News Summary
Generated by OK AI. Editorially reviewed.
- सरकारले काठमाडौंका नदी किनार क्षेत्रमा अतिक्रमित जग्गा खाली गराएकाले ती क्षेत्रहरूलाई हरित क्षेत्रका रूपमा विकास गर्न उपयुक्त देखिन्छ।
- सन् २०२४ को आइक्यु एयरको प्रतिवेदन अनुसार पीएम २.५ प्रदूषणका हिसाबले नेपाल विश्वमै सातौं स्थानमा पर्छ।
- काठमाडौंलाई स्वच्छ र बस्नयोग्य बनाउन स्थानीय तहले खाली गराइएका स्थानमा पार्क तथा मनोरञ्जन स्थल निर्माण गर्नुपर्छ।
सरकारले हालै काठमाडौंमा बागमती, मनोहरा, धोबीखोला नदी किनार र अन्य क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा लगायत अन्य संरचनाहरू हटाई खाली गराएको छ। यसरी खाली गराइएका स्थानहरूलाई सरकारले के–कसरी उपयोग गर्छ भन्ने आम चासो रहेको देखिन्छ।
काठमाडौंलाई दीर्घकालीन रूपमा वातावरणीय स्वच्छता कायम गर्दै बस्नयोग्य शहरमा रूपान्तरण गर्ने हो भने यो ठूलो अवसर हुन सक्छ। खुला क्षेत्रको अभाव रहेको काठमाडौंमा हरित क्षेत्र विस्तार गर्ने यो नै सबैभन्दा कम खर्चिलो र तुरुन्त सुरु गर्न सकिने अवसर बन्न सक्छ।
शहरी क्षेत्रमा हुने वन तथा हरियालीले ढाकेको क्षेत्रलाई समग्रमा ‘हरित क्षेत्र’ वा ‘शहरी वन’ भनिन्छ। यसले पार्क, सडक किनार, नदी किनार, कार्यालय कम्पाउन्ड तथा अन्य सार्वजनिक खुला स्थानका साथै निजी घरको कम्पाउन्डमा रहेका रूख, फलफूलका बिरुवा तथा घाँस वा दुबोले ढाकेको क्षेत्र समेतलाई जनाउँछ।
क्यानाडाको भ्यानकुभर, डेनमार्कको कोपनहेगन, सिङ्गापुर, अस्ट्रियाको भियना र नेदरल्यान्ड्सको एम्स्टर्डम संसारकै सबैभन्दा बढी हरित क्षेत्र भएका र बस्नयोग्य शहरका रूपमा परिचित छन्। एशियाली देशहरूमध्ये चीनले फरेस्ट सिटिज, सिङ्गापुरले सिटी इन द गार्डेन र जापानले कम्प्याक्ट हरित शहरको नीति अङ्गीकार गरी हरियाली प्रवर्धन गरिरहेका छन्।
हरित क्षेत्रको खासगरी शहरी क्षेत्रमा वातावरणीय, आर्थिक र सामाजिक दृष्टिकोणले ठूलो महत्त्व हुन्छ।
१. तापक्रम घटाउन
शहरी क्षेत्रको तापक्रम यसको आसपासका क्षेत्र वा ग्रामीण भेगको भन्दा सामान्यतया २ देखि ५ डिग्री सेन्टिग्रेडसम्म बढी हुने गर्छ। यसो हुनाको कारण शहरी क्षेत्रमा निर्माण गरिएका कालोपत्रे सडक, इँटा, सिमेन्ट र कङ्क्रिटका संरचनाहरूका कारण सिर्जना हुने ‘हिट आइल्यान्ड इफेक्ट’ हो।
जलवायु परिवर्तनका कारण शहरी क्षेत्रमा तापक्रम आगामी दिनमा झनै बढ्दै र जनजीवन झनै कष्टकर हुँदै जाने निश्चितप्रायः नै छ। बोटबिरुवाहरूले जमिनमुनि र बिरुवाका हाँगाबिंगामा रहेको पानीलाई वाष्पीकरण गरी वातावरणलाई चिसो बनाउन मद्दत गर्छन्। अध्ययनहरूले देखाए अनुसार घर वरपर रहेका रूखहरूले एअर कन्डिसनरको प्रयोगबाट हुने ३० देखि ५० प्रतिशत खर्च कटौती गर्न मद्दत गर्छन्।
