विश्व व्यवस्था तीव्र गतिमा परिवर्तन भइरहेको छ । परम्परागत कूटनीतिक सम्बन्ध केवल राजनीतिक संवाद, औपचारिक भ्रमण र सरकारी तहका सम्झौतामै सीमित छैनन् । आजको अन्तर्राष्ट्रिय सम्बन्धमा आर्थिक साझेदारी, विज्ञान तथा प्रविधि, नवप्रवर्तन, मानव संसाधन, अनुसन्धान, जलवायु परिवर्तन, डिजिटल रूपान्तरण र जनस्तरको सम्बन्धले देशको भविष्य निर्धारण गरिरहेका छन् । यस्तो परिवर्तित विश्व परिवेशमा नेपाल–जापान सम्बन्धलाई पनि विगतको अनुभवमा मात्र आधारित नभई भविष्यका सम्भावना र चुनौती केन्द्रमा राखेर नयाँ ढंगले परिभाषित गर्नुपर्ने समय आएको छ ।
नेपाल र जापानबीचको सम्बन्ध नेपालको सबैभन्दा स्थिर, विश्वासिलो र दीर्घकालीन अन्तर्राष्ट्रिय सम्बन्धमध्ये एक हो । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै यी दुई देशबीच आपसी सम्मान, विश्वास र सहकार्यको बलियो आधार निर्माण हुँदै आएको छ । भौगोलिक दूरी फरक भए पनि नेपाल र जापानबीचको सम्बन्ध मानवीय भावना, सांस्कृतिक सम्मान र साझा विकास दृष्टिकोणका कारण विशेष रहँदै आएको छ । कूटनीतिक सम्बन्ध स्थापनाको सात दशक नजिक पुग्दै गर्दा यस सम्बन्धलाई नयाँ युगको आवश्यकताअनुसार अझ गहिरो र परिणाममुखी बनाउने अवसर आएको छ ।
मैले एक दशकभन्दा बढी समय जापानमा अध्ययन, अनुसन्धान तथा व्यावसायिक क्षेत्रमा बिताउने अवसर प्राप्त गरेको छु । यस अवधिमा जापानी समाजलाई नजिकबाट बुझ्ने मौका पाएँ । जापानको विकास यात्रा आर्थिक वृद्धिको कथा मात्र होइन, अनुशासन, निरन्तर सुधार, ज्ञानमा आधारित समाज निर्माण, अनुसन्धानप्रतिको लगानी र संस्थागत क्षमताको उदाहरण पनि हो । जापानले कठिन परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै विश्वकै अग्रणी राष्ट्रको स्थान हासिल गरेको छ । त्यहाँको समाजमा देखिने जिम्मेवारीबोध, प्रविधिको प्रभावकारी प्रयोग र दीर्घकालीन सोच नेपालजस्ता विकासोन्मुख देशका लागि महŒवपूर्ण सिकाइका विषय हुन् ।
जापानमा अध्ययन, अनुसन्धान, व्यवसाय तथा रोजगारीमा संलग्न नेपाली समुदायले पनि नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महŒवपूर्ण योगदान दिइरहेको छ । विगतमा नेपाली र जापानी नागरिकबीचको सम्बन्ध मुख्यतः विकास सहायता र आर्थिक सहकार्यमा केन्द्रित थियो भने अहिले यो सम्बन्ध शिक्षा, अनुसन्धान, रोजगारी, संस्कृति, पर्यटन र व्यवसायिक सहकार्यसम्म विस्तार भएको छ । जापानमा रहेका नेपाली दुई देशबीचको सामाजिक तथा आर्थिक पुलका रूपमा स्थापित हुँदै गएका छन् । उनीहरूको अनुभव, ज्ञान र नेटवर्कलाई नेपालको कूटनीतिक रणनीतिसँग जोड्न सके सम्बन्ध अझ प्रभावकारी बन्न सक्छ ।
विगतका दशकमा जापान नेपालको प्रमुख विकास साझेदारका रूपमा रहँदै आएको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, प्राविधिक सहयोग र मानव संसाधन विकासका क्षेत्रमा जापानले पु¥याएको योगदान नेपालको विकास यात्रामा महŒवपूर्ण आधार बनेको छ । जापानी सहयोगबाट निर्माण भएका परियोजनाले नेपालको विकास प्रक्रियामा दीर्घकालीन प्रभाव पारेका छन् । त्यस्तै, जापानमा शिक्षा तथा तालिम प्राप्त गरेका नेपालीहरूले नेपाल फर्किएर विभिन्न क्षेत्रमा आफ्नो ज्ञान र अनुभव प्रयोग गर्दै आएका छन् ।
अहिलेको विश्व परिवेशमा नेपाल–जापान सम्बन्धलाई विकास सहायता प्राप्त गर्ने सम्बन्धका रूपमा बुझ्नु पर्याप्त हुँदैन । अबको आवश्यकता सहकार्यको नयाँ मोडल निर्माण गर्नु हो । नेपाल र जापानबीचको सम्बन्ध आर्थिक कूटनीति, लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान, नवप्रवर्तन र ज्ञान साझेदारीमा आधारित रणनीतिक साझेदारीतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ । जापानसँग रहेको उच्च प्रविधि, व्यवस्थापन क्षमता र अनुसन्धान प्रणालीलाई नेपालको प्राकृतिक स्रोत, युवा जनशक्ति र विकास सम्भावनासँग जोड्न सकियो भने दुवै देशका लागि दीर्घकालीन लाभ सिर्जना हुन सक्छ ।
जापान अहिले जनसंख्या वृद्धिदरमा कमी, वृद्ध जनसंख्या वृद्धि र श्रमशक्ति अभावजस्ता चुनौती सामना गरिरहेको छ । अर्कोतर्फ नेपालसँग ठूलो युवा जनसंख्या र श्रम क्षमता उपलब्ध छ । यो अवस्था दुई देशबीच सहकार्यको महत्वपूर्ण अवसर बन्न सक्छ । श्रम सहकार्य जनशक्ति आपूर्ति गर्ने विषयमै सीमित हुनु हुँदैन । सीप विकास, प्रविधि हस्तान्तरण, भाषा तथा सांस्कृतिक प्रशिक्षण, सुरक्षित रोजगार वातावरण र दीर्घकालीन मानव संसाधन विकासमा आधारित प्रणाली आवश्यक छ । यसले नेपाली युवालाई सम्मानजनक अन्तर्राष्ट्रिय अवसर प्रदान गर्नुका साथै जापानको आवश्यकता पनि पूरा गर्न सक्छ ।
नेपालको जलविद्युत् सम्भावना, प्राकृतिक स्रोत, पर्यटन, कृषि तथा जैविक विविधता जापानी लगानी र प्रविधिका लागि आकर्षक क्षेत्र बन्न सक्छन् । जापानले ऊर्जा दक्षता, स्वच्छ प्रविधि, औद्योगिक व्यवस्थापन र नवप्रवर्तनका क्षेत्रमा हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुन सक्छ । नेपालको सम्भावना र जापानको क्षमता जोड्न सक्ने प्रभावकारी आर्थिक कूटनीति अहिलेको आवश्यकता हो ।
विज्ञान र अनुसन्धान क्षेत्रमा पनि नेपाल–जापान सहकार्य सम्भावना अत्यन्त ठूलो छ । एक जैविक चिकित्साशास्त्री तथा अनुसन्धानकर्ताको दृष्टिकोणबाट हेर्दा विज्ञान कूटनीति भविष्यको सम्बन्ध निर्माण गर्ने महŒवपूर्ण आधार बन्न सक्छ । विश्व स्वास्थ्य, जैविक प्रविधि र अनुसन्धानको महŒव बढिरहेको समय नेपाल र जापानले स्वास्थ्य विज्ञान, जैविक चिकित्सा, बायोटेक्नोलोजी, औषधि विकास, वृद्धावस्था अनुसन्धान तथा सार्वजनिक स्वास्थ्यका क्षेत्रमा सहकार्य विस्तार गर्न सक्छन् ।
जापानको अत्याधुनिक अनुसन्धान क्षमता र नेपालको जैविक विविधता तथा प्राकृतिक स्रोतबीच सहकार्यको ठूलो सम्भावना छ । नेपालका हिमाली र पहाडी क्षेत्रमा पाइने जडीबुटी, औषधीय वनस्पति र जैविक स्रोतको वैज्ञानिक अनुसन्धान तथा मूल्य अभिवृद्धि गर्न सकिएमा यसले नयाँ आर्थिक सम्भावना सिर्जना गर्न सक्छ । नेपालको प्राकृतिक सम्पदा र जापानको प्रविधि तथा अनुसन्धान क्षमताको
संयोजनबाट ‘हर्बल कूटनीति’लाई नयाँ कूटनीतिक आधारका रूपमा विकास गर्न सकिन्छ ।
