रूपमा मानिने रहेछ । यो तालबाट निस्केको पानी सुलिगाड झरना हुँदै बगेर दुनै नजिक पुगेपछि पूर्वबाट आएको ठूली भेरीसँग मिसिंदो रहेछ ।

अत्यधिक चिसोका कारण तालको पानीमा नुहाउन सकिने अवस्था थिएन । त्यसैले किनारमा पुगेपछि हात–मुख धोएर रहर लागुन्जेल फोक्सुण्डोको किनारमा विभिन्न पोजमा फोटोहरू खिच्यौं । अलिकबेर तालको किनारमा पदयात्रा गर्‍यौं । तर तालको किनारमा केही ठाउँ बाहेक अन्यत्र ठाडो र भिरालो चट्टान मात्र भएकोले धेरै परसम्म हिंड्न सकिने अवस्था थिएन ।

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट
राममणी दुवाडी र धर्म तिवारी

त्यहाँबाट आफन्त र मित्रहरूसँग तालको दृश्य देखाउने उद्देश्यले मोबाइल फोन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । छहरा गाउँको माथि डाँडाको टाकुरामा फोनको रिपिटर टावर त रहेछ, तर केही महिनादेखि उक्त टावर बिग्रिएको र यो बीचमा बाक्लो हिउँ र कठिन चुचुरोको कारण दूरसञ्चारका कर्मचारी त्यहाँसम्म जान नसकी मर्मत गर्न नसकेको कारणले दुनैबाट माथि फोक्सुण्डोसम्मको भूभागमा मोबाइल सम्पर्क कठिन रहेछ ।

त्यस्ता टाकुराहरूमा रहेको टेलिफोनको रिपिटर टावरमा पुग्न न त पैदल जान सकिने न त हेलिकप्टर ल्याण्ड गर्न सकिने हुँदा टावर बिग्रिएमा महिनौं दिनसम्म पनि मर्मत नहुँदो रहेछ । तीे रिपिटर टावर समयमै मर्मत गर्न सके स्थानीय व्यक्ति र पर्यटकका लागि सञ्चार सुविधा पुगी जीवन सहज बन्नेथियो । रिङ्गमो गाउँमा भने एक जना स्थानीयले वल्र्डलिंकको भिस्याट उपकरण राखेका रहेछन् ।

घाम लागेको बेला मात्र त्यसको सोलार ब्याट्री चार्ज हुने र आक्कलझुक्कल मात्र मोबाइल र इन्टरनेट चल्ने रहेछ । त्यस बिहान ब्याट्री चार्ज हुन नभ्याएकोले त्यसबाट पनि हामीले भरपर्दो सेवा लिन सकेनौं । बिहानको आकाश खुला भएको र सफा घाम लागेकोले मन लागुन्जेल दृश्यावलोकन गर्दै र फोटो खिच्दै झन्डै दुई घण्टा फोक्सुण्डोको किनारमा बितेको पत्तै भएन ।

रिङ्गमो गाउँ तिब्बती संस्कृति र जीवनशैलीको लागि चिनिंदो रहेछ । प्रसिद्ध हिमालयन चलचित्र क्याराभानमा पनि यसै गाउँ र वरपरको तिब्बती संस्कृति र जीवनशैलीको कथा प्रस्तुत गरिएको पाइन्छ । यहाँका मानिसहरू बौद्ध धर्मभन्दा पनि पुरानो मानिने बोन धर्मका अनुयायी रहेछन् । केही मानिसहरू लामा गुरुको रूपमा ध्यान गर्ने तथा जन्म, मरण, विवाह, व्रतबन्धका कार्य गर्दा ढ्यांग्रो ठटाएर सम्पन्न गर्दा रहेछन् ।
तर नयाँ पुस्तामा उक्त परम्पराको अनुसरण गर्नेको संख्या निकै कम पाइने हुँदा विस्तारै यो परम्परा लोप हुने सम्भावना देखिन्छ । यहाँका नयाँ पुस्ता बाबुबाजेको ज्ञान, सीप र परम्परा सिक्नुको सट्टा सुर्खेत, नेपालगञ्ज र काठमाडौंका कलेजमा गएर सूचनाप्रविधि, होटल म्यानेजमेन्ट, बिजनेस म्यानेजमेन्ट जस्ता विषय पढ्दा रहेछन् ।

