के भन्छन् ‘नागरिक नायक’?


डा. रामकण्ठ माकजु श्रेष्ठ र देवी खड्का ‘नागरिक नायक २०८१’ हुन् । नेपाल रिपब्लिक मिडियाले बर्सेनि घोषणा गर्दै आएको नागरिक नायकको यस शृङ्खलामा समाजमा उत्कृष्ट योगदान पुर्‍याएका यी दुई व्यक्तित्व थपिएका हुन्। ‘नागरिक नायक सम्मान’ कार्यक्रममा नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलले डा. रामकण्ठ माकजु श्रेष्ठसँग गरेको संवादको सम्पादित अंश:

तपाईंलाई स्वास्थ्य क्षेत्रमै काम गर्नुपर्छ भन्ने किन लाग्यो?

चिकित्सकले बिरामी हेर्नु स्वाभाविक हो। तर यही क्रममा कहिलेकाहिँ चाहिँ समाजमा केही परिवर्तन र नौलोपन दिन सकिन्छ। ७० वर्ष स्वतन्त्रताका लागि लडिरहेको हाम्रो समाज हो। यहाँ राम्रा कुरा धेरै भएका छन्। पत्रिका र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। स्वास्थ्य क्षेत्रमै लागेर समाजमा केही गर्ने रहरले यसमा अडिग राख्यो।

कस्तो बुद्धिले सफलताको बाटो डो¥याउँछ?

समयअनुसार कुरा फेर्नेले केही गर्न सक्दैन। उसले देश त छाडिदेऊ, परिवार नि बनाउन सक्दैन। अहिलेको समयमा राजनीतिज्ञले नीति बनाइदिने हो। पुलको डिजाइन हेर्ने होइन। सर्जनको हिसाबले मैले हेर्ने भनेको बिरामीको पीडा हो। ऊसँग के छ/छैन भन्ने होइन। बाँच्ने आशा १० प्रतिशत भए पनि त्यसैलाई शतप्रतिशत बनाउने हाम्रो लक्ष्य रहन्छ। हामी सानो आशामा पनि अगाडि बढ्ने मान्छे हौं।

नेताले नियम कानुन बनाउनुपर्‍यो। काम गर्नेले आफ्नो काम राम्रोसँग गर्ने हो। सधैं कसैलाई सोधेर मात्र अगाडि बढिन्न। विवेक प्रयोग गर्नुपर्छ। २५ वर्ष अगाडि १८ ठाउँमा ‘आउटरिच’ बनाउँछु भनेको भए बन्थ्यो होला? अथवा मैले मेरो बुबालाई विदेशी केटी बिहे गर्छु भनेको भए मान्थे होलान्? अनि यो कान्लै कान्लामा त्यस्तो अस्पताल बनाउने डिजाइन कसैले गरिदिन्थ्यो होला। नेतृत्व गर्ने मान्छे नै अगाडि बढ्ने हो।

त्यस्तै स्वास्थ्यको कुरामा धर्म, जात, रङ केही हेरिनुहुन्न। धनीगरिबको त कुनै कुरा नै हुँदैन। उपचार सबैले पाउनुपर्छ। दुखाइ धनीगरिबको एउटै हो। आगोले धनीलाई र गरिबलाई उत्तिकै पोल्छ। अनि भोक र दुखाइ पनि एकै हो।

यति जान्नलाई कुनै झन्डा बोक्नुपर्दैन। सामान्य विवेकले बुझिन्छ। मान्छे एक पटक जन्मने हो, एकपटक मर्ने हो। बिचको कुरामा हामी किन अल्झिने?

तपाईं राजनीतितर्फ त चासो दिनुहुन्न तर पनि भन्नुस् न, वास्तविक हिसाबको कम्युनिस्ट कस्तो होला? कहिलेकाहीं तपाईं आफैं नेताहरूलाई जिस्क्याउनुहुन्छ– ‘तपाईं के कम्युनिस्ट, म पो कम्युनिस्ट’।

कम्युनिस्टभन्दा पनि कम्युनिटी (समुदाय)बाट यो शब्द आएको हुन सक्छ। कम्युनिटी अस्पताल भन्नेबित्तिकै सामान्य होला भन्ने थियो। हो, नाउँ कम्युनिटी नै हो। मान्छेबाट परिवार बन्छ। परिवारबाट कम्युनिटी बन्छ। कम्युनिटीबाट मुलुक बन्छ। अनि मुलुकहरू मिलेर संसार बन्छ। सायद कम्युनिटीबाटै कम्युनिस्ट भएको हो कि। तर मैले राजनीति जानेको विधा नभएकाले यसबारे बोल्दिनँ।

धुलिखेल अस्पतालमा सरल मूल्यमा कसरी राम्रो सेवा सम्भव भयो?

गुणस्तर हुनलाई महँगो नै हुनुपर्छ र? अहिले त मान्छे कि भिड मन पराउँछन् कि महँगो। तर त्यस्तो होइन। भिड त मम खाने ठाउँमा भेटिन्छ। तर त्यो पनि राम्रै हुन्छ भन्ने हुन्न। काम राम्रो गर्ने हो। बोल्नेको पिठो बिक्छ भन्छन्, के राम्रै पिठो भएकाले बोल्नैपर्छ? हो, समाजलाई रूपान्तरण गर्नुपर्छ। मैले देवी (देवी खड्का)जीको कुरा सुनें। उहाँहरू हरूवा होइन। साँचो अर्थमा जितुवा हो। उहाँले आधा जनसंख्याको प्रतिनिधित्व गर्नुहुन्छ।

