ग्रिसेली निर्देशक यार्गोस लान्थिमोसको ‘पुअर थिङ्ग्स’, हलिउडको ‘अमेरिकन फिक्सन’, २०१२ मा बनेर कान्सदेखि ओस्कारसम्म चर्चित भएको डेनिस फिल्म ‘द हन्ट’ र नेपाली फिल्म ‘गाउँ आएको बाटो’का केही प्रसंगमा मिसाएर भारतीय फिल्म ‘कल्की २८९८ एडी’माथि लेख्ने मेरो मनसुवा थियो । तर, थोरै शब्दमा धेरै कुरा व्यक्त गर्ने शिल्पको अभाव र धेरै कथालाई एउटै धागोमा बुनेर लेख्ने कौशलको कमीले गर्दा यो लेख ‘कल्की २८९८ एडी’ फिल्म र अझै बढी यसको मुख्यपात्र अस्वत्थामाको वरपर महाभारत कथामा नै रुमल्लिन पुगेको छ ।
यो फिल्म, महाभारत, अस्वत्थामा र कल्कीबारे रुचि छैन भने यो लेखले तपाईंलाई निराश बनाउन सक्नेछ भन्ने पूर्वसूचना पनि यहाँ वाञ्छनीय हुनेछ ।
****
‘महाभारत’ माथि रुचि नहुने वा यसबारे थाहा नभएका अलिअलि लेखपढ भएका मानिस मैले कमै मात्र भेटेको छु । साथै यो पनि सत्य हो कि मैले जीवनमा अत्यन्त थोरै मान्छे भेटेको छु । र, मैले भेटेका मध्ये मेरो जस्तै पृष्ठभूमि, रुचि, अध्ययन र पेशा भएका मानिस नै अत्यधिक छन् । तीमध्ये कसैले बा–हजुरबाबाट सानैमा महाभारतका किस्सा सुनेका थिए भने कतिले टिभी, फिल्म, साहित्य मार्फत यसबारे थाहा पाएका । महाभारत कथा सुन्न, टेलिफिल्म हेर्न र यसबारे थाहा पाउनलाई कोही पनि कुनै निश्चित धर्म वा विश्वासको मानिस हुनुपर्छ भन्ने छैन ।
नेपाल र भारतको मात्र होइन, एशियाको ठूलो भूखण्डमा रामायण र महाभारत कथा कैयौं वर्षदेखि जनश्रुतिमा लोकसाहित्यको स्तरमा प्रचलित मानिन्छ । यो क्षेत्रको लेखन खासगरी आख्यानमा रामायण र महाभारतको प्रभाव अत्यधिक रहेको मानिन्छ । घटना र चरित्र चित्रणमा मात्र होइन, कर्तव्य, धर्म र आस्थाको सिद्धान्तमा समेत यी ग्रन्थको प्रभावले नैतिकताको मानकको काम गरेको मान्न सकिन्छ । यस्तोमा, कथा परम्पराको नयाँ हाँगो सिनेमामा यसको प्रभाव नपर्ने कुरै भएन । भारतमा धेरैवटा फिल्म र टेलिफिल्म महाभारत एवं रामायणमाथि बनेका छन् । कैयौं यसबाट प्रेरित छन्, कोही एडप्ट गरिएका छन् । श्याम बेनेगलको ‘कलयुग’देखि प्रकाश झाको ‘राजनीति’सम्म महाभारतका प्रभावशाली एडप्टेसनहरू पनि भएका छन् ।
****
मैले पहिलोपटक महाभारतबारे मेरा हजुरबुबाबाट सुनेको हुँ । गाउँको स्कुल पढ्दाताका नै रामायण र महाभारतका केही श्लोकहरू हजुरबुबाबाट सुनेपछि विस्तारै मैले यी ग्रन्थका केही भाग सस्वर वाचन पनि गरेको छु ।