जलवायु परिवर्तन पनि नेपाल र जापान दुवैले सामना गरिरहेको साझा चुनौती हो । हिमाली क्षेत्रमा देखिएको वातावरणीय परिवर्तन, प्राकृतिक विपद्को जोखिम र जलस्रोतमा पर्ने प्रभावले नेपाललाई प्रत्यक्ष असर गरिरहेको छ । जापानले भूकम्प व्यवस्थापन, विपद् पूर्वतयारी, हरित प्रविधि र वातावरण संरक्षणका क्षेत्रमा हासिल गरेको अनुभव नेपालका लागि अत्यन्त उपयोगी हुन सक्छ । जलवायु अनुकूलन, स्वच्छ ऊर्जा, वातावरण संरक्षण र दिगो विकासका क्षेत्रमा दुई देशबीच सहकार्य अझ विस्तार गर्न सकिन्छ ।
यस्तो परिवर्तित परिवेशमा जापानका लागि नेपालको आगामी राजदूत चयन अत्यन्त महŒवपूर्ण विषय बनेको छ । यो एउटा प्रशासनिक नियुक्तिमात्रै होइन, नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको रणनीतिक निर्णय हो । आजको राजदूत औपचारिक कार्यक्रममा सहभागी हुने प्रतिनिधि होइन । उनी आर्थिक कूटनीतिको प्रवर्धक, लगानी आकर्षणका सहजकर्ता, वैज्ञानिक तथा शैक्षिक सहकार्यका संयोजक, नेपाली समुदायका प्रतिनिधि र नेपालको अन्तर्राष्ट्रिय छवि निर्माण गर्ने महŒवपूर्ण पात्र हुन् ।
टोकियोस्थित नेपाली दूतावास नेपालको सबैभन्दा महत्वपूर्ण कूटनीतिक नियोगमध्ये एक हो । जापान नेपालको प्रमुख विकास साझेदार, प्रविधि र लगानीको सम्भावित स्रोत तथा ठूलो नेपाली समुदाय रहेको देश भएकाले त्यहाँ नेतृत्व गर्ने व्यक्तिमा विशेष क्षमता आवश्यक हुन्छ । जापानी समाज, संस्कृति, भाषा, प्रशासनिक प्रणाली र संस्थागत सोच बुझ्ने क्षमता आजको कूटनीतिमा अत्यन्त महŒवपूर्ण छ ।
आधुनिक कूटनीतिमा परम्परागत राजनीतिक अनुभव पर्याप्त हुँदैन । अन्तर्राष्ट्रिय अनुभव, अनुसन्धान र ज्ञानमा आधारित सोच, निजी क्षेत्रसँग सहकार्य गर्ने क्षमता, लगानीकर्तासँग संवाद गर्ने दक्षता र नयाँ अवसर पहिचान गर्ने क्षमता भएका नेतृत्वको आवश्यकता बढेको छ । नेपालले अबको कूटनीतिलाई परिणाममुखी र अवसर केन्द्रित बनाउनुपर्ने समय आएको छ ।
राजदूत नियुक्ति विषयमा नेपालमा भइरहेका बहसले पनि पारदर्शिता, योग्यता र प्रतिस्पर्धात्मक चयन प्रक्रिया आवश्यकता देखाउँछन् । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक नेतृत्वको भूमिका स्वाभाविक भए पनि राष्ट्रिय महŒवका कूटनीतिक जिम्मेवारीमा सक्षम, योग्य र अन्तर्राष्ट्रिय अनुभव भएका व्यक्ति चयनले नेपालको विश्वसनीयता अझ बढाउन सक्छ ।
नेपाल–जापान सम्बन्ध अब नयाँ चरणमा प्रवेश गरिरहेको छ । आगामी वर्ष शिक्षा, विज्ञान, स्वास्थ्य, प्रविधि, पर्यटन, ऊर्जा, लगानी र जलवायु सहकार्य क्षेत्रमा धेरै सम्भावना छन् । यी सम्भावनालाई वास्तविक उपलब्धिमा बदल्न सक्ने दूरदर्शी र सक्रिय कूटनीतिक नेतृत्व आवश्यक छ ।
आजको कूटनीति मन्त्रालयका बैठक र औपचारिक भेटघाटमै सीमित छैन । ज्ञान, अनुसन्धान, प्रविधि, मानव सम्बन्ध र अन्तर्राष्ट्रिय सञ्जाल आधुनिक कूटनीतिका आधार बनेका छन् । नेपाल–जापान सम्बन्धको भविष्य सरकार–सरकारबीचको सम्बन्धमा मात्र होइन, विश्वविद्यालय, अनुसन्धान संस्था, व्यवसायिक समुदाय, युवा पुस्ता र प्रवासी नेपाली समुदायबीचको सहकार्यमा पनि निर्भर रहनेछ ।