उहाँले अघि भनेजस्तो त्यस्ता पीडितहरूको उपचारको समस्या भए हामी तयार छौं। तपाईंको ३–४ सय संख्या ठुलो समस्या होइन। हामी भाषण गर्न सक्दैनौं। तर उपचार गर्छौं। समस्या छ भने आउनुस्, धुलिखेल अस्पतालमा स्वागत छ।

यहाँ हामीले सक्षम कर्मचारी राखेका छौं। १५ सयमा एक जना पनि आफ्नो मान्छे छानेको छैन। नेतृत्वमा जाने मान्छेले आफ्नो होइन, राम्रो छान्ने हो। त्यसो भयो भने नेपालमै सबै कुरा सम्भव छ। यहाँ हुँदैन भन्ने छैन। यहाँ पनि उच्च स्तरका प्रविधि भित्रिएका छन्। हाम्रै अस्पतालमा पनि सिकागो, सिंगापुर, टोकियोमा जे हुन्छ, त्यो विधि आएको छ। हरेक विधामा उपचार हुन्छ, नयाँ प्रविधिबाट। गुणस्तरका लागि सधैं महँगो नै हुनुपर्छ भन्ने छैन। यहाँको खाजा र खाना खाने क्यान्टिन महँगो छैन।

यति सस्तो सेवासुविधा कसरी सम्भव भयो?

सेवा एउटा निःस्वार्थ कर्म हो। यस्तो गुणस्तर पढाएर मात्र आउने होइन। पैसा कमाउन गरेको केयर (सेवा) साँचो अर्थमा केयर होइन। यो व्यापार हो। गीतामा भनिएको जस्तो ‘नित्य कर्म गर, फलको प्रतीक्षा नगर’ भन्ने भाव हामीमा छ। यसले हामीलाई सफलताको बाटोमा लगेको छ।

के भन्छन् ‘नागरिक नायक’?

अनि अर्को कुरा समयको महत्त्व हुनुपर्छ। नेताले कार्यक्रममा ढिला आउने होइन। चाँडो आएर अरूलाई पनि समयको महत्त्व बुझाउने हो। नमस्कारको प्रतीक्षा गर्ने होइन, पहिला आफूले गरेर नमस्कार प्राप्त गर्ने हो। तपाईं नमस्कार गरेर हेर्नुस्, अर्कोले पक्कै फर्काउँछ।

धेरै अस्पतालमा बिरामी नै जानुपर्छ। अचेल धुलिखेल अस्पताल आफैं बिरामीको घरैसम्म जान्छ होइन?

धुलिखेल अस्पताल धनीगरिब सबैका लागि हो। गुणस्तरीय सेवाका लागि कतिपय अवस्थामा चिकित्सकहरू बिरामीको घरमै पनि पुग्ने गरेका छन्। बिरामीलाई चार जनाले बोकेर ल्याउनुभन्दा हाम्रा युवा चिकित्सक त्यहीं पुगेर उपचार गर्छन्।

यो हामीले सन् २०१५ को भूकम्पबाट सिकेका हौं। त्यति बेला अस्पताल बिरामीले भरिभराउ थियो। हामीले सबैलाई समान ढंगले उपचार गर्‍यौं। अस्पतालमा बिरामी अट्ने अवस्था थिएन। कतिपय ठाउँमा घरमै पुग्यौं, जसरी उनीहरूको आँगनमा गएर सेवा गर्नु लक्ष्य थियो। त्यसैकारण १८ ठाउँमा आउटरिच बनायौं। कोभिडबाट पनि हामीले थुप्रै कुरा सिक्यौं। हामीसँग झन्डै एक लाख बिरामीको घरमै पुगेर उपचार गरेको अनुभव छ।

सेवाभाव भएका यस्ता राम्रा विचार कहाँबाट आउँछन्?

दुरी भनेको किलोमिटर वा माइल होइन। गाउँघरतिर त यो एक दिन, दुई दिन या साता हुन्थ्यो। दूरदराजबाट आउने बिरामीका ९० प्रतिशतभन्दा बढी मान्छेको चप्पल पनि हुँदैनथ्यो। कतिले अस्पतालमै बच्चा छाडेर पनि गए। हामीकहाँ दिनमा दुई हजार/२५ सय बिरामी आउँछन्। टेक्ने ठाउँ पनि छैन। सेवाका लागि नौ बजे दिने सेवा सात बजे सार्‍यौं। बेलुका पाँच बजेको समयले नपुगेर साँझको समय पनि थप्ने तयारीमा छौं।

स्वास्थ्य क्षेत्रको यो धुलिखेल मोडल सबैतिर विस्तार गर्नु कत्तिको जरुरी छ?

यो हुनु त पर्छ पर्छ। कसले गर्ने भन्दा हामीले नै गर्ने हो। तर यस्ता प्रश्न मतिर होइन, उतातिर (मञ्चमा रहेका नेता देखाउँदै) गर्नुस्। हामी त प्राविधिक मात्र हौं। कतिपय कुरा नीतिनिर्माण गर्नेको कलम र कागजमा भर पर्छ। मानव भएर मानवलाई सहयोग गर्न सक्नु उत्कृष्ट गुण हो।

नेताले मतदाताको विश्वास जित्नुपर्छ। त्यसो भयो भने जनताबाट हारिने डर हुँदैन। बिरामीले नै डाक्टरलाई मन पराए भने कुनै अप्रिय घटना हुँदैन। त्यस्तै विद्यार्थीले शिक्षकलाई मन पराए त्यो अवस्था कति राम्रो हुन्छ। नेताजीले जनताको मन जिते कसले च्यालेन्ज गर्छ।

त्यसैले अब आशावादी भएर अगाडि बढ्नुपर्छ। जहिले पनि यो हुँदैन त्यो हुँदैन भन्ने होइन। हुन्छ, सकिन्छ भन्ने हो। 

प्रकाशित: १५ वैशाख २०८१ ०९:५७ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School