डाँङडुङे डाँडामा फिल्म सिटी : RajdhaniDaily.com


नेपाली चलचित्रमा अन्तर्राष्ट्रिय हस्तक्षेप अझै पनि छ । प्रविधिको प्रयोगमा कमजोर पहुँच भएकै कारण नेपाली चलचित्र विश्व बजारमा बिक्न र टिक्न नसकेको टिप्पणी एकातिर छ भने अर्कातिर विश्व चलचित्रको बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धा निरन्तर छ । तर, प्रतिस्पर्धामा नेपाली चलचित्रले आफ्नोपनको ब्रान्ड भने बनाउन सकेको देखिँदैन । नेपालीपन, नेपालका प्राकृतिक स्टुडियोहरूको भरपुर प्रयोग नभएका कारण अहिले नेपाली चलचत्रिको मार्केट अपेक्षाकृत हुन नसकेको विज्ञहरू बताउँछन् ।

यस्तै, वास्तविकतालाई मध्यनजर गर्दै बाग्मती प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि विभिन्न स्थानलाई योजनाबद्ध विकास गर्ने भएको छ । यसै सिलसिलामा प्रदेशको दोलखा जिल्लास्थिति डाङडुङे डाँडालाई फिल्म सिटी बनाउने प्रदेश सरकारले घोषणा गरेको छ । स्थानीय पर्यटन र आर्थिक विकासमा सघाउ पु¥याउने लक्ष्यका साथ यो योजना अघि सारिएको हो । फिल्म सिटी निर्माणका लागि आर्थिक वर्ष २०८२–०८३ को बजेटमा रकम विनियोजनसमेत गरिएको छ । यसअघि संघीय सरकारले पनि यसका लागि प्राविधिक अध्ययन तथा अन्य पहल गरेको थियो । डाङडुङे डाँडामा बन्ने फिल्म सिटीले फिल्म उद्योगको भविष्य, दोलखाको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पु¥याउने विश्वास लिइएको प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बताए ।

प्रदेशभित्रको मौलिकता एवं सांस्कृतिक विविधता झल्काउने चलचित्रहरूको निर्माणलाई प्रोत्साहन गर्न तथा पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीका रूपमा विकास गर्न सरकारले बजेटको व्यवस्था गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

डाङडुङे डाँडामा अन्तर्राष्ट्रियकरण चलचित्र नगरी (फिल्म सिटी) निर्माणका लागि यसअघि नै संघ सरकारले पहल गरेको थियो । संघीय सरकारको बजेटमार्फत थालिएको सो पहलसँगै प्राविधिक सम्भाव्यता अध्ययन प्रतिवेदनसमेत तयार गरिएको थियो । भीमेश्वर नगरपालिका–९ मा अवस्थित डाङडुङे डाँडा समुन्द्री सतहदेखि २ हजार ९ सय मिटरदेखि ३ हजार ४ सय मिटरको उचाइमा रहेको छ । सफा आकाश, हिमालको काख, हरियाली जंगल, अनि टाढाटाढासम्म देखिने धवल पर्वत शृंखलाहरू डाङडुङे डाँडाबाट देखिने पर्यावरण हो ।

