भदौ २३ र २४ गतेको राजनीतिक परिवर्तनले देशको सत्ता समीकरण मात्र होइन, जनताको सोच पनि फेरिदिएको छ। नयाँ सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू चुनावी तयारीमा जुटेका छन्। कहिले माओवादीको गढ कहिले कांग्रेस र एमालेको प्रतिस्पर्धाको मैदान रहँदै आएको रुकुम पश्चिममा अहिले मतदाताको सोच बदलिएको छ तर राजनीतिक मैदान बदलिएको छैन। उही पुरानै दलहरू प्रतिस्पर्धामा देखिने सम्भावना बलियो छ।
रुकुम पश्चिमका गाउँहरूमा अहिले चुनावको चर्चा सुरु भइसकेको छ। खेतमा काम गर्दै गरेका किसानदेखि बजारका व्यवसायीसम्म सबैले एक कुरा दोहोर्याउँछन्, ‘अब त नेताको कुरा होइन, काम हेर्ने समय हो।’ हरेक चुनावमा नेताहरू आए, वाचा गरे, हराए। त्यसैले अहिलेको निर्वाचनमा जनता सतर्क छन्। यसरी सतर्क हुनुको एउटै कारण हो– जेनजी आन्दोलन। यस आन्दोलनले सुशासन कायम गर्न नेताहरूले पनि सोच परिवर्तन गर्नुपर्ने सन्देश दिएको छ।
नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले राजनीतिक परिवर्तनले नयाँ ऊर्जा ल्याएको बताए। कांग्रेसले जनताको विश्वास पुनः जित्ने गरी संगठनलाई बलियो बनाएर लैजाने विश्वास उनले व्यक्त गरे। ‘हामी नारा होइन, व्यावहारिक योजना लिएर गाउँ गाउँमा पुग्ने तयारीमा छौँ,’ उनले भने। गाउँका कतिपय कार्यकर्ताहरू भन्छन्, ‘कांग्रेसका नेताहरू भित्रभित्रै गुटबन्दीमा फसेका छन्, जसले जनतामा विश्वास घटाएको छ।’ एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको भनाइमा अहिलेको मुख्य चुनौती देशलाई स्थायित्व दिनु हो। ‘हामीले विकास र सुशासनको राजनीति गर्नुपर्छ। एमाले स्थायित्वको पक्षमा छ, रुकुममा हाम्रो संगठन बलियो छ,’ उनी भन्छन्।
त्यस्तै माओवादी केन्द्रका तत्कालीन जिल्ला अध्यक्ष एक नेता अझै पनि जनयुद्धको गौरवका कुरा गर्छन्। उनी भन्छन्, ‘हामीले जनताको अधिकारका लागि लड्यौँ र अझै पनि जनताको हकका लागि नै संघर्ष गर्दै छौँ।’ तर रुकुमका धेरै युवाले माओवादीको त्यो पुरानो गौरवमा अब आकर्षण महसुस गर्दैनन्। उनीहरूका लागि अब विकास, रोजगारी र शिक्षाको कुरा प्रमुख एजेन्डा बनेको छ। मुसीकोट बजार र आसपासका सहरी क्षेत्रमा राजनीतिप्रति निराशा गहिरिँदै गएको छ। शिक्षक, व्यापारी, स्वास्थ्यकर्मीलगायत पेशाकर्मीहरू भन्छन्, ‘दलहरू हरेकपटक नयाँ कुरा गर्छन् तर परिणाम पुरानै रहन्छ।’ शिक्षक शिवबहादुर खड्का भन्छन्, ‘विद्यालयमा अझै शिक्षक अभाव छ। विद्यार्थीहरू किताबबिना पढिरहेका छन् तर नेताहरू शिक्षामा क्रान्ति ल्याउने कुरा गर्छन्।’ स्वास्थ्यकर्मी तुलसा बुढा भन्छिन्, ‘अस्पतालमा औषधि छैन, एम्बुलेन्स छैन तर नेताहरू भाषणमा स्वास्थ्यको अधिकारको कुरा गर्छन्।’
