प्रकाशित मिति : मंसिर १९, २०८१ बुधबार
काठमाडौँको ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् ।
विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ । यसपटक पनि त्यस्तै देखियो तर व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् ।
ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु ९हाइन्ड० पर्यटक भने आएनन् । अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन ।
ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताउनुहुन्छ ।
“पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्”, नौ वर्षदेखि यहाँ व्यवसाय गर्दै आउनुभएका उहाँले भन्नुभयो,“ यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए ।
ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।” ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू ।
व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठुलो परिमाणमा पस्मिनालगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन् ।
पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ ।
ठमेलमा एक हजार दुई सयभन्दा बढी पसल रहेको बताइन्छ । आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ । यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन ।
भूकम्पअघि दैनिक ५० हजारदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले १० हजार कमाइ हुने गरेको बताउनुभयो ।
कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताउनुहुन्छ । शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ ।
होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो ।
यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उहाँको भनाइ छ । यतिखेर मुख्य पर्यटकीय सिजन सकिने सङ्घारमा छ ।
ठमेलको पर्यटकीय चहल–पहल पनि विस्तारै पातलिँदै गएको छ । विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए ।