केही समयअघि भारतको अरुणाचल प्रदेश पुग्ने अवसर मिल्यो। त्यहाँका मानिसको नेपाल र नेपालीप्रतिको आत्मीयता देखेर म निकै भावुक भएँ। त्यति मात्र होइन, आफ्नै माटोमा उत्पादन भएका वस्तुलाई प्रवर्धन गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उनीहरूको मेहनत र दूरदृष्टिले मलाई गहिरो रूपमा प्रभावित गर्यो। छोटो बसाइमै मैले कृषि, पर्यटन र स्थानीय उत्पादनलाई जोडेर कसरी रोजगारी सिर्जना गर्न सकिन्छ र समृद्धिको आधार तयार गर्न सकिन्छ भन्ने जीवन्त उदाहरण देखेँ।
अरुणाचलको त्यो अनुभवले मलाई बारम्बार नेपालका युवाहरूको सम्झना गरायो, जो अवसरको खोजीमा दिनहुँ बिदेसिन बाध्य भइरहेका छन्। हामीले पनि आफ्नै स्थानीय उत्पादन, कृषि र पर्यटनलाई जोडेर कृषिपर्यटनको विकास गर्न सक्यौं भने हजारौं युवाका लागि स्वदेशमै रोजगारी र उद्यमशीलताका नयाँ ढोका खुल्न सक्छन्। यही सम्भावनाप्रति सबैको ध्यानाकर्षण गराउने उद्देश्यले यो लेख लेखेकी हुँ।
‘पहिलो कुरा त हामी नेपालीजस्तै देखिन्छौं। हामी घरमा र जंगलमा नेपालीहरूसँगै बस्छौं र अरुणाचल प्रदेशमा धेरै नेपाली छन्,’ अरुणाचल प्रदेशको डम्बुकस्थित नेफा अरेन्ज फार्मका मालिक टोकबोम बोराङ भन्छन्। उनका अनुसार अरुणाचलवासीहरूले नेपालीहरूमाथि विश्वास गर्छन्, किनकि उनीहरू झुट बोल्दैनन्। ‘सायद सय जनामध्ये एक–दुई जना मदिरा सेवन गर्ने वा अन्य व्यवहार गर्ने होलान् तर यहाँका ८० प्रतिशत नेपाली मूलका भारतीय नागरिक अत्यन्तै विश्वासिला र सम्मानित छन्। त्यसैले मलाई नेपालीहरू धेरै मन पर्छ,’ उनले भने।
यति भनेर उनले मलाई आश्चर्यचकित पार्दै पुरानो तर लोकप्रिय नेपाली गीत ‘कान्छी रे कान्छी’ गुनगुनाउन थाले। उनले अभिनेत्री मनीषा कोइरालाका चलचित्र हेर्न मन पर्ने बताए र मसँग केहीबेर नेपाली भाषामै संवाद पनि गरे। डिबाङ उपत्यकाको डम्बुकमा आयोजित ‘अरेन्ज फेस्टिभल अफ म्युजिक एन्ड एडभेन्चर’ (ओफाम) मा सहभागी हुन पुगेका बेला मेरो भेट बोराङसँग उनको सुन्तला बगैंचामा भएको थियो। त्यहाँ नेपाल र नेपालीलाई मन पराउने धेरै अरुणाचलीहरूसँग भेटेर म सुखद रूपमा आश्चर्यचकित भएँ।
अरुणाचल प्रदेश सरकारले पर्यटन प्रवर्धनलाई प्राथमिकता दिएको छ। त्यहाँ नेपाल र अरुणाचल प्रदेशबिचको बुद्धसँग जोडिएको सम्बन्धलाई ‘बौद्ध सर्किट’का रूपमा विकास गर्ने ठुलो सम्भावना देखिएको छ। मैले भेटेका आसामी र भारतका अन्य भागका साथीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको शासनशैली, विशेषगरी प्रेस स्वतन्त्रता र मानव अधिकारका विषयमा केही असहमति भए पनि मोदी नेतृत्वको सरकारले भारतका आठ उत्तरपूर्वी राज्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको कुरामा सहमति जनाए।
