संविधान तथा कानुनमा महिला र बालिकाको अधिकार सुनिश्चित गरिएको छ । तर कानुनी अज्ञानता र कानुनको फितलो एवं तजविजी कार्यान्वयनका कारण महिला र बालिकाले अनेकौँ चुनौतीको सामना गर्नुपरेको छ ।
आधा आकाश ओगट्ने महिला (जसमा बालिका पनि पर्छन्) घरैमा सुरक्षित छैनन् कुरा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्यांकले पुष्टि गर्छ ।
महिलामाथि विभिन्न प्रकारका हिंसा हुने गरेको तथ्य–तथ्याङ्क सार्वजनिक हुँदै आएका छन् । पछिल्लो समय प्रहरीमा अभिलेखित घटनाले पनि यो तथ्यलाई थप पुष्टि गर्छ ।
प्रस्तुत लेख महिलामाथि घरकै सदस्यबाट भएका हिंसाका तथ्य र तथ्याङ्कमा केन्द्रित गर्ने प्रयास गरिएको छ । लेखको आरम्भ एउटा घटनाबाट गरौँ ।
सर्लाहीको बलरा नगरपालिका–४ जब्दीकी २१ वर्षीया पूजादेवी सहनीको २०८० माघ १६ गते मोटरसाइकल र आधा तोला सुन दाइजोमा नल्याएको भन्दै हत्या भयो ।
हत्या आरोपमा प्रहरीले ५८ वर्षीया सासू बनारसीदेवी सहनीलाई माघ १७ गते गिरफ्तार गर्यो । अन्य आरोपित मृतकका २६ वर्षीय पति छोटेलाल सहनी र ६१ वर्षीय ससुरा जयनारायण सहनी २०८१ पुस १६ गतेसम्म गिरफ्तार भएनन् । उनीहरु फरार रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपेन्द्र पञ्जियार थारुले बताए ।
पूजाको शव माघ १७ गते उनकै घरभित्र खाटमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । मृतकको घाँटी तथा शरीरमा डाम समेत देखिएको थियो । आरोपितहरूविरुद्ध माघ २१ गते मुद्दा दर्ता भएकोमा जिल्ला अदालतले फागुन २१ गतेको आदेशमा बनारसी देवीलाई पुर्पक्षका लागि थुनामा पठायो ।
बलात्कार अत्यन्तै संवेदनशील विषय हो । बलात्कारले महिलालाई शारीरिक मात्र होइन, मानसिक रूपमा समेत गम्भीर आघात पुर्याउँछ । त्यसमाथि परिवारकै सदस्य तथा नातेदारबाट हुने बलात्कारले पीडितलाई झन् पीडित बनाउँछ
दुई वर्षअघि विवाह हुँदा केटा पक्षको माग बमोजिम दाइजो दिइएकोमा मोटरसाइकल र आधा तोला सुन दिन बाँकी थियो । माइती पक्षले दिने तयारी गर्दागर्दै हत्या भयो ।
एउटा मोटरसाइकल र आधा तोला सुनको नाममा व्यक्ति हत्या भएको घटनाले हाम्रो समाजलाई गिज्याइरहेको छ । दाइजोजनित हिंसाका २ सय ९ वटा घटना इन्सेकले आफ्नो अभिलेखमा रहेको जनाएको छ ।
दाइजो प्रथा महिलालाई नराम्रोसँग पिरोलेको एउटा रूप हो । यस्ता हिंसा यत्रतत्र छन् । यद्यपि, घटना एकदमै कम मात्र सार्वजनिक हुने गरेका छन् । दाइजोे मागेबमोजिम दिन नसकेका कारण लोग्ने र सासु मिलेर बुहारीको हत्यासम्म गरिएका थुप्रै घटना छन् ।
श्रीमतीलाई जीवनसाथी हैन, वस्तुको रूपमा हेर्ने व्यापारिक र समान्तवादी चिन्तनबाट ग्रसित हुँदा यस प्रकारका घटनाले ठाउँ पाइरहेको देखिन्छ । दाइजोलाई नेपालीमा कानुनी मान्यता प्राप्त नभए पनि कानुनका रखवाला वर्तमान राज्यव्यवस्थाका नाइकेहरूले विवाहलाई प्रतिष्ठाको विषय बनाउने र करोडौँ खर्च गर्ने परिपाटीले दाइजो प्रथा निरुत्साहित गर्नुकोे साटो बढावा दिने काम भएको छ ।
महिलाविरुद्ध सङ्कलित घटनाको तथ्याङ्क
घटनाको प्रकार | राज्यबाट | अन्यबाट |
बेचबिखन प्रयास | २२ | |
साइबर अपराध | ३६६ | |
घरेलु हिंसा | ५८७९ | |
दाइजोजनित हिंसा | २०९ | |