छिनभरमा नै फेरिने मौसम, बादलले ढाकेका थुम्का, चौंरी चरण अनि हरियाली वातावरण डाङडुङे डाँडाको पहिचान हो । त्यसो त डाङडुङे डाँडामा चर्दै गरेका चौरीका घाटीमा बाँधिएका घण्टीका आवाजले सो क्षेत्रको वातावरणलाई थप रोचक बनाउँछ । डाङडुङे डाँडामा उभिँदा प्रकृतिले चलचित्रको पर्दा खोलेजस्तो लाग्छ । सो स्थानमा बन्ने चलचित्र नगरीले फिल्म उद्योगको भविष्य मात्र होइन, दोलखाको आर्थिक र सामाजिकस्वरूप नै परिवर्तन गर्ने सामथ्र्य बोकेको छ । सपनाको रूपमा रहेको सो क्षेत्र सम्भावनाका अवसरका रूपमा अघि बढाउने बाग्मती सरकारको लक्ष्य रहेको छ । काठमाडौंबाट करिब १ सय १८ किमी पूर्व, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं ९ समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको छ डाङ्डुङे डाँडा । पर्यटकीय स्थान खरिढुंगाबाट ६ दशमलव ५ किलोमिटरको सडक पार गरेपछि सेतीदेवी सामुदायिक वनको यो रमणीयस्थल डाङ्डुङे डाँडामा पुग्न सकिन्छ । सो क्षेत्रमा ५० प्रजातिका जैविक प्राणी, १४ प्रजातिका गुराँस, स्वयम्भू, फूलचोकी, गौरीशंकर, गणेश, जुगल, लाङटाङ, धौलागिरी हिमशृंखला, सिन्धुपाल्चोकदेखि ओखलढुंगासम्मका भूभागहरू दृश्यावलोकन गर्न सकिन्छ । जसले फिल्म सुटिङलाई नै एक महाकाव्यिक अनुभव बनाउनेछ । यसैलाई आधार मानेर सपनाका रूपमा रहेको सो क्षेत्र सम्भावनाको अवसर बढाउने बाग्मती सरकारको लक्ष्य रहेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।

तत्कालीन समयमा तयार गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ७६ दशमलव २५ हेक्टर क्षेत्रमा बन्ने चलचित्र नगरीका लागि ३२ करोड रुपैयाँ लगानीमा भौतिक पूर्वाधार निर्माण र ७४ करोड ३७ लाख प्राविधिक र सुधारात्मक संरचनामा खर्च अनुमान रहेको थियो । हाल सो दर र प्रतिवेदनमा केही परिवर्तन गरेर संरचना निर्माणमा अघि बढ्ने सरकारको तयारी रहेको उनले जानकारी दिए ।

सो क्षेत्रमा फिल्म सिटी निर्माणपश्चात रोजगारी, पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक उत्थानले दोलखासहित आसपासका जिल्लाका नागरिकको जीवनस्तरमा सुधार हुने काफ्लेले बताए । २०६८ सालबाट सो स्थानमा फिल्म सिटी निर्माणको प्रारम्भिक प्रक्रिया थालिएको थियो । तत्कालीन नेपाल सरकारले थालेको सो प्रक्रियाका लागि आव २०७०÷०७१ मा २ करोड रुपैयाँ बजेटसहित गुरुयोजना प्रारम्भ गरिएको थियो । २०८१ सालमा सम्भाव्यता प्रतिवेदन सार्वजनिक गरी २०८२ सालभित्र निर्माण सुरु गर्ने तयारी थियो । तर, राजनीतिक अस्थिरता, सत्ता परिवर्तन, कार्यान्वयन प्रक्रियाको फितलोपनले सो योजना अघि बढ्न सकेन ।

बाग्मती प्रदेश सरकारले आव २०८२-०८३ का लागि डाङडुङे डाँडामा फिल्म सिटीको पूर्वाधार निर्माण गर्न १ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । यससँगै दोलखा जिल्लामा साहसिक खेल पर्यटनसम्बन्धी सम्भाव्यता अध्ययनका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा दोलखा जिल्लाको अनलाइन पर्यटन पोर्टल निर्माणका लागिसमेत १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको काफ्लेले बताए ।

सेतीदेवी सामुदायिक वनको यो रमणीयस्थल डाङ्डुङे डाँडाबाट काठमाडौंको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृंखला, गौरीशंकर, जुगल, गणेश, गौरापर्वत, धौलागिरी, लाङटाङ हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुंगा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिन्छ । जसरी दोलखाको कालिञ्चोकमा पर्यटकको आकर्षण बढेको छ, डाङ्डुङे डाँडा पनि पर्यटकको एउटा आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

नेपाली विविधता, नेपालको भौगोलिक हावापानी, रहनसहन, यहाँको प्राकृतिक स्टुडियोहरूको ब्रान्ड विश्व चलचित्र बजारमा खोइ ? यसको उचित मार्केटिङ चलचित्रबाटै गर्नुपर्ने नेपाल खुला विश्वविद्यालयका ग्लोबल मिडिया र सञ्चार विषय प्रोफेसर धनबहादुर खड्का बताउँछन् ।

