जनताले मागेजति मत दिए, अब निराश नबनाऊ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • हरेक नयाँ शक्ति उदाउँदा उसले समाजमा ठूलो आशा, सपना र उत्साह देखाउँछ। भाषण आकर्षक हुन्छन्, नाराहरूले उत्साह भर्छन्। ती सपना व्यवहारमा परिणत नभए नागरिक घोर निराशामा डुब्छन्।
  • मुख्यत: सुशासनमा गरिएको खेलाँची र मनपरीले नयाँ राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त र भीमकाय उदय भएको देखिन्छ।
  • नयाँ नेतृत्वले पनि पुरानै गल्ती दोहोर्‍यायो भने जनताको विश्वास अझै कमजोर हुन सक्छ र २०७४ पछि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जस्तै परिणाम देखिन सक्छ।

नेपालको राजनीतिक इतिहासमा एउटा गहिरो मनोवैज्ञानिक वास्तविकता स्पष्ट देखिन्छ– नेपाली जनता सधैं आशावादी हुन्छन्, तर बारम्बारको निराशा उनीहरूको नियति बन्छ। परिवर्तनका नारा, नयाँ नेतृत्वको उदय र विकासका सपना हाम्रो समाजका लागि नयाँ कुरा होइनन्। तर विडम्बना के भने ती सपनाहरू हालसम्म व्यवहारमा रूपान्तरण हुनसकेका छैनन्। यद्यपि, अहिलेसम्मका उपलब्धिहरू पनि हाम्रो समाजको अग्रगमनका लागि नै थपिएका इँटाहरू हुन् भन्ने स्वीकार गर्नुपर्छ।

नेपाली जनताले आफ्नो अधिकार, स्वतन्त्रता र समृद्धिको आकांक्षाका लागि निरन्तर संघर्ष गरेका छन्। इतिहासका विभिन्न चरणमा जनताले राजनीतिक शक्तिहरूलाई विश्वास गरेर परिवर्तनको पक्षमा उभिएका छन्। राणाकालमा परिवर्तनका पक्षमा सानो भए पनि स्वर उठ्यो र २००७ को आसपासमा जनताको विजय भयो। २०४६ मा बहुदलीय प्रजातन्त्रका लागि र २०६२ को अभूतपूर्व जनआन्दोलन गणतन्त्रको पक्षमा भए तर वास्तवमा हालसम्मका आन्दोलनहरू केवल सत्तापलटका लागि र व्यवस्था विरुद्ध थिए भन्नु इतिहासको गलत व्याख्या हुन्छ। यसप्रकारका जनउभारहरू जनताका आकांक्षा र भावना समेट्न तथा आर्थिक सामाजिक विकासका लागि हुन्। तर आज पनि एउटा मूल प्रश्न अनुत्तरित छ– किन हरेक परिवर्तनपछि जनअपेक्षा अनुसारको परिणाम हासिल हुन सकेन ?

२०१५ सालको आमनिर्वाचन नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण अध्याय थियो। नेपाली जनताले नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत दिएर लोकतन्त्रप्रतिको आफ्नो विश्वास प्रकट गरेका थिए। वास्तवमा त्यो जनादेश जनताको आकांक्षा, आशा र विश्वासको प्रतीक थियो। तर दुर्भाग्यवश त्यो खुसी लामो समय टिक्न सकेन। राजा महेन्द्रले सरकार बनेको १८ महिनामै ‘सैनिक कू’ गरेर पञ्चायती व्यवस्थाको स्थापना गरे। त्यसपछि देश तीन दशकसम्म फरक राजनीतिक संरचनामा गयो। पञ्चायती व्यवस्थाको ३० वर्षपछि २०४६ सालको जनआन्दोलनले बहुदलीय लोकतन्त्र पुनर्स्थापित गर्‍यो।