अरुणाचल प्रदेशको भौगोलिक बनावट र सांस्कृतिक परिवेश थाइल्यान्ड, म्यानमार, भारतका अन्य उत्तरपूर्वी राज्यहरू तथा नेपालको पूर्वी भेगसँग धेरै मिल्दोजुल्दो छ। हिमाल, पहाड र ब्रह्मपुत्रजस्ता नदीहरूले भरिएको यो राज्य प्राकृतिक सौन्दर्य र आध्यात्मिक रुचि भएका मानिसहरूलाई आकर्षित गर्छ। भारतको भूमिमा सबैभन्दा पहिले सूर्यको किरण पर्ने भएकाले यसलाई ‘ल्यान्ड अफ द डन–लिट माउन्टेन्स’ अर्थात् ‘उदाउँदो घामले उज्यालो बनाएको पहाडहरूको भूमि’ भनिन्छ। चीन, भुटान र म्यानमारसँग सीमा जोडिएको यो भारतकै सबैभन्दा दुर्गम राज्यहरूमध्ये एक हो।
अरुणाचलबाट नेपालले सिक्नुपर्ने स्थानीय उत्पादनमा आधारित उद्योग र कृषि पर्यटनको विकासका सन्दर्भमा धेरै कुरा छन्। अरुणाचल प्रदेश अत्यन्तै मिठा सुन्तलाको उत्पादनका लागि प्रसिद्ध छ। त्यहाँ उत्पादित सुन्तला भारत बाहिरसमेत निर्यात भइरहेको छ, जुन पर्यटनसँगै आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको छ।
अरुणाचल सरकारले डम्बुक अरेन्ज फेस्टिभलजस्ता उत्सव आयोजना गर्न थालेको छ, जसले सुन्तलाको निर्यात प्रवर्धन गर्नुका साथै भारतका विभिन्न राज्य र अन्य देशका पर्यटकलाई आकर्षित गरेर पर्यटनलाई पनि प्रोत्साहन गरेको छ। नेपालले पनि सुन्तला, स्याउ र अन्य स्वादिला स्थानीय फलफूलको प्रवर्धन गर्न यस्ता उत्सव आयोजना गर्नेबारे सोच्न सक्छ।
टोकबोम बोराङले सन् २०१८ मा सुरु गरेको आफ्नो बगैंचामा १४–१५ लाख रुपैयाँ लगानी गरेर एक करोड रुपैयाँ आम्दानी गरेको बताए। ‘नौ वर्षदेखि म निरन्तर आम्दानी गरिरहेको छु। म धेरै मानिसलाई रोजगारी दिन्नँ तर मुख्यतः महिला समूह र युवालाई काममा लगाउँछु। उनीहरूले मबाट लाभ लिन्छन् र म उनीहरूबाट। मैले कुनै ऋण लिएको छैन तर सरकारले सुन्तला फार्म स्थापना गर्न सहयोग गरेको छ,’ उनले भने।
उनका अनुसार अरेन्ज फेस्टिभलजस्ता कार्यक्रमहरू उद्योगको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण छन्। ‘पहिले यहाँको अर्थतन्त्र फरक थियो। अहिले धेरै युवाले सानो वा ठुलो मात्रामा सुन्तला खेती सुरु गरेका छन् र राम्रो आम्दानी गरिरहेका छन्,’ उनले बताए।
उनले कुनै वर्ष दुई पटक सुन्तला निर्यात गरेका रहेछन्। खरिदकर्ता २००–३०० मजदुर लिएर बगैंचामै आए र २७ ट्रक सुन्तला लिएर गए। सबै सुन्तला टिप्न एक महिना लागेको थियो र ती सुन्तला दुबईसम्म निर्यात गरिएका थिए। बोराङको दाबी छ, उनको बगैंचा उत्तरपूर्व भारतकै सबैभन्दा ठुलो सुन्तला उत्पादक हो।
अरेन्ज फेस्टिभलजस्ता कार्यक्रम र मोदी सरकारको उत्तरपूर्वी राज्यहरूमा सडक विस्तार गर्ने योजनाले त्यहाँको यातायात र सम्पर्कमा उल्लेखनीय सुधार ल्याएको छ। यसले पर्यटन र निर्यात उद्योग दुवैलाई प्रवर्धन गरेको छ। स्थानीयवासीहरूका अनुसार कुनै समय अरुणाचल प्रदेश कालापानीजस्तै देशका अन्य भागसँग लगभग विच्छिन्न थियो।
