ठमेलमा भारतीय नागरिकको कुटपिटबाट तेस्रोलिंगी महिला गम्भीर घाइते, २२ वर्षीय अखिल पक्राउ



प्रकाशित मिति : १ असार २०८३, सोमबार

ठमेलमा भारतीय नागरिकको कुटपिटबाट तेस्रोलिंगी महिला गम्भीर घाइते, २२ वर्षीय अखिल पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलमा भारतीय नागरिकको कुटपिटबाट एक तेस्रोलिंगी महिला गम्भीर घाइते भएकी छन्। आइतबार राति भएको उक्त घटनापछि पीडितले ज्यान जोगाउन सफल भए पनि प्रहरीले कानुनी कारबाही गर्नुको सट्टा उल्टै दबाब दिएको आरोप लागेको छ।

पीडितका अनुसार ठमेलको एक होटलमा सेवा दिइरहेका बेला ती भारतीय नागरिकले आफ्नो ब्यागबाट पैसा झिकेको थाहा पाएपछि विवाद सुरु भएको थियो। “मैले मोबाइल अन गरेर भिडियो रेकर्ड गर्दै ‘पैसा किन चोरिस्’ भनेर सोधेँ, उनले ‘भिडियो किन बनाइस्’ भन्दै मोबाइल खोसेर भुइँमा पछारिदिए र कुटपिट गर्न थाले”, पीडितले भनिन्, “म कराते खेलाडी हुँ भन्दै उनले मेरो टाउको र अनुहारमा मुक्का प्रहार गरे। बल्लतल्ल ढोकाको चुकुल खोलेर गुहार मागेकाले ज्यान बच्यो, नत्र कोठाभित्रै मार्न सक्थे।”

घटनालगत्तै पीडितले आफैँ प्रहरीलाई खबर गरेकी थिइन्। तर, घटनास्थल पुगेका प्रहरीले उपचारको व्यवस्था गर्नुको सट्टा १ हजार रुपैयाँ लिएर मिलापत्र गर्न दबाब दिएको उनको आरोप छ। १ हजारमा मिलापत्र नगर्ने अडान लिएपछि प्रहरीले ‘कति, एक लाख चाहियो ?’ भन्दै सोधेको र ‘राति राति किन हिँड्नु परेको ?” भन्दै प्रश्न गरेको भिडियो प्रमाण आफूसँग सुरक्षित रहेको उनले बताएकी छन्।

आफू गम्भीर घाइते भएकाले कानुनी कारबाही हुनैपर्ने माग गर्दै उनी महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पुगेकी थिइन्। तर, त्यहाँका केही प्रहरी कर्मचारीबाट समेत तुच्छ व्यवहार भोग्नु परेको र पटक-पटक आग्रह गर्दा पनि उजुरी दर्ता गर्न अस्वीकार गरिएको उनले बताइन्।

‘मायाको पहिचान नेपाल’ र ‘समावेशी मञ्च नेपाल’को टोलीले न्यायका लागि प्रहरी कार्यालयमा दबाब दिएपछि दिउँसो करिब ३:३० बजे मात्र जाहेरी दर्ता भएको संस्थाकी राजनीतिक एवं सामाजिक अभियन्ता मधु केसीले जानकारी दिइन्। अभियन्ता केसीले तेस्रोलिंगी समुदायप्रति प्रहरी प्रशासनको दृष्टिकोण अझै पनि नकारात्मक र विभेदपूर्ण रहेको अनुभव सुनाइन्। जाहेरी दर्तापछि मात्रै पीडित महिला उपचारका लागि काठमाडौँ मेडिकल कलेज पुगेकी हुन् । हाल उनको उपचार भइरहेको छ।

ठमेलमा भारतीय नागरिकको कुटपिटबाट तेस्रोलिंगी महिला गम्भीर घाइते, २२ वर्षीय अखिल पक्राउ

विदेशी नागरिकबाट आफ्नै देशमा गम्भीर कुटपिट हुँदा समेत प्रहरीले न्याय दिलाउनुको सट्टा पीडितमाथि नै दबाब दिएको भन्दै आफ्नो समुदायलाई न्यायका लागि आवाज उठाउन उनले आग्रह गरेकी छन्।

प्रहरी वृत्त सोह्रखुट्टेले कुटपिटमा संलग्न २२ वर्षीय भारतीय नागरिक अखिल श्री निवासलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। पैसाको विषयमा कुरा नमिल्दा कुटपिट भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।





Source link

Leave a Comment