विश्वमा प्रजातन्त्रको लहर चलेका बेला नेपालमा भएको उक्त आन्दोलनले देशभरि ठूलो आशा जगायो। उक्त आन्दोलनपश्चात् पनि जनताले देशमा अब राजनीतिक स्थिरता कायम हुने र विकासको लय अघि बढ्ने अपेक्षा नै गरेका थिए। तर त्यो अपेक्षा दीर्घकालीन रूपमा पूरा हुन सकेन। प्रजातन्त्र पुनर्स्थापनापछि पनि सरकारहरूमा आन्तरिक द्वन्द्व, सत्तासंघर्ष र गुटबन्दी मौलाउँदै गयो भने जनअपेक्षा अनुसार सुशासन, पारदर्शिता र विकासमा हामी धेरै नै पछि रहिरह्यौं। लगत्तै देशले अर्को ठूलो राजनीतिक उथलपुथल अनुभव गर्‍यो २०५२ बाट। २०४६ पछिको कुशासन, अस्थिरता, भ्रष्टाचार र अव्यवस्थाका विरुद्ध माओवादी सशस्त्र द्वन्द्व हुँदा देश दशक लामो संघर्षमा फस्यो।

२०६३ मा शान्ति प्रक्रियामा प्रवेश गरेसँगै फेरि जनतामा नयाँ आशा पलायो। आमनागरिकले विश्वास गरेका थिए कि भीषण संघर्ष गरेर आएको राजनीतिक शक्ति भएकाले माओवादीहरूले देशमा नयाँ राजनीतिक संस्कार र परिवर्तन ल्याउने छन् र सुशासनको मशाल बोक्ने छन्। तर यो बीचको समयमा के–के भयो भन्ने विषयमा नयाँ पुस्ता समेत जानकार छ। माओवादीलाई व्यापक जनसमर्थन भए पनि देशमा अपेक्षित स्थिरता देखिएन। पार्टीभित्रै विभाजन र शक्ति संघर्ष बढ्दै गए। अन्तत: त्यो शक्ति पनि टुक्रिंदै गयो। आन्तरिक रूपमा जे भनेर विवाद सिर्जना गरे पनि उक्त दलको विभाजनले देशमा अस्थिरता ल्यायो र यो बीचको अवधिमा भए/गरेका विभिन्न राजनीतिक घटनाक्रमको मुहान बनेर स्थापित भयो।

रास्वपाको उदय कुनै एक व्यक्तिको प्रभाव मात्र होइन, बरु लामो समयदेखि संचित जनअसन्तुष्टिको एकमुष्ट विस्फोट हो। पुराना दलहरूले देखाएका बेथिति, कुशासन र अपूर्ण वाचाहरूले जनतामा नयाँ विकल्पको खोजीलाई बलियो बनाएको निश्चित हो।

यसक्रममा २०४६ देखि अहिलेसम्मको राजनीतिक यात्रालाई नियाल्दा एउटा समानता देखिन्छ। हरेक नयाँ शक्ति उदाउँदा उसले समाजमा ठूलो आशा, सपना र उत्साह देखाउँछ। समृद्ध राष्ट्र बनाउने वाचा सहित कसैले त नेपाललाई सिंगापुर वा स्विट्जरल्यान्ड हाराहारीकै विकास गर्ने भाषण पनि गर्छन्। भाषणहरू आकर्षक हुन्छन्, नाराहरूले उत्साह भर्छन् तर अन्तत: ती सपनाहरू व्यवहारमा परिणत हुनसकेका छैनन्। हाम्रा सपनाहरू साकार नहुँदा वास्तवमै भित्रभित्रै उकुसमुकुस र दमित भएका छन्।

फलत: आज पनि नेपाल विकास सूचकहरूमा पछाडि छ। गरीबी, बेरोजगारी, कमजोर औद्योगिक आधार, पूर्वाधारको अभाव र सीमित आर्थिक अवसरहरू प्रमुख चुनौतीका रूपमा विद्यमान छन्। थप चिन्ताजनक पक्ष के छ भने नेपाल क्रमश: श्रम निर्यातमा निर्भर अर्थतन्त्रको रूपमा चिनिन थालेको छ। लाखौं युवा रोजगारीको खोजीमा विदेश जान बाध्य भएका छन् भने हाम्रो अर्थतन्त्र डच डिजिजले थलिने अवस्थामा पुगेको छ।

नेपालले विकासको गति किन समाएन ?

