जब आइन्स्टाइनले इजरायलको राष्ट्रपति बन्न अस्वीकार गरे…


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सन् १९५२ मा इजरायलका प्रथम राष्ट्रपति हाइम वाइजम्यानको निधनपछि प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई राष्ट्रपति बन्न प्रस्ताव गरिएको थियो ।
  • आइन्स्टाइनले आफूसँग राजनीतिक नेतृत्वको अनुभव र प्रशासन सञ्चालन गर्ने आवश्यक क्षमता नभएको उल्लेख गर्दै उक्त प्रस्ताव विनम्रतापूर्वक अस्वीकार गरे ।

हिटलरले गरेको यहुदीहरूको आम हत्या अर्थात् होलोकास्टपछि सन् १९४७ मा संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राष्ट्रमा विभाजन गर्ने प्रस्तावलाई स्वीकृति दियो । त्यस अन्तर्गत एउटा देश यहुदीहरूका लागि र अर्को अरबीहरूका लागि।

त्यसरी स्थापना भएको यहुदी राष्ट्र इजरायलका पहिलो राष्ट्रपति बने वैज्ञानिक हाइम वाइजम्यान ।

अनि सन् १९५२ मा उनको निधन भएपछि विश्वका सबैभन्दा चर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई इजरायलको राष्ट्रपति बन्न प्रस्ताव गरिएको थियो ।

तर आइन्स्टाइनले आफूलाई राजनीतिक नेतृत्वका लागि उपयुक्त ठानेनन् र उक्त प्रस्ताव विनम्रतापूर्वक अस्वीकार गरेका थिए । उनले आफूसँग राजनीतिक नेतृत्वको अनुभव नभएको र मानिस तथा प्रशासन सञ्चालन गर्ने क्षमता पर्याप्त नभएको बताएका थिए ।

उनले आफ्ना सीमितताहरू उल्लेख गर्दै त्यसलाई अस्वीकार गरे । इजरायलको राष्ट्रपति बन्न अस्वीकार गरेता पनि आइन्स्टाइन यहुदी आन्दोलनसँग भने आबद्ध रहिरहे।

इजरायल र यसका राष्ट्रपति

इजरायलले सन् १९४८ मा एक सार्वभौम देशको रूपमा आफ्नो स्थापनाको घोषणा गर्‍यो । तर बिडम्बना प्यालिटिनीहरूसँग अहिलेसम्म पनि आफ्नो स्वतन्त्र सार्वभौम राज्य छैन । यद्यपि प्यालेस्टाइनलाई १४० भन्दा बढी देशहरूले मान्यता दिएका छन्।

इजरायलका प्रथम राष्ट्रपति हाइम वाइजम्यान सोभियत साम्राज्यमा जन्मिएका एकजना जीव रसायनशास्त्री थिए । उनी केही समयसम्म ब्रिटिश नागरिक पनि रहेका थिए । उनी एसीटोन उत्पादनसँग सम्बन्धित आफ्ना आविष्कारहरूका कारण प्रसिद्ध थिए।

उक्त पदार्थ १९१० को दशकमा सैन्य मामिलामा अत्यन्त महत्वपूर्ण साबित भयो । एसीटोनको प्रयोग कर्डाइट बनाउनमा गरिन्थ्यो । यो एक विस्फोटक पदार्थ थियो र ब्रिटेनले प्रथम विश्वयुद्धमा यसको ठूलो मात्रामा प्रयोग गरेको थियो ।

यद्यपि वाइजम्यानको राजनीतिक जीवन यसभन्दा पनि धेरै महत्वपूर्ण थियो । उनी यहुदीवादका प्रमुख नेताहरूमध्ये एक थिए । यो एक राष्ट्रवादी आन्दोलन थियो, जुन उन्नाइसौँ शताब्दीको अन्त्यतिर सुरु भएको थियो । यसले प्यालेस्टाइनमा एक यहुदी राज्य स्थापना गर्ने माग राखेको थियो । इजरायलको स्थापना भएको करिब चार वर्षपछि राष्ट्रपति वाइजम्यानको निधन भयो।

