सर्वप्रथम सौम्यढंगले सुरु गरिएको जेनजी आन्दोलनलाई समयमै राज्यले सम्बोधन गर्न नसकेका कारण ज्यान गुमाउन पुगेका नेपाली राष्ट्रिय परिवारका होनहार छोराछोरीहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना।
जेनजीका किशोरकिशोरीहरूले परिकल्पना गरेको सुशासनयुक्त एक सभ्य राष्ट्र निर्माण गर्ने सपनाप्रति म पूर्ण सहमति जाहेर गर्दै राज्यको गैरलोकतान्त्रिक रवैयाको घोर भत्र्सना पनि गर्दछु। भविष्यमा एक आदर्श लोकतान्त्रिक प्रणालीको कार्यान्वयनमा यो तहको दुस्साहस कसैले नगरुन् भनेर चेतावनी दिनका निम्ति पनि दोषी उपर हदैसम्मको दण्डको व्यवस्था गरिनुपर्दछ।
कलिला किशोरकिशोरीहरूको पवित्र भावनाले सुरु गरिएको यो अभियानमा नेपाली समाज र राष्ट्र विरोधी तत्त्वहरूको नियोजित घुसपैठका कारण राष्ट्रको मुटु सिंहदरबार, संसद्भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनसहित राष्ट्रका अमूल्य अभिलेख रहेका सयौं सरकारी भवन एकपछि अर्को गर्दै आगो लगाएर ताण्डव नृत्य गर्ने कार्य नेपाली मन र मुटुभएको व्यक्तिद्वारा कुनै हालतमा भएको हुन सक्दैन भन्ने कुरामा म विश्वास राख्छु।
कतिपय सन्दर्भमा व्यक्तिका घर सम्पतिहरू मात्र होइन निर्दोष र निहत्था मानिसलाई समेत जिउँदै आगो लगाउने र लुटपाट गर्ने कार्य कसरी परिवर्तनका निम्ति हुन सक्छ? तसर्थ क्रान्तिकारीका समूहमा घुसेर प्रतिक्रान्ति गर्ने अपराधीहरूलाई समय क्रममा न्यायको कठघारामा ल्याएर कारबाही गर्नुपर्दछ। त्यसका निम्ति सचेत नेपाली नागरिकले जानकारी तथा सूचनाहरू सुरक्षित राख्न भुल्नु हुँदैन।
यो स्वतस्फुर्तरूपमा सुरु भएको असन्तुष्टि र विद्रोहका कारण अहिले प्रधानमन्त्रीद्वारा राजीनामा दिएपछि सरकार ढलेको छ। प्रतिनिधिसभाका कतिपय सदस्यहरूले राजीनामा दिएको कुरा पनि सुनिँदैछ। यसले राज्यका करिब तीनवटै अंगमा आघात पुगेको छ।
आजको दिनमा आइपुग्दा नेपाली सेनाले कफ्र्यू जारी गरेर सडकमा ओर्लिएको हुँदा परिस्थिति केही सहज बनेको छ। सेना हिजै सक्रिय भएको भए जनताको जीउघनसहित राष्ट्रिय सम्पत्तिको अवश्य यति धेरै क्षति हुने थिएन। ढिलै भए पनि तत्कालका लागि शान्ति स्थापनामा यो पहिलो कदम भएको छ।
देशका धेरै ठाउँमा हुलदंगा र लुटपाट अनि जेलबाट कैदी बन्दी भगाउने, अदालतमा आगो लगाउने जस्ता आपराधिक काम निन्दनीय छन्। यस्ता कामलाई तत्काल रोकी शान्ति सुव्यवस्था कायम गर्नु पहिलो कार्य भएको हुँदा नेपाली सेनासहित राज्यका अंग र निकायका साथै नागरिक, राजनीतिक दल, संघसंगठनहरूले यहाँ विशेष ध्यानदिनुपर्ने देखिन्छ।
शान्ति स्थापनासहित निरन्तर उत्तराधिकारका रूपमा रहने सरकार निर्माण गर्दै राज्यसत्ताका सम्पूर्ण अंगहरूलाई परिचालित हुने अवस्थातर्फ लानु अहिलेको महत्त्वपूर्ण कार्य हो। यसो गर्नका निम्ति संवैधानिकरूपमा हेर्दा राष्ट्रपतिले संकटकाल घोषणा गर्नुपर्ने हुन्थ्यो तर त्यो काम सेनाबाट भएको छ। यसले विस्तारै सरकार परिवर्तनभन्दा पनि संवैधानिक संकटतर्फ स्थिति मोडिएको हो कि भन्ने प्रतीत हुन्छ। अहिले प्रतिनिधिसभाको बैठक बसेर सामान्य प्रक्रियाबाट राष्ट्रपतिद्वारा संसद्का सदस्यहरू मध्धेबाट बहुमत प्राप्त गर्ने संसद् सदस्यलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अवलम्बन हुने हुँदा संविधान सहीमार्गमा हिँडेको हुने थियो तर अब यस्तो हुने देखिदैन। यस्तो अवस्थामा संवैधानिक नभएर राजनीतिक निर्णय गरिनुपर्ने परिस्थिति देखिन आएको छ।
हालको परिस्थिति विगतको नेपाली कांग्रेस र बाममोर्चाद्वारा सञ्चालित २०४६/४७ को जनआन्दोलन वा २०६२ को माओवादी आन्दोलन जस्तो कुनै संगठित राजनीतिक शक्तिद्वारा गरिएको आन्दोलन नभइकन जेनजी नामभित्र साधारणत असंगठित किशोरकिशोरीहरूको स्वतस्फुर्त विद्रोहको रूपमा प्रकट भएको छ। यो शक्ति राजनीतिकरूपमा स्थिर बनिसकेको छैन। यही कारणले विद्रोही भावनाको प्रतिनिधित्वका लागि सर्वस्वीकार्य जेनजी प्रतिनिधि चयनमा समस्या देखिएको हो भन्न सकिन्छ। यो प्रतिनिधि चयनमा पनि पर्दापछिका निकटवर्ती र परवर्ती शक्तिहरूको स्वार्थका खेल नहोलान् भन्ने आधार छैन। जे भए पनि सरकार निर्माणमा हालको जेनजी विद्रोहको समुचित प्रतिनिधित्व नभए हालको अस्थिरता फेरि बल्झिने सम्भावना रहन्छ।
अर्कातिर नेपालका वर्तमान, निवर्तमान र परम्परागत राजनीतिक शक्तिहरूलाई वेवास्ता गरेर जान सकिँदैन। यो शक्ति जनमतका साथसाथै राज्यसत्तामा समेत दह्रो पहुँच राखेर बसेको छ। यो संगठित छ र अहिले उनीहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ। कतिपय भ्रष्टाचारी पनि छन्, पद्धति भ्रष्ट भएको पनि छ तर पनि तिनीहरूका बहुसंख्यक कार्यकर्ता र मतदाता राष्ट्र र सुशासनप्रति इमानदार छन्। उनीहरू निश्चित राजनीतिक दर्शनका आधारमा संगठित छन्। उनिहरूको यो संगठित शक्ति चाँडै विगठित वा छिन्नभिन्न हुने पनि देखिँदैन। तसर्थ यो शक्ति सहमतिमा नआएर विद्रोहमा गएको खण्डमा नेपालमा शान्ति हुने देखिँदैन। अहिलेको कामचलाउ मन्त्रिमण्डल, हालसम्म भंग नभएको प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेश र स्थानीय सभा, तथा सरकारको बहुमत हिस्सा उनीहरूकै हातमा छ।
विगतको संविधानसभा निर्वाचनमा भाग लिएर आएका अनि संविधानलाई पूरै र आलोचनात्मकरूपमा समर्थन गर्ने सबै शक्तिहरू यसैभित्र पर्छन्। वर्तमान संविधानको निर्माणमा राजावादी बाहेकका सबै दलको भूमिका र स्वामित्व भएको हुँदा संविधानको संशोधन वा परिमार्जनको मार्गचित्रबाट अघि बढ्ने कुरामा उनीहरू सबैको एक तहको सहमति हुनसक्ने देखिन्छ।
अर्कोतर्फ नेपालको कर्मचारीतन्त्र, अदालत, सेना र प्रहरी लगायतका राज्यसत्ताका अंगहरू एक ढंगबाट काम गर्दै आएका छन्। उनीहरूको एक प्रकारको स्पेस र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय र सन्तुलन रहेको देखिन्छ। यो शक्तिको सहयोग र सहकार्यविना परिवर्तनको नयाँ थालनी चुनौतिपूर्ण हुनसक्छ। यस शक्तिलाई परिवर्तनको नयाँ ढाँचामा लिएर जान नागरिकबिच लोकप्रिय र संगठित शक्तिका रूपमा उदय नभएसम्म परिवर्तनकामीहरूले असहयोगको सामना गर्दै असफलता भोग्नुपर्ने हुन्छ।
तसर्थ अहिले सबै राष्ट्रिय शक्तिहरू बिचको दूरी कम गर्दै एक ठाउँमा आउनुपर्ने अनिवार्य आवश्यकता हो। वर्तमान युग सबैखालका दासता, अधिनायकत्व हस्तक्षेप, र प्रभुत्वबाट राष्ट्रहरूले मुक्ति चाहने युग हो। राष्ट्रको सन्दर्भमा भन्नुपर्दा कुनै पनि राष्ट्रले आफ्नो सम्प्रभुता र राष्ट्रिय अखण्डता जस्ता पक्षहरूको जगेर्ना गर्न सकेन भने त्यो राष्ट्रको मृत्यु अवश्यम्भावी हुन्छ। तसर्थ नेपाललाई अहिले खरानी टकटक्याएर उठाउनुपर्ने अवस्थामा आन्तरिकरूपमा एकताबद्ध बनाउन आन्तरिक वा राष्ट्रिय अन्तर्विरोधहरूको हल हुने गरी संविधानमा सर्वस्वीकार्यता बढाउनुपर्ने हुन्छ । त्यसो हुँदा संविधान संशोधनको पुरानो मुद्दा र योजनालाई यो अहिलेको परिस्थितिले दिएको नयाँ अवसरका रूपमा उपयोग गरेर जानु जरुरी छ ।