२. वायु प्रदूषण न्यूनीकरण गर्न
शहरी क्षेत्रमा सवारी साधनबाट उत्सर्जन हुने धुवाँधुलो, कलकारखाना र विभिन्न निर्माण कार्यहरूबाट निस्किएका ग्यासजन्य प्रदूषण (कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन, सल्फर डाइअक्साइड आदि) र धुलाका कणहरूले वातावरणलाई प्रदूषित बनाउँछन्।
सन् २०२४ को आइक्यु एयरको प्रतिवेदन अनुसार ‘पीएम २.५’ प्रदूषणको हिसाबले नेपाल संसारमै सातौं स्थानमा पर्छ। विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदन अनुसार वायु प्रदूषणका कारण नेपालमा प्रति वर्ष करिब २६ हजार मानिसको अकालमै मृत्यु हुने गरेको छ, साथै नेपालीको सरदर आयु ३.४ वर्षले घटेको छ। काठमाडौं उपत्यकाका केही स्थानहरूमा वायु प्रदूषणको स्तर ‘अस्वस्थकर’ मापन हुँदै आएको छ।
ग्यासजन्य प्रदूषणलाई बिरुवाका पातहरूमा रहेका ‘स्टोमाटा’ हरूले केही मात्रामा सोस्छन्। धुलाका कणहरूलाई एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन रूखहरूले अवरोधका रूपमा काम गर्छन्। जसले गर्दा धुलाका कणहरू पात तथा हाँगाबिंगामा टाँसिन्छन् र पानी परेको बेलामा पखालिएर जमिनमा पुग्छन्, अनि बगेर ढल वा खोलानालामा मिसिन्छन्।
सन् २०१९ मा क्यानाडाका ८६ वटा शहरमा गरिएको एक अध्ययन अनुसार, सन् २०१० मा त्यहाँको हरियाली क्षेत्रले करिब १६ हजार ५०० टन धुलो वायुमण्डलबाट हटाएको थियो, जसले स्वास्थ्य उपचारमा लाग्ने करिब २२७ मिलियन क्यानेडियन डलर बचत गराएको थियो।
त्यसैगरी इटालीको फेरारा नगरपालिकामा सन् २०१९ मा हरित क्षेत्रले करिब २० टन धुलो हटाएको थियो, जसले करिब २ मिलियन युरो बराबरको स्वास्थ्य लाभ पुर्याएको थियो।
३. छहारी प्रदान गर्न
सडक किनार तथा पार्कमा रहेका रूखहरूले पैदलयात्री तथा पर्यटकहरूका लागि छहारी प्रदान गर्छन्। रूखको छत्रले सामान्यतया सोलार रेडियसनको करिब १० प्रतिशत तापक्रम फर्काउँछ, ७० प्रतिशत क्याप्चर गर्छ भने बाँकी २० प्रतिशत तापक्रम मात्र रूखको छत्रमुनि प्रवेश गर्न दिन्छ।
साथै रूख–बिरुवाबाट हुने वाष्पीकरणले रूखको छहारीमुनि यसको वरपरको क्षेत्रभन्दा करिब पाँच प्रतिशतले तापक्रम घटाउन मद्दत गर्छ। जसले गर्दा गर्मी मौसममा पैदल यात्राका क्रममा रूखको छहारीमुनि बस्दा शीतलता महसुस हुन्छ, थकान मेट्छ, सूर्यका हानिकारक विकिरणबाट बचाउँछ साथै छालाको जलन हुनबाट समेत जोगाउँछ।
४. डुबानको समस्या न्यूनीकरण गर्न
भारी वर्षात्को बेलामा काठमाडौंका केही स्थानहरू जलमग्न हुने गर्छन्। यस्तो हुनुको कारण शहरी क्षेत्रमा अत्यधिक मात्रामा हुने सिमेन्ट, कङ्क्रिट तथा कालोपत्रे संरचनाहरू हुन्। यस्ता संरचनाले आकाशबाट परेको पानी जमिनको सतहमुनि प्रवेश गर्नबाट वञ्चित गर्छन्।