रुकुम पश्चिमका ग्रामीण बस्तीहरूमा अहिले नयाँ सोच पलाउँदै छ। युवाहरू पुराना दलहरूको वाचा र भाषणमा भन्दा पनि नयाँ विकल्पको खोजमा छन्। वैदेशिक रोजगारीबाट फर्किएका धेरै मतदाताले स्वतन्त्र उम्मेदवारको चर्चा गर्न थालेका छन्। उनीहरू भन्छन्, ‘हामी दल होइन, इमानदार मान्छे खोज्दै छौँ।’ तर त्यो चाहना अझै संगठनमा परिणत हुन सकेको छैन। त्यसले गर्दा मैदानमा उही पुरानै दलहरूको प्रभुत्व देखिन्छ। रुकुमका वृद्ध किसान रामबहादुर बुढा भन्छन्, ‘पहिले पार्टीका मान्छे भनेर भोट हालिन्थ्यो, अब काम गर्ने मान्छेलाई हाल्ने सोच बनाएको छु।’ विद्यार्थी कुमार घर्ती भन्छन्, ‘हामी पढ्ने कुरा गर्छौं, नेताहरू कुर्सीको कुरा गर्छन्। यो पटक सोचेर भोट हाल्नेछौं।’ यी भनाइहरूले स्पष्ट देखाउँछन्, जनताको सोच फेरिएको छ तर उनीहरूका अगाडि उभिने पात्रहरू भने उस्तै छन्।
रुकुममा माओवादीको जरा अझै गहिरो छ, कांग्रेस र एमालेको उपस्थिति पनि बलियो छ। तर अहिलेको परिवेशले देखाइरहेको छ कि मतदाताले दलभन्दा बढी व्यक्तिको इमान र काम हेर्ने मनोवृत्ति बनाएका छन्। विश्लेषकहरू भन्छन्, ‘यदि पुराना दलहरूले जनताको मन बुझेनन् भने यो पटकको परिणामले उनीहरूलाई गहिरो धक्का दिन सक्छ।’ चुनाव नजिकिँदै जाँदा रुकुमको वातावरण फेरिँदै छ। सडक, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता विषयहरू अब मुख्य राजनीतिक एजेन्डा बनेका छन्। मतदाताले अब भाषण होइन, व्यवहार खोजिरहेका छन् तर राजनीतिक दलहरू अझै पुरानै शैलीमा काम गरिरहेका छन्, ठुला सभा, पुराना नारा र परिचित अनुहारहरू।
रुकुमको हावामा अहिले नयाँ सोचको सुगन्ध छ तर त्यो सुगन्धलाई आत्मसात् गर्न राजनीतिक दलहरूले आफूलाई बदल्न सकेका छैनन्। जनताको सोच नयाँ छ तर चुनावी मैदानमा अझै पुरानै दल दौडिरहेका छन्। यही द्वन्द्व नै अहिलेको रुकुमको साँचो राजनीतिक चित्र हो, जहाँ मतदाता भविष्य खोज्दै छन् र दलहरू अझै विगतमै अडिएका छन्।
पुरानो सोच अन्त्य हुनुपर्छ
पुस्तक चन्द, बुद्धिजीवी
विज्ञान र प्रविधिले विश्व राजनीति र विकासमा ल्याएको परिवर्तनसँगै नेपालको नेतृत्व अद्यावधिक हुन नसक्दा सर्भरमा हुर्केको जेनजीले सेप्टेम्बर ८ मा भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र स्वतन्त्रताका पक्षमा सडक आन्दोलन गर्यो। राज्यले उक्त शान्तिपूर्ण आन्दोलनलाई नजरअन्दाज गर्दै निर्मम दमन मात्रै होइन, स्कुल ड्रेसमा रहेका कलिला बालबालिकाको टाउको र छातीमा गोलीको वर्षा गरी नरसंहार मच्चायो। राजनीतिक परिवर्तन गरेका नाममा ब्याज खाएर बसेका पुरानो सामन्तवादी सोच, चिन्तन भएका नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त नेतृत्वविरुद्ध उक्त जनविद्रोह भएको थियो। त्यसबाट ठुलो जनधनको क्षति भयो। विगत ३० वर्षदेखि राजकाज गरेकाहरू अहिले छटपटाइरहेका छन्।