सात दशकदेखि कायम नेपाल–जापान मित्रताले विश्वास र सहकार्यको बलियो जग निर्माण गरिसकेको छ । अबको चुनौती यस सम्बन्धलाई निरन्तरतास“गै बदलिँदो विश्व आवश्यकताअनुसार अझ प्रभावकारी, रणनीतिक र परिणाममुखी बनाउने हो । यसका लागि जापानलाई गहिरोसँग बुझ्ने, नेपालको सम्भावना प्रस्तुत गर्न सक्ने र नयाँ सहकार्यका ढोका खोल्न सक्षम नेतृत्व आजको आवश्यकता हो । नेपाल–जापान सम्बन्धलाई आगामी दशकका लागि पुनःपरिभाषित गर्दा ‘साझेदारीको नयाँ दर्शन’ आवश्यक देखिन्छ । विगतमा विकास सहायता, पूर्वाधार निर्माण र प्राविधिक सहयोग यस सम्बन्धका प्रमुख आधार थिए । अबको युगमा सहकार्यको केन्द्र सहायता होइन, सह–सिर्जना हुनुपर्छ । अर्थात्, नेपालले जापानबाट सिक्नेमात्र होइन, नेपालसँग भएका सम्भावना, स्रोत र ज्ञानलाई पनि साझा गर्दै बराबरीको साझेदारी निर्माण गर्नुपर्ने समय आएको छ ।
जापानले आफ्नो विकास यात्रामा देखाएको सबैभन्दा ठूलो विशेषता भनेको दीर्घकालीन सोच र निरन्तर सुधारको संस्कृति हो । सीमित प्राकृतिक स्रोत हुँदाहुँदै पनि जापानले मानव पूँजी, अनुसन्धान र प्रविधिलाई विकासको मुख्य आधार बनायो । नेपालका लागि पनि यही अनुभव अत्यन्त उपयोगी हुन सक्छ । प्राकृतिक स्रोत मात्र पर्याप्त हुँदैन, त्यसलाई वैज्ञानिक ज्ञान, प्रविधि र संस्थागत क्षमतासँग जोड्न सक्नुपर्छ । नेपाल–जापान सहकार्यको भविष्य पनि यही संयोजनमा निर्भर हुनेछ ।
शिक्षा र ज्ञान आदानप्रदानको क्षेत्र दुई देशबीचको सम्बन्धको अर्को महŒवपूर्ण आधार हो । जापानका विश्वविद्यालय, अनुसन्धान संस्था र प्राविधिक केन्द्र विश्वस्तरमा स्थापित छन् । नेपाली विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि जापान लामो समयदेखि महŒवपूर्ण गन्तव्य रहँदै आएको छ । अबको आवश्यकता विद्यार्थी पठाउनेमात्र होइन, संयुक्त अनुसन्धान परियोजना, दोहोरो डिग्री कार्यक्रम, वैज्ञानिक सञ्जाल र संस्थागत साझेदारी विस्तार गर्नु हो । यसले नेपालमा अनुसन्धान संस्कृति विकास गर्न सहयोग पु¥याउनेछ । नेपालका विश्वविद्यालय र जापानी अनुसन्धान संस्थाबीच सहकार्य विस्तार गर्न सकेमा कृषि, स्वास्थ्य, वातावरण, ऊर्जा र प्रविधिका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ । नेपालजस्तो जैविक विविधता भएको देशले अनुसन्धानमा आधारित नयाँ सम्भावना खोज्न सक्छ । विश्व बजारमा बढ्दो प्राकृतिक उत्पादन, जैविक औषधि र दिगो प्रविधिको माग ध्यानमा राख्दै नेपालले आफ्नो क्षमता पहिचान गर्न आवश्यक छ ।
डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता विस्तारले पनि अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूप परिवर्तन गरिरहेको छ । जापान रोबोटिक्स, स्वचालन, स्मार्ट प्रणाली र प्रविधि विकासमा अग्रणी राष्ट्र हो । नेपालले डिजिटल रूपान्तरण प्रक्रियामा जापानसँग सहकार्य गर्न सकेमा सार्वजनिक सेवा, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्छन् । डिजिटल कूटनीति अब परम्परागत कूटनीतिको महत्वपूर्ण हिस्सा बन्दै गएको छ । पर्यटन पनि नेपाल–जापान सम्बन्धको महŒवपूर्ण सम्भावनायुक्त क्षेत्र हो ।
(लेखकको यो निजी विचार हो)
(Visited 53 times, 1 visits today)