बोटबिरुवाहरूको उपस्थितिले आकाशबाट परेको पानीलाई सीधै जमिनमा पर्न नदिई पात तथा हाँगाबिंगामा केही बेर रोकेर राख्छ। यसरी पात तथा हाँगाबिंगामा जम्मा भएको पानीको केही मात्रा वाष्पीकरण मार्फत फेरि आकाशमै उडेर जान्छ भने बाँकी पानी विस्तारै जमिनमा अनि जमिनको सतहमुनि प्रवेश गर्छ।
त्यसैले हरित क्षेत्रले आकाशबाट परेको पानीको मात्रा र पानीको भलको रफ्तार दुवैलाई घटाई शहरी क्षेत्रमा हुने डुबान र भलको समस्यालाई न्यूनीकरण गर्न मद्दत गर्छ। चीनको नान्छाङ विश्वविद्यालयमा करिब १३३४ वर्गमिटर क्षेत्रफलमा बालुवा, गिट्टी र बोटबिरुवाको प्रयोग गरी निर्माण गरिएको ‘रेन गार्डेन’ ले त्यस क्षेत्रको करिब ८० प्रतिशत भललाई न्यूनीकरण गरेको थियो।
५. जैविक विविधताको प्रवर्धन गर्न
सामान्यतया शहरी क्षेत्रमा जैविक विविधता न्यून हुने गर्छ। जैविक विविधताले कुनै पनि पारिस्थितिकीय प्रणालीलाई स्वस्थ र सन्तुलित राख्न ठूलो मद्दत गर्छ। काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा अन्यत्र सामान्यतया देखिने काग, भँगेरा, मैना, बकुल्ला जस्ता चराहरूका साथै लोखर्के र न्याउरी मुसा जस्ता साना स्तनधारी जीवहरू समेत देख्न मुस्किल पर्छ।
त्यसैगरी परागसेचनका लागि महत्त्वपूर्ण मानिने मौरी र पुतलीको अवस्था झन् भयावह छ। यिनको सङ्ख्या संसारभरका शहरी क्षेत्रमा घट्दो क्रममा छ। संसारभर गरिएका विभिन्न अध्ययनले हरित क्षेत्रको विकास र विस्तारले चरा, पुतली, मौरी लगायत अन्य कीराको प्रजाति र सङ्ख्या दुवैमा उल्लेख्य वृद्धि भएको देखाएका छन्। यसो हुनाको प्रमुख कारण अतिरिक्त वासस्थान र खानाको उपलब्धतामा वृद्धि हुनु हो।
६. शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धन गर्न
शहरी क्षेत्रमा व्यस्त जीवनशैलीका कारण मानिसहरू थकित र तनावपूर्ण जीवन बिताइरहेका हुन्छन्। त्यसैले स्वस्थ रहन पार्क तथा हरित क्षेत्रमा हिंडडुल, व्यायाम तथा खेलकुदका क्रियाकलाप गर्ने प्रचलन विश्वव्यापी नै हो।
त्यसकारण विश्वव्यापी रूपमा सामान्यतया शहरी क्षेत्रमा प्रत्येक घरबाट ३ वटा रूख देखिनुपर्ने, प्रत्येक बस्तीमा रूखहरूले ३० प्रतिशत क्षेत्र ढाकेको हुनुपर्ने र घरबाट बढीमा ३०० मिटरको दूरीमा एउटा पार्क हुनुपर्ने अवधारणामा काम गरिन्छ।
पार्कहरूमा गरिने नियमित भ्रमण तथा शारीरिक क्रियाकलापले मानिसहरूमा तनाव कम गर्न, निद्रा लाग्न, डिप्रेसन कम गर्न, एन्जाइटी कम गर्न, स्मरणशक्ति बढाउन, फुर्तिलो रहन लगायत अन्य मानसिक रोगहरू निको पार्न सहयोग गर्छन्।
