प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

अमेरिकाको एउटा अध्यागमन कानुन व्यवसायी फर्मले सरकारी डिभी कार्यक्रममा लगाइएको प्रशासनिक रोकको वैधतालाई चुनौती दिँदै संघीय अदालतमा ठूलो सामूहिक क्लास एक्सन मुद्दा दर्ता गर्ने तयारी गरेको छ। फर्मले यो कानुनी प्रक्रियामा सामेल हुन विश्वभरका डिभी विजेताहरूका लागि जुन १५ को समयसीमा तोकेको छ।
‘रेड इगल ल’ नामक कानुन फर्मले आगामी जुन २२ मा अमेरिकी अदालतमा आफ्नो डिभीमा लगाइएको रोकविरुद्धको दोश्रो मुद्दा दर्ता गर्ने घोषणा गरेको हो। कुन अदालतमा मुद्दा दायर गर्ने भन्ने कुरा दर्ता गर्नुअघि वकिलद्वारा तय गरिने फर्मले जनाएको छ।
यस मुद्दाले डिसेम्बरको मध्यतिर कार्यकारी आदेशमार्फत लगाइएका दुईवटा भिसा रोक सम्बन्धी नीतिहरूलाई प्रत्यक्ष रूपमा चुनौती दिने भएको छ । ती प्रतिबन्धहरूमा डिसेम्बर १९, २०२५ देखि लागू भएको युएससीआईएसद्वारा अमेरिकाभित्रै रहेका आवेदकहरूको ग्रिन कार्ड समायोजनमा लगाइएको रोक र डिसेम्बर २३, २०२५ देखि लागू भएको विदेश मन्त्रालयको कन्सुलर प्रक्रिया सम्बन्धी रोक सामेल छन्।
यसका साथै जनवरीमा पब्लिकको उच्च जोखिम रहेका देशका नागरिकलाई लक्षित गरी नेपाल लगायत ७५ वटा देशका नागरिकहरूको भिसा प्रक्रियामा लगाइएको “अतिरिक्त रोक” लाई समेत यस मुद्दामा चुनौती दिइने फर्मको वेबसाइटमा उल्लेख छ।
कानुन व्यवसायीहरूले भिसा प्रक्रियामा लगाइएको यस्तो पूर्ण रोक गैरकानुनी हुनुका साथै ‘प्रशासनिक कार्यविधि ऐन’ को ठाडो उल्लंघन भएको तर्क गरेका छन्। उनीहरूका अनुसार आवेदकहरूको राष्ट्रियताका आधारमा विभेद गरी सरकारले अमेरिकी कंग्रेसको कानुन बनाउने मूल मनसाय र अधिकारलाई मिचेको छ।
“यो सामूहिक मुद्दा डिभी २०२६ का विजेताहरूका लागि सरकारको यो रोक सम्बन्धी नीतिको वैधतालाई चुनौती दिने एउटा महत्वपूर्ण अवसर हो,” फर्मले जनाएको छ।
डिभी २०२६ का अनुमानित १ लाख २९ हजार विश्वव्यापी विजेताहरूका लागि यो कानुनी लडाइँ निकै संवेदनशील घडीमा आएको छ। अमेरिकी कानुन अनुसार चालु डाइभर्सिटी भिसा चक्र आगामी सेप्टेम्बर ३०, २०२६ मा स्थायी रूपमा समाप्त हुनेछ। यदि त्यो मिति अगाडि यो प्रशासनिक रोक नहटाइएमा बाँकी रहेका सबै भिसा संख्याहरू सधैंका लागि खेर जानेछन्।
अदालतले बाँकी रहेका भिसाहरू पछि जारी गर्ने गरी सुरक्षित राख्ने सम्भावना निकै कम छ, किनकि सन् २०२४ मा कोलम्बिया सर्किट अपिल अदालतले न्यायाधीशहरूसँग त्यस्तो अधिकार नभएको फैसला सुनाइसकेको छ।
यस मुद्दामा अमेरिकाभित्र रहेर युएससीआईएस मार्फत प्रक्रिया गरिरहेका वा अमेरिका बाहिर कन्सुलर प्रक्रियामा रहेका सबै डिभी २०२६ का विजेताहरू सहभागी हुन सक्छन्। अन्तर्वार्ता भई २२१(जी) अन्तर्गत अस्वीकृत भएका वा थप प्रशासनिक प्रक्रियामा रहेकाहरू पनि यसमा सहभागी हुन योग्य छन्।
यद्यपि यात्रा प्रतिबन्धमा परेका ४० वटा देशहरूका नागरिकहरूका लागि यो सामूहिक मुद्दाले सम्बोधन गर्नेछैन। त्यसैले यदि यी देशका नागरिकहरू सहभागी भएमा मुद्दा जितेको खण्डमा पनि उनीहरूको एउटा मात्र अवरोध हट्नेछ र यात्रा प्रतिबन्धको चुनौती कायमै रहनेछ।
यो मुद्दामा सहभागी हुन प्रति डिभी विजेता अमेरिकी डलर २,५०० शुल्क तोकिएको छ, जसमा परिवारको संख्या जतिसुकै भए पनि थप शुल्क लाग्ने छैन। भुक्तानी सर्त अनुसार मुद्दामा नाम दर्ता गर्न ५०० डलर अग्रिम बुझाउनुपर्नेछ भने बाँकी २,००० डलर आवेदक अमेरिका प्रवेश गरेपछि वा आई ४८५ स्वीकृत भएपछि मात्र प्रतिमहिना २५० डलरका दरले बुझाउनुपर्नेछ।
फर्मले यस मुद्दामा शतप्रतिशत जितको कुनै ग्यारेन्टी नभएको र क्लास एक्सन प्रमाणीकरणका लागि आवेदन दिइने भए तापनि अदालतले त्यसलाई स्वीकृत गर्ने निश्चित नभएको स्पष्ट पारेको छ।
थप जानकारीका लागि ‘रेड इगल ल’ को वेवसाइटमा हेर्नुहोला।
