प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार

अमेरिकाको न्युयोर्कस्थित पेन स्टेसनमा भएको चक्कु आक्रमणमा पाँच जना घाइते भएका छन्। न्युयोर्क अग्नि विभागका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था मध्यम रहेको छ।
घटनालगत्तै फरार भएका संदिग्धलाई प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गरी पक्राउ गरेको छ। उनलाई एम्ट्राक प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानले यो घटना जथाभावी गरिएको हिंसात्मक आक्रमण भएको देखाएको छ भने पक्राउ परेका व्यक्ति मानसिक रूपमा अस्थिर रहेको बताइएको छ। अग्नि विभागका अनुसार घाइते सबैलाई उपचारका लागि बेलभ्यु अस्पताल भर्ना गरिएको छ।
न्युयोर्कको पेन स्टेसन प्रसिद्ध म्याडिसन स्क्वायर गार्डेनको ठीक तल अवस्थित छ। सोही स्थानमा सोमबार साँझ एनबीए फाइनलको तेस्रो खेलमा न्युयोर्क निक्स र सान एन्टोनियो स्पर्सबीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उक्त खेल हेर्न सोमबार न्युयोर्क आउने कार्यक्रम रहेकाले सहर प्रशासनले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको छ।
खेलअघि अधिकारीहरूले विशेष सुरक्षा उपायहरूको घोषणा गरेका छन्, जसअन्तर्गत दर्शकहरूलाई रंगशालामा झोला लैजान निषेध गरिएको छ। साथै, रंगशालाबाहिर आयोजना गरिने तय भएको सामूहिक खेल अवलोकन कार्यक्रम समेत रद्द गरिएको छ। उक्त खेल हेर्न न्युयोर्कका मेयर जोहरान मम्दानी पनि उपस्थित हुने अपेक्षा गरिएको छ।
