छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओई बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’। कोही कसैले बन्दिपुर भन्ने मेसो नपाएर, ‘ओई कान्तिपुर’ पनि भन्ने गर्छन्।
“मेरो त नामै बन्दिपुर भइसक्यो, कहिलेकहीँ म आफैँ पनि आफ्नो वास्तविक नाम भुल्छु। कसैले के हो भनेर सोध्दा, म बन्दिपुर भन्न जान्छु”, विगत १० वर्षदेखि चुमभ्यालीमा हराइरहेका सुमन थापामगरले भने। घर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–८ जालभञ्ज्याङ बताउने उनी १४–१५ वर्षदेखि गोरखाको हिमालपारिको गाउँमा गुमनाम छन्। केही वर्षदेखि चुमनुब्री गाउँपालिका–७ को छेकम गाउँमा बस्दै आएका उनी चुमभ्यालीमा प्रवेश गरेको भने १० वर्ष भयो। त्यसअघि उनी चुमनुब्री–३ फिलिम गाउँमा करिब पाँच वर्ष बसेका थिए।
कमाउन निस्केको बाटो
छयालीस वर्षका सुमन थापा २०६८–६९ ताका गोरखाको आरुघाट बजारमा ज्यामी काम गर्न आएका थिए। “एकजना तुफान भन्ने ठेकेदारको काम गर्न आको, सोतीमा दिनगन्ती १३८ दिन काम गरियो”, १५ वर्षअघिको विगत सम्झँदै सुमनले भने, “काम सकेपछि ठेकेदारले पैसै नदिई बिचल्ली बनाएर भाग्यो, त्यसपछि भाग्य बिग्रेको अहिलेसम्म विचल्लीमै छु।”
सोतीमा काम सकेर बन्दिपुर फर्कने योजना थियो सुमनको। त्यो योजना आजसम्म पनि पूरा हुन सकेको छैन। पन्ध्र वर्षदेखि पारिश्रमिक उठाउन नसकेका कारण उनी भोटखोलामै फसेका छन्। “रित्तो हात कसरी मुख देखाउन घर जाने?”, उनी साेध्छन्।
उनी सोतीमा काम गरेको पैसा नपाएपछि त्यहाँबाट तीन दिन हिँडेर फिलिममा काम गर्न पुगेका हुन्। विसं २०७२ को गोरखा भूकम्पअघि उनी त्यहाँ स्वास्थ्यचौकी बनाउने काम गर्थे। फिलिमबाट पनि उनी बन्दीपुर फर्कन पाएनन् किनभने उनले त्यहाँ पनि श्रम गरेको ज्याला प्राप्त भएन।
सुमन जोङगाउँका नाम्ग्याल दोर्जे भन्ने मान्छेसँग काम गर्न फिलिम आएका थिए। “सोतीमा पैसा नपाएपछि सिर्दिबास आएँ। यहाँ पनि उत्तम भट्ट भन्ने ठेकेदारसँग काम गरेको पैसा पाइनँ। नाम्ग्याल दोर्जेले पनि काम लगाए मात्र पैसा दिएनन्”, सुमनले भने।
काम गरेको ज्याला नपाएपछि घर जान नपाएका सुमन ठेकेदारहरूका कारण पटकपटक बिचल्लीमा परिरहे। ज्याला नपाएको तोडमा झन् उँभो, झन् उँभो सर्दै चुमभ्यालीमा फस्न पुगे।
उकालो चढ्दै जाँदा हराएको घर फर्किने बाटो
जीवनले कहिलेकाहीँ मानिसलाई बाटो रोज्न दिँदैन। एउटा अधुरो हिसाब उठाउन खोज्दा सुमन अर्को अधुरो हिसाबमा फस्दै गए। उनी पैसा खोज्दै उकालो लागे तर उकालो चढ्दै जाँदा घर फर्किने बाटो भने झन् ओझेल पर्दै गयो । सुमन पैसा खोज्दै हिँडेको मान्छेभन्दा पनि पैसा नपाउने चक्रमा फसेको मान्छेचाहिँ हुँदै गए।
नाम्ग्याल दोर्जे नामक ठेकेदारले सुमनलाई फिलिममा काम गरेको पैसा ‘सोतीमा दिन्छु’ भनी सोतीमा लगेर ५०० रुपैयाँ मात्र दिएर छाड्यो। सुमन सोतीमा पुनः दोस्रोपटक बिच्चलीमा परे। पाँच सय रुपैयाँले बन्दीपुर जान सम्भव नभएपछि उनी फिलिम नै फर्किए। त्यसलगत्तै २०७२ को भूकम्प गयो। भूकम्पपछि उनले फिलिममा छिरिङ पासाङ नाम गरेका अर्का ठेकेदारसँग काम गरे। पासाङले पनि उनलाई पारिश्रमिक दिएनन्। बरु काम गरेको पैसा काठमाडौँ गएर दिन्छु भनेर उनलाई चुमभ्यालीको छेकम्पार ल्याइपुर्याए।
“काठमाडौँ भनेर यता ल्यायो, न त काम गरेको पैसा नै पाएँ। त्यत्रो काम गरेको यहाँ (छेकम्पार) ल्याएर जम्मा तीन हजार दिएर छाड्यो”, लामो श्वास फेर्दै सुमनले भने, “बिरानो गाउँमा बिना पैसा गुजारा गर्न सकिन्थेन, त्यसैँले यहाँ गाउँमा जे काम पाउँछ त्यही गर्न थालेँ। जसोतसो खान त पुग्यो तर सबैले पैसामा मारे। काम भने मरुन्जेल लाउने तर पैसा नदिने चलन रैछ ठेकदारको। पैसा पाएपछि घर जाउँला भनेर बसेँ। पन्ध्र वर्ष भयो, न त पैसा आयो, न त घर नै जान पाएँ।”
सुमनले सोती र फिलिममा गरेर करिब पाँच वर्ष ज्यामी मजदुरी गरे। पारिश्रमिक पाएनन्। छेकम गाउँमा १० वर्षदेखि अधिकांशको घरमा उनी ज्याला मजदुरी गर्न बसेका छन्। कसैकोमा २८ महिना, कसैकोमा ३० महिना त कसैकोमा वर्ष दिन तर त्यहाँ पनि उही पारिश्रमिक नपाउने व्यथा। सबैले भातको भरमा मात्र काम लगाउँछन् उनलाई। “अब यहाँ दे मेरो पैसा भनेर ठूलो स्वर गर्न पाइँदैन, बोल्यो कि मोर्यो’, भाँचिएको हात देखाउँदै उनले भने, “काम गरेन, पैसा माग्यो भने यस्तो पो हुन्छ।”
अहिले सुमनको हात भाँचिएको महिना दिन भयो। छेकमका छिरिङ पाल्जोर भन्ने मान्छेले आफ्नो हात भाँचिदिएको उनले बताए।
एक महिनाअघि छिरिङ पाल्जोरसँग सहयोगीका रूपमा छेकम्पारको छेके लेक पुगेका थिए सुमन। साहुहरू लेकमा कीरा (यार्सागुम्बा) टिप्न जाँदा भरियाका रूपमा आफूहरूलाई लिएर गएको सुमनले बताए। घटनाको बेलिविस्तार लगाउँदै उनले भने, “बिहान भात, बेलुकी भात, दिनभरि भोकभोकै खटिनुपर्थ्याे। उनीहरू कीरा टिप्थे, हामी भरियाहरू सल्लाको फूल। उनीहरूको भारी बोक्ने, चौँरी हेर्ने काम गर्नुपर्थ्याे। साह्रै दुःख भयो भनेर म र अर्को भाइ गाउँ फर्कियौँ। नसोधी आइस् भनेर छिरिङ पाल्जोरले यहाँ गाउँमा आएर हात भाँच्चिने गरी पिटे।”
बारपाकबाट काम गर्न आएका एक भरियाले ज्याला माग्दा कुटाइ पाए। ढाडमा गम्भीर चोट लागेका उनीचाहिँ सहेर बसेनन्, घर फर्किए। सुमन भने फर्कन सकेनन्। उनका लागि साहुले हातखुट्टा भाँचिदिने विषय सामान्य भइसकेको थियो। छिरिङ पाल्जोरले सुमनको हात भाँच्दै गर्दा छेकम्पार चौकीका प्रहरीहरू प्रत्यक्षदर्शी थिए। न प्रहरीले उनलाई न्याय दिलायो न त स्थानीयवासीले नै। सबैजना मूकदर्शक बनेर हेरिरहेको उनी बताउँछन्।
