प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार

photo: White House
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानहट्टनको शीर्ष संघीय सरकारी वकिलको खाली हुन लागेको पदमा आफ्ना निजी वकिल जेम्स एम. म्याकडोनाल्डलाई नियुक्त गर्ने घोषणा गरेका छन्। हाल सो पदमा कार्यरत जय क्लेटनलाई ट्रम्पले राष्ट्रिय गुप्तचर निर्देशकमा मनोनीत गरेपछि रिक्त हुन लागेको स्थानमा म्याकडोनाल्डलाई ल्याउन लागिएको हो।
म्याकडोनाल्ड यसअघि पनि सोही कार्यालयमा संघीय सरकारी वकिलका रूपमा काम गरिसकेका व्यक्ति हुन्। उनले ट्रम्पको पहिलो कार्यकालमा वित्तीय नियामकको रूपमा र पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसको प्रशासनमा ह्वाइट हाउसको काउन्सिल कार्यालयमा काम गरेका थिए।
हाल ‘सुलिभान एन्ड क्रोमवेल’ ल फर्मका साझेदार रहेका म्याकडोनाल्ड ट्रम्पको त्यो कानुनी टोलीका सदस्य हुन्, जसले सन् २०१६ को राष्ट्रपतिको निर्वाचनका बेला एडल्ट फिल्म स्टार स्टोर्मी ड्यानियल्सलाई रकम भुक्तानी गरेको मुद्दामा ट्रम्पलाई सुनाइएको सजायविरुद्धको पुनरावेदन हेरिरहेको छ।
शनिबार ट्रम्पले म्याकडोनाल्डलाई न्युयोर्कको दक्षिणी जिल्लाको युएस ए एटोर्नि बनाउने घोषणा गरेका हुन्। यो पद अमेरिकी जस्टिस डिपार्टमेनटकै सबैभन्दा शक्तिशाली र प्रतिष्ठित पदहरूमध्ये एक मानिन्छ। यस कार्यालयले आतंकवाद, जासुसी, धितोपत्र ठगी र सार्वजनिक भ्रष्टाचार जस्ता ठूला र संवेदनशील मुद्दाहरू हेर्ने गर्दछ।
म्याकडोनाल्ड गत महिना भारतीय खर्बपति गौतम अडानीको मुद्दामा अनुकूल नतिजा दिलाउने कानुनी टोलीमा पनि सामेल थिए। ट्रम्प प्रशासनको जस्टिस डिपार्टमेनटले बाइडेन प्रशासनको पालामा अडानीविरुद्ध दर्ता भएको ठगी र षड्यन्त्रको मुद्दा फिर्ता लिएको थियो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन, “मलाई विश्वास छ जेम्सले हाम्रो देशका लागि उत्कृष्ट परिणाम दिनेछन्। म्यानहट्टनस्थित युएस ए एटोर्नी कार्यालयका प्रवक्ता निकोलस बियासले पनि ट्रम्पको यो निर्णयको स्वागत गर्दै म्याकडोनाल्ड एक बजारमा निकै सम्मानित व्यक्तित्व भएको बताएका छन्।
पछिल्लो महिना तुल्सी गबार्डले राष्ट्रिय गुप्तचर निर्देशकको पदबाट राजीनामा दिएपछि स्थायी नियुक्तिका लागि कंग्रेसबाट ट्रम्पमाथि दबाब बढेको थियो। ट्रम्पले संघीय आवास वित्त एजेन्सीका प्रमुख बिल पुल्टेलाई कार्यवाहक निर्देशक बनाएपछि कडा विरोध भएको थियो, जसका कारण उनले जय क्लेटनलाई सो पदका लागि अघि सारेका हुन्।