अहिले गर्नुपर्ने तत्कालीन कार्य भनेको शान्ति कायम गर्ने, अस्थायी सरकार गठन गर्ने र दीर्घकालीन समाधानका लागि चुनाव वा सहमति खोज्ने हो। त्यसो गर्न संवैधानिक प्रक्रियाअन्तर्गत राष्ट्रपतिबाट नयाँ सरकार गठनको प्रक्रिया थालनी भए यो नेपाली सार्वभौम जनताका प्रतिनिधिहरू मार्फत अघि बढाइने संवैधानिक प्रक्रियाबाट अघिबढेको वैधानिक कदम पनि हुने छ। यसो गर्दा अहिलेको विद्रोहका प्रतिनिधिको उल्लेख्य प्रतिनिधित्वसहित सबै राष्ट्रिय शक्तिहरूको प्रतिनिधित्व हुने गरी राष्ट्रिय सहमतिको अन्तरिम सरकार बनाउनुपर्ने हुन्छ र अझ यसो गरिरहँदा वर्तमान संघीय संसद्भित्रको सर्वमान्य हुन सक्ने सदस्यको नेतृत्वमा सरकार गठन भए हाम्रो राष्ट्रिय वैधानिक निरन्तरता रहने हुँदा यसले स्थिरता प्रदान गर्ने सम्भावना रहन्छ।
यो परिस्थितिमा जेनजी आन्दोलनका प्रतिनिधिहरूले असल भावनाका साथ विरोध प्रदर्शनको आयोजना गरेको भए तापनि सिनेमामा नायकलाई खलनायकले षडयन्त्रमूलक ढंगबाट बदनाम वा असफल पारेजस्तै राष्ट्रिय सम्पत्तिको आगजनी र तोडफोड जेनजीका नाममा उत्रिएका भिडले गरेको हुँदा जेनजीले आफ्नो भावना र कार्यक्रम त्यो गलत उद्देश्यसँग सम्बन्धित थिएन भनेर सावित गर्नुपर्ने हुन्छ । त्यसका लागि अब आन्दोलनको अवतरण र प्रणाली सुधार वा परिवर्तनका निम्ति थप काम गरेर देखाउनुपर्ने भएको छ।
जेनजीले सरसफाइ, स्वयमसेवाका कार्यहरू, आन्दोलनमा घुसपैठ गरी विध्वंश मच्चाउने राष्ट्र र समाजविरोधी तत्त्वहरूको पहिचान, अनि राष्ट्रिय शक्तिहरूसँग सहकार्य गर्दै व्यवस्था र अवस्थाको परिवर्तनका लागि अग्रगामी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
अहिले सिंहदरबार जल्दा राज्यसत्ताका सुरक्षानिकायहरू मुकदर्शक भएको अवस्थामा यो राष्ट्रको अस्तित्वका निम्ति राज्यको चरित्रमा गुणात्मकरूपमै परिवर्तन गरेर जानुपर्ने देखिएको छ। राष्ट्रका सम्पदा र सम्पत्तिहरूको सुरक्षा गर्न नसकिने स्थिति किन उत्पन्न भयो यसको भोलि गएर छानबिन गरी दोषीउपर कारबाही र भविष्यमा यस्तो हुन नदिने चुस्त सुरक्षा प्रणालीको विकास गर्नुपर्छ। तसर्थ फेरि पनि राष्ट्रिय शक्तिहरूको दूरी कम गर्दै राष्ट्र निर्माणको अभियानमा सबै शक्तिहरू नजिक आउनुपर्ने हुन्छ। यसो गर्नका निम्ति तपसिलका कार्य गर्नुपर्ने देखिन्छः
-जेनजी प्रतिनिधिहरूको सार्थक सहभागिता र सहमतिमा विश्वासिलो व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार तत्काल गठन गर्नुपर्ने।
– काठमाडौंसहित देशभर भएका घटनाको छानबिन गर्न स्वतन्त्र, निष्पक्ष र पारदर्शी न्यायिक आयोग अविलम्ब गठन गरिनुपर्ने। आयोगले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी त्यसैका आधारमा सरकारले कारबाही गर्नुपर्ने।
– शान्तिपूर्ण प्रदर्शनमा घातक बल प्रयोग गर्न आदेश दिने र कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवार व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्ने।
– २०४७ सालपछिका सम्पूर्ण राजनीतिक नेतृत्व र अन्य उच्च पदाधिकारीको सम्पत्ति छानबिन गरी अवैध पुष्टिभएका सम्पत्ति राष्ट्रियकरण गर्ने प्रक्रिया अविलम्ब सुरु गर्नुपर्ने।
– मुलुकको सुरक्षास्थितिलाई अझ चुस्त बनाउन सम्भाव्य सहयोग सबैले गर्ने।
प्रकाशित: २७ भाद्र २०८२ ०८:१९ शुक्रबार
