कृत्रिम बुद्धिमत्ता (एआई) : कामको प्रकृति बदलिन्छ, तर सबै जागिर हराउँदैनन् !



प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार

कृत्रिम बुद्धिमत्ता (एआई) : कामको प्रकृति बदलिन्छ, तर सबै जागिर हराउँदैनन् !

कृत्रिम बुद्धिमत्ता (एआई)ले विश्वभर रोजगारीको प्रकृतिमा ठूलो परिवर्तन ल्याउने भए पनि अधिकांश कर्मचारीहरूलाई पूर्ण रूपमा विस्थापित नगर्ने एक अध्ययनले देखाएको छ।

बोस्टन कन्सल्टिङ ग्रुपका अनुसन्धानकर्ताहरूले गरेको हालैको विश्लेषणअनुसार एआई आगामी तीन वर्षभित्र अमेरिकाका ५० प्रतिशतदेखि ५५ प्रतिशतसम्म रोजगारीलाई ‘पुन: आकार’ दिनेछ । यसको अर्थ ती कामहरू हराउने होइन, तर काम गर्ने तरिका र जिम्मेवारीमा महत्वपूर्ण परिवर्तन आउनेछ।

बोस्टन कन्सल्टिङ ग्रुपका प्रबन्ध निर्देशक तथा वरिष्ठ साझेदार म्याथ्यू क्रपले भने, ‘मानिसहरूले गर्ने काम फरक हुनेछ, यद्यपि काम भने अझै रहनेछ।’

यसैबीच, एआईको प्रभावले केही रोजगारी भने पूर्ण रूपमा हराउने सम्भावना पनि देखिएको छ। ग्रुपको प्रक्षेपणअनुसार आगामी पाँच वर्षभित्र अमेरिकाका १० प्रतिशतदेखि १५ प्रतिशतसम्म रोजगारी एआईद्वारा प्रतिस्थापन हुन सक्छन्।

क्रपका अनुसार कम्पनीहरूमा तत्कालै देखिने प्रतिक्रिया भनेको कर्मचारी कटौती र छँटनी गर्ने प्रवृत्ति हो, जुन दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ।

उनले भने, ‘अन्धाधुन्ध रूपमा जागिर कटौती गर्नु समाजका लागि पनि हानिकारक हुन्छ, किनकि मानिसहरूलाई रोजगारी आवश्यक छ। साथै, कम्पनीहरूका लागि पनि यो दीर्घकालीन रूपमा राम्रो रणनीति होइन।’

ग्रुपले व्यवसायिक नेतृत्वलाई एआईको प्रयोग कर्मचारी हटाउनभन्दा उनीहरूको क्षमतामा वृद्धि गर्ने दिशामा केन्द्रित गर्न सुझाव दिएको छ।

‘हामीले पुनःसीप (रिस्किलिङ)मा ध्यान दिनुपर्छ । काम गरिरहेका मानिसहरूलाई नयाँ क्षेत्रतर्फ रूपान्तरण गर्नुपर्छ’, उनले जोड दिए।

यसका लागि कम्पनीहरूले कर्मचारीलाई नयाँ सीप सिकाउने, फरक भूमिकामा स्थानान्तरण गर्ने तथा एआईसँग मिलेर काम गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरिएको छ।

ग्रुपले सरकारी श्रम तथ्यांकको आधारमा करिब १,५०० प्रकारका रोजगारीसँग सम्बन्धित कार्यहरूको अध्ययन गरेको थियो। यसबाट कुन पेशा एआईद्वारा सजिलै सुधार हुन सक्छ र कुन पेशा पूर्ण रूपमा प्रतिस्थापन हुन सक्छ भन्ने मूल्यांकन गरिएको हो।

विश्लेषणअनुसार, केही क्षेत्रमा एआईले लागत घटाउँदा कामको माग उल्टै बढ्न सक्छ। यसको प्रमुख उदाहरण सफ्टवेयर इन्जिनियरिङ हो।

क्रप भन्छन्, ‘धेरै कम्पनीहरूमा सफ्टवेयर विकासका थुप्रै कामहरू बाँकी छन्, तर उच्च लागतका कारण ती कामहरू गरिएका छैनन्। एआईले लागत घटाउँदा ती कामहरू पूरा हुने सम्भावना बढ्छ।’

तर सबै क्षेत्रमा अवस्था समान छैन। कल सेन्टर जस्ता क्षेत्रमा भने रोजगारी घट्ने सम्भावना बढी देखिएको छ।

ग्रुपको विश्लेषणअनुसार एआई ले नियमित प्रश्नहरूको जवाफ दिने काम सजिलै गर्न सक्ने भएकाले त्यस्ता सेवामा लागत घट्छ, तर सेवाको माग सोही अनुपातमा बढ्दैन।

‘यस अवस्थामा उत्पादकत्व बढ्दा आवश्यक कर्मचारी संख्या घट्ने सम्भावना बढी हुन्छ’, प्रतिवेदनमा उल्लेख गरिएको छ।

शारीरिक उपस्थिती वा अन्तरव्यक्तिगत सीप आवश्यक पर्ने पेशाहरू भने एआईबाट कम प्रभावित हुने बताइएको छ। जस्तै: प्लम्बर, स्वास्थ्य परामर्शदाता (थेरापिस्ट) लगायतका कामहरूमा एआईको प्रभाव सीमित रहने अनुमान गरिएको छ।

अर्थशास्त्रीहरूका अनुसार विगतका प्रविधिगत क्रान्तिहरू जस्तै एआईले पनि नयाँ प्रकारका रोजगारी सिर्जना गर्नेछ। तर ती कस्ता हुनेछन् भन्ने अहिले स्पष्ट छैन।

क्रप भन्छन्, ‘जब सामाजिक सञ्जाल सुरु भयो, ‘सोसल मिडिया इन्फ्लुएन्सर’ पनि एउटा पेशा बन्न सक्छ भनेर कसैले सोचेको थिएन।’





Source link

Leave a Comment