पछि भने यसप्रति रुचि जगाउने काम ‘महाभारत’माथि बनेको टेलिफिल्म, विभिन्न विद्वान्हरूका लेख–रचना एवं प्रवचनले पनि गरे । यसमा सबभन्दा ठूलो प्रभाव शायद प्रदीप गिरीको रह्यो । गिरीले आफ्ना लेख, लेख शृंखला र विद्वत् प्रवचनमा चर्चा गर्ने महाभारतका प्रसंगहरूले मोहित बनाउँथ्यो ।
माथि उल्लिखित बेलाबेला बनेका महाभारतका एडप्टेसन सिनेमाले यसप्रतिको रुचिलाई नवीकरण गरिदिने काम गरे । ‘कलयुग’ र ‘राजनीति’ले महाभारतलाई कसरी प्रस्तुत गरे भन्ने विषयमा गिरीसँग मेरा केही संवाद पनि भएका थिए ।
खासगरी कुरुक्षेत्रको युद्धको १७औं दिन जमिनमा धसिएको रथको पांग्रालाई निकाल्नलाई रथबाट तल ओर्लिएका निहत्था कर्णको अर्जुनले बाण प्रहार गरी वध गरेको महाभारतको दृश्यलाई श्याम बेनेगलले असीको दशकको औद्योगिक घरानाको कथाका रूपमा ‘कलयुग’मा एडप्ट गर्दा त्यस दृश्यलाई पञ्चर भएको आफ्नो गाडीको टायर फेर्न ओर्लिएका शशी कपुरलाई गोली हानी मारिएको दृश्यमा गरिएको रूपान्तरणको गिरी कायल थिए । उनले यस प्रसंगबारे पोखरा साहित्य महोत्सवको प्रवचनमा समेत उल्लेख गरेका छन्, जुन युट्युबमा अद्यापि उपलब्ध छ ।
****
दृष्टिले दृश्यमात्र होइन, द्रष्टाको पनि परिचय गराउँछ ।
भौतिकवादी वा माक्र्सवादीको दृष्टिबाट हेर्ने हो भने महाभारतलाई कुलीन एवं शासक वर्गबीच जमिन र सम्पत्तिमाथि वर्चस्वका लागि भएको संग्राम मान्न सकिएला । राज्य शक्ति वा सत्ताका लागि दाजुभाइको यस्तो मारामारी युगयुगमा चलिरहन्छ भनेर कुनै अराजकतावादीले प्याच्च भन्न पनि सक्छ ।
धर्ममा विश्वास गर्ने व्यक्तिका लागि भने यसले कथाभन्दा बढी धर्मग्रन्थको दर्जा राख्दछ । श्रीकृष्णदेखि वेदव्यास, हनुमान, विदुर, द्रोण, भीष्म र परशुराम जस्ता दिव्य पुरुष एवं द्रौपदी, कुन्ती, गान्धारी जस्ता विदुषीका चमत्कार र शास्त्रार्थ यसमा समेटिएको उसले पाउनेछ ।
जीवन दर्शन वा साहित्यका हिसाबले हेर्नेका लागि त महाभारत वर्षौंदेखि एउटा खजानाका रूपमा रहँदै आएको छ । म यस ग्रन्थलाई यही दृष्टिबाट हेर्ने प्रयास गर्छु । महाआख्यान महाभारतका पात्र, प्रसंग र घटनावलीले विभिन्न पुस्ताका फिल्ममेकरहरूलाई पनि यसै कारण आकर्षित गरिरहेको हो भन्ने मलाई लाग्छ ।
यो प्रसंगमा मलाई सधैं भारतका पुराना पत्रकार रामकृष्णको संस्मरण पुस्तकमा पढेको बीआर चोपडाको टेलिशृंखला महाभारत निर्माणको एउटा किस्सा स्मरण हुन्छ । मैले पहिले पनि यसको चर्चा गरेको छु । यो किस्सा जोडिएको छ-यसका पटकथा एवं संवाद लेखक डा. राही मासुम रजाको ।
