१ चैत, काठमाडौं । तपाईंले कहिल्यै सोच्नुहुन्छ, एक थोपा पानी कति मूल्यवान् हुन सक्छ ? ३२ वर्षीय सुजन थामीलाई सोध्नुहोस्, उनले आफ्नो मिर्गौलाको बदलामा त्यो पाठ सिकेका छन् ।
उनी २०७४ सालमा परिवारको भविष्य उज्यालो पार्ने योजना सहित कतारको चम्किलो शहर पुगे । तर त्यहाँ पुगेपछि उनको सपना चकनाचूर भयो । म्यानपावरले वाचा गरेको सुरक्षा गार्डको काम नपाएपछि उनी घर र सडक निर्माणको काम गर्न बाध्य भए ।
‘बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म अत्यधिक गर्मीमा काम गर्नुपथ्र्यो’, सुजन बताउँछन् । थामीका अनुसार, काम गर्ने ठाउँमा डेढ सय भन्दा बढी कामदारका लागि पर्याप्त पिउने पानीको व्यवस्था थिएन । उपलब्ध पानी पनि धेरै तातो हुने हुँदा पिउन गाह्रो हुन्थ्यो ।
‘कहिलेकाहीं पानीको अभावमा हामी समुद्रको नुनिलो पानी पिउन बाध्य हुन्थ्यौं’, थामी अनुभव सुनाउँछन् । बस्ने व्यवस्था पनि अत्यन्त खराब थियो । एउटा साँघुरो कोठामा चार–पाँच जना खाँदिएर बस्नुपर्ने बाध्यता थियो ।
सुजनलाई उच्च रक्तचापको समस्या थियो । उनी नियमित रूपमा औषधि सेवन गर्थे । एकदिन फोन चलाइरहेर सुतिरहेको बेलामा अचानक उनको दाहिने आँखा धमिलो देखिन थाल्यो । दिन बित्दै गएपछि आँखा रातो हुँदैगयो र शरीर सुन्निन थाल्यो । हप्ता दिनपछि मात्र उनी कतारको अहमद अस्पताल पुगे ।
अस्पतालमा परीक्षण गरेपछि चिकित्सकले सुनाए, ‘दुवै मिर्गौला बिग्रिसकेको छ । तुरुन्तै डायलिसिस गर्नुपर्छ ।’ ती शब्दले सुजनको सपना चक्नाचूर भयो । कतारमा चार पटक डायलिसिस गरेपछि २०७५ साउनमा उनी रोग बोकेरै नेपाल फर्किए ।
अत्तालिंदै वीर अस्पताल पुगेका उनले केही दिन आकस्मिक डायलिसिस गरे, तर नियमित पालो भने पाउन सकेनन् । वीरमा डायलिसिसको पालो नपाएपछि वनस्थलीस्थित नेशनल किड्नी सेन्टर पुगे । अहिलेसम्म डायलिसिसको भरमा जीवन लम्ब्याइरहेका छन् ।
‘पानी धेरै पिउनुपर्छ भन्ने मलाई थाहा थिएन’ उनी पछुताउँदै भन्छन्, ‘दिनमा एक–दुई पटक मात्रै पिसाब गर्थें । अहिले रोगको भारी लिएर बाँचिरहेको छु ।’ स्वास्थ्य र सुरक्षा मापदण्डको अभाव, अपर्याप्त खानेपानी र निरन्तर उच्च तापक्रममा काम गर्नुपर्ने बाध्यताले मिर्गौलामा असर गरेको उनको अनुभव छ ।
****
श्रीमान् सम्पर्कविहीन भएपछि, दुई छोरीको लालनपालनको बोझ एक्लै बोक्नुपर्ने अवस्थाले झापाकी हस्तिमाया लिम्बूले खाडीको गन्तव्य रोजिन् । विदेश गएको केही वर्षमै श्रीमान् सम्पर्कविहीन भए । कलिला दुई छोरीको लालनपालनको जिम्मेवारी उनको काँधमा थपियो ।
छोरीहरूलाई माइतीमा छोडेर साउदी अरब पाँच वर्ष बसेर नेपाल फर्किन् । छोरीहरू पढाउनेदेखि विवाहसम्मको कर्तव्य बाँकी नै थियो । उनी पुनः दुबई जाने निधो गरिन् । २०७२ सालमा दुबई गएकी उनी एक वर्षपछि ओमनमा घरेलु कामदारको रूपमा काम गर्न थालिन् ।

