भर्खर ४० वर्ष कटेकी बेलायतकी युवराज्ञी केट मिडलटनले पोहोर आफूलाई क्यान्सर लागेको घोषणा गर्दा धेरैलाई अचम्म लाग्यो। सुविधा र सम्पन्नतामा हुर्केबढेकी युवराज्ञीलाई के कारणले क्यान्सर भयो त भन्ने प्रश्न धेरैको मनमा उब्जियो। वातावरण, खानपान अनि आवधिक चिकित्सकीय अनुगमनले महारोगलाई पछि धकेल्न सकिने भए खाउलाउ उमेरकी केटलाई क्यान्सरले सताउँदैनथ्यो होला। त्यस्तै संसारकै सबैभन्दा मूल्यवान कम्पनी ‘एप्पल’का संस्थापक स्टिभ जब्सलाई ५० वर्ष पनि नपुग्दै पेन्क्रियाजको क्यान्सर लाग्यो अनि केही समयपछि उनको मृत्यु भयो। चर्चित सिनेमा ‘ब्ल्याक प्यान्थर’का नायक तथा हलिउडका चर्चित कलाकार, निर्देशक र कथाकार च्याडबिक बोसम्यानलाई ४० वर्ष पनि नपुग्दै कोलोन क्यान्सर देखियो अनि केही वर्षपछि मृत्यु भयो। त्यस्तै केही महिनाअघि भर्खर दुई बिस नाघेका बास्केटबल खेलाडी ड्वायन बेडले आफू मिर्गौला क्यान्सरले थलिएको आफ्ना समर्थकलाई बताए। उदाहरणका रूपमा प्रस्तुत गरिएका केही बहुचर्चित परिदृश्यले जीवनको पूर्वार्धमै विभिन्न किसिमका क्यान्सरले सताएका व्यक्तिको संख्या निकै बढेको देखिन्छ। वृद्धावस्थाको रोग भनेर चिनिने क्यान्सरले आखिर किन ४० पनि नपुगेकामा वर्चस्व कायम गदैछ?
सन् २०२३ मा बिएमजे अंकोलोजीमा प्रकाशित एक अध्ययनले सन् १९९० देखि २०१९ सम्म आइपुग्दा ५० वर्ष मुनिका क्यान्सरबाट मर्नेहरू २८ प्रतिशतले बढेको निष्कर्ष निकाल्यो। तीन दशकको अन्तरमा ५० वर्षभन्दा मुनि उमेर समूहका नागरिकमा क्यान्सरका कारण हुने मृत्युको आँकडा किन अस्वाभाविक वृद्धि भयो? संयुक्त राज्य अमेरिकाको न्यासनल क्यान्सर इन्स्टिच्युटकी डा. रेबेका सेगल नेतृत्वको अन्वेषण समूहले प्रकाशित गरेको एक अध्ययनले सन् १९५० को हाराहारीमा जन्मिएका नागरिकसँग तुलना गर्दा अहिलेका युवामा कोलोन क्यान्सरको जोखिम दुई गुना बढी देखिन्छ भने रेक्टल क्यान्सरको प्रकोप चौगुना उकासिने बताएको छ। पछिल्लो समय सबै किसिमका क्यान्सर रोगीको प्रतिशत बढेको देखिए पनि पाचनसम्बन्धी क्यान्सर रोगीको आयतन विस्फोटक देखिएको छ। बिसौं शताब्दीको उत्तरार्धमा क्यान्सरको घनत्व मात्र बढेन, बरु कलिलो उमेरमै महारोग लाग्नेको जनघनत्व बढ्नु चिन्तायोग्य देखियो। युवा अवस्थामै ठुलो जनसंख्यालाई महारोगले सताउनुले क्यान्सर अन्वेषणकर्तालाई चिन्तित बनायो।
समयको बदलाबसँगै क्यान्सरको प्रकृति र अनुपात परिवर्तन हुनुलाई अस्वाभाविक मान्दैनन् बेलायतस्थित बार्टस क्यान्सर सेन्टरका प्राध्यापक टमस पौल्स। क्यान्सरको बदलाबलाई पर्यावरणीय परिवर्तनसँग तुलना गर्छन् उनी। जसरी समयको परिवर्तनसँगै मानिसको खाना, रहनसहन र दैनिकी फेरियो, त्यसैगरी रोगको ढाँचा पनि परिवर्तन भयो। क्यान्सर त्यसको अपवाद हुन नसक्ने विज्ञको भनाइ छ। उदाहरणका लागि नेपाललगायत संसारका धेरै मुलुकमा धूमपान गर्ने मानिसको संख्या घट्यो। परिणामस्वरूप चुरोटबिँडीका कारण प्रत्यक्ष हुने फोक्सो क्यान्सरका रोगीको संख्या घट्यो। तर, अत्यासिलो सहरीकरणका कारण काठमाडौंलगायत संसारका धेरै सहर प्रदूषणको चपेटामा परे। हालै प्रकाशित एक अध्ययनले काठमाडौंलाई संसारकै चौथो सबैभन्दा प्रदूषित सहरको दर्जा दियो। विसाक्त हावामा स्वास फेर्नु राजधानीवासीको बाध्यता भयो अनि ठुलो जनसंख्या फोक्सोसम्बन्धी रोगको सिकार बन्यो। धूमपानले फोक्सोको क्यान्सर घटाए पनि सहरको वायुप्रदूषणले श्वासप्रश्वासको क्यान्सरलाई उकास्यो।
त्यस्तै क्यान्सरबाट जोगाउन प्रतिरक्षा प्रणालीअन्तर्गतका ‘न्याचुरल किलर सेल’ले महत्वपूर्ण भूमिका खेल्छन्। हाम्रो शरीरमा उत्पादन हुने क्यान्सरजन्य कोषलाई प्रथम चरणमै नाश गरी किलर सेलले हामीलाई क्यान्सर लाग्नबाट जोगाउँछ। तर प्रतिरक्षात्मक कोषको घनत्वलाई मानिसको सुताइको चक्रले निर्देशित गर्छ। दिनको चार घण्टा मात्र सुत्ने व्यक्तिको शरीरमा किलर सेलको संख्या दैनिक आठ घण्टा निदाउने व्यक्तिको दाँजोमा कम हुन्छ। अथवा राम्रोसँग रात्रि विश्राम गर्न नपाउने व्यक्तिमा रोगबाट जोगाउने रक्षात्मक कोषको संख्या कम हुन्छ। यसरी अनिँदो व्यक्तिको शरीरमा प्रतिरक्षा कोषको घनत्व घट्दा शारीरिक प्रक्रियामार्फत उत्पादन भएका क्यान्सरका कोषलाई नाश गर्न शारीरिक संयन्त्र असफल हुन्छ। परिणामस्वरूप व्यक्तिमा क्यान्सरको सम्भाव्यता बढ्छ। राति काम गर्नुपर्ने वाध्यताका कारण अथवा चिन्तालगायतका कुनै पनि परिस्थितिले पर्याप्त सुत्न नपाएका व्यक्तिमा क्यान्सर उकासिने देखिएको छ। बिजुलीको आविष्कारपछि फेरिएको दिनचर्याले क्यान्सरलाई उकासेको देखिन्छ।
काठमाडौंमा बिक्री हुने तरकारी फलफूलमा अस्वाभाविक रूपले विषादी प्रयोग भएको खबर आउँछ। प्रतिबन्धित विषादीले व्यक्तिको आनुवंशिक तत्व ‘डिएनए’ संरचना परिवर्तन गर्छ। अनि परिमार्जित डिएनएले क्यान्सरलाई हौस्याउँछ। तसर्थ, हाम्रो खाद्यान्नले पनि क्यान्सरलाई बढावा दिन्छ भन्ने बिर्सनुहुँदैन। दुर्गम गाउँमा समेत चिप्स, चाउचाउजस्ता प्याकेटका खानेकुरा अनि कोक र फेन्टाजस्ता बोतलका खानेकुराको जगजगी छ। सरकारी तथा गैरसरकारी प्रयासमा चुरोटको प्रयोग घटे पनि अल्कोहल सामाजिक पेयको तप्कामा पुगेको देखिन्छ। पछिल्लो दशकमा रक्सीको खपत बढ्यो नेपालमा। जंक फुड र बोतलका झोलले अस्वाभाविक वजन वृद्धि गराउने मात्र होइन, क्यान्सरलाई समेत हौस्याउँने भएकाले क्यान्सरको आयतन सहरमा मात्र सीमित भएन, दुर्गम कन्दरामा समेत पुग्यो।
