प्रकाशित मिति : १७ असार २०८३, बुधबार

अमेरिकी सीबीपीको प्रिक्लीअरेन्स । तस्विर: डोन बर्टन
अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले अमेरिका प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने यात्रुहरूको मोबाइल, ल्यापटप, र अन्य इलेक्ट्रोनिक उपकरणहरू खानतलास गर्ने सम्बन्धमा जनवरीमा नयाँ निर्देशिका जारी गरेको थियो। जनवरी १, २०२६ देखि पूर्ण रूपमा लागू भएको यस नयाँ निर्देशिकाले यसअघिको सन् २०१८ को पुरानो कार्यविधिलाई विस्थापित गरेको छ।
सीबीपीका कमिसनर रोड्नी एस. स्कटद्वारा हस्ताक्षरित यस नीतिले सीमा सुरक्षालाई मजबुत बनाउँदै यात्रुहरूको कानुनी अधिकार र गोपनीयताको रक्षा गर्ने दाबी गरेको छ। यस निर्देशिकाको मुख्य उद्देश्य अमेरिकाको अध्यागमन तथा भन्सार कानुनको पालना गराउनुका साथै आतंकवाद, बाल अश्लीलता, प्रतिबन्धित वा वर्गीकृत सूचनाको अवैध ओसारपसार, र वित्तीय अपराध जस्ता गैरकानुनी गतिविधिहरू रोक्नु रहेको छ।
नयाँ निर्देशिका अनुसार इलेक्ट्रोनिक उपकरणहरूको जाँचलाई दुई भागमा वर्गीकरण गरिएको छ, जसमा ‘साधारण खोजतलास’ र ‘विशेष खोजतलास’ रहेका छन्। साधारण खोजतलास अन्तर्गत सीबीपी अधिकारीहरूले कुनै पनि पूर्व शङ्का वा वारेन्ट बिना नै यात्रुको उपकरणमा उपलब्ध तस्विर, म्यासेज वा फाइलहरू म्यानुअल रूपमा हातले खोतलेर हेर्न सक्छन्।
तर, उपकरणको डाटा कपी गर्न वा विस्तृत फरेन्सिक विश्लेषण गर्नका लागि बाह्य सफ्टवेयर वा उपकरण जडान गरिने ‘विशेष खोजतलास’ का लागि भने कडा नियम बनाइएको छ। यस्तो एड्भान्स्ड सर्च गर्नका लागि अधिकारीहरूसँग सम्बन्धित यात्रुले कानुन उल्लङ्घन गरेको “मनासिब शङ्का” वा स्पष्ट राष्ट्रिय सुरक्षा चासो हुनुपर्नेछ र यसका लागि उच्च तहको सुपरीवेक्षकको पूर्व स्वीकृति अनिवार्य गरिएको छ।
यात्रुहरूको डिजिटल गोपनीयतालाई मध्यनजर गर्दै निर्देशिकाले सीबीपी अधिकारीहरूलाई क्लाउड डाटामा पहुँच बनाउन स्पष्ट रूपमा प्रतिबन्ध लगाएको छ। अधिकारीहरूले उपकरणमा भौतिक रूपमा भण्डारण भई त्यहाँको अपरेटिङ सिस्टमबाट सिधै देखिने डाटा मात्र हेर्न पाउनेछन् र अनलाइन वा क्लाउड जस्तै गुगल ड्राइभ वा आईक्लाउडमा मात्र सुरक्षित रहेका विवरणहरू जानाजानी हेर्न पाउने छैनन्। यो नियम सुनिश्चित गर्नका लागि जाँच प्रक्रिया सुरु गर्नुअघि अधिकारीहरूले यात्रुलाई आफ्नो उपकरण ‘एअरप्लेन मोड’ मा राख्न वा इन्टरनेट कनेक्सन पूर्ण रूपमा बन्द गर्न लगाउनेछन्।
उपकरण जाँचका लागि आवश्यक पर्ने पासवर्ड वा पिन कोड यात्रुले उपलब्ध गराउनुपर्ने दायित्व तोकिएको छ। यात्रुबाट प्राप्त भएका त्यस्ता पासवर्डहरू सीबीपीको स्थायी प्रणालीमा अपलोड गर्न पाइने छैन र जाँच सकिएपछि ती अस्थायी फम्र्याटहरू नष्ट वा डिलिट गरिनुपर्नेछ।
यदि कुनै यात्रुले पासवर्ड दिन अस्वीकार गरेमा वा उपकरण सुरक्षित रूपमा खोल्न नसकिएमा सीबीपीले उक्त उपकरण नियन्त्रणमा लिन सक्नेछ। सामान्यतया यात्रु प्रस्थान गरेको ५ दिनभित्र यस्तो जाँच पूरा गरी उपकरण फिर्ता गरिसक्नुपर्छ र सोभन्दा बढी समय नियन्त्रणमा राख्नका लागि पोर्ट डाइरेक्टर वा सो सरहका उच्च अधिकारीहरूको विशेष समय-थप स्वीकृति आवश्यक पर्छ।
संवेदनशील एवं विशेषाधिकार प्राप्त सामग्रीहरूको हकमा पनि निर्देशिकाले विशेष कार्यविधि तोकेको छ। यदि कुनै यात्रुको उपकरणमा वकिल-क्लाइन्ट बीचका कुराकानी, पत्रकारहरूका व्यावसायिक सामग्री, वा मेडिकल रेकर्डहरू फेला परेमा वा त्यस्तो दाबी गरिएमा सीबीपीले कानुनी सल्लाहकारहरूसँग समन्वय गरी ती सामग्रीलाई सुरक्षित रूपमा अलग राख्नका लागि विशेष फिल्टर टोलीको परिचालन गर्नेछ।
यसका साथै, जाँचका क्रममा कुनै पनि अपराधको प्रमाण वा सम्भावित शङ्का नभेटिएमा कपी गरिएका डाटाहरू २१ दिनभित्र सीबीपीको प्रणालीबाट पूर्ण रूपमा हटाउनुपर्नेछ। यद्यपि, राष्ट्रिय सुरक्षा वा आतंकवादसँग जोडिएका महत्त्वपूर्ण सूचनाहरू भने अन्य सम्बन्धित अमेरिकी संघीय एजेन्सीहरू र विदेशी सुरक्षा निकायहरूसँग समेत साझेदारी गर्न सकिने प्रावधान राखिएको छ।
