असम, भारत निवासी कुञ्जदेवी उपाध्यायको लघुकथाकृति हो ‘भावनाको झाँकी’। असमकै आनन्द प्रकाशको प्रकाशन रहेको यो कृति सन २०२४ सेप्टेम्बरमा प्रकाशित भएको हो। लघुकथाकार कुञ्जदेवी उपाध्यायद्वारा कृतिलाई ‘नेपाली सहित्य संसारमा लघुकथामा रमाउनेहरूमा’ समर्पण गरिएको छ।
कृतिको आवरणमा फूल फुलेको विम्बमा जीवनको सकारात्मकता तथा सुन्दरता प्रक्षेपण गरेको छ। कृतिभित्र हवाइपुर असमका वरिष्ट साहित्यकार तथा समालोचक डम्बर दाहाल, असम नेपाली नाट्य सम्मेलनका अध्यक्ष पूर्णकुमार शर्मा, अनेसास विश्वनाथ नगर असमका अध्यक्ष भक्तप्रसाद गौतम, मूल सचिब प्रेम विश्वकर्माको शुभकामना रहेको छ।
‘लघुकथाको निकुञ्जमा कुञ्ज उपाध्यायको “भावनाको झाँकी” शीर्षकमा तिलक ओली, असम नेपाली साहित्य सभा, केन्द्रीय समितिको भूमिका । यो भूमिकाले लघुकथासङ्ग्रहको कथ्यको भित्री अन्तर्यमा पुगेको छ। कृतिप्रति भूमिकाले शतप्रतिशत न्याय गरेको छ। ‘मैले भन्नु पर्ने कुराहरू’ शीर्षकमा लघुकथाकार उपाध्यायको कृतिको रचनागर्भ तथा धन्यवाद अभिव्यक्त भएको छ।
व्यक्तिकृति:
स्व. कमल आचार्य उपाध्याय तथा माता स्व भिमादेवी उपाध्यायको सन्तानका रूपमा भारतको असम राज्यको गमिरीमा जन्मिएकी हुन् लघुकथाकार कुञ्जदेवी उपाध्याय। भारतकै असम राज्यको शिवसागर डिमौका धर्मराज उपाध्यायसँग वैवाहिक सम्बन्धमा गाँसिएपछि हाल उनको मुकाम शिवसागर रहेको छ।
बिएसम्मको अध्ययन गरेकी कुञ्जदेवी उपाध्याय बहु प्रतिभाकी धनी छन्। असम, अङ्ग्रेजी, हिन्दी तथा नेपालीमा सरोबर कलम चलाउने हुनाले उनलाई साहित्य साधनामा सकारात्मक प्रभाव परेको छ। उनी अनेसासको सदस्य पनि हुन्। यो ‘भावनाको झाँकी’ लघुकथासङ्ग्रह प्रकाशन गर्नुअघि उनका ‘पैतालामा अल्झिएका सपना’ (नेपाली कवितासङ्ग्रह), प्रवाहिनी (असमिया कविता सङ्ग्रह), कवितार करणी ( कवितासङ्ग्रह, अङ्ग्रेजी भाषाबाट असमियामा अनुवाद), तृष्णातुर पानी (कवितासङ्ग्रह), एथुपि शिशु गल्प (बालकथासङ्ग्रह असमिया), बिगलित समय र दस्तावेज (कवितासङ्ग्रह असमिया), छाँपोहरर लुकाभाकु (कवितासङ्ग्रह, असमिया) प्रकाशित भइसकेका छन्। लघुकथाका हकमा भने ‘भावनाको झाँकी’पहिलो हो।
रूपविधान:
लघुकथाको विशिष्ट रूपविधान हुन्छ। विधिविधान हुन्छ। छोटो समयावधिको आयाममा प्रयोजन प्रक्षेपण गर्दै लघु कथ्य निर्माण गरेर प्रतिध्वन्यात्मकता निर्माण गर्नु लघुकथाको प्रधान लक्षण हो। कौतूहलताको धागोमा कथ्य निर्माण गरेर व्यङ्ग्य प्रवाह गर्न सक्नु लघुकथाको खुबी हो। संक्षिप्तता, सूत्रता, तीव्रता, लघुत्व, प्रभावोत्पादकत्व, एकोन्मुखता, रहस्यमयता, आयामगत लघुता र संरचनागत पूर्णता सहित लघुकथाको स्वरूप विनिर्माण गर्नु लघुकथाकारको धर्म हो। दायित्व हो।