चोपडाले महाभारतमाथि टेलिशृंखला बनाउने निर्णय गरेपछि यसको लेखनका लागि सुप्रसिद्ध साहित्यकार डा. राही मासुम रजालाई आग्रह गरेछन् । तर, रजाले हिन्दु धर्मावलम्बीले पवित्र ठान्ने ग्रन्थमाथि एउटा मुस्लिम लेखकले लेख्दा अलि असुहाउँदो होला भन्ने ठानेर आफू लेख्न असमर्थ रहेको जनाएछन् । तर, चोपडाले अर्को लेखक छान्नुभन्दा डा. रजालाई नै मनाउन उचित ठहर्याएछन् । त्यसका लागि उनले एउटा जुक्ति जुराएछन् ।
त्यसपछि चोपडाले आफूले बनाउन लागेको महाभारत शृंखलालाई डा. राही मासुम रजाले लेख्दैछन् भनेर पत्रिकामा समाचार प्रकाशित गरिदिएछन् । समाचार प्रकाशित भएलगत्तै चोपडाको कार्यालयमा भारतभरिबाट पाठकहरूका असंख्य पत्र आएछन् । जसमध्ये अधिकांशमा यति धेरै हिन्दु भएका देशमा महाभारतमाथि लेख्नलाई एउटा पनि हिन्दु पाएनौ भनेर प्रश्न, आलोचना र गाली गरिएका थिए । चोपडा एक बिहानी ती सबै चिठी लिएर डा. रजाको निवासमा पुगेछन् र सबै चिठी उनलाई दिएछन् । चिठीहरूमा विधर्मी भएकाले महाभारत लेख्न दिनुहुँदैन भनी गरिएको तर्क पढेपछि डा. रजा चोपडाको कार्यालय पुगेछन् र भनेछन् अबचाहिं महाभारत मै लेख्छु ।
उनको तर्क थियो-यो ग्रन्थ कुनै एक धर्मावलम्बीको मात्रै होइन । यसलाई जसले राम्ररी पढेर परख गर्न सक्छ, त्यसले यसमाथि लेख्न सक्छ । ग्रन्थको अर्थ त्यसको पूजा गरिनुमा होइन, त्यसको गूढलाई ग्रहण गर्नुमा छ । यसप्रकार महाभारत शृंखला लेखियो । पछि जब यसको निर्माण भयो संयोगले यसमा अर्जुनको भूमिका पनि एक मुस्लिम धर्मावलम्बी कलाकार फिरोज खानले अभिनय गरे । उनले अर्जुनको चरित्रलाई यसरी चरितार्थ गरे कि उनलाई सबैले अर्जुन भनेरै चिन्न थाले । त्यसपछि उनले आफ्नो फिल्ममा प्रयोग हुने नाम नै फिरोजबाट परिवर्तन गरेर अर्जुन राखे ।
अलिकति पढेको र अलिकति डा. रजाले लेखेको त्यही महाभारतमा चित्रित पात्र (जसलाई पंकज धीरले कुशलतापूर्वक निर्वाह गरेका थिए) का कारण पनि कर्णको चरित्रले मलाई धेरै नै आकर्षित गरेको थियो । सूर्य देवताको सन्तान भएर पनि जन्मिंदै त्याग गरिएको, कुन्ती जस्ती आमा र पाण्डव जस्ता भाइ भएर पनि केही प्राप्त नगरेको, सूतपुत्र भनेर सदा अन्यायमा परेको र अपुरै जीवन बाँचेको यो पात्रप्रति मानिसहरूमा पैदा हुने आकर्षणबारे धेरैले वर्णन पनि गरेका छन् । तर, पराक्रमी भएर पनि दुर्योधनका सबैजसो गलत काममा साथ दिएको र अर्जुन–द्रौपदीप्रति दुराग्रह राखेको भनी कर्णको आलोचना गर्ने र कर्णको कपटपूर्ण अन्त्यलाई न्यायोचित ठहर्याउने पनि उत्तिकै छन् ।
