प्रकाशित मिति : पुस २०, २०८२ सोमबार

दक्षिण कोरियाको न्याय मन्त्रालयले त्यहाँ अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूका लागि २८ फेब्रुअरी २०२६ सम्म लागू हुने गरी ‘विशेष स्वैच्छिक प्रस्थान प्रणाली’ सार्वजनिक गरेपछि नेपाली राजदूतावासले नेपालीहरूलाई स्वदेश फर्कन अनुरोध गरेको छ। यस योजना अन्तर्गत तोकिएको समयभित्र स्वैच्छिक रूपमा स्वदेश फर्कने अवैधानिक विदेशीहरूलाई जरिवाना छुट दिनुका साथै पुनः प्रवेशमा लगाइने प्रतिबन्ध समेत निलम्बन गर्ने निर्णय गरिएको छ।
दक्षिण कोरियास्थित नेपाली राजदूतावास, सिओलले एक सार्वजनिक सूचना जारी गर्दै कोरियामा रहेका नेपाली नागरिकहरूलाई यो अवसरको सदुपयोग गरी सुरक्षित रूपमा नेपाल फर्कन विशेष अपिल गरेको हो। न्याय मन्त्रालयका अनुसार अवैधानिक रूपमा दक्षिण कोरिया प्रवेश गरेका, नक्कली राहदानी प्रयोग गरेका, आपराधिक क्रियाकलापमा संलग्न भएका, यसअघि नै जारी भएको निष्कासन आदेश पालना नगरेका र सन् २०२५ डिसेम्बर १ पछि मात्र अवैधानिक भएका व्यक्तिहरू यस योजनामा सहभागी हुन पाउने छैनन्। यी बाहेकका अन्य अवस्थामा अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले मात्र यो विशेष सहुलियतको लाभ उठाउन सक्नेछन्।
स्वैच्छिक रूपमा स्वदेश फर्कन चाहने व्यक्तिहरूले आफ्नो राहदानी र हवाई टिकटसहित आफू बसेको क्षेत्र नजिकैको अध्यागमन कार्यालयमा उपस्थित भएर ‘स्वैच्छिक प्रस्थान रिपोर्ट फाराम’ बुझाउनुपर्नेछ। यस्तो फाराम प्रस्थान गर्ने दिनभन्दा कम्तीमा ३ कार्यदिन अगाडि वा सार्वजनिक बिदा परेको खण्डमा १५ दिन अगावै बुझाउनुपर्ने प्रावधान छ। यो प्रक्रिया अनलाइनमार्फत पनि गर्न सकिने र अनलाइन फाराम भरेको खण्डमा प्रस्थान गर्नुभन्दा ४ घण्टा अगाडि विमानस्थलस्थित अध्यागमन कार्यालयमा अन्तिम प्रमाणीकरणका लागि सम्पर्क गर्नुपर्ने राजदूतावासद्वारा जारी सूचनामा भनिएको छ।
यो व्यवस्थाले अवैधानिक रूपमा कोरियामा रहेकाहरूको संख्यामा कमी आउने विश्वास कोरियाको न्याय मन्त्रालयले लिएको छ। स्वैच्छिक प्रस्थान सम्बन्धमा समस्या भएमा वा कुनै सहयोग आवश्यक भएमा दक्षिण कोरियाको अध्यागमन सूचना केन्द्रको नम्बर १३४५ मा सम्पर्क गर्न सकिने राजदूतावासले जनाएको छ।