ओमनमा हस्तिमायाको दिनचर्या कठोर थियो । बिहान ५ बजेदेखि राति ११ बजेसम्म निरन्तर काम गर्नुपर्ने हुन्थ्यो । ‘सरसफाइ, खाना पकाउने, लुगा धुने सबै काम मैले नै गर्थें’ उनी ती दिन सम्झिंदै भन्छिन्, ‘रात–दिन काम गरिरहँदा शरीर एकदमै दुख्थ्यो । कहिलेकाहीं पेनकिलर खाएर सुत्थें ।’
अत्यधिक गर्मीमा पनि पानी कम पिउने बानीले उनको स्वास्थ्यमा गम्भीर असर पर्न थाल्यो । ‘पानी हत्तपत्त नखाने, धेरै तिर्खा लागेपछि मात्रै पिउँथें’ टिचिङ अस्पतालमा भेटिएकी ५५ वर्षीया हस्तिमायाले भनिन्, ‘काम सकेर मात्रै दिसा–पिसाब गर्ने भनेर च्यापेर बस्थें ।’
स्वास्थ्य समस्याको बारेमा हस्तिमायालाई खासै ज्ञान थिएन । शारीरिक समस्यालाई उनी ‘घरको देउता रिसाएको’ ठान्थिन् । एक दिन दाँत अत्यधिक दुखेपछि नजिकैको क्लिनिकमा गइन् । चिकित्सकले सामान्य परीक्षणमा उच्च रक्तचापसँगै मधुमेह भएको पत्ता लगाए । तर उनले न खानपानमा नियन्त्रण गरिन्, न नियमित औषधि नै खाइन् ।
समस्या थपिंदै गएपछि उनको शरीरमा गम्भीर लक्षणहरू देखापरे । खानामा रुचि घट्यो, ढाड धेरै दुख्न थाल्यो । ‘एक दिन सुतिरहेकै बेला सास फेर्न गाह्रो भयो, लगातार वान्ता भयो ‘उनी सम्झिन्छिन्, ‘बिहानसम्म अवस्था झन् गम्भीर भएपछि अस्पताल पुर्याएका रहेछन् ।’
अस्पतालमा होश खुल्दा उनले सुनेको खबरले उनलाई स्तब्ध पार्यो । ‘सोधखोज गर्दा मिर्गौलामा फोहोरमैला जम्मा भएकाले डायलिसिस गर्ने ठाउँमा लगेको भन्दा छाँगाबाट खसे जस्तै भएँ’, उनी त्यो क्षण सम्झिन्छिन् ।
चार दिनसम्म अस्पतालमा डायलिसिस गरेपछि काम दिने रोजगारदाताले उनलाई नेपाल फर्काइदिए । नेपाल फर्किंदा कोरोना महामारीले थप चुनौती थप्यो । डायलिसिस गर्दागर्दै कोरोना संक्रमणले उनको अवस्था झनै जटिल बन्यो ।
‘मिर्गौला बिरामी, त्यसमाथि कोरोना संक्रमण हुँदा सबैले माया मारिसकेका थिए’ उनी भन्छिन्, ‘एक महिनासम्म भेन्टिलेटरमा राखेर बचाएका रहेछन् ।’
संघर्ष यतिमै रोकिएन । उनकी बहिनी मिर्गौला दिन तयार भइन्, तर पित्तथैलीमा ढुंगा पाइएपछि पित्तथैली नै निकाल्नुपर्यो । गत चैतमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल भयो । तर अहिलेसम्मको उपचारका लागि ६० लाखभन्दा बढी रुपैयाँ खर्च भएको उनी सुनाउँछिन् ।
‘जेठी छोरी र ज्वाइँकै सहाराले उपचार सम्भव भयो’ उनी भन्छिन्, ‘शायद पहिल्यै परीक्षण गराउन पाएको भए मिर्गौला बचाउन सकिन्थ्यो कि !’ दैनिक रूपमा माछा, मासुका परिकार तारेर पकाउनुपर्ने हुँदा त्यसको खारले पनि असर गरेर मिर्गौला बिग्रिएको हुनसक्ने उनको ठम्याइ छ ।