****
यो हप्ता हेरेको भारतीय फिल्म ‘कल्की २८९८ एडी’ले भने महाभारतका यी सबै पात्रभन्दा बढी अस्वत्थामालाई उजागर गराइदियो । हुनत, अस्वत्थामामाथि पनि धेरै नै लेखिएको छ । नेपालीमा पनि लेखिएको छ । कुमार भट्टराईको ‘अस्वत्थामा’ शीर्षकमा उपन्यास प्रकाशित छ । अस्वत्थामाबारे सबभन्दा धेरैले सुनेको वाक्यचाहिं ‘अस्वत्थामा हतोहतः’ भन्ने होला ।
महाभारत युद्धमा कौरव सेनाका प्रथम सेनापति भीष्म मरणासन्न भएर सरशय्यामा पुगेपछि द्रोण सेनापति बनेका थिए । परशुराम शिष्य द्रोणलाई पराजित गर्ने कुनै उपाय पाण्डवसामु थिएन । उनलाई कुनै उपायद्वारा हटाउनुपर्ने भएपछि सत्यवादी कहलिएका पाण्डुपुत्र युधिष्ठिरले झुट बोलेका थिए । द्रोणलाई उनका छोरा अस्वत्थामा मरेको झुटो खबर सुनाइयो । तर, उनले समाचारमा विश्वास गरेनन् । युधिष्ठिरले कहिल्यै असत्य नबोल्ने भन्दै उनले यही कुरा युधिष्ठिरले भने मात्र पत्याउँछु भने । त्यसपछि पाण्डव पक्षकै फौजमा रहेको अस्वत्थामा नाम गरेको एक हात्तीको भीमले बध गरे । अनि, द्रोणका सामुन्ने आएर युधिष्ठिरले अस्वत्थामा हतोहतः अर्थात्, अस्वत्थामा मारियो भनेर ठूलो स्वरमा भने तर त्यसपछिको वाक्य नर वा कुञ्जरोवाः ‘त्यो मानिस हो वा हात्ती’ भन्ने चाहिं सानो स्वरमा भने जुन द्रोणले सुन्न सकेनन् । युधिष्ठिरको मुखबाट यस्तो सुनेपछि द्रोणले हतियार त्यागे । उदास भएर उनले समाधि लिए । त्यही बेला धृष्टद्युम्नले निहत्था द्रोणको वध गरेका थिए । कथा अनुसार धृष्टद्युम्नको जन्म द्रोण वधकै लागि भएको थियो ।
अस्वत्थामालाई धेरैले अभागी पात्रका रूपमा लिने गरेका छन् । जोसँग सबै चिज हुँदाहुँदै पनि केही छैन । गुरु द्रोण जस्तो पिता, कर्ण र दुर्योधन जस्ता मित्र, ब्रह्मास्त्र जस्ता अस्त्रको ज्ञान । अस्वत्थामासँग कसैसँग नभएको अपराजय नारायणास्त्र समेत थियो । तैपनि, कसैलाई आफ्नै जीवन बोझ भयो भने कस्तो होला भन्ने लाग्यो भने त्यसको उत्तर हुनेछ अस्वत्थामाको जस्तो ! किनभने कहिल्यै नमर्ने कुरा झट्ट हेर्दा वरदान जस्तो लागे पनि यो श्राप नै हो । जसरी मानिसलाई कुराहरू बिर्सनु समस्या जस्तो लाग्छ तर जीवनकालका सबै कुरा सम्झिने हो भने जीवन कति दुष्कर होला ? कहिल्यै केही पनि कुरा नबिर्सिनेलाई आफ्नो स्मृतिदंशले कति डस्छ होला ? र, अस्वत्थामालाई पनि यो श्रापकै रूपमा प्राप्त भएको थियो, श्रीकृष्णद्वारा ।