सन् २०१७ मा प्रधानमन्त्री मोदीले उद्घाटन गरेको डा. भूपेन हजारिका पुल निर्माणपछि अरुणाचलको जनजीवनमा ठुलो परिवर्तन आएको छ। धौला र सदिया घाटलाई जोड्ने यो पुलले आसाम र अरुणाचल प्रदेशबिच स्थायी सडक सम्पर्क स्थापना गरेको छ। ९.१५ किलोमिटर लामो यो भारतकै सबैभन्दा लामो पुल हो, जुन भारी तौलका ट्यांकसमेत सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ। यस पुलले पर्यटन, व्यापार र जनआवागमनमा उल्लेखनीय वृद्धि गरेको छ।
अरुणाचल प्रदेशका मानिसहरूमा नेपाल र नेपाली समुदायप्रति विशेष आत्मीयता छ। नेपाली गीतहरू त्यहाँ अत्यन्तै लोकप्रिय छन्। विभिन्न नेपाली ब्यान्डहरूलाई नियमित रूपमा कार्यक्रममा आमन्त्रण गरिन्छ र अरुणाचलीहरू स्वयंले पनि नेपाली गीत प्रस्तुत गर्छन्।
नेपालले अरुणाचलबाट पर्यटन र स्थानीय उत्पादनको प्रवर्धनबारे धेरै कुरा सिक्न सक्छ। डिबाङ उपत्यकामा अवस्थित डम्बुक भारतको सबैभन्दा कम जनसंख्या भएको जिल्लामध्ये एक हो। नेपालमा जुम्ला, गोरखा, धनकुटालगायतका स्थानका स्याउ र सुन्तला उत्कृष्ट मानिन्छन्।
पछिल्ला वर्षमा म्याकाडेमिया नट र किवी खेतीको पनि सम्भावना देखिएको छ। सरकारले स्थानीय उत्पादनको उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ। गोरखाको सुन्तला र जुम्लाको स्याउलाई अरुणाचलको सुन्तलाजस्तै अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विकास गर्न सकिन्छ।
अरुणाचल प्रदेश र भारतका अन्य उत्तरपूर्वी राज्यहरूमा नेपालसँग धेरै समानता पाइन्छ। त्यहाँ २० देखि ३० प्रतिशतसम्म नेपाली मूलका बासिन्दा बसोबास गर्छन्, जो आफूलाई भारतीय नागरिकका रूपमा गर्वका साथ चिनाउँछन् तर आफ्नो नेपाली भाषा, संस्कृति र सम्पदालाई जोगाएर राखेका छन्।
अरुणाचलमा अफ–रोड ड्राइभिङ, जिपलाइन, ग्यास बेलुन, रिभर राफ्टिङ, ट्रेकिङ तथा सांस्कृतिक कार्यक्रमजस्ता साहसिक गतिविधि सञ्चालन गरिन्छ। ग्यास बेलुनबाहेक यी अधिकांश गतिविधि नेपालमा पनि लोकप्रिय छन्। त्यसैले भविष्यमा नेपाल र अरुणाचल प्रदेशबिच पर्यटन र साहसिक खेलकुदमा सहकार्यको सम्भावना पनि उत्तिकै छ।
नेपालमा पर्यटन क्षेत्रको सम्भावना अत्यन्तै ठुलो छ। पर्यटन मन्त्रालयले देशभर पर्यटन प्रवर्धनका लागि अनुकूल नीति निर्माण गर्नुपर्छ। जलविद्युत् परियोजनामा जति ध्यान दिइएको छ, त्यति ध्यान कृषि पर्यटनमा दिन सकिएको छैन, जबकि यस क्षेत्रमा उच्च प्रतिफल र रोजगारी सिर्जना गर्ने ठुलो सम्भावना छ।
हरेक वर्ष ठुलो संख्यामा नेपाली युवा रोजगारीका लागि मध्यपूर्व, मलेसिया र अन्य देशतर्फ जोखिमपूर्ण यात्रा गरिरहेका छन्। सुन्तला वा स्याउ बगैंचामा काम गर्न विदेश जाने सोच बनाएका युवालाई सरकारले आवश्यक सहयोग, सहुलियत ऋण, प्रविधि र बजार उपलब्ध गराएर आफ्नै गाउँमा उद्यमी बन्न प्रेरित गर्न सके कृषि पर्यटन नेपालको अर्थतन्त्रको एउटा बलियो आधार बन्न सक्छ।
प्रकाशित: २६ असार २०८३ ११:०९ शुक्रबार