यो समुदायमा मरेको मानिसको लाशलाई काटकुट गरेर गिद्धलाई खुवाए निजको आत्माले सद्गति पाउँछ भन्ने मान्यता रहेको पाइन्छ । यो ठाउँ अत्यन्त दुर्गममा भएतापनि यहाँका पसलमा पनि छेक्पामा जस्तै स्थानीय उत्पादनको सट्टा नेपालगञ्ज, जाजरकोट, दुनै हुँदै खच्चडमा बोकाएर ल्याएका बियर, रेडबुल, चाउचाउ, कुर्मुरे आदि सामान पाइँदो रहेछ । स्थानीय उत्पादनका खानेकुरामा जौ, फापर, उवा, आलु र स्थानीय साग थोरै मात्र पाइँदो रहेछ, त्यो पनि एक सिजनमा मात्र । डोल्पाको सदरमुकाम दुनैबाट ३/४ दिनसम्म खच्चडलाई बोकाएर यहाँसम्म सामान ल्याइने हुँदा खोजेको सामान नपाइने र पाइए पनि सामानको मूल्य निकै महँगो हुने रहेछ । गुणस्तरीय होटल उपलब्ध नहुँदा यहाँ आउने कतिपय पर्यटकहरू पाल गाडेर पनि बस्दा रहेछन् ।

हामी पनि रिङ्गमोमा बिहानको खाना खाएर फोक्सुण्डोलाई स्नेहपूर्वक विदाइको अभिवादन गर्दै मध्याह्नतिर त्यहाँबाट फर्कियौं । करीब आधा घण्टा तेर्सो हिंडेपछि ओरालो बाटो शुरू भयो । हामी ओरालो लाग्दा सुलिगाड पनि झरना बनेर ओरालो लाग्थ्यो ।

हामी तेर्सो बाटो लाग्दा सुलिगाड पनि तेर्सै बहन्थ्यो । सुलिगाडको पानी मात्रै सफा थिएन, मन र व्यवहार पनि उत्तिकै सफा थियो । सुलिगाडको कञ्चन पानीको लोभलाग्दो झरनालाई जति हेरे पनि धीत मर्ने कुरै भएन । झरना स्थिर थियो तर झरनाबाट बगेको पानी सुलिगाड बनेर अविरल बगिरहेको थियो । हामी पनि त्यही नदीको पदचाप पछ्याउँदै ओरालो झर्दै गयौं ।

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट
रिङ्गमो गाउँमा खुला आकाशमुनि रात बिताउँदै चौंरीगाई ।

ठाडो ओरालो सकिएपछिको छहरा गाउँ आयो भने त्यसपछि आउने चुनुवार गाउँ, जहाँ तिब्बती प्रविधि र परम्परामा आधारित आम्ची अस्पताल पनि थियो, त्यहाँबाट साँझसम्म हिंडेर बास बस्न छेप्का पुग्यौं । हामी बसेकै होटलमा लगभग १८/२० वर्षका तीन–चार जना केटाहरू खाना खाने बेला हामीसँगै परेछन् । उनीहरू खाना खानुअघि होटल साहुनीसँग त्यहींको लोकल मदिरा मागेर पिउँदै थिए । धर्मजीले उनीहरूको सामान्य परिचय र घरको ठेगाना सोध्नुभो ।

उनीहरूले प्लस टुको जाँच सकेर काठमाडौंबाट ट्रेकिङ आएको जवाफ दिए । अनि यति कलिलो उमेरमै किन मदिरा पिएको त भन्ने हाम्रो प्रश्नको उत्तरमा उनीहरूले काठमाडौंमा खाउँ भने क्याम्पसका शिक्षक र घरका अभिभावकले थाहा पाउँछन् भन्ने डरले रहर लागेर पनि मदिराको स्वाद चाख्न पाइएन । यति टाढा र दुर्गममा आएर जीवनमा पहिलोपल्ट मदिरापान गर्दा पनि अङ्कलहरूले नाम–ठेगाना सोध्न थाल्नुभो । अब हामीले कहाँ गएर ढुक्कसँग मदिराको स्वाद लिने त ? भने ।

