जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर



६ फागुन, जनकपुरधाम (धनुषा) । तीनपटक काठमाडौंबाट चुनाव जितेका कांग्रेस सभापति गगन थापा यसपटक संसदीय भूगोल बदलेर सर्लाही-४ मा झरेका छन् ।

यही सर्लाही-४को भूमिबाट केही किलोमिटर पर मधेशको राजधानी जनकपुरमा बुधबार उनले अब आफ्नो संसदीय भूगोल मात्र बदलिएको कुरा गरेनन्, मूलुक बदल्ने प्रतिज्ञा गरे ।

अहिले बलिएको कांग्रेसको चित्रण गर्न ‘कांग्रेस- २.०’ को ह्यासट्याग चल्न थालेको छ । जसको ट्रेलर बुधबार जनकपुर सभाबाट सार्वजनिक गरियो ।

कांग्रेसको पूर्वनिर्धारित कार्यतालिका अनुसार चुनावी प्रतिज्ञापत्र गत फागुन ३ गते नै कांग्रेसको पार्टी कार्यालय सनेपाबाट सार्वजनिक गर्ने भन्ने थियो । तर, यो कार्यतालिका बदलेर प्रतिज्ञापत्र सार्जनिक गर्ने स्थान मधेशको राजधानी जनकपुरलाई रोजियो ।

यहाँबाट भावी प्रधानमन्त्रीका रुपमा पार्टीले तय गरेका गगन थापाको सरकारले पाँच वर्षमा देश बदल्ने खाका पनि सार्वजनिक भएको छ । जसलाई नाम दिइएको छ : भिजन-१० ।

फागुन २१ को चुनावका लागि कांग्रेसले पहिलो चुनावी सभा मधेशमै किन रोज्यो र यहाँबाट के सन्देश दिन खोजिएको हो ? के सभापति गगन थापा सर्लाही झरेको कारण पहिलो शक्ति प्रदर्शन गर्ने स्थल जनकपुर छानिएको हो ?

सभामा आएका सहभागी र नेताहरूका अभिव्यक्तिअनुसार कारण त्यति मात्र होइन ।

किनकी, अहिले चुनावमा कांग्रेसले पनि पुराना भन्दा नयाँ उदाएका राजनीतिक शक्तिहरुलाई आफ्नो मूल प्रतिस्पर्धी ठानेको छ । मधेशकै भूमिको व्यक्ति भावी प्रधानमन्त्री भन्दै रास्वपाले केही साताअघि जनकपुरमै नेता बालेन शाहलाई ल्याएर सभा गरेको थियो ।

रास्वपाले नै सभा गरेको स्थल तिरहुतीया गाछीमा कांग्रेसले बुधबार सभा गरेर मधेशकै भूमिबाट निर्वाचित हुने व्यक्तिले देशको नेतृत्व गर्ने उद्‌घोष गर्‍यो । सभाबाट सभापति थापाले भने- ‘कांग्रेस बदलिएर आएको छ । अब देश बदल्छ ।‘

कांग्रेसका ३२ जना उम्मेदवारहरू समेत उपस्थित रहेको सभामा कांग्रेसका मुख्य शीर्ष नेताहरू पनि सहभागी थिए ।

विशेष महाधिवेशनबाट चिरा परेको मनोविज्ञानलाई जोड्न खोजिएको थियो ।

थापा लगायतका नेताहरूले बोलाएको विशेष महाधिवेशनको विपक्षमा रहेका नेता विमलेन्द्र निधिले सँगै बसेर सभामा उपस्थितलाई अभिवादन गरे ।

जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

सभाबाट कांग्रेसभित्र आएको बदलावप्रति स्वीकार्यता बढेको छ भन्ने सन्देश दिन खोजिएको थियो ।

मुलुकको भविष्य तय गर्ने खाका सार्वजनिक गर्दै गर्दा कांग्रेसको सभामा इतिहासको स्मरण गर्न सभापित गगनले भुलेनन् ।

मधेशको भूमिबाट नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्दाहरू कामेश्वर- कुशेश्वर, मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोदेखि जनेजी आन्दोलनका शहिदहरूको समेत सम्झना गरे ।

