गत २८ फेब्रुअरीका दिन टेलिभिजनका पर्दामा नितान्त अकल्पनीय दृश्य देखियो । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको संवादको शैली, भाषा र तौरतरिका हेर्दा कुनै निम्नस्तरका टोले गुन्डा भिडिरहे जस्तो प्रतीत हुन्थ्यो । वास्तवमा हात हालाहाल हुन मात्र बाँकी थियो । टोले गुन्डाका बीच आमा चकारी गाली गलौज पनि हुन्छ । धन्न त्यस्तो चाहिँ सुनिएन । त्यसो त उच्चस्तरीय अन्तर्राष्ट्रिय वार्तामा संलग्न हुने जानकारहरूका अनुसार दुई परस्पर विरोधी पक्षबीच वार्तालाप हुँदा यस्तैखाले चर्काचर्की हुने गर्छ रे ! तर, त्यस्तो वार्ताका ’boutमा आमजनतालाई बताइँदाचाहिँ सामान्य शिष्टाचारको परिधि नाघ्ने काम हुन्न । संलग्न व्यक्ति, पक्ष वा राष्ट्रको मर्यादालाई सार्वजनिक रूपमा बेइज्जती नहुने ढंगले संकेत दिइन्छ । तर, ट्रम्प र जेलेन्स्कीका बीच त लाइभ टेलिभिजन प्रसारणका बीच यस्तो वार्तालाप भएको थियो । स्वयं अमेरिकी राष्ट्रपति ट्रम्प यो वार्तालाप सार्वजनिक होस् भन्ने चाहन्थे । वार्तालापकै क्रममा उनले यो बताएका छन् ।
राष्ट्रपति ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकाप्रति अनादर गरेको र कृतज्ञ नभएको आरोप लगाएका थिए । जेलेन्स्कीको शैलीमा निश्चित रूपमा अपरिपक्वता थियो र त्यसैका कारण उनले मर्यादाका सीमा केही हदसम्म नाघेको पनि देखिन्थ्यो । यसो हुनु सायद स्वाभाविक पनि थियो । जेलेन्स्की ‘झिल्के’ प्रवृत्ति र उत्ताउलो अभिनयका भरमा नै स्थापित भएका व्यक्तित्व हुन् । राजनीति गर्न र नेतृत्व प्रदान गर्ने चुन्दाम मात्राको पनि योग्यता नभएका व्यक्तिहरू पनि नैराश्यता चुलिएको समाजमा सामाजिक सञ्जाल वा अन्य माध्यम मार्फतको सुनोयोजित छद्म प्रचारका भरमा उदाउन, सफलता प्राप्त गर्न र शिखरमा पुग्न सक्दारहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन्, जेलेन्स्की । हाम्रै छिमेकमा केजरिवाल नाम गरेका एक व्यक्तित्व पनि यसरी नै उदाएका थिए । हाम्रै मुलुकमा पनि केही उदाहरणहरू भएको तथ्य दोह¥याइरहन नपर्ला । झिल्केहरूसँग उत्तेजना, कामूकता र मादकता हुन्छ अनि त्यसैकारण तत्कालको आकर्षण पनि हुन्छ । यस्ता व्यक्तिहरूबाट दूरगामी दृष्टिकोण र नेतृत्वको आशा गर्नु मूर्खता नै हो । झन् जेलेन्स्की त एउटा तानाशाह आक्रान्ताको अन्यायले थिलथिलो बनाइएको राष्ट्रका व्यक्ति हुन् । त्यसै त झिल्के, त्यसमाथि पीडित ! ट्रम्पसँगको वार्तालापका क्रममा जेलेन्स्कीबाट मूर्खता र अपरिपक्वताको प्रदर्शन भएकै हो ।
