प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको विदेश नीति र रुसको नीतिमा समानता रहेको बताएका छन्।
उनले अमेरिकी नयाँ प्रशासनले विदेश नीतिका सबै संरचनाहरू द्रुत गतिमा परिवर्तन गरिरहेको बताउँदै उक्त नीतिहरू रुसको दृष्टिकोणसँग मेल खाने रहेको बताएका हुन् । एक टेलिभिजनसँग कुरा गर्दै प्रवक्ता दिमित्री पेस्कोभले भने, “ अमेरिकी नयाँ प्रशासनले विदेश नीतिका सबै संरचनाहरू द्रुत गतिमा परिवर्तन गरिरहेको छ । यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ ।”
उनले थपे, “अझै लामो बाटो तय गर्नुपर्ने छ, किनकि द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण परिसरमा ठुलो क्षति भएको छ । तर यदि दुई नेताहरू, राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पको राजनीतिक इच्छाशक्ति कायम रहेमा यो मार्ग निकै छिटो र सफल हुन सक्छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध निर्माण गर्न खोजेका छन् । साथै, उनी संयुक्त राष्ट्रसङ्घमा रुसको पक्षमा उभिएका छन् ।
पेस्कोभले यी टिप्पणीहरू बुधबार गरे पनि आइतबार मात्र सार्वजनिक गरिएका थिए ।
शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई हप्काउँदै ट्रम्पले मस्कोसँग आफूलाई अझ जोडेका छन् ।
सन् २०२२ फेब्रुअरीमा आफ्नो छिमेकी विरुद्ध पूर्ण सैन्य आक्रमण सुरु गरेको मस्कोले अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले युक्रेनलाई बिना सर्त समर्थन गरेका निन्दा गरेको थियो ।