****
वनस्थलीस्थित नेशनल किड्नी सेन्टरको ३०१ नम्बर बेडमा संखुवासभाका २८ वर्षीय सागर तामाङको डायलिसिस चलिरहेको छ । मलिन अनुहार लिएर डायलिसिसको कष्टकर प्रक्रिया सकिने समयको पर्खाइमा छन् उनी । लगभग तीन घन्टामा डायलिसिस सकिन्छ तर अनुहारमा त्यही मलिनता कायमै छ ।
लामो सुस्केरा हाल्दै सागर भन्छन्, ‘पैसा कमाउने आशामा स्वस्थ शरीर लिएर गएको थिएँ, जिन्दगीभरको रोग बोकेर फर्किनुपर्यो ।’ हाल काठमाडौं वनस्थलीमा बस्दै आएका सागर २०७२ साल जेठमा कमाउने सपना बोकेर मलेसिया गएका थिए ।

नेपालबाट जाँदा सुरक्षा गार्डको रूपमा काम गर्ने लक्ष्य लिएको थिएँ, तर कम्पनीले उनलाई फलफूलको बगानमा काम लगायो । ‘शुरूमा त्यही काम गर्नुपर्यो, अरू विकल्प थिएन’, सागर सम्झन्छन् । दुई वर्ष फलफूलको बगानमा काम गरेपछि उनी भाषा सिक्न सफल भए । त्यसपछि आफूलाई सुरक्षा गार्ड काम दिन आग्रह गरे, जुन स्वीकृत भयो ।
सुरक्षाकर्मीको रूपमा काम गर्न थालेको दुई वर्षपछि सागरमा उच्च रक्तचापको समस्या देखियो । शुरूमा त उनले यसलाई गम्भीरतापूर्वक लिएनन् । उनी स्थानीय मेडिकल फार्मेसीबाट औषधि किनेर खाने गर्थे । ‘दिनभरको कामपछि बेलुकी पेनकिलर खाएर पनि भोलिपल्ट फेरि काममा जाने गर्थें’, उनी भन्छन् ।
तर समय बित्दै जाँदा, उनको स्वास्थ्य अझै बिग्रँदै गयो । खुट्टा सुन्निने, चक्कर आउने, टाउको दुख्ने, वाक्वाकी लाग्ने जस्ता समस्या बढ्दै गए । दिनप्रतिदिन समस्या गम्भीर बन्दै गयो । अस्पतालमा जाँच गराउँदा डाक्टरले निराशाजनक खबर सुनाउँदै भने, ‘दुवै मिर्गौला फेल भएको छ, डायलिसिस गर्नुपर्छ ।’
उनको आफ्नै विश्लेषण अनुसार, मिर्गौला बिग्रिनुको कारण उच्च रक्तचाप वा अत्यधिक चिसो पेय पदार्थको सेवन हुन सक्छ । ‘पानी पिउन मन लाग्दैनथ्यो । गर्मी मौसममा पसलमा गएर फ्रिजभित्रका चिसा पेय पदार्थहरू पिउँथें’, उनी भन्छन् ।

२०७९ सालमा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराए । बिग्रिएको मिर्गौलालाई सुधार्ने आशामा चिकित्सकले दुई महिनाको औषधि खान सुझाए । तर औषधिले काम गरेन । नेपाल आउँदा चिकित्सकले रगतमा क्रियटिनाइनको मात्रा ४ पुगेको बताएका थिए । तर दुई महिनामा बढेर ८ पुग्यो, जुन अत्यन्त खतरनाक थियो ।
डाक्टरले तुरुन्तै आकस्मिक डायलिसिस गर्नुपर्ने बताए पनि अस्पतालमा पालो नपाएपछि उनी वनस्थली पुगे । विदेशमा गएर पैसा कमाउने र भविष्य बनाउने आश बोकेका सागर अहिले रोगसँग संघर्ष गर्दै कठोर जीवन बिताइरहेका छन् ।
‘मेरा लागि नयाँ मिर्गौला पाउनु नै नयाँ जीवन पाउनु हो’ सागर भन्छन्, ‘तर प्रत्यारोपणका लागि दाता र पैसा दुवै चाहिन्छ, जुन मेरो लागि अहिले सपना जस्तै छ ।’
****
महोत्तरीका ३५ वर्षीय सुरेश महरा २०६७ सालमा राम्रो कमाइ र उज्ज्वल भविष्यको सपना बोकेर कतार पुगे । उनको शरीरमा उच्च रक्तचापको समस्या थियो र औषधि खाइरहनुपथ्र्यो । मरुभूमिको प्रचण्ड गर्मीमा औषधि खाँदै, पसिना बगाउँदै उनले पाँच वर्ष बिताए । तर कमाइ राम्रो भएन । निराश भएर घर फर्के ।
२०७२ सालमा उनी फेरि एकपटक साहस जुटाउँदै मलेसिया पुगे । मलेसियामा उनलाई जंगलमा घाँस काट्ने काम दिइयो । ‘धेरै गाह्रो काम थियो’, सुरेश सम्झन्छन् । सुपरभाइजर पानी र खाना लिएर आउँदासम्म उनको शरीर पसिनाले भिज्थ्यो, मुख सुक्थ्यो । तर रोजगारदाताले उनको स्वास्थ्य समस्याप्रति कुनै वास्ता गरेनन् ।

ढाड दुख्न थाल्यो, खुट्टाहरू सुन्निन थाले । उनले कम्पनीलाई स्वास्थ्य जाँचको विन्ती गरे, तर त्यहाँ मानवता कसैले देखाएनन् । जब शरीरले अन्त्यमा हार खायो, उनी घर फर्के । जनकपुर अस्पतालमा स्वास्थ्य परीक्षण भयो । ‘एउटा मिर्गौलाले काम गर्न छोडिसकेको रहेछ । अर्कोले अलि अलि काम गरेको रहेछ’, त्यस क्षणलाई सम्झिंदै भने ।
गाउँका मानिसको सल्लाहमा भारतको पुनिहियामा आयुर्वेदिक उपचारमा लाखौं रुपैयाँ खर्च गरे । ‘प्रत्येक पटक जाँदा, एकलाख भन्दा बढी खर्च हुन्थ्यो’ उनी भन्छन्, ‘रोग झन् बढ्दै गयो, तर कमाएको पैसा १५ लाखभन्दा बढी आयुर्वेदिक औषधिमै सकियो ।’
विस्तारै शरीर सुन्नियो, श्वास फेर्न गाह्रो भयो । गाउँ नजिकैको एक स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण भएसँगै चिकित्सकले तुरुन्तै काठमाडौं जान सल्लाह दिए । वीर अस्पतालमा डायलिसिस शुरू भयो, तर काठमाडौंमा बस्ने ठाउँ, साथीको आवश्यकता र नियमित उपचारको खर्च– यी सबै कहाँबाट पाउने ? आर्थिक अवस्थाले साथ दिएन ।
अन्ततः लामो संघषपछि, श्रीमतीको मिर्गौला क्रसम्याच मिल्यो, र टिचिङ अस्पतालमा प्रत्यारोपण सम्भव भयो । तर त्यस बेलासम्म, मलेसियाबाट ल्याएको सम्पूर्ण धन सकिइसकेको थियो । जसोतसो गाउँघरमा केही रकम मागेर र ऋण गरेर प्रत्यारोपण भयो । अहिले छोराको सहारामा बाँचिरहेका सुरेश भन्छन्, ‘कमाएको जति सबै सकियो । अब बाँकी यही रोगी ज्यान छ ।’
‘पर्याप्त पानी नपाएपछि मिर्गौला फेल’
वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका धेरै श्रमिक कामदारले यस्तो समस्या भोग्ने गरेका छन् । मिर्गौला उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, वैदेशिक रोजगारीको क्रममा मिर्गौलामा खराबी आएर फर्किनेको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
जबकि यिनै मिर्गौला रोगी सहितका श्रमिकहरूको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार पछिल्लो ७ महिनामा ९ खर्ब रेमिट्यान्स मुलुक भित्रिएको छ । तर यसको सामाजिक र पारिवारिक मूल्य असाध्यै महँगो सावित भएको छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार खाडी मुलुकबाट फर्किएका नेपाली कामदारमा लामो समयसम्मको ड्युटी, गर्मी ठाउँमा काम, फ्रिजमा राखिएका पेय पदार्थको अधिक सेवन, पानी कम पिउँदा र मासुजन्य खाना धेरै खानाले मिर्गौलामा समस्या निम्त्याउने गरेको छ ।
‘पर्याप्त पानी खान नपाएपछि मिर्गौला फेल हुन्छ, तर धेरैजसो कामदारहरूलाई यसबारे थाहा नै हुँदैन’, डा. काफ्ले भन्छन् । उनका अनुसार मिर्गौला रोग वा मधुमेह लाग्दा पिसाबमा खराबी देखिन्छ, तर पानीको कमीले हुने समस्यामा पिसाब परीक्षण गर्दा नर्मल रिपोर्ट देखिन्छ । क्रियाटिनिनको परीक्षण गर्दा मात्र खराबी पत्ता लाग्छ ।

नेशनल किड्नी सेन्टरमा डायलिसिस गर्न आउने अधिकांश युवा उच्च तापक्रममा दैनिक १४ घन्टासम्म कडा परिश्रम गरेर फर्किएका कामदार रहेको डा. काफ्लेले बताए । ‘विदेशमा उच्च तापक्रममा काम गर्दा आराम नगरी लामो समयसम्म खटिनुपर्छ, त्यसमाथि पनि पानी कम पिउँदा मिर्गौलाले केही महिनामै काम गर्न छोडिसकेको हुन्छ’, डा. काफ्ले भन्छन् ।
सन् २०२१ मा एशियन जर्नल अफ मेडिकल साइन्सेसमा प्रकाशित रिपोर्टमा विदेशबाट फर्किएका आप्रवासी कामदारमा मिर्गौलाको जोखिम सम्बन्धी अध्ययन भएको थियो । ५१ जना मिर्गौला रोग विशेषज्ञसँग उनीहरूले हेरेका बिरामीको आधारमा गरिएको सर्वेक्षण अध्ययनमा खाडी मुलुकबाट फर्केका ४० वर्षमुनिका ३८ जना (३२ पुरुष र ६ महिला) लाई सहभागी गराइएको थियो ।
कामकै सिलसिलामा बिरामी भएर स्वदेश फर्किएका उनीहरूमध्ये धेरैजसो (९२.१ प्रतिशत) ले मिर्गौला सम्बन्धी समस्या भएको बताएको अध्ययनमा उल्लेख छ । आप्रवासी कामदारमा अरू नेपालीको तुलनामा मिर्गौला सम्बन्धी समस्या उच्च (७६.३ प्रतिशत) हुनसक्ने अध्ययनको निष्कर्ष थियो ।
किन हुन्छ मिर्गौला खराब ?
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह खाडी मुलुकबाट फर्कने नेपालीमा मिर्गौला सम्बन्धी समस्या भयावह बन्दै गएको बताउँछिन् । अस्पतालमा डायलिसिस गराइरहेका बिरामीहरूमध्ये ७ देखि १० प्रतिशत खाडी मुलुकबाट मिर्गौला रोग लिएर फर्केका छन् ।
खाना पकाउने पेशामा संलग्न व्यक्तिहरूमा यो समस्या झनै गम्भीर देखिएको छ । उनका अनुसार, खाडी मुलुकमा लामो समयसम्म काम गरेर नेपाल फर्किएको एक वर्षपछि मिर्गौलामा समस्या देखिने गरेको छ, कतिपय कामदारहरू मिर्गौला बिग्रिएकै अवस्थामा स्वदेश फर्किने गरेका छन् ।
‘केही कामदारमा त खाडी मुलुक गएको एक–दुई महिनामै मिर्गौलाको समस्या लिएर फर्किएको पाइएको छ’ डा. शाहले भनिन्, ‘सामान्यतया एक महिनामै मिर्गौला रोग देखा पर्दैन, यसले नेपालबाट परीक्षण गराएर जाने व्यवस्था माथि प्रश्न उठाएको छ ।’