नागरिक सरकार बनेको छ। २०८४ सालमा हुनुपर्ने आम निर्वाचन २०८२ फागुन २१ मा हुँदै छ। यो परिवेशमा हुन गइरहेको चुनावमा विशेष गरी पुरानो सोच, चिन्तन, कार्यशैली, कार्ययोजना र त्यसविरुद्ध जेनजीले गरेको विद्रोहका बिचको प्रतिस्पर्धा हुने देखिन्छ। जनताको मुख्य चाहना राजनीतिक स्थायित्व र आर्थिक समृद्धि हो। समृद्ध नेपाल निर्माणका लागि मानव पुँजी, ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यमा आधारित पर्यटन, ऊर्जा, खनिज, कृषि, जडीबुटी मुख्य आधार हुन। यी प्राकृतिक स्रोतहरूको विकास, विस्तारका लागि सिप, प्रविधि र लगानीको सुनिश्चितता गर्न सके समृद्ध नेपालको सपना पूरा हुन सक्छ। यसका लागि अहिलेको विश्व राजनीति र विकासका आयामहरूलाई बुझ्न सक्ने, दृढ इच्छाशक्ति भएको इमानदार र सक्षम नेतृत्व आजको आवश्यकता हो।
यस पटक जनताले नेतृत्वबाट वाचा होइन, काम हेर्न चाहेका छन्। अबको नेतृत्वले भ्रष्टाचार नगरोस्, झुटा आश्वासन नदिओस्, जनताका भलाइका लागि काम गरोस्, रोजगारीका अवसर निर्माण गर्न सकोस्, युवाहरू विदेश जान बाध्य नहोउन् र देशमा आर्थिक वृद्धि होस् भन्ने उनीहरूको चाहना हो। त्यस्तै सबैका लागि प्रतिस्पर्धी शिक्षा र पहुँचयोग्य गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त भएको अवस्था जनताले चाहेका छन्। बाटो, बिजुली, खानेपानी, सरसफाइ, इन्टरनेटजस्ता आधारभूत भौतिक पूर्वाधारको विकास अहिलेको आवश्यकताअनुसार हुनुपर्छ। समाजमा असुरक्षा, अन्याय, भेदभाव नहोस् र कानुन सबैका लागि बराबर लागु होस् भन्ने जनताको चाहना हो। जनता हेर्न चाहन्छन् कि बारम्बार सरकार नबदलिएर दिगो खालका नीतिहरू लागु हुने वातावरण बनोस् र जनसवालको जवाफ दिने सरकार होस्। युवामैत्री नीति र अवसर, नेतृत्व, नवप्रवर्तन र समर्थन दिने नीतिहरू जनताले अपेक्षा गरेका छन्। जनताले कुरामा होइन, काममा देखिने सरकार चाहेका छन्।
नयाँ पुस्ता आउनुपर्छ
हरिविष्णु ओली, प्राध्यापक
आगामी चुनावमा जनताको चाहना स्पष्ट छ, उनीहरू नयाँ जनादेश खोजिरहेका छन्। विगतका निराशाजनक शासन, भ्रष्टाचार र बेथितिबाट जनता थाकिसकेका छन्। उनीहरू सुशासन, जवाफदेही नेतृत्व र पारदर्शी प्रणाली चाहन्छन्। जनताको दृष्टि अब व्यक्तिको भाषणभन्दा कामतर्फ मोडिएको छ। उनीहरूलाई ठुला वाचा होइन, व्यवहारमा देखिने परिवर्तन चाहिएको छ। समाजमा भिजेका, जनताको दुःखसुख बुझेका र युवाको भावना सम्बोधन गर्न सक्ने नेता र पार्टीप्रतिको आकर्षण बढ्दो छ। पुरानो राजनीतिक सोच र सत्ता लिप्साको अन्त्य गर्दै सेवा भावले प्रेरित नयाँ पुस्ताको उदय नै जनताको अपेक्षा हो। जनताले यसपालि विचार, नीति र नैतिकताका आधारमा मत दिने मनस्थितिमा छन्। उनीहरू परिवर्तनको मतपत्र बोकेर मतदान स्थलमा पुग्ने तयारीमा छन्।
निष्पक्ष निर्वाचन अत्यावश्यक
सुनिल शाह, शिक्षक
निष्पक्ष मतदानका लागि पहिलो सर्त भनेको भयरहित वातावरण आवश्यक छ। यस्तो वातावरणमा मतदाताले आफ्नो इच्छाअनुसार स्वतन्त्र रूपमा मतदान गर्न सक्छन्। त्यसका लागि निर्वाचन अवधिभर सुरक्षाकर्मीहरूको प्रभावकारी व्यवस्था हुनुपर्छ ताकि हिंसा, डर, धम्की वा जबरजस्ती नहोस्। प्रशासन, प्रहरी र निर्वाचन आयोग पूर्ण रूपमा निष्पक्ष रहनुपर्छ। तिनीहरूले कुनै पार्टीको पक्ष वा विपक्षमा लाग्नुहुन्न। मतदाताले कसलाई मत दियो भन्ने कुरा गोप्य रहनु जरुरी छ।