महाभारत कथा अनुसार द्रोणपछि कौरव सेनाका सेनापति बनेका कर्णको मृत्युपछि दुर्योधनले आफ्नो पराजय बोध गरेका थिए । अन्तिम गदायुद्धमा भीमले नियम विपरित कम्मरमुनि प्रहार गरेर क्षत–विक्षत बनाइदिएपछि जमिनमा लडिरहेका दुर्योधनका सामु अस्वत्थामाले पाण्डवहरूको सर्वनाश गर्ने संकल्प लिएका थिए । कृपाचार्य र कृतवर्माका साथ रातिको समयमा पाण्डवको शिविरमा प्रवेश गरेर अस्वत्थामाले हाहाकार मच्चाएका थिए । शिवका अंशावतार समेत मानिने अस्वत्थामाले त्यस रात आफ्ना पिताका हत्यारा धृष्टद्युम्न तथा शिखण्डी सहित द्रौपदीका पाँच छोराको समेत हत्या गरिदिएका थिए । उनले पाण्डव ठानेर द्रौपदी पुत्रको हत्या गरेको कथामा उल्लेख पाइन्छ । तर, यसले क्रुद्ध भएका पाण्डवहरूले खोजी गरेपछि उनी महर्षि वेदव्यासको आश्रममा गएर लुकेका थिए । श्रीकृष्ण सहित पाण्डवहरू त्यहीं पुगेपछि उनले पाण्डवहरूलाई लक्षित गरी ब्रह्मास्त्र चलाइदिए । त्यसलाई काट्नका लागि अर्जुनले पनि ब्रह्मास्त्र नै चलाएपछि वेदव्यासले दुवैलाई फट्कार लगाए । ब्रह्मास्त्रहरू आपसमा भिड्दा यसले पृथ्वीकै विनाश हुनसक्ने भन्दै उनले दुवैलाई ब्रह्मास्त्र फिर्ता लिन आग्रह गरे । महर्षिको आग्रह अनुसार अर्जुनले त फिर्ता लिए तर अस्वत्थामालाई अस्त्र फिर्ता लिने मन्त्रको ज्ञान थिएन । त्यसैले व्यासले उनलाई अस्त्रको निशाना परिवर्तन गर्न आग्रह गरे । पाण्डवहरू खासगरी अर्जुनप्रति दुराग्रह भरिएका कारण अस्वत्थामाले अस्त्रलाई अर्जुनका छोरा अभिमन्युकी पत्नी उत्तराको गर्भतिर सोझ्याइदिए । अस्त्रले उत्तराको गर्भमा रहेका उनका छोरा परीक्षितलाई मारिदियो, जसलाई कृष्णले पछि जीवनदान दिएर बचाइदिए । र, यिनै परीक्षितको कालबाट कलियुग सुरु भएको मानिन्छ । कलि र परीक्षितको संवादको छुट्टै कथा छ ।
****
तपाईंले ‘कल्की २८९८ एडी’ हेर्नुभयो भने अस्वत्थामाको अस्त्र उत्तराको गर्भमा बज्रिएको दृश्य देख्नुहुनेछ । (स्पोइलर अलर्टः यसमा फिल्मका केही रहस्यहरू खुल्नेछन्) फिल्ममा धनी र गरिबको दुइटा दुनियाँ देखिन्छ । पानी लगायतका प्राकृतिक सम्पदामा कब्जा जमाएर कम्प्लेक्समा बसेको यास्किन शक्तिशाली बन्नका लागि सिरमको खोजीमा छ । उसले बन्दी बनाएका महिलाहरूको सेलबाट भागेर एकजना गर्भवती साम्बालामा पुगेको ‘कल्की २८९८’ को कथा हो । उनको गर्भमा विष्णुका दशौं एवं अन्तिम अवतार मानिने कल्की भएको विश्वास फिल्मका पात्रहरूको छ । र, यही गर्भको रक्षा गर्नका लागि अस्वत्थामा आइपुगेपछि फिल्मले गति पक्रिन्छ ।