डा. शाहका अनुसार, नेपाल र खाडी मुलुकमा बस्दाको खानपिन र वातावरणको फरकले स्वास्थ्यमा उल्लेख्य प्रभाव पार्दछ । ‘नेपालमा साग, सब्जी धेरै खाने र कम मात्रामा मासु खाने गरिन्छ, तर खाडी मुलुकमा मासुको सेवन बढी हुँदा यसको प्रत्यक्ष असर मिर्गौलामा पर्न जान्छ’, डा. शाह भन्छिन् ।
विशेषज्ञका अनुसार, परिवारबाट टाढा बस्दा आउने तनाव, उच्च रक्तचाप र मधुमेह जस्ता अवस्थाले पनि मिर्गौला बिग्रने जोखिम बढाउँछ । मिर्गौला रोगलाई ‘साइलेन्ट किलर’ भनिन्छ, किनकि यसका लक्षणहरू प्रारम्भिक अवस्थामा देखिंदैनन् ।
‘मिर्गौलाबाट पिसाबमा थोरै–थोरै प्रोटिन चुहिन थाल्छ र लामो समयसम्म प्रोटिन चुहिंदा मिर्गौला खराब हुन्छ’ डा. शाह भन्छिन्, ‘सुरुवाती अवस्थामा पिसाबमा फिंज आउने जस्ता लक्षण देखिए पनि अधिकांश बिरामीहरू जटिल अवस्थामा पुगेपछि मात्रै स्वास्थ्य समस्या अनुभव गर्न थाल्छन् ।’
सन् २०२० मा किड्नी इन्टरन्याशनल रिपोर्टस् जर्नलमा प्रकाशित विवरण अनुसार नेपाली आप्रवासी कामदारमा दीर्घकालीन मिर्गौला रोग सम्बन्धी अध्ययन भएको थियो । जसमा वैदेशिक रोजगारीबाट फर्केका औसत ३७–३८ वर्षका ४४ जना संलग्न थिए ।

तीमध्ये ९५ प्रतिशत पुरुष रहेको अध्ययनमा उल्लेख छ । जसमा मलेशियाबाट फर्केका २७.३ प्रतिशत र अन्य खाडी मुलुकबाट फर्केका ७२.७ प्रतिशतको सहभागिता थियो ।
अध्ययनको सात महिनाको अवधिमा ६३.६ प्रतिशतले डायलिसिस सेवा शुरू, २५ प्रतिशतमा मिर्गौलाको समस्या शुरू भएको, ६.८ प्रतिशतले मिर्गौला प्रत्यारोपण गरेको, २.३ प्रतिशतको मिर्गौला रोगका कारण मृत्यु भएको पाइएको थियो ।
डा. शाहका अनुसार, उच्च तापक्रम, खानपिन र तनावका अतिरिक्त अन्य कारणहरूले पनि मिर्गौलामा असर पारेको सम्बन्धमा थप सूक्ष्म अध्ययन गर्नुपर्ने आवश्यकता छ । डा. काफ्लेका अनुसार, धेरै कामदार जटिल समस्या देखापरेपछि मात्रै नेपाल फर्किने गर्छन् । कतिपय व्यक्ति उच्च रक्तचापले मिर्गौलाको समस्या भए पनि काम गरिरहेका हुन्छन्’, उनी भन्छन् ।
विज्ञका अनुसार खाडी मुलुकमा गएका हरेक दिन एकभन्दा बढी नेपाली मिर्गौला बिग्रिएर स्वदेश फर्किन्छन् । ‘यो हामीले अहिले डायलिसिस गर्ने संख्या मात्रै देखेका छौं । पालो नपाएर ज्यान गुमाउने अवस्थामा बसेकाको कुनै लेखाजोखा नै छैन’, उनी भन्छन् ।
वीर अस्पतालका वरिष्ठ मिर्गौला सर्जन डा. पारसमणि श्रेष्ठले पनि वैदेशिक रोजगारमा जाने युवामा पर्याप्त पानी नपिउँदा मिर्गौला समस्या देखिएको बताए । उनका अनुसार खाडी मुलुकमा काम गर्ने अधिकांश नेपालीले मिर्गौलामा ढुंगाको समस्या लिएर बसेका हुन्छन् ।
‘खाडी मुलुकमा तापक्रम पनि उच्च हुन्छ । जसका कारण मिर्गौलामा चाँडै ढुंगा बन्छ । त्यसमाथि उनीहरूले पर्याप्त पानी पिएका हुँदैनन्’ डा. श्रेष्ठले थपे, ‘खानामा पनि प्रोटिनयुक्त मासु अधिक खाँदा मिर्गौलामा समस्या देखिन्छ ।’