मतदातालाई आफ्नो अधिकार र जिम्मेवारीबारे सचेत गराउनुपर्छ ताकि उनीहरू घुस, प्रलोभन वा प्रचारबाट प्रभावित नहोउन्। अन्तर्राष्ट्रिय तथा स्वदेशी पर्यवेक्षकहरूको उपस्थिति र मतदान प्रक्रियाको पारदर्शिता निष्पक्षताको ग्यारेन्टी हुनुपर्छ। भयरहित, स्वतन्त्र र निष्पक्ष वातावरणले मात्र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै जनताको वास्तविक मतको प्रतिबिम्बन गर्न सक्छ। समाजमा भिजेका, जनताको दुखसुख बुझेका र युवाको भावना सम्बोधन गर्न सक्ने नेता र पार्टीप्रति जनताको आकर्षण बढ्दो छ।
पुरानै दल निर्वाचित हुने देखिन्छ
मेघराज खड्का, पत्रकार
अहिलेको अवस्था पुरानै नेतृत्व वा पुरानै शैलीलाई निरन्तरता दिन फेरिएको होइन। जेनजी आन्दोलनको आन्दोलनको भावना यो होइन। पुराना दलबाट सम्भावना नदेखिएपछि जेनजी विद्रोह भयो। तर दुर्भाग्य, आउँदो चुनावमा दलका आधार क्षेत्रमा पुरानै दल र पुरानै नेतृत्व निर्वाचित हुने देखिन्छ। त्यसो हुनु जेनजीको भावनाविपरीत हो। दलभित्र पनि जेनजी छन्। उनीहरूलाई चुनावी मैदानमा अगाडि बढाउने संकेत नेताहरूले देखाएका छैनन्। दल पुरानै भए पनि त्यहाँभित्रका जेनजीलाई दलले अगाडि बढाउन सक्नुपर्छ। त्यसो नहुँदा चुनावमा पुरानै नेतृत्व आउने हुँदा जनताले धेरै आशा र अपेक्षा राखेको छैनन्। विशेषगरी रुकुम पश्चिम माओवादीको आधार क्षेत्र भएकाले माओवादीभित्रको फुटलाई नजिकबाट हेरिएको छ। यहाँका जनता प्रचण्ड (पुष्पकमल दाहाल) वा प्रभाकर (जनार्दन शर्मा) सँग भन्दा पनि उनीहरूले के चाहेका छन् भन्ने मुख्य अजेन्डा हो। यहाँका जनता जनयुद्धकालीन नेताहरूको संगठित र सहिद, घाइते, अपांगता भएकाका परिवारलाई संरक्षणको आवश्यकता रहेको देख्छन्।
नयाँले फाइदा उठाउन सक्दैनन्
सुन्दर शर्मा, विद्यार्थी नेता, नेकपा
रुकुम पश्चिम माओवादीको आधार किल्ला हो। यहाँ माओवादी तल्लो तह (जनताको घर) सम्म पुगेको छ। नयाँ दल अथवा नयाँ कोही उम्मेदवार आए पनि यसले खासै प्रभाव पार्दैन। किनकि माओवादीले सामाजिक चेतनामार्फत संगठन विस्तार र जनताको अपेक्षाअनुसार विकास गर्यो। जसले यहाँका जनता माओवादीबिनाको विकास सम्भव देख्दैनन्। यहाँको संगठित मतको भरोसा माओवादी नेताप्रति नै धेरै भरोसा राख्छ। जनमत विकेन्द्रिकृत हुँदैन। नयाँले यसको फाइदा उठाउन सक्दैनन्। अर्को कुरा नयाँ भनिएका नयाँ होइनन्।
उनीहरूलाई जनताले नजिकबाट चिनेका छन्। नयाँ तथा विकल्पमा मानिएका नेता रवि लामिछानेको मुद्दाले पनि प्रभाव पारेको छ। जनताले विकल्पका रूपमा हेरे पनि उनी कसरी कुन विषयमा जोडिएका छन् भन्ने विषय पनि जनताले बुझेका छन्। जसले गर्दा नयाँलाई भरोसा राख्ने सम्भावना देखिँदैन। माओवादीको विरासत बोकेको जिल्लाले फुट रुचाउँदैन। एकताबद्ध भएर अगाडि जान्छन्। माओवादीभित्रको फुटले केही सामान्य प्रभाव पारेर पनि त्यो निर्णायक हुँदैन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नै जनताको आशा र भरोसा हो।
प्रकाशित: २ मंसिर २०८२ ०८:५६ मंगलबार