विगत ५०–६० वर्षको इतिहासलाई हेर्ने हो भने धेरै देशको अवस्था कुनै समय नेपालको भन्दा धेरै फरक थिएन। दक्षिण कोरिया, सिंगापुर, मलेसिया, भियतनाम र बंगलादेश जस्ता देशहरू पनि कुनै समय आर्थिक रूपमा कमजोर थिए। तर ती देशहरूले राजनीतिक स्थिरता कायम गर्दै दीर्घकालीन विकास रणनीतिमा ध्यानकेन्द्रित गरे। परिणामस्वरूप उनीहरूले उल्लेखनीय आर्थिक फड्को मारे। नेपाल भने त्यही अवधिमा निरन्तर राजनीतिक अस्थिरताको चक्रमा अल्झिइरह्यो। यहाँको ऊर्जा मुख्यत: सत्ता परिवर्तन, व्यवस्था परिवर्तन र नेतृत्व परिवर्तनमै खर्च भयो। विकासका दीर्घकालीन योजना भन्दा राजनीतिक संघर्ष प्राथमिक विषय बनिरह्यो। यसले गर्दा नेपालले अमूल्य समय गुमायो।

राजनीतिप्रति जनताको निराशा बढ्दै गएको संकेत समय–समयमा देखिंदै आएको थियो। कतिपय नेताले सार्वजनिक रूपमा नै ‘नेता आए भने सबैले चोर भन्छन्’ भन्ने टिप्पणी गरेका थिए। यस्ता अभिव्यक्तिहरू हलुका र अराजक जस्तो लागे पनि त्यसले जनताको मनोविज्ञानमा गहिरो असर पारेको पक्कै हो। संसद्मै पनि केही नेताहरूले राजनीतिप्रति जनताको वितृष्णा बढिरहेको चेतावनी दिएका थिए। तर समयमै सुधारको प्रयास नहुँदा त्यो असन्तुष्टि झन् गहिरिंदै गयो।

यो बीचमा मुख्यत: सुशासनमा गरिएको खेलाँची र मनपरीले नयाँ राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त र भीमकाय उदय भएको देखिन्छ, जसको नेतृत्व रवि लामिछानेले गरे र पछि बालेन्द्र शाह (बालेन) पनि जोडिए । उनीहरुलाई फागुन २१ को चुनावमा जनताले करिब दुई तिहाइ बहुमत दिए । रास्वपाको उदय कुनै एक व्यक्तिको प्रभाव मात्र होइन, बरु लामो समयदेखि संचित जनअसन्तुष्टिको एकमुष्ट विस्फोट हो। पुराना दलहरूले देखाएका बेथिति, कुशासन र अपूर्ण वाचाहरूले जनतामा नयाँ विकल्पको खोजीलाई बलियो बनाएको निश्चित हो।

यसमा अर्को महत्वपूर्ण पक्ष युवा पुस्ता पनि हो। लामो समयदेखि राज्य सञ्चालनमा रहेका नेताहरूले नयाँ पुस्तालाई पर्याप्त अवसर दिन सकेनन् भन्ने आलोचना व्यापक रूपमा उठ्दै आएको छ। देशभित्र रोजगारीका अवसर सीमित हुँदा लाखौं युवा विदेश गए। आज अभिलेखमै देखिएका २० लाख र त्यति नै आसपासमा अलेखबद्ध नेपाली कामदार विदेशमा बसेर विकासको फरकस्तर र आधुनिक सेवा प्रवाहको अनुभव गरिरहेका छन्। त्यसको तुलना नेपालसँग गर्दा असन्तुष्टि अझै गहिरो हुँदैगयो।

नयाँ राजनीतिक शक्तिको उदयसँगै ठूलो आशा जागेको छ। अब अहिलेको नेतृत्वले पूर्ण रूपमा निश्चिन्त हुने आधार देखाउनुपर्छ।

यसैले अहिलेको चुनावले यो कुनै एक पार्टीको मात्र विजय होइन बरु पुरानो राजनीतिक व्यवहारप्रतिको असन्तुष्टिको अभिव्यक्ति हो भन्ने स्पष्ट सन्देश दिएको छ। आज धेरै नेपालीले व्यक्तिभन्दा पनि विकल्पलाई मत दिएका छन्। ‘पुरानालाई देखिहाल्यौं, अब नयाँलाई अवसर दिऔं’ भन्ने भावना समाजमा व्यापक रूपमा देखिएको छ।

