प्रकाशित मिति : भाद्र ५, २०८२ शुक्रबार
आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट
क्यालिफोर्नियाको एनसिनिटासस्थित पार्क डेल लेन एलिमेन्टरी स्कुल नजिकै एक विद्यार्थीका बुवालाई फेडेरल इमिग्रेशन एजेण्टहरूले पक्राउ गरेका छन्। विद्यालय प्रशासनका अनुसार घटना अगस्ट २० का दिन बिहान करिब ७:३० बजे स्कूल नजिकैको चौराहामा भएको हो।
एन्सिनिटास युनियन स्कूल डिस्ट्रिकले एक पत्रमार्फत घटना प्रत्यक्षदर्शी परिवार, समुदायका सदस्य, स्टाफ तथा केही विद्यार्थी भएको जनाएको छ। यस घटनाले विद्यार्थी र परिवारमा मानसिक असर परेको भन्दै सुपरिन्टेन्डेन्ट आन्द्रे ग्रेले चिन्ता व्यक्त गरेका छन्।
यसैबीच, अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीले स्कुल परिसरभित्र कुनै पनि प्रकारको इमिग्रेशन कारबाही नभएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा स्थानीय बासिन्दाले पक्राउ वारन्ट देखाउन माग गरिरहेका दृश्यहरू देखिएका छन्। प्रभावित परिवारलाई सहयोग गर्न समुदायले सुरु गरेको गोफन्डमी अभियानबाट हालसम्म दशौं हजार डलर संकलन भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै कागजातविहीन आप्रवासीविरुद्ध कडा नीति अपनाउँदै सामूहिक निर्वासन अभियान अघि बढाइरहेको छ। सन् २०२३ मा अमेरिकामा कागजातविहीन आप्रवासीहरूको संख्या १ करोड ४० लाख पुगेको प्यू रिसर्च सेन्टरले जनाएको छ, जुन अहिलेसम्मकै उच्च हो।
ट्रम्प प्रशासनले यसअघि विद्यालय, चर्च र अस्पतालजस्ता “संवेदनशील स्थान” मा गिरफ्तारी गर्न रोक लगाउने नीति फिर्ता लिँदै इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)लाई यी स्थानहरूमा पनि कारबाही गर्न अधिकार दिएको छ।