‘नेपाली कांग्रेस सुविधामा जन्मेको होइन, अप्ठेरोमा बनेको हो,’ थापाले भने,’अब त्यसलाई पुनर्जागृत गर्नुपर्छ ।‘

इतिहास देखि नै मधेश कांग्रेसको शक्तिको स्रोत थियो । मधेशकै नेताहरू कांग्रेसको प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू पनि थिए ।

तर,२०६२/०६३ को आन्दोलनपछि मधेशमा क्रमश कांग्रेसको शक्ति कमजोर हुँदै गयो । महन्थ ठाकुर लगायतका नेताहरूले मधेशी मुद्दा बोकेर छुट्टै पार्टी गठन गरेर हिँडेपछि अहिलेसम्म पनि कांग्रेस पुरानो लयमा फर्किन सकेको छैन ।

शुरुमा संघीयताप्रतिको उदार नीतिको अभाव र संघीयता लागू भएपछि सरकारको नेतृत्व गर्दा पनि कांग्रेसले संघबाट गर्न नसकेका कामका कारण मधेशमा कांग्रेसको लय फर्केको थिएन ।

त्यसैले यसपटक मधेशबाट शक्ति पुर्जिवित गर्ने योजना कांग्रेसले बुधबारको सभाबाट दिन खोज्यो ।

जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

मधेश प्रदेशमा मात्र अहिले ३६ लाख ३६ हजार मतदाता छन् । यहाँका ८ वटा जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । यदी यो प्रदेशमा राम्रो जित हासिल गर्न नसकेको अवस्थामा प्रतिनिधि सभामा उल्लेख्य उपस्थिति हुन गार्‍हो छ ।

अहिले नै चुनावी अभियानमा ‘अबकी बार १०० पार’ नारा तुल ब्यानरमा टाँगिइसकेका छन् । यो लक्ष्य पार गर्नका लागि पनि कांग्रेसका लागि मूल आधार भूमि मधेश हुन्छ ।

त्यसैले यहाँका मुख्य मुद्दाहरूलाई सम्बोधन गर्न सभापति थापाले संघीयतालाई मजबुत पार्नेदेखि वैदेशिक रोजगारीका समस्या समाधान गर्ने सम्मका विषय उठाए ।

‘११७ जनाको साहदतपछि संघीयता आएको हो । संघीयता किन चाहिन्छ भनेर पुष्टि गर्न चाहन्छौं’ सभापति थापाले भने,’कतारमा भएका साथीहरुलाई सलाम र सम्मान छ । कुनै न कुनै दिन मालिक बन्न सकिन्छ । हामी हजारौं रोजगारी सिर्जना हुने यही बनाउँछौं ।

३० औं वर्षमा नगरेका कामलाई पाँचै बर्षभित्र पुरा गर्न सकिने दाबी गर्दै गर्दा उनले उपस्थित नेता कार्यकर्ताहरूलाई ढाडस पनि दिए । ‘ जो-जो यहाँ आउनुभएको छ, सबैले अब आफ्नो क्षेत्रमा गएर भन्नुहोस् । हामी मत माग्न मात्र होइन विश्वास माग्न आएका हौं । कांग्रेस तपाईंहरूसँगै हिँड्छ ।‘

मधेशीहरूलाई काठमाडौंमा गरिने व्यवहारदेखि नेपाली सेनामा मधेशीहरू कम रहेको भन्दै बेलाबखत चर्चा हुने गरेको छ । यसले मधेशीहरूमा सिर्जना भएको मनोविज्ञानलाई चिर्ने प्रयास पनि सभापति थापाले गरे ।

जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

‘म मधेशको बेटा हुन आएको हो । मेरो रगतमा कामेश्वर-कुशेश्वरको सपना छ । म मधेशको माइको सपना पुरा गर्न आएको छु । म यहाँ हिजोका विषयहरूको प्रेरणा लिएर आएको छु’ उनले भने,’ मधेशको भूमि राष्टपति राष्ट्रपति बनाउने कांग्रेसले । अब सेनापति मधेशको सेनापति बनाउने हो । सिंहदरबार र बालुवाटारमा धोतिकुर्ता सानका साथ लाउने हो ।‘

