क्यानाडाको डढेलोको धुवाँले अमेरिका आक्रान्त, ट्रम्पद्वारा थप भन्सार लगाउने चेतावनी



प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार

क्यानाडाको डढेलोको धुवाँले अमेरिका आक्रान्त, ट्रम्पद्वारा थप भन्सार लगाउने चेतावनी

क्यानडाको डढेलोको धुवाँले क्लिभल्यान्ड ढाकिएपछि पिट्सबर्ग पाइरेट्स र क्लिभल्यान्ड गार्डियन्सबीचको बेसबल खेल स्थगित। तस्बिर : स्यू ओग्रोकी/एपी/रासस

क्यानाडाको जङ्गलमा लागेको भीषण डढेलोका कारण निस्किएको धुवाँ छिमेकी मुलुक अमेरिकाका विभिन्न सहरहरूमा फैलिएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप तिक्तता सृजना भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा लागेको डढेलोको धुवाँ अमेरिकातर्फ आएको भन्दै क्यानाडामाथि थप भन्सार शुल्क लगाउने धम्की दिएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै क्यानाडाले आफ्नो वनजङ्गल र बुट्यानहरूको उचित व्यवस्थापन नगरेका कारण अमेरिकाले प्रदूषित र अस्वस्थकर हावाको सामना गर्नुपरिरहेको आरोप लगाएका छन्। उनले यसलाई क्यानाडाको लापरबाही भन्दै यसबाट अमेरिकाले व्यहोर्नुपरेको क्षतिको मूल्य अब क्यानाडाले तिर्नुपर्ने भन्सार शुल्कमा थपिने चेतावनी दिएका छन्।

यसअघि नै अमेरिकाले क्यानाडाली स्टिल र अटो क्षेत्रमा लगाएको भारी भन्सार शुल्कका कारण दुई देशबीचको व्यापारिक वार्ता अवरुद्ध भइरहेका बेला यो नयाँ विवाद थपिएको हो।

अमेरिकी राष्ट्रपतिको पछिल्लो धम्कीबारे क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सीधा प्रतिक्रिया नदिए पनि जलवायु परिवर्तनको सामना गर्नु अमेरिकासहित विश्वका सबै देशहरूको साझा जिम्मेवारी भएको बताएका छन्। अर्कातर्फ, ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले विगतमा क्यानाडाले क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा अमेरिकालाई सहयोग गरेको स्मरण गराउँदै अहिले संकटको घडीमा अमेरिकाबाट पनि त्यस्तै सहयोगको अपेक्षा गरेको बताएका छन्।

डढेलोको धुवाँका कारण अमेरिकी सहर डेट्रोइटको वायु गुणस्तर सूचकांक विश्वकै सबैभन्दा खराब अवस्थामा पुगेको छ। राजधानी वासिङ्टन डीसीमा अत्यन्त अस्वस्थकर चेतावनी जारी गरिएको छ भने सिकागो र न्युयोर्क जस्ता ठूला सहरहरू पनि निकै प्रभावित भएका छन्। वायुमण्डलमा बाक्लो धुवाँ र कम दृश्यात्मकताका कारण वासिङ्टनबाट सिकागो जाने उडानहरू समेत प्रभावित भएका छन्। न्युयोर्क सहरमा नागरिकहरूलाई नि:शुल्क एन-९५ मास्क वितरण गर्न थालिएको छ।

वैज्ञानिक तथा विशेषज्ञहरूका अनुसार डढेलोको मुख्य कारण जलवायु परिवर्तनले गर्दा बढेको अत्यधिक गर्मी र खडेरी हो। मौसम र हावाको बहावले अन्तर्राष्ट्रिय सीमाना नहेर्ने भन्दै विज्ञहरूले यसका लागि क्यानाडालाई मात्र दोष दिनु गलत हुने टिप्पणी गरेका छन्। क्यानाडाको ओन्टारियोमा मात्रै अहिले १९० भन्दा बढी स्थानमा डढेलो लागिरहेको छ, जसलाई पूर्ण रूपमा नियन्त्रणमा आउन अझै केही हप्ता वा महिना लाग्न सक्ने अनुमान गरिएको छ।





Source link

Leave a Comment