खासगरी बालबालिकामा हरित क्षेत्रको प्रभावकारिता अझ बढी हुने गर्छ। यसले बालबालिकामा मानसिक विकास, स्मरण क्षमतामा वृद्धि गर्नुका साथै शारीरिक क्रियाकलापहरूमा लाग्न प्रोत्साहित गर्छ।
७. सामाजिक सम्बन्ध विस्तार गर्न
शहरी क्षेत्रमा व्यस्त जीवनशैलीका कारण छिमेकमा घुलमिल हुने वा सम्बन्ध विस्तार गर्ने प्रचलन एकदमै कम हुन्छ। तर घरनजिकै भएको पार्कले मानिसहरूलाई फुर्सदको समय निकालेर सपरिवार पार्क भ्रमण गर्न प्रोत्साहित गर्छ। जसले गर्दा परिवारका सदस्यहरू बीच एकआपसमा सम्बन्ध सुधार गर्न मद्दत पुग्छ भने अन्य मानिसहरूसँग समेत परिचित हुने अनि सम्बन्ध विस्तार गर्ने अवसर मिल्छ।
खासगरी बालबालिकालाई नयाँ साथी बनाउने अनि सँगै खेल्ने–रमाउने अवसर मिल्छ। त्यसैगरी पार्कमा हुने सामाजिक जमघटका क्रियाकलाप जस्तै: पिकनिक, कन्सर्ट, जन्मोत्सव तथा वैवाहिक वर्षगाँठ मनाउने कार्यहरूले सामाजिक सद्भाव बढाउन, एकआपसमा सामीप्यता बढाउन र ‘हामी’ भन्ने भावनाको विकास गर्न सहयोगी भूमिका खेल्छन्।
८. अन्य लाभहरू
पार्क भएका क्षेत्र वरपर घरजग्गाको मूल्याङ्कन अन्य क्षेत्रको भन्दा बढी हुने गरेको पाइन्छ। एक अध्यय नअनुसार घर वरिपरि रूख–बिरुवा भएको क्षेत्रमा सात प्रतिशतले र नजिकमा पार्क भएको क्षेत्रमा २० प्रतिशतले घरजग्गाको भाउ बढी हुने गरेको देखाएको छ। हरियाली क्षेत्र वरपर बसोबास गर्ने सबै प्रकारका बिरामीहरू तुलनात्मक रूपमा अन्यत्र बसोबास गर्नेभन्दा छिटो निको हुने गर्छन्।
साथै अल्जाइमर र डिमेन्सिया जस्ता रोगहरूको उपचारमा समेत हरित क्षेत्र उपयोगी पाइएको छ। त्यसैगरी अध्ययनहरूले हरित क्षेत्र भएका स्थानमा लुटपाट लगायतका अन्य सामाजिक अपराधका घटनाहरूमा कमी आउने गरेको देखाएका छन्। हरित क्षेत्रले शहरको सौन्दर्यलाई आकर्षक बनाई आन्तरिक र बाह्य पर्यटनलाई समेत प्रवर्धन गर्न सहयोग गर्छ।
विदेशमा हरित क्षेत्रबाट उत्पादन हुने काठ, दाउरा, फलफूल लगायत अन्य वनपैदावारको बिक्री वितरणबाट सम्बन्धित नगरपालिकाहरूले वर्षेनि मिलियन डलर आम्दानी गर्ने गर्छन्। साथै रूख–बिरुवाले ध्वनि प्रदूषण नियन्त्रणमा प्रभावकारी भूमिका खेल्छन्।
तसर्थ काठमाडौंलाई स्वच्छ, हराभरा र बस्नयोग्य सहरका रूपमा विकास गर्न सम्बन्धित स्थानीय तहले खाली गराइएका अतिक्रमित क्षेत्रहरूमा खेलकुद, शारीरिक व्यायाम, विश्रामस्थल, पिकनिक स्पट लगायत अन्य मनोरञ्जनका सुविधाहरू समेटिएका आधुनिक पार्कहरूको निर्माण कार्य थालनी गर्नु उपयुक्त हुने देखिन्छ।
(मेलबर्न विश्वविद्यालयबाट ‘अर्बन हर्टिकल्चर’ मा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट वन विज्ञानमा स्नातकोत्तर अध्ययन गरेका विश्वकर्मा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव हुन्।)