तिनको मार्मिक कुराले हाम्रो मन काटियो र पहिलो पटक नै धेरै मदिरा नपिउनु भन्ने सुझाव दिएर तिनलाई थप कुरा सोध्न छाड्यौं । सुलिगाड खोलाबाट आएको चिसो हावाले चस्स चस्स हिर्काए पनि थकाइको कारण अधकल्चो निदाएर जसोतसो त्यो रात काटियो ।

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट

बिहान चिया–नास्ताले पेट तातो बनाएर त्यहाँबाट हिंड्यौं र करीब ३/४ घण्टामा कागेनी पुग्यौं । त्यहाँ अलि फराकिलो ठाउँ र केही पसल घरहरू रहेछन् । बारीको हरियो रायोसागले हामीलाई लोभ्यायो । त्यही सागको तरकारी पकाउन लगाएर खाना खाने सुरले झोला बिसायौं । अघिल्लो पुस्तातिरै तलबाट बसाइँ सरी आएका बुढाथोकीको होटल रहेछ । होटल साहु र साहुनी दुवै फरासिला रहेछन् । आफ्नै घरको मौरीको घारबाट हिजो मात्र झिकेको ताजा मह रहेछ । साहुनीले स्थानीय फापरको रोटी र मह खान दिइन् । धाराको सफा पानी देख्दा लोभ लाग्यो ।

अलि परबाट पाइपमा घाम ताप्दै आएकोले पानी मनतातो रहेछ । तीन दिनको थकाइले शरीर तातेकोले घाममा बसेर धाराको पानीमा नुहायौं । यसरी टन्टलापुर घाममा खुला ठाउँमा बसेर धाराको पानीमा ननुहाएको धेरै वर्ष भएको रहेछ । नौलो ठाउँमा नौलो अनुभव गरियो ।

यात्रा थालेको ३/४ दिनपछि ताजा साग, ताजा मह र फापरको रोटी खान पाउँदा हाम्रो जिब्रो पनि खुशीले दंग परेको थियो । घामको मज्जा लिंदै खाना खाएर ताजा हुँदै त्यहाँबाट हिंड्यौ । हामीले सुलिगाडलाई छोडेर आफू मात्रै खाना खान बस्यौं, तर सुलिगाडले हाम्रो साथ छोडेको थिएन ।

यो अर्थमा ऊ हामीभन्दा बढी इमानदार थियो । हामी पनि सुलिगाडको किनारैकिनार ओरालो लाग्यौं । एक त गन्तव्यमा पुगेर फर्केको यात्री, त्यसमा पनि ओरालो बाटो, हाम्रा पाइलाहरू सहज रूपमा अघि बढिरहेका थिए । हामी अपराह्नतिर सुलिगाड र ठूली भेरीको संगम मुनिको झोलुंगे पुल तर्‍यौं ।

हामीसँग अझै तीन घण्टा जति दिन बाँकी थियो । डोल्पाको प्रसिद्ध त्रिपुरासुन्दरी देवीको बारेमा धेरै पहिलेदेखि सुनेको थिएँ । डोल्पा पुगेर त्रिपुरासुन्दरी देवीको दर्शन नगरी फर्कने कुरै भएन । झोलुङ्गे पुल तरेपछि सहयात्री तथा पथप्रदर्शक बिष्णु बूढालाई सधन्यवाद विदा गर्‍यौं । उनी दुनैतिर लागे भने हामी त्रिपुरासुन्दरीतिर जाने लोकल गाडी चढेर पश्चिमतर्फ लाग्यौं ।