६ सय करोड भारु बजेटको यो फिल्मको भीएफएक्स र केही फाइट सिक्वेन्सहरू हलिउड फिल्मसँग मिल्दोजुल्दो छन् । केही सिक्वेन्सहरू ‘स्टार वार्स’ र ‘म्याडम्याक्स’ जस्ता फिल्मबाट लिइएको प्रतीत हुन्छ । निर्देशक नाग अश्विनले आफूले महाभारत र कल्की जस्ता मिथहरूलाई हलिउडका फिल्मको जस्तो टेक्नोलोजीसँग जोडेर नयाँ किसिमको फिल्म बनाउने प्रयास गरेको बताएका पनि छन् ।
फिल्मको पहिलो हाफ चुस्त छैन । बाउन्टी हन्टरका रूपमा प्रभासको चरित्र स्थापना गर्न धेरै समय लगाइएको छ । उनका कमिक किस्साहरू जमेका छैनन् । दिशा पटानीको चरित्रले दोस्रो भागमा केही कमाल गरे मात्रै, पहिलोमा त्यो चरित्रको महत्व स्थापित हुनसकेको छैन । साम्बालाबाट कम्प्लेक्सतिर उडेका रेगिस्तानका यात्रीहरूको भागमा मलाई ‘म्याडम्याक्स ः फ्युरी रोड’का पात्रहरूको निकै सम्झना आयो । जब फिल्ममा दोस्रो हाफमा अस्वत्थामा (अमिताभ बच्चन) र भैरव (प्रभास)का बीच द्वन्द्व देखापर्छ, तब फिल्म आफ्नो गन्तव्यतिर अघि बढ्छ ।
गर्भमा रहेका कल्कीको रक्षा गर्ने जिम्मा अस्वत्थामालाई दिएर उनले महाभारत युद्धको अन्त्यमा उत्तराको गर्भमा प्रहार गरेको पापको बदला लिए जस्तो लाग्छ । परीक्षितलाई जीवनदान दिनुअघि श्रीकृष्णले अस्वत्थामालाई एउटा श्राप दिएका थिए । उनको निधारमा रहेको मणि झिकेर उनलाई दिइएको श्राप थियो– ‘तिम्रो निधारको घाउ कहिल्यै पुरिने छैन । यो सधैं रसाइरहने र दुखिरहनेछ । यो पीडाका साथ तिमी अनन्तसम्म बाँचिरहनेछौ, कहिल्यै मर्ने छैनौ ।’ पुराणहरूमा व्याख्या गरिए अनुसारका अष्टचिरञ्जीवीमा अस्वत्थामाको पनि गणना हुन्छ ।
गर्भहत्या र गर्भरक्षा जस्तै अस्वत्थामा र कलिको कथाको पनि सम्बन्ध देखिन्छ । उनले गर्भमै मार्न चाहेको परीक्षितको कालबाट सुरु भएको कलियुगको अन्त्य गर्न कल्कीले साम्बालामा जन्म लिने कथाले बताउँछ । कल्कीको जन्म कलिको अन्त्यका लागि हुने र अन्य चिरञ्जीवी जस्तै अस्वत्थामाले पनि त्यो काममा कल्कीलाई मद्दत गर्नेछन् भनिएको छ । फिल्मले यसैतर्फ संकेत गर्दै यसको दोस्रो भागमा त्यो कथामा प्रवेश गर्ने ढोका उघारेर छोडेको छ । साथै, कल्की अवतारले जन्म लिने समयमा अस्वत्थामाले मणि पनि पुनप्र्राप्त गर्ने र त्यसैसँग आफ्नो शक्ति पनि फेरि आर्जन गर्ने कथामा भनिएको छ ।
