ग्रिन कार्डवाहक लामो समयपछि अमेरिका फर्कंदा यी कागजातसहित आउन सुझाव



प्रकाशित मिति : २२ असार २०८३, सोमबार

ग्रिन कार्डवाहक लामो समयपछि अमेरिका फर्कंदा यी कागजातसहित आउन सुझाव

फोटोग्राफर: डोनर बर्टन

अमेरिकी सरकार र प्रमुख अध्यागमन एजेन्सीहरूले कडा आप्रवासन नीति लागू गरिरहेका सन्दर्भमा अमेरिका फर्कने ग्रिन कार्डवाहकलाई पनि कडा निगरानीमा राखिएको छ । त्यसका कारण अमेरिकामा रहेका धेरै ग्रिन कार्डवाहक नेपाली चिन्तित छन् । हालै उपराष्ट्रपति जेडी भान्सले ग्रिन कार्डले आप्रवासीलाई अमेरिकामा अनिश्चित कालसम्म बस्ने अधिकार नदिने बताएका थिए । त्यसपछि अमेरिकी अध्यागमन एजेन्सी सीबीपीले अमेरिका फर्कने ग्रिन कार्डवाहकहरूमा समेत कडाइ गरिरहेको छ ।

यस परिस्थितिमा कानुनविद्हरूले अमेरिका फर्कने ग्रिन कार्डवाहकहरूलाई आवश्यक कागजात साथमा ल्याउन सुझाव दिएका छन् । अमेरिकी कानुन पालना गर्ने, आपराधिक पृष्ठभूमि नभएका, अमेरिकासँग बलियो सम्बन्ध कायम राखेका र लामो समयसम्म विदेशमा नबसेका व्यक्तिहरूलाई अमेरिका फर्कंदा चिन्ता लिनुपर्ने अवस्था छैन । तर, ग्रिन कार्ड अमेरिकामा स्थायी बासिन्दाको स्थिति भएकाले ग्रिन कार्डवाहक व्यक्तिको अमेरिकासँगको बलियो सम्बन्ध महत्त्वपूर्ण रहेको कानुनविद् बताउँछन् ।

कानुनअनुसार ग्रिन कार्डवाहकको प्राथमिक बसोबास अमेरिका हुनुपर्छ । उनीहरूले अमेरिकाभित्रै घर वा अपार्टमेन्ट कायम राख्नुपर्ने, रोजगारी कायम राख्नुपर्ने, विश्वभर कमाएको सम्पूर्ण आयमा अमेरिकामा आयकर दाखिला गर्नुपर्ने, अमेरिकी बैंक खाता राख्नुपर्ने र ड्राइभर लाइसेन्स अद्यावधिक गर्नुपर्ने हुन्छ ।

यदि कोही अमेरिकाबाहिर ६ महिनाभन्दा कम समय बसेको छ भने सामान्यतया कुनै समस्या हुँदैन । तर, ६ महिनाभन्दा अगाडि फर्किए तापनि केवल छोटो समय अमेरिका बसेर पुनः विदेश जाने नियत देखिएमा समस्या उत्पन्न हुन सक्छ । अमेरिकाबाहिर ६ महिनाभन्दा बढी तर एक वर्षभन्दा कम समय बसेका व्यक्तिहरूलाई अमेरिकी अध्यागमन अधिकारीहरूले थप जाँच गर्न सक्छन् ।

त्यसैले ग्रिन कार्डवाहकहरूले केही महत्त्वपूर्ण कागजात साथमा राख्नुपर्ने हुन्छ । कानुन व्यवसायीहरूले ग्रिन कार्ड सधैं वैध र अद्यावधिक राख्न, समयमै नवीकरण गर्न, अमेरिकी बैंक खाता, सक्रिय स्वास्थ्य बिमा, ड्राइभर लाइसेन्स र ट्याक्स फाइल अद्यावधिक राख्न सुझाव दिएका छन् ।

विदेशबाट फर्कने ग्रिन कार्डवाहकका लागि हालका रोजगारीका पे स्टबहरू, रोजगार प्रमाणीकरण पत्र, गत वर्षको डब्लू–टू फाराम र ट्याक्स फाइलको प्रतिलिपि बोकेर हिँड्न सुझाव दिइएको छ । यदि कोही व्यक्तिले अमेरिकामा स्थायी निवास कायम राखेको छ र कुनै आपराधिक दोषी ठहर भएको छैन भने चिन्ता लिनुपर्दैन ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment