टेक्सासको आप्रवासी हिरासत केन्द्रमा मानव अधिकार उल्लंघन भएको प्रतिवेदन सार्वजनिक



प्रकाशित मिति : ३१ असार २०८३, बुधबार

Texas immigration detention center

अमेरिकाको टेक्सासस्थित आइसको एक हिरासत केन्द्रमा राखिएका थुनुवाहरूमाथि गार्डहरूले कुटपिट गरेको, चिकित्सा सेवाबाट वञ्चित गरेको तथा परिवार र वकिलहरूसँग सम्पर्क गर्न नदिएको दुईवटा मानव अधिकारवादी संस्थाहरूले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

‘ह्युमन राइट्स वाच’ र ‘अमेरिकन सिभिल लिबर्टीज युनियन’द्वारा संयुक्त रूपमा जारी गरिएको उक्त विस्तृत प्रतिवेदन एल् पासोस्थित अमेरिकी सेनाको फोर्ट ब्लिसमा रहेको ‘क्याम्प इस्ट मोन्टाना’ हिरासत केन्द्रको अवस्थामा केन्द्रित छ। प्रतिवेदन तयार पार्नका लागि संस्थाले त्यहाँ रहेका ८० जना थुनुवाहरूसँग अन्तर्वार्ता लिएको थियो।

प्रतिवेदनका अनुसार थुनुवाहरूले गार्डहरूबाट नियमित रूपमा कुटपिट र अत्यधिक बल प्रयोग हुने गरेको, लामो समयदेखि कुपोषणको सिकार हुनुपरेको तथा अस्वस्थकर एवं अपमानजनक परिस्थितिमा बस्नुपरेको बताएका छन्। यी दुर्व्यवहारहरूले अमेरिकी कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार कानुन दुवैको उल्लंघन गर्ने प्रतिवेदनमा भनिएको छ।

अमेरिकाकै सबैभन्दा ठूलो आप्रवासी हिरासत केन्द्र मानिने यस फोर्ट ब्लिसको क्याम्प इस्ट मोन्टानामा भएका दुर्व्यवहारबारे शृंखलाबद्ध रूपमा सार्वजनिक भएका अनुसन्धानहरूमध्ये यो पछिल्लो प्रतिवेदन हो।

यद्यपि, आइस आबद्ध रहेको डिपार्टमेन्ट अफ होमल्यान्‍ड सेकुरिटीले एक विज्ञप्ति जारी गर्दै यी आरोपहरूलाई “पूर्ण रूपमा असत्य” भन्दै खण्डन गरेको छ। डिपार्टमेन्टले कुनै पनि थुनुवामाथि कुटपिट वा दुर्व्यवहार नभएको दाबी गर्दै हिरासतमा रहेका व्यक्तिहरूको सुरक्षा र स्वास्थ्यलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, सबै थुनुवाहरूले पूर्ण कानुनी प्रक्रियाको अधिकार पाएका छन्। उनीहरूलाई उचित खाना, पानी, चिकित्सा उपचार र परिवार तथा वकिलहरूसँग कुराकानी गर्ने अवसर प्रदान गरिएको छ।तर प्रतिवेदनमा होन्डुरसका २८ वर्षीय थुनुवा इस्माइल एम. को पीडादायी भनाइ उद्धृत गरिएको छ, जसले पाँच महिनाभन्दा लामो हिरासत बसाइका क्रममा आफू गम्भीर डिप्रेसन र आत्महत्याको सोचबाट गुज्रिएको बताएका छन्।

यसअघि गत महिना सार्वजनिक भएको अमेरिकी सरकारी निगरानी निकायको प्रतिवेदनले पनि यस केन्द्रले बल प्रयोगसम्बन्धी प्रतिवेदनहरू जारी नगरेको, गम्भीर बिरामीहरूलाई औषधि नदिएको र हतारमा गरिएका सम्झौताहरूका कारण करदाताहरूको करोडौँ डलर दुरुपयोग गरेको भन्दै आलोचना गरेको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएयता देशभरका आइस हिरासतमा करिब ५० जनाको मृत्यु भइसकेको छ। ट्रम्पले यो कदम राष्ट्रिय सुरक्षाका लागि चालिएको दाबी गरे पनि मानव अधिकारवादीहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रता र कानुनी प्रक्रियाको उल्लंघनका रूपमा लिएका छन्।





Source link

Leave a Comment