अघिल्लो वर्ष मात्र ट्रयाक बनाएको उबडखावड कच्ची बाटो भए पनि थाकेको शरीरले गाडी चढ्न पाउँदा छुट्टै आनन्दको अनुभूति भएको थियो । ठूली भेरीमा पुल बनिनसकेकोले गाडी त्यही नदी किनारसम्म मात्रै जाने रहेछ । हामी झोलुंगे पुल तरेर केही बेर पैदल हिंडी त्रिपुरासुन्दरी मन्दिर पुग्यौं । चार दिन पहिले प्लेनबाट झुलुक्क देखिएको मन्दिरमा आज सशरीर पुग्न पाएकोमा निकै खुशी लाग्यो ।

चारैतिर हिमाच्छादित टाकुराहरूको बीचमा रहेको थुम्कोमा रहेको यो मन्दिरमा सुरक्षाका लागि हवल्दारको कमाण्डमा एक टोली प्रहरी राखिएको रहेछ । हवल्दारले मन्दिरका पुजारीलाई मोबाइल फोनबाट बोलाइदिए । पुजारी आइपुगे । देवीको दर्शन र पूजाआजा गरेर उहाँसँग मन्दिरको स्थापना बारेको किंवदन्ती सुनाउनुभयो ।

बैतडीको त्रिपुरासुन्दरी लगायत सुदूरपश्चिमका विभिन्न स्थानमा रहेका सात प्रसिद्ध देवीहरूमध्ये यी देवीलाई कान्छी बहिनीको रूपमा मानिंदै आएकोले यिनलाई बाला त्रिपुरासुन्दरीको नामले चिनिंदो रहेछ । यहाँ प्रसिद्ध शक्तिपीठको रूपमा टाढा–टाढादेखिका तीर्थयात्रीहरू दर्शन र पूजाका लागि आउने गरेको कुरा पुजारीले बताउनुभयो । केही बेरको विश्राम, अवलोकन र फोटोग्राफीपछि हामी पैदल फर्किएर जुफाल एअरपोर्टमा आई एक होटलमा रात बितायौं । भोलिपल्ट जुफालबाट नेपालगञ्ज हुँदै हवाईजहाजबाट काठमाडौं फर्कियौं । यसरी ६ दिनमा एक फन्को मारी चिरप्रतीक्षित डोल्पा भ्रमण सम्पन्न गरियो ।

काठमाडौं जस्ता सुविधासम्पन्न शहरमा बस्नेलाई डोल्पा जिल्ला सडक नपुगेको र प्लेनको नियमितता नभएकोले कता कता टाढा जस्तो लाग्न सक्छ । त्यसमाथि दुनैबाट दुई दिन हिंड्नुपर्ने फोक्सुण्डो, जहाँ पुग्न यातायातको असुविधा, रात बस्न स्तरीय होटलहरूको अभाव, मोबाइल तथा इन्टरनेट सुविधाको अभाव जस्ता कारणले फोक्सुण्डो यात्रा जति दुरुह जस्तो लाग्छ, तर त्यहाँ पुगिसकेपछि पाइने आनन्द छुट्टै र विशिष्ट खालको छ ।

प्रकृतिसँगको अनुपम सामीप्यले मन आनन्दित हुन्छ, भावना निर्विकार हुन्छ । अलिअलि थकाइ लागे पनि शरीर फुर्तिलो र चङ्गा हुन्छ । धेरै उकालो ओरालो हिंड्नुनपर्ने सहज बाटो, ठाउँ–ठाउँमा सूचनापाटी राखिएको र खोलाको किनारैकिनार आउजाउ गरिने हुँदा बाटो भुलिने सम्भावना कम, खोलाको आर्द्र र शीतल वायुले गर्दा मनोरम र अनुकूल वातावरण, रिङ्गमो गाउँमा प्राचीन बोन्पो धर्म र तिब्बती संस्कृतिको परिचय पाइने तथा फोक्सुण्डो तालको मनोरम र विशिष्ट दृश्यावलोकन गर्न पाइने हुँदा फोक्सुण्डो यात्रा रोमाञ्चक, सुखद् र मनोरञ्जनपूर्ण मानिन्छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School