७३ वर्षको उमेरमा राष्ट्रपति बन्ने अवसर

त्यसबेला एबा इबान अमेरिका स्थित इजरायलका राजदूत थिए । उनले इजरायलको राष्ट्रपति बन्नका लागि प्रस्ताव गर्न अल्बर्ट आइन्स्टाइनसँग सम्पर्क गरे । जर्मन भौतिकशास्त्री आइन्स्टाइन सन् १९३३ देखि अमेरिकामा बस्दै आएका थिए । त्यही वर्ष एडोल्फ हिटलर सत्तामा आएका थिए र जर्मनीमा यहुदीहरूमाथि दमन र अत्याचार सुरु भएको थियो ।

एबा इबानले बेन गुरियनको तर्फबाट आइन्स्टाइनलाई एक पत्र लेखे ।

उक्त पत्रमा लेखिएको थियो– इजरायल भौतिक रूपमा एउटा सानो देश हो तर यो महान बन्न सक्छ । किनभने यसले यहुदी राष्ट्रका प्राचीन र आधुनिक दुवै कालका सर्वोच्च आध्यात्मिक र बौद्धिक परम्पराहरूको प्रतिनिधित्व गर्दछ ।

साथै राष्ट्रपति बनेपछि पनि आइन्स्टाइनले आफ्नो वैज्ञानिक पेशा छाड्नु नपर्ने कुरा एबा इबानले प्रष्ट पारेका थिए । तथापि राष्ट्रपति बनेपछि आइन्स्टाइन अमेरिकाको न्यू जर्सी छोडेर इजरायलमै गएर बसोबास गर्नुपर्ने हुन्थ्यो । उनी न्यू जर्सीको प्रिन्सटनस्थित इन्स्टिच्युट फर एडभान्स्ड स्टडीमा बसेर काम गर्दै थिए ।

त्यस समय आइन्स्टाइनको उमेर ७३ वर्ष थियो । अन्ततः इजरायलको राष्ट्रपति बन्नका लागि आएको प्रस्ताव उनले अस्वीकार गरे । उनले विनम्रतापूर्वक जवाफ दिए, उक्त निमन्त्रणाका लागि खुसी व्यक्त गरे, तर त्यस्तो जिम्मेवारी लिन आफू तयार नभएको बताए ।

आइन्स्टाइनको जवाफ

जेरुसेलमको हिब्रु विश्वविद्यालयस्थित आइन्स्टाइन आर्काइभका क्यूरेटर तथा आइन्स्टाइनको नोटबुक पुस्तकका लेखक जेइभ रोसेनक्रान्जका अनुसार आफूसँग राष्ट्रपति पदका लागि आवश्यक क्षमता नभएको जिकिर आइन्स्टाइनको थियो ।

अल्बर्ट आइन्स्टाइनले जवाफ दिए, ‘म इजरायली सरकारको यस प्रस्तावबाट धेरै प्रभावित भएँ । तर म यसलाई स्वीकार गर्न नसक्ने भएकाले दुःख र लज्जित महसुस गर्छु ।’

उनले अगाडि लेखे– मैले सम्पूर्ण जीवनभर ठोस तथ्यहरूसँग सम्बन्धित समस्याहरूमा काम गरेको छु । मानिसहरूसँग सही तरिकाले व्यवहार गर्ने र सरकारी जिम्मेवारीहरू निभाउनका लागि न त मसँग आवश्यक स्वाभाविक क्षमता छ, न त अनुभव । यिनै कारणले म यति ठूलो पदको जिम्मेवारी सम्हाल्न योग्य छैन ।

संसारका राष्ट्रहरूबीच आफ्नो असुरक्षित अवस्थाको पूर्ण बोध भएसँगै यहुदी समुदायसँग आफ्नो सबैभन्दा बलियो मानवीय सम्बन्ध रहँदै आएको आइन्स्टाइनले उल्लेख गरेका थिए ।

आइन्स्टाइनबारे धेरै पुस्तकहरू लेखेकी एलिस कालाप्रिसका अनुसार आइन्स्टाइनको राष्ट्रपति बन्न अस्वीकार गरेको कुरासँग प्रधानमन्त्री बेन-गुरियन सहमत थिए।

उनको पुस्तक आइन्स्टाइन एनसाइक्लोपेडियामा लेखिएको छ– प्रधानमन्त्री बेन-गुरियनलाई चिन्ता थियो कि आइन्स्टाइनको राजनीतिक विषयमा स्पष्ट बोल्ने स्वभावले उनलाई आफ्नै विवेकविरुद्ध काम गर्न बाध्य पार्न सक्छ ।