चलचित्र सञ्चारको सबैभन्दा सशक्त माध्यम हो, जसले दर्शकलाई आफूले भन्न खोजेको सवाल झ्वाट्टै बुझाउनसक्छ । यस्तो सशक्त माध्यमलाई प्रवर्धन गर्ने सरकारी तथा निजी क्षेत्रको सहकार्य अनिवार्यजस्तै रहेको प्रोफेसर खड्काको सुझाव छ ।

फिल्म सिटी निर्माणपछिका सम्भावना
प्रदेश सरकारले फिल्म सिटी निर्माणपछि अन्तर्राष्ट्रिय चलचित्र छायांकन गन्तव्यका रूपमा यी क्षेत्रको पहिचान बनाउने लक्ष्य राखेको छ । यसैगरी, सांस्कृतिक कार्यक्रम, चलचित्र महोत्सवको हवका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । स्थानीय र जिल्लाबाहिर मात्रै होइन बाह्य पर्यटकहरू पनि ट्रेकिङ, एड्भेन्चर, इको टुरिजम्को केन्द्रका रूपमा आकर्षण बढाउन सकिन्छ । यसरी विकास गर्न सकिएमा रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत, पर्यटन आम्दानी र पूर्वाधार विकास गर्न सकिने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

वर्षौंदेखिका योजना
यस स्थानलाई पर्यटकीय गन्तव्यसँगै फिल्म सिटीका रूपमा विकास गर्ने सरकारी तवरबाट वर्षौं अगाडिदेखि प्रयास जारी रहेको देखिन्छ । सरकारले २०७५ साल चैतमा भएको दोस्रो लगानी सम्मेलनमा सरकारले तयार पारेको परियोजनाको ‘सो–केस’मा यो स्थान पनि परेको थियो । निकै लामो अध्ययनपछि राष्ट्रिय लगानी बोर्डले तयार पारेको देशभरका ४३ वटा परियोजनाको ‘सो–केस’को सूचीमा पर्यटन पूर्वाधारतर्फ दोलखाको यस क्षेत्रको प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय फिल्म सिटी पनि समावेश गरिएको थियो ।

लगानी भित्र्याउन सरकारले १५ र १६ चैत २०७५ मा राजधानीमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेको थियो । लगानी सम्मेलन सन् २०१९ को निर्देशक समितिको बैठकले स्वीकृत गरेका ४३ ठूला परियोजनामा दोलखाको फिल्म सिटीलाई पर्यटन पूर्वाधारतर्फ पाचौं नम्बरमा राखिएको थियो ।

डाङडुङे क्षेत्रको १ हजार ५ सय रोपनी जग्गामा फिल्म सिटी निर्माण गर्न २०७३ फागुनमा निर्णय भएको थियो । सोही वर्षको १५ चैतमा चलचित्र विकास बोर्ड र वन मन्त्रालयबीच वन क्षेत्रमा पर्ने सो १ हजार ५ सय रोपनी जमिनमा फिल्म सिटी निर्माणका लागि सहमतिमा हस्ताक्षरसमेत भएको थियो ।

चलचित्र नगरी बनाउने पूर्वाधार तयार गर्न मात्र त्यसयता सरकारले यस क्षेत्रमा करिब ५० करोडभन्दा बढी रकम खर्च गरिसकेको छ । लामोसाँघु–जिरी सडकको खरिढुंगादेखि डाङडुङे डाँडासम्म ६ किलोमिटर सडक कालोपत्रे, प्रस्तावित चलचित्र नगरी क्षेत्रमा बिजुली, खानेपानीलगायत पूर्वाधारमा सरकारी लगानी भएको छ ।

सो स्थानमा २०६८ सालबाट फिल्म सिटी निर्माणको प्रारम्भिक प्रक्रिया थालिएको थियो । तत्कालीन नेपाल सरकारले थालेको सो प्रक्रियामा आव २०७०–०७१ मा २ करोड रुपैयाँ बजेटसहित गुरुयोजना प्रारम्भ गरिएको थियो । २०८१ सालमा सम्भाव्यता प्रतिवेदन सार्वजनिक गरी २०८२ सालभित्र निर्माण सुरु गर्ने तयारी थियो । तर, सो योजना अघि बढ्न सकेन ।

(Visited 8 times, 1 visits today)





Source link

Leave a Comment