प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेज (एचएचएस)का सयौं वरिष्ठ कर्मचारीहरूको नागरिक सेवा (सिभिल सर्भिस) अन्तर्गत रहेको रोजगारी सुरक्षा हटाउने प्रक्रिया अघि बढाएको छ। रोयटर्सले समीक्षा गरेको एक आन्तरिक इमेलका आधारमा यो जानकारी सार्वजनिक भएको हो।
एचएचएसका विभिन्न निकायमा कार्यरत कर्मचारीहरूले प्राप्त गरेको उक्त इमेलमा उनीहरूको पद पुनःवर्गीकरण गरिने उल्लेख छ। पुनःवर्गीकरणपछि ती कर्मचारीहरूलाई अब ‘कारण देखाएर मात्र होइन, जुनसुकै बेला’ बर्खास्त गर्न सकिनेछ। यसअघि उनीहरूलाई केवल उचित कारण देखाएर मात्र हटाउन सकिन्थ्यो भने त्यसविरुद्ध अपिल गर्ने अधिकार समेत सुरक्षित थियो।
यो निर्णय फेब्रुअरीमा ट्रम्प प्रशासनले घोषणा गरेको संघीय सरकारको सिभिल सर्भिस प्रणाली पुनर्संरचना योजनासँग जोडिएको बताइएको छ। उक्त योजनाअन्तर्गत करिब ५०,००० करियर संघीय कर्मचारीलाई स्केड्युल एफबाट स्केड्युल पोलिसीरक्यारियर वर्गमा सार्दै राष्ट्रपति कार्यालयलाई नियुक्ति र बर्खास्तीमा बढी अधिकार प्रदान गरिनेछ।
एक एचएचएस अधिकारीले इमेलको प्रामाणिकता पुष्टि गरेका छन्। तर कति कर्मचारी प्रभावित हुनेछन् भने कुन–कुन निकाय तथा पदहरू यसमा पर्नेछन् भन्नेबारे विस्तृत जानकारी दिन उनले अस्वीकार गरेका छन्। प्रारम्भिक चरणमा जीएस-१५ श्रेणीका कर्मचारीहरू प्रभावित हुने अनुमान गरिएको छ, जसमा वरिष्ठ प्राविधिक विशेषज्ञ, व्यवस्थापक, उच्चस्तरीय नीतिगत कर्मचारी तथा सुपरभाइजरहरू पर्छन्।
इमेलमा सुरुमा ‘हजारौं होइन, तर सयौंको हाराहारीमा’ कर्मचारीहरू प्रभावित हुने उल्लेख गरिएको छ। साथै, आगामी दिनमा थप चरणमा पुनःवर्गीकरण विस्तार गरिने पनि जनाइएको छ।
अधिकारीका अनुसार हालसम्म डिपार्टमेन्टमा कुनै व्यापक सामूहिक बर्खास्तीको योजना भने छैन, बरु क्रमिक रूपमा परिवर्तन लागू गरिनेछ।