अध्ययन अनुसार, रोजगारीबाट फर्केकाहरूको मिर्गौलामा रगत फिल्टर गर्ने (ग्लोमेरुलर फिल्ट्रेसन) क्षमतामा उल्लेखनीय रूपमा कमी आएको देखिएको छ ।
शारीरिक रूपमा लक्षण देखिए पनि विदेशमा तत्काल उपचार नपाउँदा मिर्गौला बिगारेर नै आउने गरेको उनले सुुनाए । ‘मिर्गौलामा ढुंगा देखिंदा सबै कम्पनीले उपचार नगर्ने रहेछन् । वर्षौंसम्म ढुंगा ननिकाल्दा मिर्गौलाले नै काम गर्न छोडिसकेको हुन्छ’, डा. श्रेष्ठ भन्छन् ।
नेपालको सन्दर्भमा मिर्गौला खराब हुने प्रमुख कारणहरूमा उच्च रक्तचाप, मधुमेह तथा मोटोपन भए पनि खाडी मुलुकमा काम गर्ने युवाको मिर्गौला खराबीको प्रमुख कारण पानी कम पिएर जलवियोजन हुने विज्ञहरू बताउँछन् ।
‘बिदा नबसी काममा खटिन्छन्’
गर्मी मुलुकमा सादा पिउने पानीको सट्टामा शक्तिवर्द्धक पेयपदार्थ तथा बट्टामा बन्द गरिएका जुस लगायतका पेयपदार्थ पिउने चलन छ । जसले गर्दा शरीरमा आवश्यक पानीको मात्रा घट्दै जान्छ र जलवियोजन हुने चिकित्सकहरू बताउँछन् ।
धनुषाका दुई स्थानीय तहमा गरिएको एक तुलनात्मक अध्ययनले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिमा मिर्गौला सम्बन्धी समस्या स्थानीय बासिन्दाको तुलनामा बढी देखिएको निष्कर्ष निकालेको छ ।
खासगरी एकै स्थानमा लामो समय खटिनुपर्ने र ‘आउटडोर ड्यूटी’ पर्ने नेपाली कामदार यस्तो जोखिममा रहेको बेलायतको बर्नमाउथ विश्वविद्यालयले नेपालमा आएर गरेको अध्ययनमा देखिएको हो ।
विश्वविद्यालयले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा पछिल्लो एक वर्षभित्र खाडीका ६ मुलुक कतार, साउदी अरब, कुबेत, ओमान, यूएई, बहराइन र मलेसियामा काम गरी फर्किएका नेपालीमा अध्ययन गरेको थियो ।
उक्त अध्ययनमा वैदेशिक रोजगारीबाट फर्किएका ७१८ जना र स्थानीय ७२० जना बीचको तुलनात्मक विश्लेषण गरिएको थियो । अध्ययन अनुसार, रोजगारीबाट फर्केकाहरूको मिर्गौलामा रगत फिल्टर गर्ने (ग्लोमेरुलर फिल्ट्रेसन) क्षमतामा उल्लेखनीय रूपमा कमी आएको देखिएको छ । अनुसन्धानमा ग्लोमेरुलर फिल्ट्रेसन क्षमता वैदेशिक रोजगारीबाट फर्केकाहरूमा ५.८ प्रतिशत देखिएको छ भने स्थानीयमा यो मात्र ३.६ प्रतिशत छ ।
स्थानीयहरूको तुलनामा वैदेशिक रोजगारीबाट फर्केकाहरूको पिसाबमा प्रोटिनको मात्रा धेरै देखिएको अध्ययनले देखाएको अनुसन्धानकर्ता डा. निर्मल अर्याल बताउँछन् । उनका अनुसार, विशेषगरी सुरक्षाकर्मी, सवारी चालकहरूमा समेत मिर्गौलाको समस्या अन्य काम गर्ने कामदारको तुलनामा धेरै पाइएको छ ।
‘प्रत्यक्ष घाममा, आउटडोर, धुलो–धुवाँमा काम गर्ने कामदारमा समेत मिर्गौलाको समस्या बढी देखियो’ डा. अर्यालले भने, ‘सबैभन्दा लामो ड्युटी गर्नुपर्ने, आराम गर्ने समय कम पाउने र थोरै पानी खाने कारणले गर्दा सुरक्षाकर्मीहरू बढी जोखिममा छन् ।’