भदौं २३ र २४ को जेनजी आन्दोलनले अहिले मुलुक अहिले करिब ध्रुविकृत जस्तो पनि छ । कसैले २३ गतेको घटनालाई दमन भनिरहेका छन् । कसैले २४ गतेको घटनालाई विध्वंस भनिरहेका छन् । यी दुवै धारणा लिएर हिंड्ने भन्दा बीचको बाटो कांग्रेसले लिइरहेको सन्देश पनि सभाबाटै नेताहरूले दिए । यी दुवै घटनाका कर्ताहरूप्रति आलोचना गर्दै अब यस्तो खालको अवस्था नै आउन नदिने वाचा गरे ।

‘भदौ २३ जसरी अब युवा मारिन्नन्, नकावधारीले सिंहदरबार जलाउन पाउन्न । यो हाम्रो प्रतिज्ञा हो । हामी यस्तो नेपाल बनाउन चाहन्छौँ ’ थापाले भने ।

भदौ २३ र २४ गते सडकमा आएका युवाको भावना कांग्रेसले सम्बोधन गर्ने उनले दाबी गरे । ‘ती हाम्रै भाइभतिजा हुन् । जेनजी भनेको कहीँबाट आएको होइन हाम्रै कमजोरीले आएको हो,’ सभापति थापाले भने ।

कांग्रेसको २.० को यो खाका गगन थापाको नेतृत्वमा कार्यान्वयन गर्ने योजनामा धेरै सारथीहरू जोडिएका छन् । त्यसमध्येका एक नेता उपसभापति विश्वप्रकाश शर्माले पनि जनकपुरको सभामा बदलिएको कांग्रेसको भावी स्वरुप कस्तो हुन्छ भन्ने धारणा राखेर कार्यकर्ताहरूलाई विश्वासमा लिन खोजे । ‘भदौ २३ र २४ दुवै खालको प्रबृत्ति गलत छ,’ उनले भने, ‘अब बदलिएको कांग्रेसले यस्ता प्रबृत्तिहरू आउन दिन्न ।’

जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

उनले अब जसले आफूलाई बदल्न सक्छ उसले मात्र देश बदल्ने सक्ने भएकाले बदलिएको कांग्रेसलाई विश्वास गर्न आग्रह गरे ।

‘हामी नयाँ पुस्ताका भावना सम्बोधन गर्नका लागि तयार छौं । निर्वाचन सकिएपछि संविधान संशोधन गर्न तयार छौं’ उपसभापति शर्माले भने ।

बदलिएको कांग्रेसको सन्देश दिने सभामा विगतमा भन्दा स्पष्ट भिजनहरू पेश भएका थिए । मुलुकको पटकपटक नेतृत्व गरेपनि देश परिवर्तनको भिजन दिने मामिलामा अल्छी बन्दै आएको कांग्रेसमा बुधबार स्पष्ट भाषामा गगन र विश्वले आफ्ना योजनाहरू राखेका थिए । ती धारणा सुन्दा मञ्च तल बसेका कार्यकर्ताहरूले ताली पनि बजाए ।

राजनीतिक भेला र मञ्चहरुमा कहाँ कति व्यक्ति आएका थिए वा सहभागी भए भन्ने आधारमा शक्ति मापन गर्ने शैली अहिले पनि बदलिएको छैन । त्यसैले जनकपुरका चोकहरूमा कांग्रेसको सभामा एकमहिना अघि भएको रास्वपाको भन्दा बढी मान्छे आएका छन् कि छैनन् भन्ने रमिता हेर्न आएकाहरू पनि थिए । बसमा ओसारेर आएका व्यक्तिहरू पनि थिए ।

यसरी आएका मान्छेहरूले त शक्तिको कति मापन होला अनुमान गर्न गार्‍हो होला । तर, तिरहुतीय गाछीको मैदानबाट कांग्रेसले धेरै लामो समयपछि आत्मविश्वासकासाथ आफ्नो भिजन सार्वजनिक गरेको छ । नेतृत्व गर्ने सक्ने दाबी गरेको छ । मधेशको भूमिमा गढेको इतिहासको जरा खोज्दै आएको कांग्रेसको रुख अब चुनावमा झांगिन्छ कि उस्तै रहन्छ ? फागुन २१ को प्रतिक्षा छ ।

तस्वीर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर





Source link

Leave a Comment