तर, जहाँसम्म अनादर र अपमानको कुरो छ, कति जेलेन्स्कीले अमेरिकाको अनादर वा अपमान गरेका छन्, त्यसभन्दा धेरै गुणा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले जेलेन्स्की र युक्रेन राष्ट्रको मानमर्दन गरेका छन् । ‘तिम्रो औकात छैन’ र ‘हामीबिना तिमी केही रहन्नौ’जस्ता वाक्यांशलाई कदापि सामान्य वा मर्यादित मान्न सकिन्न । बडी ल्यांग्वेज र भावभंगीमा त छँदै छ । सो वार्ताभन्दा अघिका ट्रम्पका सार्वजनिक भनाइमा त जेलेन्स्कीलाई ‘जोकर’ र ‘तानाशाह’समेत भनिएको थियो । ट्रम्प र भान्सको बोली, वचन र व्यवहारले सामान्य कूटनीतिक शिष्टाचारको सीमालाई पुरै बेवास्ता गरेको मात्र होइन, सिधै प्रकट रूपमा हेप्ने र थिचोमिचो गरेको देखिन्छ । अझै रमाइलो त आक्रान्ता तानाशाह पुटिनको बर्बरताले भरिपूर्ण क्रियाकलापका विरुद्ध एक शब्द उच्चारण हुँदैन । ‘शान्ति कायम गर्ने’ ठुलै कुरा गर्दा एउटा सानो मुलुकमाथि भएको प्रत्यक्ष अन्यायलाई ‘भैगयो नि’ भन्ने आशय स्पष्टै रूपमा देखिन्छ । लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारको ठूलो पहरेदार भनेर आफूलाई चिनाउने राष्ट्र अमेरिकाका राष्ट्रप्रमुखबाट स्पष्ट रूपमा एक तानाशाहको पक्षमा प्रदर्शित यो व्यवहार उदेक लाग्दो छ ।
झन् जेलेन्स्की त एउटा तानाशाह आक्रान्ताको अन्यायले थिलथिलो बनाइएको राष्ट्रका व्यक्ति हुन् । त्यसै त झिल्के, त्यसमाथि पीडित ट्रम्पसँगको वार्तालापका क्रममा जेलेन्स्कीबाट मूर्खता र अपरिपक्वताक प्रदर्शन भएकै हो
डोनाल्ड ट्रम्प पदासीन भएलगत्तैका धेरैजसो निर्णयहरू अमेरिकाको परम्परागत ‘लिक’भन्दा हटेर आएका छन् । डेमोक्र्याट बाइडेनका ठाउँमा आएका रिपब्लिकन ट्रम्पका निर्णयहरू फरक हुनु त स्वाभाविक मानिएला । तर, ट्रम्पका हालै कतिपय निर्णयहरू त यसभन्दा अघिको रिपब्लिकन नीतिभन्दा नै नितान्त बेग्लै देखिन्छ । सन् २०१६ देखि २०२० सम्मको स्वयं ट्रम्पकै पहिलो कार्यकालभन्दा अत्यन्तै फरक र आक्रामक देखिन्छ । अवैध आप्रवासीहरूप्रति निर्मम ढंगले प्रस्तुत हुनुलाई कसैले आलोचना गर्न मिल्ने थिएन । यसमा पनि झिनो आवाजले अमेरिकालाई नै अप्ठ्यारो पर्ने भन्नेहरू पनि नभएका भने होइनन् । तल्लो स्तरको श्रम अब अमेरिकामा उपलब्ध नहुने र भइहाले पनि अत्यन्त महँगो हुने प्रक्षेपण गरिएको समेत सुनिन्छ । हुन पनि अवैध आप्रवासीलाई जानीजानी अत्यन्तै कम मूल्यमा काममा लगाउने प्रचलन रहेको बताइन्छ । जे भए पनि अवैध आप्रवासीप्रतिको कठोरताका विषयमा चाहिँ ठूलो आलोचना गर्ने अवस्था छैन । संसारभरिकै मुलुकहरूलाई जाने गरेको विभिन्नखाले आर्थिक सहयोग ठूलो मात्रामा कटौती हुने वा पुरै बन्द हुने अवस्थामा पुगेको छ । निलम्बित अवस्थामा रहेका सहयोग कार्यक्रमहरू समीक्षाकै तहमा छन् । ‘लोकतन्त्रको सबलीकरण’ आदि इत्यादि अमूर्तखाले कार्यक्रमहरू पुनः सञ्चालन हुने सम्भावना अत्यन्तै न्यून देखिन्छ । एउटा कुरा भने