अब हाम्रासामु अर्को महत्वपूर्ण प्रश्न पनि उठ्छ— के नयाँ शक्ति सधैं सफल हुन्छ ? इतिहासले के देखाएको छ भने नेपाली जनताले विभिन्न समयमा नयाँ नेतृत्वलाई अवसर दिएका छन्। तर धेरै पटक त्यो विश्वास पूरा हुन सकेन। आज राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ नेतृत्वप्रति ठूलो आशा छ। जनताले उनीहरूलाई एउटा अभूतपूर्व एतिहासिक अवसर दिएका छन्। त्यो अवसरसँगै ठूलो जिम्मेवारी पनि उक्त दलमा आउँछ। यदि नयाँ नेतृत्वले पनि पुरानै गल्ती दोहोर्‍यायो भने जनताको विश्वास अझै कमजोर हुन सक्छ र २०७४ पछि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जस्तै परिणाम देखिन सक्छ। यद्यपि, आजको नेपालको राजनीतिक नारा पहिलेभन्दा फरक छ। पहिलेका आन्दोलनहरू सत्ता परिवर्तन वा व्यवस्था परिवर्तनका लागि केन्द्रित थिए। तर अहिलेको मुख्य चुनौती रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र आधुनिक पूर्वाधारको विकास गरी आर्थिक समृद्धि हासिल गर्नु हो।

आज नेपाललाई फेरि कुनै ठूलो राजनीतिक क्रान्ति आवश्यक छैन; केवल सुशासन, दीर्घकालीन योजना र इमानदार कार्यान्वयनको खाँचो छ। नेपालले राजनीतिक स्थिरताको खोजीमा दशकौं बितायो अब सो समय र श्रम विकासमा केन्द्रित हुने बेला आएको छ। अब समय राजनीतिक नाराको होइन, विकासको परिणाम देखाउने भएको छ। किनकि जनताले धेरै पटक आशा गरेका छन् र धेरै पटक निराश पनि भएका छन्। तर आशा अझै समाप्त भएको छैन।

व्यापक प्राकृतिक स्रोत, युवा जनशक्ति र सांस्कृतिक विविधतालाई स्रोतका रूपमा प्रयोग गर्दै सही नेतृत्व, स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोण मार्फत अब कायापलट गर्नैपर्छ। यदि नयाँ नेतृत्वले जनताको विश्वासलाई सम्मान गर्दै जिम्मेवारीपूर्वक काम गर्न सके भने नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन ढिलो भएको छैन। यसकारण, यो समय आशा र निराशाको चक्र तोडेर विकासको यात्रातर्फ अघि बढ्ने हो।

नयाँ राजनीतिक शक्तिको उदयसँगै ठूलो आशा जागेको छ। अब अहिलेको नेतृत्वले पूर्ण रूपमा निश्चिन्त हुने आधार देखाउनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूका सार्वजनिक अभिव्यक्तिहरू र टिप्पणीहरू थप जिम्मेवार र अपरिपक्व हुनुपर्छ। किनकि उनीहरू अझै परीक्षणको चरणमै छन्। त्यसैले निष्कर्ष निकाल्नु हतार हुन सक्छ तर समयमै आत्मसमीक्षा गरेर शक्ति र पदको दम्भ भन्दा पनि जिम्मेवारीबोधका साथ अगाडि बढ्ने हो भने नेपाली जनताको आशा पूरा हुने विश्वास गर्न सकिन्छ र निराशाको त्यही पुरानो चक्र तोड्न सकिन्छ। योसँगै नयाँ नेताहरू कुनै अलग ग्रहबाट आएका होइनन् र उनीहरू पनि यही समाज, संस्कार र राजनीतिक वातावरणका उत्पादन हुन् भन्ने यथार्थ स्वीकार गर्नुपर्छ। त्यसैले उनीहरूबाट जादूको छडीले झैं तत्काल चामत्कारिक परिवर्तन हुने अपेक्षा गर्नु हाम्रो कमजोरी हुन सक्छ। बरु अहिलेको नेतृत्वले अझ बढी आत्मानुशासन, विनम्रता र जिम्मेवारीका साथ काम गर्दै जनताको विश्वासलाई सम्मान गर्न सके यो नयाँ आशा दिगो बन्न सक्छ।

(डा. शर्मा अर्थराजनीतिक विश्लेषक हुन्।)





Source link

Leave a Comment