****
‘कल्की २८९८’ मा महाभारतका दृश्यहरूको जसरी छायांकन गरिएको छ त्यो अद्भुत छ । खासगरी चेहराहीन कृष्णको प्रस्तुति, कर्णको पदार्पण र अर्जुनका रूपमा विजय देवरेकोन्डाको केमियो फिल्मका हाइलाइट हुन् । दोस्रो हाफतिर जब कवच पहिरिएको भैरव (कर्ण) ले आफ्नो अस्त्र प्राप्त गर्छ तब मलाई ‘आरआरआर’ को एउटा संवाद (यसका निर्देशक एस.एस राजामौलीको पनि फिल्ममा केमियो छ) ‘हतियारले आफैं चलाउने हात खोज्दै आउनेछन्’ याद आयो ।
गाण्डीव र विजय धनुषको प्रसंग फिल्ममा छ । ‘कल्की २८९८ एडी’मा भने गाण्डीवको रहस्यमय भूमिका देखिन्छ । यस्तै कर्णको धनुष विजयको पनि यसमा गज्जबले उपयोग गरिएको छ । अस्वत्थामाको हातमा एउटा लौरो जसरी रहेको हतियार कसरी विजय धनुषमा परिणत हुन्छ भन्ने यो फिल्मको सबभन्दा उत्कृष्ट दृश्यमा पर्छ ।
ब्रह्माले बनाएर इन्द्रलाई दिएको गाण्डीव धनुष अर्जुनलाई वरुण देवले दिएको मानिन्छ भने विजय धनुष विश्वकर्माले शिवका लागि बनाएको र परशुरामले आफ्ना शिष्य कर्णलाई दिएको मानिन्छ । एकथरीको भनाइमा कर्णको हातमा विजय धनुष, जसलाई अपराजय मानिन्छ, नभएको भए दुर्योधनले पाण्डवसँग युद्ध गर्ने प्रण गर्ने थिएनन् भन्ने पनि पाइन्छ । किनभने, दुर्योधनलाई कर्णको पराक्रम र विजय धनुषमाथि त्यति धेरै विश्वास थियो । ‘कल्की २८९८ एडी’ ले यो धनुषलाई आफ्नो कथामा कसरी प्रयोग गरेको छ भन्ने जान्नका लागि पनि फिल्म हेर्नुस् ।
‘कल्की २८९८ एडी’ मा सबभन्दा गज्जब लागेका चाहिं अमिताभ बच्चन नै हुन् । ८१ वर्षको उमेरमा पनि उनको स्क्रिन प्रिजेन्स अझै भारीभरकम देखिन्छ । फिल्मभरि जब–जब बच्चन पर्दामा देखिन्छन्, फिल्मको ग्राफ माथि चढ्छ । कल्की अवतारको सेटिङका रूपमा रहेको यो पहिलो भागमा अमिताभ सबैमाथि हावी भएका छन् । शायद, फिल्मका अन्य भागमा कमल हसनको भूमिका बढ्नेछ । ‘बाहुबली’का अत्यन्त प्रभावशाली र ‘आदिपुरुष’मा आलोचित प्रभास यसमा ‘बाउन्टी हन्टर’ भैरवभन्दा पनि कर्णका रूपमा जमेका छन् ।
फिल्ममेकरलाई द्रष्टा मानिन्छ, जसले यस काल पछि आउने कुराको अहिल्यै कल्पना गर्न सक्छ, त्यतातिर दृष्टि पुर्याउन सक्छ । ‘कल्की २८९८’ का निर्देशक नाग अश्विनले पनि यो फिल्ममा एउटा ग्रन्थ–कथा, मिथलाई अर्कोसँग जोड्ने काम गरेका छन् । कर्णदेखि अस्वत्थामा हुँदै कल्कीलाई जोड्ने काम उनले त्यही स्रष्टा र द्रष्टाचेतले गरेका हुन् भन्न सकिन्छ । निर्देशकको काल्पनिकता र उसको कथाचेत पनि यसबाट प्रष्ट हुन्छ । यस्तो लाग्छ– उनी महाभारतमा कर्णको पात्रलाई दिइएको अन्त्यबाट सन्तुष्ट छैनन्, त्यसमा केही संशोधन चाहन्छन् । यसैले कर्णको उनले कल्की युगमा पुनर्जन्म गराएका हुन् !
