प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार

टेक्सासको ह्युस्टनमा रहेको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा आइस अधिकारी । फाइल तस्वीर : रोनाल्डो स्केमिड/एएफपी-रासस
अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुदेखि २०२६ फेब्रुअरीसम्म संघीय एयरपोर्ट सुरक्षा अधिकारीहरूले दिएका टिप्सको आधारमा ८०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। आन्तरिक आइस डेटा अनुसार, यो संख्या पहिले सार्वजनिक गरिएकाभन्दा धेरै उच्च रहेको छ।
डेटा अनुसार, यी जानकारीहरू ट्रान्सपोर्टेसन सेक्युरिटी एड्मिनिस्ट्रेशन (टिएसए)बाट आएका थिए। टिएसएले आइसलाई सम्भावित आप्रवासन उल्लंघनको आरोपमा ३१ हजारभन्दा बढी यात्रुहरूको विवरण उपलब्ध गराएको थियो। कति गिरफ्तारी एयरपोर्टभित्र भएको हो भन्ने पुष्टि नभएपनि टिएसएको टिप्सले मुख्य रूपमा व्यक्तिले कहिले यात्रा गर्नेछन् भन्ने जानकारी पत्ता लगाउन सहयोग पुर्याएको छ।
आइस र टिएसए संयुक्त रूपमा अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)अन्तर्गत काम गर्छन्। यी एजेन्सीहरूले ऐतिहासिक रूपमा राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी साटासाट गर्दै आएका छन्। तर ट्रम्पको ‘व्यापक निर्वासन’ अभियानको हिस्सा रूपमा गत वर्षदेखि सामान्य आप्रवासन गिरफ्तारीमा विशेष ध्यान दिइएको थियो।
ती ३१ हजार यात्रु विवरणहरू टिएसएको सेक्योर फ्लाइट प्रोग्रामअन्तर्गत सङ्कलन गरिएको थियो, जुन २००७ मा सिर्जना गरिएको थियो। प्रोग्रामको मुख्य उद्देश्य सम्भावित अमेरिकी सरकारको निगरानी सूचीमा रहेका व्यक्तिहरूको जानकारी समीक्षा गर्नु थियो ।
टीएसएले आइसलाई यात्रु विवरण उपलब्ध गराउने विषयमा प्रत्यक्ष जवाफ दिएको छैन, तर ट्रम्प प्रशासन अन्तर्गत टिएसए ‘हाम्रो सम्पूर्ण प्रणालीमा स्थायित्व, सुरक्षा, र दक्षता सुधार गर्ने उपायहरू खोज्दैछ’ भनेर बताएको छ।