स्पष्टै देखिन्छ । ट्रम्पको अमेरिकाबाट केही लिनु छ भने उसलाई अब ठोस केही दिनुपर्छ । यसखाले नीतिगत परिवर्तनले अर्को कुरा स्पष्ट पारेको छ, अमेरिका अब विशुद्ध व्यापारी बन्ने बाटोमा छ । सायद यसक्रममा ‘विश्वको नाइके’को पगरी गुमे गुमोस् भन्ने पो छ कि ! तर, ट्रम्पको व्यवहार हेर्दा उनी ‘विश्वको नाइके’ बनिरहनचाहिँ चाहन्छन् तर त्यसको मूल्य चुकाउन चाहन्नन् ! आफ्नो रेखा लामो बनाएर अरूभन्दा ठूलो बन्न सकिन्छ भने अर्काको रेखा छोट्याएर पनि ठूलो बन्न सकिन्छ । सायद ट्रम्प अरूको रेखा छोट्याएर ‘दादा’ बन्ने प्रयासमा पो छन् कि ! नाटोमा युरोपको अनुदान बढाउने दबाब दिनु वा युरोपेली मुलुकहरूलाई प्रतिरक्षा बजेटमा वृद्धि गर्न बाध्य तुल्याउनु भनेको युरोपेली मुलुकको क्रयशक्ति घटाउनु हो । ट्रम्पको दिमागमा सायद युरोपियन युनियन नाम गरेको क्षेत्रीय संगठन बनेको नै अमेरिकालाई चुनौती दिन हो भन्ने छ । दोस्रो विश्वयुद्धपश्चात् युरोपभित्र एकताको जग बस्दै जानुको पछाडि बलियो अमेरिकाविरुद्ध उभिने चाहना नलुकेको चाहिँ हुँदै होइन । तर, ट्रम्पका कदमहरूले युरोपियन युनियन क्षतविक्षत हुन्छ कि अझै सशक्त भएर रुसबाहेकको सम्पूर्ण युरोप एक हुन्छ र तेस्रो वा चौथो शक्तिशाली सामरिक समूह बन्छ, त्यो समयक्रमले बताउला । अमेरिकाले युरोपलाई विपक्षमा धकेलेर दूरगामी रूपमा घाटाको काम गर्ला भनेर अनुमान गर्न गाह्रो छ । तर, ट्रम्प हो ! जे पनि हुनसक्छ । यसो भयो भने ‘न्यू वल्र्ड अर्डर’ होइन ‘न्यू वल्र्ड डिसअर्डर’ सुरु हुन्छ ।
ट्रम्पले सुरु गरेको ‘ट्यारिफ वार’ अर्थात् भन्सार युद्धले के खोजिएको बुझ्न कठिन छ । उनी जुन मुलुकले अमेरिकी सामान आयातमा जस्तो भन्सार दर लगाउँछ, त्यस मुलुकबाट अमेरिकामा हुने सामान आयातमा त्यस्तै भन्सार लगाउने घोषणा गर्दै छन् । डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरू सुन्दा आयातमा लाग्ने सामानमा लाग्ने भन्सार (आयातकर्ता र कालान्तरमा उपभोक्ताले तिर्छन् निर्यातक राष्ट्रले होइन भन्ने तथ्य)लाई नबुझेजस्तो पो देखिन्छ । अन्त्यमा अमेरिकी जनता मारमा पर्ने हुन् भन्ने तथ्य भुलिएको त होइन ?! त्यस्तो त नहुनुपर्ने हो । विदेशबाट आयात हुने सामानको प्रतिस्थापन स्वदेशमा हुन सक्दैन वा हुन्छ भने पनि बढी मूल्य पर्छ भने त ट्रम्पको नीतिले मारमा पर्ने आमअमेरिकी जनता हुन् ! कमसे कम अवरोधको अन्तर्राष्ट्रिय व्यापारले समस्त अर्थतन्त्रको वृद्धिमा सबैलाई दूरगामी रूपमा फाइदा पुग्छ भन्ने सर्वमान्य सिद्धान्तलाई किनारा लगाउनु वास्तवमा बुझिनसक्नु छ । कालान्तरमा बाँकी विश्वका लागि अमेरिका बाध्यात्मक अवस्थामा बाहेक आयात निर्यात नगर्ने थलो बन्न पुग्यो भने के होला ?!