बौद्ध धर्म अनुयायीबीच साम्बाला पवित्र भूमिका रूपमा स्थापित छ । मीनबहादुर भामको फिल्म ‘साम्बाला’ मा यसको विस्तृत प्रसंग पाइन्छ । ‘कल्की’मा पनि साम्बालाका दृश्यहरूमा मण्डल र बौद्ध भिक्षुहरू पनि देख्न सकिन्छ । ‘कल्की’का निर्देशकले काशी र सुकेको गंगा नदीलाई विम्बमा तथा साम्बालाबाट काशीसम्मको यात्रालाई मिथ र फेन्टासीको मिश्रणका रूपमा प्रस्तुत गरेका छन् । मूल तेलुगु भाषामा बनेको यो फिल्मको अन्त्यमा गाण्डीव धनुष जसरी ‘कम्प्लेक्स’ भित्र समाधिस्थ यास्किनको हातमा पुग्छ यसले भविष्यको बेग्लै चित्र पनि प्रस्तुत गर्छ । साथै, यास्किनले गाण्डीव उठाएको देखाएर उनले थुप्रै अनुमानका लागि ठाउँ दिएका छन् । चलाख निर्देशकले यस्ता केही ‘ट्विस्ट’हरू राखेर दर्शकलाई अर्को भागतिर तानेर लैजाने प्रयास गर्छन् । यास्किनले गाण्डीव उठाएबाट उभित्र कसको अंश प्रवेश गर्यो र सुमतीको गर्भमा रहेको भनिएको कल्कीमा कसको अंश छ भन्ने प्रश्न पनि उनले दोस्रो भागका लागि छोडेका छन् ।
दीपिका पादुकोणको पात्रलाई सुमतिको नाम दिएर निर्देशकले उनको गर्भमा नै कल्की रहेको दर्शाएका छन् । साथै, रामायणमा सीताले दिएको अग्निपरीक्षा र महाभारतमा अग्निकुण्डबाट द्रौपदीको जन्म भएको मिथलाई सम्झाउने गरी कम्प्लेक्सबाट निस्किने बेला सुमतिलाई आगोबाट निकालिदिएका छन् । यसको थप व्याख्या उनले दोस्रो भागमा गर्नेछन् भन्ने मलाई लाग्छ ।
के कल्की रोबोट हुन् त ? युवल नोहा हरारी र अन्य इतिहासकार एवं वैज्ञानिकहरूले चेताए जस्तै संसारमा रोबोटको विकास तीव्र गतिमा भइरहेको छ । जसरी एआईको प्रयोग र रोबोटमाथि प्रयोग भइरहेको छ, यसले कालान्तरमा अहिलेको ह्युमनलाई सुपरह्युमनमा अपग्रेड गर्ने तर्क एकथरीको छ । त्यो सुपरह्युमन कलि होला कि कल्की ? नाग अश्विनको संसारमा कल्कीको उत्पत्तिस्थलका रूपमा यास्किनको ल्याबलाई देखाइएको छ । यसले पनि त्यसतर्फ केही संकेत गर्छ । साम्बालामा जन्म लिने, देवदत्त नामक सेतो घोडामा सवार हुने र फलामको जस्तो जीउ भएको कल्कीको कल्पना गरिएको पाइन्छ । फिल्ममा तपाईंले त्यो सेतो घोडाको सट पनि पाउनुहुनेछ ।
****
अन्त्यमा,
‘रामायण’ र ‘महाभारत’ दुवै ग्रन्थमा सूर्य र इन्द्रका छोराहरूको लडाईं छ । घामपानीको लडाईं प्रकृतिमा भए जस्तो घामका देवता सूर्य र पानीका देवता इन्द्रको लडाईंका थुप्रै कथा छन् । रामायणमा सूर्यका छोरा सुग्रिवको पक्ष लिएर विष्णु अवतार रामले इन्द्रका छोरा बालीको वध गरिदिन्छन् । महाभारतमा भने इन्द्रका छोरा अर्जुनको पक्ष लिएर कृष्णले सूर्यका छोरा कर्णको वध गराउँछन् ।
प्रश्न यो छ कि, कल्की अवतारमा पनि घाम र पानीको लडाईं जारी रहला ? रह्यो भने सुकेको गंगामा पानी बगाउन इन्द्रले कसलाई पठाउलान् ? के पहिलो भागमा कर्ण जस्तै नाग अश्विनको यो कल्की कथामा आफ्नो गाण्डीव खोज्दै अर्जुन आइपुग्लान् ? घामपानीको घमासानमा अस्वत्थामाले कसको रक्षा गर्लान् ? कि यो कथामा अमिताभ बच्चन (अस्वत्थामा), प्रभास (कर्ण) र विजय देवरेकोन्डा (अर्जुन) साथ मिलेर भिलेन कमल हसन (यास्किन) विरुद्ध लड्न कल्कीलाई सघाउलान् ?
अब भने ‘कल्की २८९८ एडी’ को दोस्रो भाग आउनुअघि ‘महाभारत’को एकपटक गम्भीर अध्ययनतिर लाग्ने मेरो मनसुवा छ ।