गुरियनले तत्कालीन सेना प्रमुख आइज्याक नाफोनसँग भनेका थिए, ‘यदि उनले पद स्वीकार गरेको भए मैले के गर्थें होला ? मैले उनलाई त्यो पद प्रस्ताव गर्नुको विकल्प थिएन । त्यस्तो अवस्थामा हामी निकै कठिनाइमा पर्थ्यौँ ।’

आइन्स्टाइनको राजनीतिक सक्रियता

राष्ट्रपति बन्न अस्वीकार गरेपनि अल्बर्ट आइन्स्टाइनले इजरायलको राजनीतिक दिशाबारे भने निकै चासो राख्दथे ।

रियो दि जेनेरियोको फेडरल विश्वविद्यालयका प्राध्यापक इतिहासकार मीशल गरमान भन्टन्, ‘आइन्स्टाइन यहुदी आन्दोलनका सदस्य थिए । उनी सन् १९२१ देखि वाइजम्यानसँग नजिक थिए र यहुदीवादको लेफ्टिस्ट धाराको प्रतिनिधित्व गर्थे । उक्त आन्दोलनले प्यालेस्टाइनमा अरब र यहुदी दुवैका लागि राष्ट्रिय अधिकारसहितको द्वि-राष्ट्रिय राज्य स्थापनाको समर्थन गर्थ्यो ।

यहुदीवाद र इजरायल-प्यालेस्टाइन द्वन्द्व सम्बन्धी विषयका अनुसन्धानकर्ता रहेका गरमानका अनुसार आइन्स्टाइनका पत्रहरूले यस विषयलाई बुझ्न मद्दत गर्छन् । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि उनले नयाँ प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पत्र लेखेका थिए । जसमा भनिएको थियो– मैले यहुदीवादी उद्देश्य अपनाएँ किनभने यसमा मैले एक स्पष्ट ऐतिहासिक गल्तीलाई सुधार्ने बाटो देखेँ ।

अर्को वर्ष इजरायलको स्थापना भएसँगै उनले दशकौँ लामो संघर्षपछि केही राहत महसुस गर्न पाए । तर इजरायलभित्र चरमपन्थी समूहका गलत क्रियाकलापप्रति चाहिँ उनले आपत्ति जनाए । सन् १९४८ को अन्त्यमा उनले अन्य यहुदी बुद्धिजीवीहरूसँग मिलेर न्युयोर्क टाइम्समा एक खुला पत्र लेखे र इजरायली राजनीतिज्ञ मेनाकेम बेगिनको अमेरिकामा भएको यात्राको आलोचना गरे ।

मेनाकेम बेगिन इरगुन नामक यहुदी अर्धसैनिक संगठनका नेता थिए । त्यसले इजरायल स्थापनाअघि प्यालेस्टाइनी र ब्रिटिशहरूमाथि आतंकवादी आक्रमण गर्ने गर्थ्यो ।

त्यही वर्ष इरगुनले जेरुसेलम नजिकै देइर यासिन गाउँमा नरसंहार गर्‍यो । त्यसमा १०० भन्दा बढी प्यालेस्टाइनी नागरिकहरू मारिएका थिए । केही समयपछि बेगिनले त्यही संगठनबाट हेरुत नामको नयाँ राजनीतिक पार्टी स्थापना गरे ।

आइन्स्टाइनले न्युयोर्क टाइम्सलाई लेखेको पत्रमा मेनाकेम बेगिनको हेरुत पार्टी संगठन, कार्यशैली, राजनीतिक दर्शन र सामाजिक प्रभावका हिसाबले नाजी र फासिस्ट पार्टीहरूजस्तै रहेको आरोप लगाइएको थियो ।

सन् २०२४ मा ब्राजिलका केही वामपन्थी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो पत्र फेरि चर्चामा ल्याए । यो त्यतिबेला भयो जब ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले गाजापट्टीमा इजरायलका कदमहरूको तुलना होलोकास्टसँग गरे ।

राष्ट्रपति प्रस्ताव पछाडिको उद्देश्य

आइन्स्टाइन इजरायललाई त्यस्तो राज्यका रूपमा देख्न चाहन्थे जुन उनका व्यापक मूल्य प्रणालीसँग मेल खान्थ्यो । राष्ट्रवादप्रतिको गहिरो अस्वीकृति र अन्तर्राष्ट्रियतासँगको सम्बन्धले आइन्स्टाइनको यहुदीवाद र इजरायलप्रतिको दृष्टिकोणलाई सधैं सीमित बनायो ।

