टेक्सासको ग्यास स्टेशनमा गोली हानी मारिएका दिपक ओलीको अन्त्येष्टी आइतबार टेक्सासमै गरिने



प्रकाशित मिति : श्रावण १८, २०८१ शुक्रबार

टेक्सासको ग्यास स्टेशनमा गोली हानी मारिएका दिपक ओलीको अन्त्येष्टी आइतबार टेक्सासमै गरिने

टेक्सासको ग्यास स्टेशनमा लुटेराबाट गोली हानी मारिएका नेपाली ३० बर्षका दिपक ओलीको अन्त्येष्टी आइतबार टेक्सासमै गरिने भएको छ । टेक्सासको एल्जिनमा रहेको प्रोभिडेन्स जोन्स फेमिली फ्युनरल होममा विहान ९ बजे अन्त्येष्टी गरिने जनाइएको छ ।

ओलीका नेपालमा ५ बर्षका छोरी दीपीका ओली र २६ बर्षकी बिमला बुढाथोकी रहेका छन् । गतबर्षमात्र दलाललाई लाखौं रुपिया बुझाएर मेक्सिको हुँदा विना भिसा अमेरिका आएका पश्चिम रुकुमको बाफिकोटका ओलीको अमेरिकी सपना गत आइतबार विहानको गोलीकाण्डसँगै समाप्त भएको हो । उनको परिवारमा अझै अमेरिका आउँदाको ४० लाख ऋण बाँकी रहेको पारिवारिक श्रोतको भनाई छ ।

नेपालमा रहेका बुबा लाल ओली, आमा प्रतिभा कुसारी, पत्नी र छोरीलाई वियोगमा छाडेर भौतिक संसार छाडेका ओलीको दाहसंस्कार र परिवारको सहयोगका लागि गोफण्डमीमा आर्थिक अभियान चलाइएको छ । जसमा यो समाचार तयार पार्दासम्म ४३ हजार ३ सय ९४ डलर संकलन भएको छ । ओलीप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गर्दै ६५ हजार डलरको लक्ष्यसहित सुरु गरिएको उक्त गोफण्डमी सहयोग गर्न अपिल गरिएको छ ।

सहयोगका लागि यहाँ क्लीक गर्नुहोला।

आइतबार विहान एल्म मोटको आई ३५ र रस रोड नर्थमा रहेको गेटोर स्टप ३ मा उक्त घटना भएको हो । ओलीले स्टोरमा क्यासियरका रुपमा काम गर्दै आएका थिए ।

बिहान ५ बजेको समयमा ओली कार्यरत ग्याँस स्टेशनमा आएका दुई लुटेराले गोली हानेका थिए । एक जना श्वेत र अर्का अश्वेत लुटेराहरुले स्टोरमा पसेर गोली प्रहार हानेको र ओलीको घटनास्थलमै निधन भएको थियो ।

अमेरिकाका ग्यास स्टेशनहरुमा लुटेराहरुको आक्रमणमा ज्यान गुमाउने र घाइते हुने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । प्राय यस्ता घटनाहरु रातीको समयमा हुने गरेका छन् ।

टेक्सासको ग्यास स्टेशनमा गोली हानी मारिएका दिपक ओलीको अन्त्येष्टी आइतबार टेक्सासमै गरिने

गतबर्ष अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको बन्दुकधारीद्धारा गोली हानी हत्या भएको थियो । लामिछानेलाई हुईटरीज, कोलोराडोको कन्भिनियन्स स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएको थियो ।

गतबर्ष नै टेक्सासको युलेसमा बस्दै आएका नेपाली युवा दिपेन्द्र जोशी ग्यास स्टेशनमा काम गरेर फर्कदा गोली लागी घाइते भएका थिए । त्यस्तै गतबर्ष नै टेक्सासको अष्टिनमा ग्यास स्टेशनमा काम गरिरहेका बेला हतियारधारी लुटेराको समुहले ३२ बर्षका भिम बहादुर नाथमाथि गोली प्रहार गर्दा उनी सख्त घाइते भएका थिए ।





Source link

Leave a Comment