प्रकाशित मिति : माघ १६, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को नेतृत्व गर्न केभिन वार्शलाई छनोट गरेका छन्। वर्तमान फेडरल रिजर्भ अध्यक्ष जेरोम पावेलको चार वर्षे कार्यकाल आगामी मे महिनामा समाप्त हुँदैछ।
वार्श फेडका पूर्व गभर्नर हुन्। ट्रम्पको पहिलो कार्यकालमै फेड अध्यक्षका सम्भावित उम्मेदवारका रूपमा उनलाई हेरिएको थियो। उनी फेडका मुखर आलोचकका रूपमा परिचित छन्। निकट भविष्यमा ब्याजदर घटाउने पक्षमा उनी रहने अपेक्षा गरिएको छ।
यो नियुक्ति फेडको स्वतन्त्रतामाथि बढ्दो चिन्ताबीच आएको हो। हालैका महिनाहरूमा ट्रम्पले पावेलमाथि लगातार आक्रमण गर्दै आएका छन्।
ट्रम्प पावेलले अपेक्षित गतिमा ब्याजदर नघटाएकोमा असन्तुष्ट छन्। फेड भवनहरूको मर्मतसम्बन्धी विषयमा सिनेटमा दिएको अभिव्यक्तिलाई लिएर पावेलमाथि संघीय अभियोजकहरूले आपराधिक अनुसन्धान सुरु गरेका छन्।
न्याय मन्त्रालयको अनुसन्धानपछि पावेलले कडा प्रतिक्रिया जनाएका छन्। पूर्व फेड अध्यक्षहरू र विश्वका विभिन्न केन्द्रीय बैंकका प्रमुखहरूले उनको समर्थन गरेका छन्।
सन् २००६ देखि २०११ सम्म फेड गभर्नरका रूपमा सेवा गरेका वार्श हालैका हप्ताहरूमा पावेलको स्थान लिन सक्ने प्रमुख उम्मेदवारका रूपमा फेरि चर्चामा आएका थिए। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा वार्शको नामांकन घोषणा गर्दै भने, “केभिन वार्श महान् फेड अध्यक्षमध्ये एकका रूपमा चिनिनेछन्, सायद सबैभन्दा उत्कृष्ट।”
तर, वार्शको नियुक्तिलाई सिनेटले अनुमोदन गर्नुपर्ने भएकाले यस प्रक्रियामा केही ढिलाइ हुन सक्ने देखिन्छ। ५५ वर्षीय अर्थशास्त्री वार्श दक्षिणपन्थी झुकाव भएको ‘हुवर इन्स्टिच्युट’ का फेलो हुन्।
यसै हप्ता फेडले ह्वाइट हाउसको दबाबका बाबजुद ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ। नीति निर्माताहरूले गत वर्ष गरिएका तीन पटकका ब्याजदर कटौतीको अर्थतन्त्रमा परेको प्रभावको मूल्याङ्कन गरिरहेका छन्।
अमेरिकी श्रम बजार स्थिर बन्दै गएको संकेत देखिएका छन्, तर रोजगारी सिर्जना भने सुस्त छ। बेरोजगारी दर केही घटेको भए तापनि मुद्रास्फीति अझै पनि फेडको २ प्रतिशतको लक्ष्यभन्दा माथि नै रहेको छ।