अध्ययनको क्रममा गरिएको अवलोकनका आधारमा डा. अर्यालले भने, ‘मलेसिया लगायत अन्य मुलुकमा शौचालय जाने ठाउँ धेरै टाढा हुँदा सुरक्षाकर्मीले ड्युटी छोडेर जान नमिल्ने रहेछ । ड्युटी समयमा शौचालय छोड्नुपर्ने हुँदा बरु पानी कम खाने प्रचलन रहेको पाइयो ।’
उनका अनुसार, केही विदेशी कम्पनीहरूमा सुरक्षाकर्मीले दुई दिनसम्म लगातार ड्युटी गर्नुपर्ने बाध्यता रहेको पनि देखिएको छ । बिरामी हुँदा समेत छुट्टी नपाउने अवस्था रहेको कामदारहरूले अध्ययनको क्रममा बताएका छन् ।
‘भवन बाहिर काम गर्ने मजदुरहरू, जस्तै रंग र सिसा पुछ्ने कामदारहरूले लुगा फुकाल्नुपर्ने झन्झटका कारण समेत कम पानी खाने गरेको पाइयो’, अनुसन्धानकर्ता अर्यालले थपे । अध्ययनले वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा उच्च रक्तचापको समस्या स्थानीय बासिन्दाहरूको तुलनामा दोब्बर देखाएको छ ।
कामदारमध्ये ३१ प्रतिशतले मासिक एक दिन पनि बिदा नबसी र औसत दैनिक १०.७ घन्टा काममा खटिएको बताएका छन् ।
यस्तै, किड्नी इन्टरन्याशनल रिपोर्टस् जर्नलमा प्रकाशित एक अध्ययनले मिर्गौलामा खराबी आएका १५.४ प्रतिशत कामदारले समयमै शौचालय नजाने गरेको बताएका थिए । त्यस्तै, ७७.३ प्रतिशतमा अज्ञानताका कारण मिर्गौला खराब भएको देखिएको थियो भने १३.६ प्रतिशतमा मधुमेह र नौ प्रतिशतमा अन्य स्वास्थ्य समस्या रहेको उल्लेख गरिएको छ ।
मिर्गौला बिरामीका लागि सबभन्दा राम्रो विकल्प प्रत्यारोपण हो, जुन सहज र सुलभ छैन । प्रत्यारोपण नभइञ्जेल डायलासिस गरेर बाँच्नुपर्छ । विज्ञका अनुसार, नेपालमा वार्षिक तीन हजार मिर्गौला बिरामी थपिन्छन् । हाल ३५ हजार हाराहारी मिर्गौला रोगी रहेको सरकारी अनुमान छ । जसमध्ये करिब ९ हजारले डायलिसिसको भरमा जीवन लम्ब्याइरहेका छन् ।
चिकित्सकका अनुसार खाडी मुलुकमा काम गर्ने युवाहरूले प्रशस्त सादा पानी मात्र पिएमा पनि मिर्गौला रोग लाग्नबाट धेरैलाई बचाउन सकिन्छ । ‘खासगरी उच्च तापक्रम भएका खाडी मुलुकमा काम गर्न जाने नेपालीमा दैनिक रूपमा पानी प्रशस्त पिउनुपर्ने र कम्तीमा वर्षको एकपटक परीक्षण गरेमामिर्गौला बिग्रनबाट रोक्न सकिन्छ’, डा. शाह भन्छिन् ।
कामदारलाई स्वास्थ्य समस्या हुँदा नेपालमा पठाउने प्रवृत्तिमा रोक्न नीतिमै सुधार गर्नुपर्ने डा. काफ्ले बताउँछन् । ‘कामको सिलसिलामा स्वास्थ्य समस्या आएमा रोजगारदाताले सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्ने अनिवार्य सम्झौता गराउनुपर्छ’ डा. काफ्ले भन्छन्, ‘श्रमिक बिरामी भए सम्पूर्ण खर्च बेहोर्ने अवस्था आएपछि नियमित स्वास्थ्य परीक्षण गराउन रोजगारदाता बाध्य हुन्छ । अहिले देखिएको अवस्था धेरै हदसम्म न्यून गर्न सकिन्छ ।’
फोटो र भिडियो : चन्द्र आले