प्रकाशित मिति : २२ असार २०८३, सोमबार

तस्बिर: विवेक कुमार
यदि तपाईंको बच्चाले १४ वर्षभन्दा पहिले नै ग्रिन कार्ड प्राप्त गरेको छ भने उनीहरूका लागि एक विशेष अध्यागमन नियम छ । उक्त नियमअनुसार उनीहरूको ग्रिन कार्डको म्याद १६ वर्ष नाघेपछि सकिँदै छ भने बच्चा १४ वर्ष पुगेको ३० दिनभित्र आई ९० फाराम भरेर ग्रिन कार्ड प्रतिस्थापनका लागि आवेदन दिनुपर्ने हुन्छ ।
१४ वर्ष नपुग्दै कुनै बच्चाले ग्रिन कार्ड पाएमा उक्त बच्चालाई सामान्यतया १० वर्षका लागि मान्य ग्रिन कार्ड जारी गरिन्छ । तर, १४ वर्षमुनिका बालबालिकालाई ग्रिन कार्ड जारी गर्दा बायोमेट्रिक्स प्रदान नगरिने भएकाले १४ वर्ष पुगेपछि प्रतिस्थापनका लागि आवेदन दिन आवश्यक हुने कानुन व्यवसायीको सुझाव छ ।
यदि बच्चाको ग्रिन कार्ड उनीहरूको १४औं जन्मदिनअघि जारी गरिएको थियो र १६औं जन्मदिनपछि म्याद सकिन्छ भने उनीहरूको १४औं जन्मदिनपछि ३० दिनभित्र फाराम आई ९० दायर गर्नुपर्छ । यसरी यूएससीआईएसले नाबालिगहरू आवश्यक उमेर पुगेपछि बायोमेट्रिक्स संकलन गर्छ ।
समयमै फाइल गरेमा आई ९० का लागि लाग्ने शुल्क छुट हुनेछ । तर, बायोमेट्रिक्स शुल्क भने अझै पनि लागू हुन सक्छ । अर्थात्, बच्चा १४ वर्ष पुगेको ३० दिनभित्र आई ९० फाइलिङ शुल्क लाग्दैन । तर, ३० दिनभन्दा बढी ढिलो भएमा पूर्ण शुल्क तिर्न आवश्यक हुन्छ । अर्थात्, कागजी रूपमा फाइल गर्दा ४६५ र अनलाइनबाट फाइल गर्दा ४१५ डलर शुल्क लाग्नेछ ।
यदि बच्चा १४ वर्ष वा माथिको छ भने तपाईंले बच्चाको नाममा यूएससीआईएएसमा अनलाइन अकाउन्ट बनाएर फाराम आई ९० फाइल गर्न सक्नुहुन्छ । साथै अभिभावकको अनलाइन एकाउन्ट प्रयोग गरेर पनि फाइल गर्न सकिन्छ । विशेषगरी बच्चा यूएससीआईएसको प्रणालीसँग परिचित छैन भने अभिभावकको एकाउन्ट प्रयोग गर्न सकिन्छ ।
यदि तपाईंले ३० दिनभित्र फाइल गर्न छुटाउनुभएको खण्डमा पनि बच्चाको स्थायी बासिन्दाको कानुनी स्थितिलाई भने असर गर्दैन । तिनीहरू कानुनी स्थायी बासिन्दा नै रहन्छन् । यद्यपि तपाईंले शुल्क छुट पाउनु हुनेछैन भने तपाईंले आई ९० फाराम भर्दा पूर्ण शुल्क तिर्नुपर्नेछ । साथै बायोमेट्रिक्स पनि दिनुपर्नेछ । ३० दिनभित्र छुटाएकाहरूका लागि कुनै औपचारिक जरिबाना वा नयाँ म्याद नभए पनि सकेसम्म चाँडो फाइल गर्नु बुद्धिमानी हुने कानुन व्यवसायीको सुझाव छ ।
ढिलो फाइलिङले केवल लागत थपिनेबाहेक कानुनी परिणामहरू ननिम्त्याउने कानुन व्यवसायी बताउँछन् । त्यसैले ३० दिनको म्याद छुटे पनि नआत्तिन बरु छिटो फाइल गर्न सुझाव दिइएको छ । यद्यपि यात्रा गर्दा अमेरिकी भन्सार तथा सीमा सुरक्षा सीबीपीका अधिकारीहरूले पुरानो ग्रिन कार्डको जाँच गर्न सक्छन् । जसले गर्दा अमेरिकामा पुन प्रवेश गर्दा ढिलाइ वा समस्याहरू हुन सक्छन् । म्याद सकिएको छैन भने पुनः प्रवेशका लागि उक्त ग्रिन कार्ड अझै पनि प्रयोग गर्न सकिन्छ । तर, पुरानो फोटोले चिन्ता बढाउन सक्छ ।
यदि तपाईंको बच्चा १४ वर्षको भएपछि ग्रिन कार्ड जारी गरिएको थियो वा ग्रिन कार्डको म्याद उनीहरूको १६औं जन्मदिनअघि समाप्त हुने भएमा वा बच्चाले पहिले नै अर्को कारणले फाराम आई ९० बुझाइसकेको भएमा भने यो नियम लागू हुँदैन । त्यस्तो अवस्थामा म्याद सकिनुअघि तपाईंले सामान्यतया गर्नेजस्तै ग्रिन कार्ड नवीकरण गर्नुपर्छ ।
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)