बन्दिपुर एक्लो छैन
बन्दिपुर मात्र होइन, कमाइ खाने रहरले यहाँ आइपुगेका अरू रोङ्वाहरूको नियति पनि उस्तै छ। विभिन्न ठाउँबाट भोटखोलामा काम गर्न आएका उनीहरू पनि वर्षौदेखि गुमनाम छन्। थुप्रै सुमन लेकका साहुकहाँ हली, गोठाला बसेका छन्। सुमनको दौँतरीहरू धने नेपाली र अर्बिन मगर छन्। उनीहरू पनि तल्लो भेगबाट रोजगारीका लागि छेकम्पार पुगेका हुन्। धनबहादुर नेपाली र अर्बिन मगर केही वर्षअघि मात्र चुमभ्याली आएका थिए। आफूहरू रोजगारीका लागि भौँतारिँदै चुमभ्याली आएको उनीहरूले बताए। उनीहरू सबैको साझा समस्या हो, काम गरेको पारिश्रमिक नपाउनु। काम गरेको ज्याला नपाउने व्यथाले उनीहरू सबैलाई पिरोलेको छ।
हात भाँचिएपछि सुमनको उपचार अस्पतालमा भएन। उनको उपचार स्थानीय छेकम गुम्बाको लामाले गरिदिएका छन्। लामाले झारफुक गरेर जडीबुटी खुवाएको उनले बताए। उनको भाँचिएको हात अझै निको भएको छैन। अहिले सुमन छेकम गाउँमा स्थानीय धवाङ्दी लामाको टहरोमा बस्छन्। दिनभर काम गरेर साँझबिहानको छाक टार्ने उनी हात भाँचिएका कारण धेरै काम गुमाउनुपरेको दुःखेसो सुनाउँछन्। गाउँमा काम गर्न जाँदा उतै खाना खान्छन्, काम नगर्दा आफैँ बनाउँछन्। “अरू त के नै पाउँछ र यता, खाए पनि आलु नखाए पनि आलु’, सुमनले हाँसो ठट्टा गर्दै बताए। काम पाएको बेला खाएर दिनको हजार रुपैयाँ ज्यालामा काम गर्छन् तर काम गरेपछि पनि अधिकांशले पैसा दिन आलटाल गर्छन्। उनी छेकम गाउँमा मात्र लाखौँ रुपैयाँ ज्याला उठाउन बाँकी रहेको बताउँछन्।
उनलाई बेलाबखत आफ्नो गाउँघरको यादले पिरोल्छ। गाउँमा साथीसँगीसँग मगर कुरामा ठट्टा गरेको उनलाई हिजोझैँ लाग्छ। गाउँको याद मेटाउन उनी रक्सीको सहारा लिन्छन्। गाउँमा उनका आमा छन् भने दुई दाइभाइ र दुई बहिनी पनि छन्। सुमनको आफ्नो परिवारसँग अन्तिम पटक बातचित भएको पनि १० वर्ष बित्यो। भूकम्पअघि एकपटक फोनमा कुरा भएको उनी सम्झिन्छन्। दाइभाइ र बहिनीको बिहेवारी भइसकेको भए पनि उनको अझै बिहे भएको छैन।
घर, परिवार र विगत सम्झँदै सुमन बोल्दाबोल्दै केहीबेर भावुक बने। फेरि जुरुक्क उठेर हाँसे। छेकमवासीले हरेक दिन ‘ओई बन्दिपुर’ भनेर बोलाउँदा उनलाई आफ्नो घरको झल्को आउँछ। बन्दीपुरबाट पैसा कमाउन निस्किएका सुमन आज बन्दिपुरकै नाम बोकेर लुकेको चुमभ्यालीमा हराइरहेका छन्। थाहा छैन यहाँबाट कसरी उम्कने तर उनी आफ्नो पसिनाको मूल्य (ज्याला) पाएको भोलिपल्टै घर फर्किने योजनामा छन्।
प्रकाशित: १७ असार २०८३ १३:१६ बुधबार
