पूर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुँदा हुँदै पनि देश परनिर्भरता तिर गइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्।
कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्न र नागरिक अभिनन्दनको कार्यक्रममा सहभागी हुन जुम्ला आइपुगेका पुर्वराजा शाहले जनताहरू खानकै लागि काम खोज्न भौँतारी रहेको देख्दा मनभरि पिडा हुने गरेको भन्दै दुःख व्यक्त गरेका हुन।
लामो समय जुम्लाको सुन्दरताको बखान गरेका पुर्वराजा शाहले अब राष्ट्रको पुरानो गौरव फर्काउन सबै एक हुनुपर्नेमा जाेढ दिए।
आफ्नै पाखुराको बलमा अघि बढ्नु पर्ने समय आइसकेको स्मरण गराउँदै शाहले यातायातको विकटता, हावापानीको जटिलता भएका क्षेत्रहरूमा स्रोतको सही उपयोग गर्नुपर्ने बताए।
‘रोजगारीको लागि जन्मे हुर्केको थातथलो छोडेर अन्यत्र बसाइसराइ गर्नुपर्ने बाध्यता छ। अर्कोको देशमा तातोको पिडा खेप्नु पर्ने अवस्था निम्तिएको छ’, पूर्वराजा शाहले भने,‘ यो हिजो होइन। हामी बदलिरहेका छौं। परिवर्तन पिडादायी भएपनि सुखद हुने निश्चित छ। सबै मिलेर देशको अस्तित्व बचाउन तिर लागौँ।’
उनले सबै मिलेर राष्ट्रिय सोच बनाउन अपिल गरे। पुर्वराजा शाहले भने, ‘पहिले राष्ट्रिय सोच बनाऊ। मार्ग सुधार गरौँ। नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय सहमति गरेर नयाँ निष्कर्ष निकालौँ. यही नै देशको लागि भलाई हुनेछ।’
समिट एयरको जहाजमा जुम्ला आइपुगेका पूर्व राजालाई जुम्लावासीले नागरिक अभिनन्दन गरे। उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही सहित समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका थिए।
जुम्ला विमानस्थलमा राजा आऊ देश बचाउ, सिंहदरबार खाली गर, हाम्रो राजा आउँदै छन्। राजा सबैका साझा हुन् लगायतका नारा घन्किएको थियो।
चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गरिसकेपछि पुर्वराजा शाहले जिल्ला प्रशासन कार्यालय अगाडी बनाइएको मञ्चबाट सम्बोधन गरेका थिए। पूर्व राजाको मन्तव्य सुन्न र हेर्नको लागि हजारौं जुम्लीहरु सदरमुकाम खलङ्गा पुगेका थिए।
प्रकाशित: २४ चैत्र २०८० २०:४७ शनिबार