सङ्ग्रहभित्र समेटिएका लघुकथाहरूको रूपगत मिमांशा गर्दा शीर्षकमा लगभग संक्षिप्तता अबलम्बन गरिएको छ। चौरासी ओटा लघुकथाको सूची रहेकोमा एक पदमा एकावन्न, पदावलिमा पच्चीस र पदावलीभन्दा पनि लामो शीर्षक आठ ओटा रहेको छ।
शीर्षक संक्षिप्तताका हिसाबले सुन्दर बनेको छ कृति। यद्यपि केही लामा शीर्षकलाई पद वा पदावलिमा राख्न नसकिने अवस्था भने होइन। आकारका हिसाबले सबै लघुकथा चुस्तदुरुस्त र लघु छन्। कतिपय लघुकथाको कथ्यको आयाम पनि लघु छ। पात्रको सीमितता लघुकथाको अर्को सुन्दर पाटो हो। पात्र परिचालनमा सफल छन् लघुकथाकार। कथानकमा पूर्वोत्तर भारतमा भारतीय नेपालीले भोगिरहेको चित्र देखाइएको छ। समाजलाई सहजताका साथ पदार्पण गराउने सकारात्मक थिमबाट आएका छन् लघुकथा। द्वन्द्वका हिसाबबाट हेर्दा परम्परागत् समाजका अन्धविश्वास एकातिर छन् भने अर्कोतिर त्यसमा सुधार खोजिएका छन्। यसकारण सरदर रूपमा भन्ने हो भने ‘भावनाको झाँकी’ले लघुकथाका रूपविधानको मार्ग पछ्याएको छ।
कथानक:
‘भावनाको झाँकी’ ले पूर्वोत्तर भारतलाई कार्यपीठिका बनाइएको छ। यसले कार्यपीठिकाको समाजमा झेलिने जीवनका कुन्जी फुकाएको छ। जीवनको रहस्य पत्ता लगाएको छ। समाज विकासको विगुल फुकेको छ। हरेक ठाउँ वा समाज एउटा अवस्थाबाट गुज्रिँदै हुन्छ। त्यसले एउटा सामाजिक मान्यता, मर्यादा तथा महत्त्व बनाएर राखेको हुन्छ। त्यस समाजमा हुर्केको लेखकले सोही परिधि अबलम्बन गरेको हुन्छ। यो स्वाभाविक कुरा हो। कथानकका हिसाबमा सोही परिधिवृत्त निर्धारण गरेका छन् लघुकथाले।
कृतिभित्र प्रेमको महत्त्वलाई जोडदार रूपमा उठाइएको छ। प्रेमलाई विविध कोण तथा अवस्थाबाट हेरिएको छ। श्रीमान् श्रीमती बिचको प्रेम, विधवा श्रीमतीको मृत श्रीमान्प्रतिको प्रेम, आमा छोराको प्रेम, समाजको प्रेम उजागर भएको छ। यसरी हेर्दा लघुकथाकारले समाजमा प्रेम, सकारात्मकता, सुधारको अभिव्यञ्जना प्रस्तुत गरेको प्रष्ट देखिन्छ।
जीवन:
लघुकथाभित्र मान्छे र जीवन अभिव्यक्त भएको छ । मान्छे भन्नु के हो? जीवन भन्नु के हो? भन्ने बारेमा लघुकथाहरूले खोज गरेका छन्। चिन्तन गरेका छन्। परिवारको खुसी, भ्रष्टाचारले बनाएको अनुहारको रङ, मान्छेको जीवन कुकुरको भन्दा बदत्तर भएको अनुभूति छन् लघुकथामा । जसले जीवनको परिभाषा गर्न खोजेको छ।
