प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार

Photo: Tuan P. Unsplash
जापानमा पारिवारिक भ्रमणका क्रममा बेपत्ता भएका एक अमेरिकी विश्वविद्यालयका विद्यार्थी घना पहाडी जंगलमा मृत फेला परेका छन्। खोजतलास टोलीले ती विद्यार्थीको शव फेला पारेको जानकारी उनको परिवारले दिएको हो। यससँगै केही दिनदेखि जारी व्यापक खोजी कार्यको दुखद अन्त्य भएको छ।
ओबर्न विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय जेम्स “वेस्टन” हिगिनबोथम शनिबार क्योटो सहरको बाहिरी क्षेत्रमा मृत फेला परेका हुन्। स्थानीय प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रकृति र पर्यावरणलाई निकै माया गर्ने वेस्टन गत जेठ १६ गते देखि बेपत्ता भएका थिए। क्योटो भ्रमणका क्रममा उनकी आमाले यात्राको मार्गनिर्देशनका लागि ‘च्याटजीपीटी’ प्रयोग गरेकी थिइन्। एआई प्रविधिले अत्यधिक प्राकृतिक स्रोतसाधन खपत गर्ने भन्दै वेस्टन र उनकी आमाबीच विवाद भएको थियो। त्यही विवादपछि उनी परिवारबाट छुट्टिएर क्योटो घुम्न निस्किएका थिए।
यसअघि प्रहरीले ७२ घण्टासम्म १०० भन्दा बढी अधिकारी, तालिमप्राप्त कुकुर र हेलिकप्टर प्रयोग गरेर खोजी गरे पनि फेला पार्न सकेको थिएन। पछि उनको परिवारले स्थानीय बासिन्दा र निजी उद्धार टोलीको सहयोगमा खोजी गर्दा क्योटोको यामासिना क्षेत्रको जंगलमा उनको शव फेला परेको हो।
वेस्टन ओबर्न विश्वविद्यालयमा ‘सस्टेनेबिलिटी इन्जिनियरिङ’ अध्ययन गर्दै थिए र पर्यावरण संरक्षणमा निकै चासो राख्थे। उनको असामयिक निधनप्रति विश्वविद्यालयका अध्यक्ष र उनका गृहराज्य अलाबामाका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