बोक्सीको आरोप | २९ | |
बलात्कारपछि हत्या | ७ | |
परिवारजनबाट हत्या | १०० | |
बलात्कार | २ | ६६१ |
हाडनातामा बलात्कार | २३ | |
बैवाहिक बलात्कार | 23 | |
सामूहिक बलात्कार | २८ | |
बलात्कार प्रयास | १४४ | |
यौन दुव्र्यवहार | १ | ३१ |
बेचबिखन प्रयास | ६० | |
जम्मा | ३ | ७५८२ |
(स्रोतः इन्सेक, २०८१)
सन् १९९२ देखि इन्सेकले हरेक वर्ष नेपालको मानव अधिकारको अवस्थालाई नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत सार्वजनिक गर्दै आएको छ । इन्सेकले यो वर्ष हाडनातामा हुने बलात्कार, बैवाहिक बलात्कार, दाइजोजनित हिंसा र घरेलु हिंसा जस्ता छुट्टाछुट्टै शीर्षकमा घटनालाई अभिलेख गरी प्रकाशनमा ल्याएको छ ।
फागुन ७ गते सार्वजनिक वर्ष पुस्तकले यस्ता घटनाको तथ्य र तथ्याङ्क सार्वजनिक गरेको हो । यी बाहेकका यौन दुव्र्यवहार, बेचबिखनका घटनामा पनि परिवारका सदस्य सामेल भएका घटना पनि होलान् त्यस्ता घटनालाई यो वर्ष समेट्न नसकिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का प्रधान सम्पादक मदन पौडेलले बताए ।
बलात्कार अत्यन्तै संवेदनशील विषय हो । बलात्कारले महिलालाई शारीरिक मात्र होइन, मानसिक रूपमा समेत गम्भीर आघात पुर्याउँछ । त्यसमाथि परिवारकै सदस्य, नातेदारबाट हुने बलात्कारले पीडितलाई झन् पीडित बनाउँछ ।
नेपालको सन्दर्भमा बलत्कारका कैैयौँ घटना बाहिर आउन सक्दैनन् । सार्वजनिक भएका घटनामा पञ्चायती बसेर मिलापत्र गरेका कैयौँ उदाहरण छन् ।
हाम्रो समाज अहिले पनि बलात्कार पीडितप्रति सकारात्मक छैन । पीडितलाई न्याय दिन उद्यत छैन । महिलाको अस्मितालाई यौन शुद्धतासँग जोडेर हेर्ने गर्छ । उमेर पुगेका महिलामाथि भएका जबरजस्तीलाई समेत सामान्यीकरण गर्छ । सहकार्यको रूपमा परिभाषित गर्छ । अनुमानलाई व्याख्या गर्दै विश्लेषण गर्छ । जसका कारण महिला तथा बालिका समाजबाट सुरक्षित छैनन् । समाजबाट असुरक्षित हुनु भनेको प्रकारान्तरले घरैबाट असुरक्षित हुनु हो ।
इन्सेकको अभिलेख अनुसार सन् २०२४ मा ५९ जना बालिकालाई हाडनाताका व्यक्तिले बलात्कार गरेका छन् । १ हजार ४८ जना बालिका बलात्कारका घटनाबाट पीडत भएकामा ५९ जना हाडनाताका व्यक्तिबाट बलात्कृत भएका हुन् ।
त्यसैगरी २३ जना महिलालाई हाडनाताका व्यक्तिले बलात्कार गरेका घटना अभिलेखित भए । वैवाहिक बलात्कारका घटनामा पनि २३ जना महिला पीडित भए ।
यी त बलात्कारजन्य घटना भए । यी बाहेकका घटनामा पनि परिवारकै सदस्यबाट पीडित भएका कैयन महिला होलान् जो भोलिको अन्धकारलाई अहिले नै देखेर न्यायको ढोकासम्म आइपुगेका छैनन् । घरेलु हिंसाका घटनामा ५ हजार ८ सय ७९ जना पीडित भएका छन् ।
सन् २०२४ को एक वर्षमा समग्रमा परिवारजनबाट ६ हजार २ सय ३४ जना महिला पीडित भए । ६३ जना बालिकालाई हाडनाताका व्यक्तिले बलात्कार गरेको अभिलेख भयो ।
सन् २०२४ मा परिवारका सदस्यबाट पीडित महिलाको सङ्ख्या
क्रसं | घटनाको प्रकार | सङ्ख्या |
१ | घरेलु हिंसा | ५८७९ |
२ | दाइजोजनित हिंसा | २०९ |
३ | परिवारजनबाट हत्या | १०० |
४ | बैवाहिक बलात्कार | २३ |
५ | हाडनातामा बलात्कार | २३ |
६ | जम्मा | ६२३४ |