यसैगरी जीवन सपार्न मेहनतको आवश्यकता औँल्याइएका अवस्थाहरू चित्रित भएका छन्। शीर्षक लघुकथा पनि रहेको ‘एकछिनको झाँकी रहेछ जिन्दगी’ले अभिव्यक्त गरेको जिन्दगीलाई उदाहरणका रूपमा लिन सकिन्छ। जीवन बाँच्नका लागि सङ्घर्ष गर्नुपर्ने मत रहेको छ। मान्छेको प्रवृत्ति, आडम्बर, कुरीतिमाथि प्रहार गरिएको छ। अर्कालाई दुःख दिएर सुख नहुँदो रहेछ भन्ने जीवनबोधी दृष्टिकोण पनि छ। अपाङ्ग शरीर मात्र हो, मनको होइन भन्ने यथार्थ पस्किएको छ। मृत्यु शाश्वत सत्य हो भन्ने दर्शनमा पनि छन् लघुकथा। ठुलो सहरमा मान्छे सानो मन बोकेर बसेका हुन्छन् भन्दै मर्दै गरेको मानवताको विम्ब सहरलाई देखाइएको छ ।छोरो जन्मले कि कर्मले ? भन्ने प्रश्न उठाएको छ कर्णेलको कथाबाट। यसरी लघुकथाहरूले जीवनलाई हरेक कोणबाट हेर्न खोजेका छन्।
महिला:
लघुकथाकार महिला भएको हुनाले लघुकथाभित्र महिलाका विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ। परम्परागत तथा यथास्थिति समाजमा नारीले भोगिरहेका पीडा, आमाले छोरीलाई दिने मनोवैज्ञानिक यातना, सासूले बुहारी र छोरीमा गर्ने विभेद, महिलाका विवसता सजीव तरिकाले उजागर भएका छन्। त्यसो त कृतिभित्र बुहारीलाई आफू काम गरेर पढाउने सासूको चित्र, नन्दभाउजूको मेल समेत देखाइएको छ। सुधारका लागि नारी विद्रोहको स्वर उचा छ । छोरीको बिहे जबर्जस्ती गरिदिने कुराको विरोध छ। दाइजो प्रथाको विरोध छ। छोरा सरह छोरी हुन् भन्ने विषयलाई उजागर गरिएको छ। बाउको मार्का बुझ्ने छोरी पनि छन्। विधवा विवाह भाषणमा कि व्यवहारमा भन्ने प्रश्न उठाएको छ। छोरीले विधुर पिताका लागि दोस्रो बिहे गरिदिएको परिवर्तनशील सोच पनि छ। पुनरबिहेको सन्देश छ। लघुकथाकारको जोडदार आवाज भनेको नारीको सुरक्षा कहिले होला ! भन्ने नै छ। त्यसैले नारीको सुरक्षा र सम्मानका लागि नारी नै जुरुक्क उठ्नु पर्छ भन्ने सन्देश प्रवाह गरिएको छ।
बृद्धबृद्धा:
वर्तमान विश्वको जटिल समस्या वृद्धवृद्धाको व्यवस्थापन रहेको छ। समाज परिवर्तन भएर एकल तथा खण्डित परिवार व्यवस्थामा पुगेको छ। आमाबाबुलाई वृद्धाश्रममा लैजाने कि न लैजाने भन्ने सामाजिक बहस सुरु भएको छ। यसै सन्दर्भमा वृद्धवृद्धाका समस्यालाई अगाडि सार्दै लघुकथाकार उपाध्यायले आमासँगै छोरा पनि समय अन्तरालमा वृद्धाश्रम बस्न पुग्नु परेको विदीर्ण चित्र देखाइएको छ। वृद्धवृद्धाको अवस्था छोराको घरमा पाहुनाका रूपमा रहेको मनोवैज्ञानिक अवस्था रहेको छ। त्यसैले लघुकथाकारले वृद्धाश्रम आफैँ स्थापना गरेर जाने वृद्धका कथा पनि समावेश गरेको स्थिति छ।
सामाजिक विसङ्गति