उनै आइन्स्टाइनलाई सन् १९५२ मा इजरायलको राष्ट्रपति बन्न प्रस्ताव गरिएको थियो ।

मीशल गरमानका अनुसार सम्भवतः त्यसको उद्देश्य नयाँ बनेको राज्यलाई अन्तर्राष्ट्रिय वैधता दिनु थियो, जुन केही वर्षअघि भएको रक्तपातपूर्ण युद्धपछि अस्तित्वमा आएको थियो।

सन् १९४८-१९४९ मा भएको युद्धमा इजरायलले अरब लिगलाई पराजित गर्दै भविष्यको प्यालेस्टाइनी राज्यका लागि छुट्याइएको जमिनको आधा भाग नियन्त्रणमा लिएको थियो।

मीशल गरमानका अनुसार इजरायलमा राष्ट्रपतिको पद धेरै हदसम्म प्रतीकात्मक भएता पनि त्यसको गहन राजनीतिक अर्थ थियो ।

उनी भन्छन्- आइन्स्टाइनलाई केवल यहुदी भएको आधारमा मात्र होइन, जियोनिस्ट आन्दोलनसँगको उनको राजनीतिक सम्बन्ध र इजरायल स्थापनाप्रतिको समर्थनका कारण आमन्त्रित गरिएको थियो । अन्य प्रमुख यहुदी व्यक्तित्वहरूलाई पनि बारम्बार देशको छवि सुधार्नका लागि प्रतीकात्मक पदहरूमा आमन्त्रित गरिएको छ ।

उदाहरणका लागि सन् १९९० को दशकको सुरुमा तत्कालीन प्रधानमन्त्री शिमोन पेरेजले प्रसिद्ध लेखक आमोस ओजलाई राजनीतिमा प्रवेश गर्ने प्रस्ताव दिएका थिए ।

द्विराष्ट्रिय समाधानबारे आइन्स्टाइनको विचार

सन् १९५२ मा ब्रित शालोम नामक विचारधारा अल्पसंख्यक दृष्टिकोण भए पनि पूर्णरूपमा अलग थिएन । यो यहुदी बुद्धिजीवीहरूको समूह थियो । आइन्स्टाइन पनि त्यसका सदस्य थिए ।

यसका अन्य सदस्यहरूमा हाना अरेन्ट, मार्टिन बूबर र गर्शोम शोलेम जस्ता प्रमुख बुद्धिजीवीहरू पनि थिए ।

गरमानका अनुसार आजको इजरायली सरकारले उक्त समूहलाई देशद्रोही जस्तो मान्छ किनकि बेन्जामिन नेतन्याहू नेतृत्वको सरकार फरक विचारहरूका लागि ठाउँ दिन इच्छुक छैन । दुईराष्ट्रिय समाधान अर्थात् टू-स्टेट सोलुसनका समर्थकलाई पनि नेतन्याहुहरू देशद्रोही ठान्छन् ।

आइन्स्टाइनको साटो राष्ट्रपति बनेका जवी र नेतन्याहू कनेक्शन

जब आइन्स्टाइनले राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरे । त्यसपछि आइज्याक बेन जवी इजरायलका राष्ट्रपति बने ।

आइन्स्टाइनले मेनाकेम बेगिनको आलोचना गरेका थिए । तर त्यसपछि उनै बेगिन इजरायलभित्र अझ प्रभावशाली हुँदै गए । उनको पार्टी बलियो राजनीतिक शक्ति बन्यो ।

हेरुत पछि गएर इजरायलको ‘कन्जरभेटिभ’ राजनीतिको मुख्य पार्टी बन्यो । बेगिन सन् १९७७ मा प्रधानमन्त्री बने र १९८३ सम्म पदमा रहे।

पाँच वर्षपछि हेरुत अर्को दक्षिणपन्थी पार्टी लिकुडमा समाहित भयो । सन् २००६ देखि यसको नेतृत्व बेन्जामिन नेतन्याहूले गर्दै आएका छन् । उनी इजरायलका इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री रहने नेतामध्ये एक हुन् । इजरायली प्रधानमन्त्रीको रुपमा उनको कार्यकाल १८ वर्ष नाघिसकेको छ ।

बीबीसी





Source link

Leave a Comment