पाचन प्रणालीमा रहने सूक्ष्माणुको समूह ‘माइक्रोबायोम’ले व्यक्तिको समष्टिगत स्वास्थ्यलाई निर्देशित गर्ने भएकाले कुन चरित्रका जीवाणु व्यक्तिको आन्द्रामा छ भन्ने कुराले धेरै अर्थ राख्छ। चलानी खान्की अनि बोतलमा प्याक भएर आएका पेय पदार्थले सुबानी ब्याक्टेरियालाई चुनेर मार्ने भएकाले व्यक्तिको माइक्रोबायोमको बनोट फेरिन्छ। व्यक्तिको आन्द्रामा विषाक्त ब्याक्टेरियाको वर्चस्व हुन्छ। विषाक्त जीवाणुले महारोगलाई उकास्ने भएकाले क्यान्सरबाट बच्न जंक खान्की अनि बोतलको झोलबाट टाढै बस्नुपर्ने देखिन्छ। त्यस्तै गत वर्ष प्रकाशित एक अध्ययनले प्लास्टिकका सूक्ष्म भाग ‘माइक्रोप्लास्टिक’ले समेत क्यान्सरलाई उकास्ने देखाएकाले यथाशक्य प्लास्टिकको प्रयोग कम गर्दा हित हुने थाहा भइसकेको छ।
दिनचर्या, खान्की, मधपान, धूमपान अनि भौतिक विकासलगायतका सबै सूचकाङ्कले क्यान्सरलाई उकासेपछि नेपाललगायत संसारका सबै देशमा क्यान्सर रोगीको संख्या बढ्नु अस्वाभाविक भएन। जसरी कार्बन उत्सर्जनलाई नियन्त्रण गरी पृथ्वीको तापक्रम घटाउन सम्भव छैन, त्यसैगरी क्यान्सरका रोगीको घनत्व न्यूनीकरण पनि असम्भव देखियो। एक अमेरिकी संघीय प्रतिवेदनले एक सय व्यक्तिमा झन्डै ४० जनाले आफ्नो जीवनकालमा क्यान्सरको सामना गर्नुपर्ने बतायो। त्यस्तै एक अर्को आँकलनले ५० औँ जन्मदिनअघि नै झन्डै ३० पुरुषमा एक अथवा २० महिलामा एक स्त्रीले क्यान्सरको इलाज गर्नुपर्ने देखाएबाटै क्यान्सर आफ्नो समीपमा रहेको सबैले हेक्का राख्न जरुरी रह्यो।
क्यान्सरको भयानकताले विज्ञान पनि लाचार हुँदैछ। न्युर्योर्कस्थित ‘मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर’की सहनिर्देशक डा. एन्ड्रिया सेरसेक क्यान्सरको भयानकताको जवाफका लागि विज्ञानसँग उत्तर नभएको भन्छिन्। कुनै पनि किसिमको खराब आदत अनि पारिवारिक पृष्ठभूमिले समेत क्यान्सरको छनक नदेख्ने उमेर समूहमा किन क्यान्सर लाग्छ भन्न असमर्थता व्यक्त गर्छिन् सेरसेक। विज्ञानसँग उत्तर नभएको हो अथवा अहिलेको अन्वेषणले क्यान्सरको उत्पत्तिको कारक ठम्याउन नसकेको हो भन्न कठिन छ।
कुनै पनि खराब बानी नभएको व्यक्ति किन क्यान्सरको सिकार बन्छ अनि विज्ञानले क्यान्सरको कारक देखेको व्यक्ति किन दुरुस्त हुन्छ, त्यसको उत्तर केवल भगवान्ले मात्र दिन सक्लान्। क्यान्सर रोगीको संख्या औद्योगिकीकरणपछि बढेको तथ्यलाई स्मरण गर्दै सम्भव भएसम्म आफ्ना हजुरबा र आमा पुस्ताले बिताएको जीवनशैलीको अनुकरण गर्दा क्यान्सरलाई न्यून गर्न सकिने सम्भाव्यता देखिन्छ। धूमपान/मदपान अनि चलानी खान्कीदेखि पर बस्दै स्वस्थ भोजन र भगवत् भक्तिलगायतका अन्य आध्यात्मिक विधिमार्फत चिन्ता न्यूनीकरण गर्दै सादगी जीवन व्यतीत गर्दा क्यान्सरलाई पर धकेल्न सकिन्थ्यो कि।
–पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: ६ फाल्गुन २०८१ ०९:३१ मंगलबार