समाज गतिशील हुन्छ। पुरानो वैचारिक युगबाट नयाँ युगमा प्रवेश गर्छ। यस्तो अवस्थामा समाजमा द्वन्द्व हुन्छ। नयाँ युगले पुरानो युगका सामाजिक अन्धविश्वास तथा कुप्रचलन माथि प्रहार गर्न थाल्छ। पुरुषवादी समाजको हैकम तथा सामन्ती आचरणका विरुद्धमा जाइ लाग्छ। यही कुरालाई हृदयाङ्गम गरी ‘भावनाको झाँकी’ भित्र जातीय तथा लैङ्गिक आचरणबाट आएको विभेद तथा छोरी छोरा भनेर विभेद गर्ने सामाजिक प्रचलनमा तीब्र प्रहार गरेको देखिन्छ। छुत अछुत भन्ने केही होइन भन्ने सन्देश प्रवाह गरिएको छ।
सम्पत्तिले बिग्रिएको छोरोलाई नशामुक्ति केन्द्रतिर लैजाने सुझाव छ भने बुवाका सपना छोराले पूरा गरेको दृश्य पनि छ। वर्तमान समाजमा सम्बन्ध विच्छेदले छोराछोरीमा पर्ने प्रभावको नापजोख छ । तिजको तडकभडकमाथि व्यङ्ग्य प्रहार गरिएको छ। यसरी कृतिभित्र सामाजिक विसङ्गतिमाथि प्रहार गरिएको छ।
गरिबी:
उनका लघुकथामा गरिबीलाई सूक्ष्म तरिकाले अबलम्बन गरिएको छ। निम्नवर्गीय असमिया नेपालीले भोग्नु परेको गरिबीको यथार्थ चित्रण गरिएको छ। भोकको जब्बरता देखाइएको छ। दशैँका दिनमा एक जोर लुगा छैन। खान सामग्री छैन। विपर्यास छ जिन्दगी। गरिबीको जब्बरताले गर्दा लघुकथाकारले भगवानप्रति नजाँनिदो तरिकाले प्रश्न उठाएको देखिन्छ।
मनोविज्ञान:
कृतिभित्र मनोवैज्ञानिक विश्लेषण पनि छ। ‘खुट्टा नदिए पनि सिप दिए, चित्र बनायो र चित्रकार भयो । आज ऊ भगवानसँग शिकायत गर्दैन’ भन्ने लघुकथाकारका शब्दले अपाङ्गता भएको बालकको मनोविज्ञान अवस्था तथा परिवेश झल्काइएको छ। क्यान्सरग्रस्त भएको मान्छेमा मनोवलको प्रभाव पनि औँलयाइएको छ। वाल्यकालको अबोध पनको मनोविज्ञान तथा शिक्षकमा भगवानको रूप देख्ने मनोविज्ञान पनि पस्किएको छ।
शैलीः
‘भावनाको झाँकी’ भित्र गवेषण गरिरहँदा लघुकथाकार कुञ्जदेवी उपाध्यायले बनाएको निजत्व शैली प्रतिविम्वित भएको छ। संक्षिप्तता, सूत्रता, लघुत्व उनको शैली हो। कतिपय लघुकथा आयाममा छोटा छन्। यो ज्यादै राम्रो शैलीगत विषय हो। उनले आफ्ना लघुकथामा पूर्वदीप्ति शैली पनि अपनाएको देखिन्छ। सम्झनाका तरेलीमा कथावस्तुलाई राखेर कथ्य विनिर्माण गर्नु उनको शैली देखिन्छ। उनका लघुकथामा पूर्वोत्तर भारतको स्थानीयता, अग्र्यानिकता, स्थानीय लबज, स्थानीय परिवेश देखिन्छ। यो कार्यले लघुकथासङ्ग्रहलाई अलग पहिचान दिएको छ। प्रयोग भएका धेरै शब्दहरू स्थानीय लबजका छन्। उदाहरणका लागि जग्गा(स्थान विशेष), तीनआलि (दोबाटो) लाई लिन सकिन्छ। उनी आफ्ना सिर्जनामा नेपालीमा प्रचलित उखानको प्रयोगगर्छिन्। ‘काम पाइनस् बुहारी, पाडाको केजाति कन्या’ जस्ता उखानले वेष्ठित छन् लघुकथा। थिमका हिसाबले हेर्ने हो भने परोपकारी छन् लघुकथा । सकारात्मकता उनको कथ्यगत् शैली हो।
कमीकमजोरी:
