ट्रम्पलाई अदालतको आदेश : फेडरल रिजर्भकी गभर्नर कुकलाई ‘बर्खास्त नगर्नु’



प्रकाशित मिति : भाद्र २३, २०८२ मंगलबार

ट्रम्पलाई अदालतको आदेश : फेडरल रिजर्भकी गभर्नर कुकलाई ‘बर्खास्त नगर्नु’

अमेरिकी फेडरल रिजर्भ बैङ्ककी गभर्नर लिसा कुकलाई बर्खास्त नगर्न ट्रम्प प्रशासनलाई अदालतले आदेश दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पदमुक्त गरेपछि कुकले यसलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर गरेकी थिइन्।

अमेरिकी सङ्घीय न्यायाधीशले ट्रम्पलाई कुकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएका हुन्। वाशिङटन डी.सी. स्थित जिल्ला अदालतकी न्यायाधीश जिया कोब्बले प्राथमिक निषेधाज्ञा जारी गर्दै कुकलाई पुनः पदमा कायम राख्नुपर्ने निर्णय दिएकी छन्।

ट्रम्पले गत अगस्ट २५ मा कुकलाई हटाउने घोषणा गरेका थिए। उनले फेडरल हाउजिङ फाइनान्स एजेन्सीका निर्देशक बिल पल्टेको सुझावलाई आधार मानेका थिए।

ट्रम्पलाई अदालतको आदेश : फेडरल रिजर्भकी गभर्नर कुकलाई ‘बर्खास्त नगर्नु’

कुकमाथि जर्जिया र मिशिगनमा रहेका आफ्ना दुई आवासीय सम्पत्तिसम्बन्धी कागजातमा गलत जानकारी दिएको आरोप लगाइएको छ। ती कागजातमा उनले फेडमा प्रवेश गर्नुअघि हस्ताक्षर गरेकी थिइन्।

फेड बोर्डमा सेवा गर्ने पहिलो अश्वेत महिला कुकले भने कुनै गल्ती नगरेको स्पष्ट पारेकी थिइन्। न्यायाधीश कोब्बले आफ्नो आदेशमा लेखेकी छन्, “फेडरल रिजर्भको स्वतन्त्रता सुरक्षित राख्नु सार्वजनिक चासोमा पर्दछ, त्यसैले कुकलाई पुनःस्थापना गर्नुपर्छ।”

यस आदेशअनुसार फेड अध्यक्ष जेरोम पावेल र गभर्नर बोर्डलाई ट्रम्पको आदेश अनुसार कुकलाई पदबाट हटाउन प्रतिबन्ध लगाइएको छ।

कुककी वकिल अबे लोवेलले यो निर्णयले फेडरल रिजर्भलाई अवैध राजनीतिक हस्तक्षेपबाट जोगाउनुपर्ने आवश्यकतालाई पुनः पुष्टि गरेको बताए। उनले राष्ट्रपतिलाई आधारहीन आरोपमा गभर्नर कुकलाई हटाउन दिने हो भने यसले वित्तीय प्रणाली अस्थिर बनाउने र कानुनी शासनलाई कमजोर पार्ने बताए।

फेडरल रिजर्भ ऐनअनुसार, बोर्डका गभर्नरलाई राष्ट्रपतिले आरोप प्रमाणित भएको आधारमा मात्रै हटाउन सक्छन्। यो मुद्दाको अन्तिम निर्णय सर्वोच्च अदालतले गर्ने अपेक्षा गरिएको छ।

ट्रम्पलाई अदालतको आदेश : फेडरल रिजर्भकी गभर्नर कुकलाई ‘बर्खास्त नगर्नु’





Source link

Leave a Comment