यस वर्ष परिवाजनबाट १ सय जना महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या १ सय ९ जना थियो । हिंसाको चरम रूप अन्तर्गत हत्या गरिएका कतिपय घटनाका आरोपित वर्षभर फरार सूचीमा रहे ।
परिवारजनबाट महिला मारिएको कतिपय घटनामा पीडित पक्षले हत्याको आरोप लगायो भने आरोपित पक्षले आत्महत्या गरेको भनी बताएर कानुनी छिद्र प्रयोग गर्ने गरेको समेत पाइन्छ । दाइजो नल्याएको आरोपमा परिवारका सदस्यको कुटपिट तथा हिंसा सहन नसकेपछि आत्महत्या गर्नुपरेको घटना पनि इन्सेकले अभिलेखमा राखेको छ । त्यस्ता घटना इन्सेकका प्रतिनिधिको अनुगमनमै रहेका कारण परिवारजनबाटै हत्या भएको भनिएको छैन ।
बालिकाविरुद्ध सङ्कलित घटनाको तथ्याङ्क
घटनाको प्रकार | राज्यबाट | अन्यबाट |
बाल विवाह | ३६ | |
बेचबिखन | ४९ | |
साइबर अपराध | २०३ | |
विद्यालयमा दिइने शारीरिक सजाय | ८ | |
बलात्कारपछि हत्या | १ | |
नवजात शिशुको हत्या | ४ | |
बलात्कार | २ | ९३८ |
हाडनातामा बलात्कार | ५९ | |
सामूहिक बलात्कार | ४९ | |
यौन दुव्र्यवहार | ३५५ | |
जम्मा | २ | १७०२ |
नेपालमा महिला अधिकारका सम्बन्धमा नीतिगत तथा कानुनी संरचनामा लोकतन्त्र स्थापनासँगै सुधार आएको भए पनि तिनीहरूको कार्यान्वयनमा भने अभैm सुधारको आवश्यकता देखिन्छ । महिलासँग सम्बन्धित कानुनी प्रावधान एवं राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवं लैङ्गिक हिंसाबाट पीडित हुँदै आएका तथ्याङ्कले देखाउँछ ।
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गरेको अभिलेख अनुसार सन् २०२४ मा महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूमा गत वर्षको तुलनामा वृद्धि भयो ।
प्रहरीको जिल्ला कार्यालयमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसा र दाइजोजनित हिंसाका अधिकांश घटनामा मिलापत्र हुने गरेको छ । मिलापत्र हुनु आफैंमा नराम्रो विषय होइन । तर हिंसा जस्तै मिलापत्र पनि जबरजस्ती हुने गरेका कारण त्यस्ता मिलापत्रले थप हिंसा निम्त्याउने गरेको छ । मिलापत्र देखाउनका लागि नभएर भुल सुधारका लागि हुनुपर्छ ।
महिलाविरुद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारका अपराधको रूपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुनको कमजोर कार्यान्वयन अवस्था रहिरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन ।
अन्धविश्वास, परम्परागत सामाजिक संरचना, विभेदपूर्ण नीति र कानुनहरू, कानुन कार्यान्वयन गर्ने निकायको लैङ्गिक जवाफदेहिता कमजोर हुनुलगायतका कारणले महिला हिंसा बढी सम्वेदनशील बन्न पुगेको छ ।
विभेद, बहिष्करण र हिंसाको चक्रमा पर्ने महिलाको लैङ्गिक पहिचान र अधिकार विभेदकारी संस्कार, संस्कृति, अभ्यास र मनोवृत्तिका कारण पीडाको दुष्चक्रबाट मृत्युको अन्तिम संस्कारसम्म प्रताडित भइरहनुपरेको यथार्थ घटनाको सङ्ख्या र प्रवृत्तिमार्फत प्रकट भएको छ ।
महिलाविरुद्धको अन्याय, विभेद र हिंसाको दुष्चक्र अन्त्य गर्न सशक्त नागरिक आवाज र जिम्मेवार तथा जवाफदेही कानुन कार्यान्वन गर्ने निकाय तथा न्याय प्रणालीको र उत्थानशील संरक्षण संयन्त्र आजको आवश्यकता बनेको छ ।
(तिमल्सिना दुई दशकदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील छन् ।)