कुनै पनि सिर्जना विनिर्माण कमजोरीरहित हुन सक्दैन। सुधार, सुधार अनि सुधार सिर्जनाको जीवन हो। यो कृतिमा पनि केही रूपगत् केही भावगत् सुधार भएको भए हुन्थ्यो भन्ने लागेको छ। कृतिमा ‘अ कलेक्सन्स अफ नेपाली पोएम्स कम्पोज्ड बाई कुञ्जदेवी उपाध्याय’ लेखिएको छ। यो ‘भावनाको झाँकी’ पुस्तक कविता नभएर आख्यान हो। लघुकथाभित्र सम्वादको कमी महसुस भएको छ। भएका सम्वादमा पनि उद्धरण चिन्ह छैन। कतिपय लघुकथाहरू आयाममा लामो भएको प्रतीत हुन्छ ।यसलाई पूर्वदीप्ति शैलीका आधारमा मिलाउन सकिन्छ।
आदर्शवादी कथानक छन्। परम्परावादी कथानक छन्। परम्परावाद तथा आदर्शवादमा नै जिन्दगीको परिभाषा खोजिएको छ। परम्परागत् संस्कारप्रधान छन् लघुकथा। यथास्थितिमा सुधार खोजिएको छ। एक पति, एक सती जस्ता आदर्शमा छन् कथानक। वर्तमान परिवर्तित सन्दर्भमा समाज यो मान्यताबाट निकै अघि बढिसकेको छ।
कतिपय लघुकथाको कथावस्तु सामान्य छ । कतिपय लघुकथामा समस्याको समाधान मृत्युलाई रोजेको छ। यो कुरा वर्तमान समाजमा घटिरहेको चित्र भए पनि अग्रगम्य चाहिँ होइन। कर्तव्य पालन गरेर सफल गृहिणी बन्ने सन्देश दिएकाले समस्याको समाधान रुन्चे तरिकाले गरिएको छ।
कृतिले उठाएको एउटा महत्त्वपूर्ण विषयवृद्धाश्रम रहेको छ। प्राय लघुकथाहरूमा वृद्धाश्रम बारेको दर्शन परम्परावादमा आधारित भएको छ। परिवर्तित सन्दर्भमा वृद्धाश्रम आवश्यकता हो कि होइन भन्ने बारेमा चिन्तन, बहस छैन। कृतिभित्र विपर्यास थिम भेटिन्छ । एकातिर छोराछोरी बराबर हुन् भन्ने वैचारिक थिम छ भने अर्कोतिर छोरो चाहिन्छ, छोरी नातिनी अर्काका घर गइहाल्छन भन्ने विचार पनि प्रकट भएको छ। त्यसैले वैचारिक रूपले स्थिर नभएको प्रतीत हुन्छ।
रूपविधानकै आधारमा पनि असमकै विद्वान डम्बर दाहालको मान्यताअनुरूप कथ्यलाई चट्याङ बनाउन अझ धेरै मेहनत गर्नुपर्ने देखिन्छ।
उपसंहार:
सारमा यो ‘भावनाको झाँकी’ सरल छ। सलल बगेको छ। लप्पनछप्पन छैन। जीवनका प्रति इमान्दार छ। कार्यपीठिकाको समाजको दर्पणका माध्यम भएको छ। यसका माध्यमबाट संसार विचरण गर्न सकिन्छ। समाजभित्र अन्तरघुलन भएर रहेका विकृति, असङ्गतिमाथि सचेत हुन सकिन्छ। आउने बाधालाई पन्छाएर जीवनलाई उज्यालो पार्न सकिन्छ। जीवनको उज्यालो चित्र लघुकथाकारको अभिप्राय रहेको छ।
लघुकथाको सन्दर्भमा लघुकथाकारको यो पहिलो पुस्तक हो। यसैभित्र धेरै दमदार, दार्शनिक, धमाकेदार कथानकहरू प्रविष्ट भएका छन्। त्यसैले यो कृति पठनीय भएको छ। सफलताको शुभकामना अर्पण गर्छु। फेरि प्रकाशन हुने दोस्रो लघुकथाको कृतिले अझैँ अग्रगम्यता पस्किने छ भन्ने पनि आशा लिएको छु।
प्रकाशित: ७ माघ २०८१ ०९:५५ सोमबार