जुत्ता र सारी भन्दै अमेरिका पठाउन लागिएको कार्गोभित्र सुनचाँदीका गहना



प्रकाशित मिति : १८ असार २०८३, बिहिबार

जुत्ता र सारी भन्दै अमेरिका पठाउन लागिएको कार्गोभित्र सुनचाँदीका गहना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गोमार्फत अमेरिका पठाउन लागिएको अवस्थामा सुन तथा चाँदीका गहना बरामद गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार साँझ करिब साढे ५ बजे कार्गो कम्प्लेक्स भवनमा नियमित जाँचका क्रममा उक्त गहना फेला परेको हो ।

म्यानिफेस्ट नम्बर ‘एएमएस एपी ३२१’ अन्तर्गत विदेश पठाउन तयार पारिएको एउटा कार्गो बाकसलाई एक्स-रे मेसिनमा परीक्षण गर्दा शंकास्पद वस्तु देखिएको थियो। उक्त कार्गोको विवरण पत्रमा जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाहरू रहेको उल्लेख गरिएको भए पनि एक्स-रेमा देखिएको सामग्री विवरणसँग मेल नखाएपछि सुरक्षा कर्मचारीले बाकस खोलेर विस्तृत रूपमा जाँच गरेका थिए।

त्यसक्रममा बाकसभित्र लुकाएर राखिएको अवस्थामा सुन तथा चाँदीका तयारी गहनाहरू फेला परेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा दुई जना कार्गो व्यवसायीलाई पक्राउ गरेको छ । उक्त कार्गो युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिक प्रालिको माध्यमबाट काठमाडौंबाट अमेरिका पठाउने तयारी गरिएको थियो। गैरकानुनी रूपमा गहना तस्करी गर्न खोजेको आरोपमा प्रहरीले एपेक्स लजिस्टिक प्रालिका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बरामद गरिएका सुनजस्ता देखिने धातुका गहनाहरूमा २२ थान ठूला र ४४ थान साना नौगेडी, १४ थान २१ गेडी भएका नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८ थान सिङ्गल र १८ थान डबल ब्रोच रहेका छन् । त्यसैगरी ५ थान ठूला र २ थान साना शिरफूल, १६ थान नेपालको झण्डा अंकित ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार तथा १ थान त्रिशूल समेत बरामद गरिएको छ ।

जुत्ता र सारी भन्दै अमेरिका पठाउन लागिएको कार्गोभित्र सुनचाँदीका गहना

चाँदीजस्ता देखिने गहनाहरू तर्फ भने ४ थान गोलो डिजाइनका नेकलेस, ९ थान चारपाटे नेकलेस, २६ थान काँडावाला चुरा, ३ सेट इयररिङसहितका शिरबन्दी, ३ जोर झुम्का, ४ थान तिलहरी तथा १ थान घाँटीमा लगाउने सिक्री फेला परेको प्रहरीले जनाएको छ ।





Source link

Leave a Comment