तत्काललाई जेलेन्स्की झुक्न बाध्य होलान् । उनी रुसले हडपेको भूभाग माया मारेर ‘शान्ति’ किन्न विवश पनि होलान् । अनि, युक्रेनमा रहेको बहुमूल्य खानी सुम्पन पनि तयार होलान् । अन्त्यमा जेलेन्स्की पदबाट हट्लान् पनि । तर, यसको परिणाम के ? पुटिन बलियो हुनेछन् र अन्यायले वैधता पाउनेछ । अमेरिकाप्रति बाँकी युरोपको भरोसा पुरै टुट्नेछ र बाध्य भएर उनीहरूलाई सामरिक रूपमा एकजुट हुनुपर्ने अवस्था आउँछ । अहिले पनि रुसबाहेकको समग्र युरोपको सैन्य शक्ति अमेरिकाको तुलनामा ५० देखि ६० प्रतिशत छ । तत्काल युरोपको आर्थिक अवस्था बिथोलिन्छ । तर, दुई विश्वयुद्धको केन्द्र रहेर ध्वस्त भएको युरोप उठेकै हो र पुनः उठ्नेमा शंका नगर्दा हुन्छ । अब सामरिक विषयमा अमेरिकाको भर नपरी सैन्य शक्तिमा पनि टक्कर दिने प्रयास त हुन्छ नै । केही समयका लागि युरोपेली जनताले पेट काट्नुपर्ने अवस्थाचाहिँ आउँछ । हेरौं के हुन्छ !
यो तमाम प्रकरणमा रुस हाल कायम रहेको रुस, चीन, इरान र उत्तर कोरियाको अघोषित घठबन्धनबाट अलग्गिनेछ । चीनले र भारतले अमेरिकाको बजार गुमाउनेछ । नगुमे पनि क्रयशक्ति गुमेको युरोपतर्फ सस्तो सामान निर्यात गरेर व्यापार विविधिकरणको बाटो अपनाउनेछ । सस्तो पाइयो भने अमेरिकाबाट तेल अन्य राष्ट्रले आयात गर्ला ! तर ‘प्राइस वार’मा फस्ने परिस्थितिलाई अमेरिकाले कसरी जुध्ला हेर्न बाँकी छ । माथि उल्लिखित गठबन्धनबाट रुस अलग्गिएको अवस्थामा अमेरिकाको गिद्धेदृष्टि इरान र सम्भवतः उत्तर कोरियामाथि रहनेछ । चीनले के गर्ला ? के चीन रुसको सहयोग नभएको इरानको पक्षमा उभिएला ? अथवा, ताइवान वा अन्य कुनै निहुँमा अमेरिकासँग जुध्न आउला ? हेक्का रहोस्, ट्रम्प अझै आफूलाई ‘बिग बोस’ सम्झन्छन् । त्यो बिग बोस बन्ने बाटोमा मूल तगारोचाहिँ चीन र इरान नै हो !
(Visited 12 times, 1 visits today)