News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपालले कुकुर तिहारलाई आफ्नो मौलिक संस्कृतिका रूपमा प्रवर्धन गर्दै विश्वव्यापी स्तरमा ‘करुणाको कूटनीति’ र मानवीय मूल्यहरूको सन्देश फैलाउन सक्ने सम्भावना देखिएको छ।
- कुकुर तिहार केवल धार्मिक संस्कार नभई मानव र प्रकृतिबीचको सहअस्तित्व, कृतज्ञता र पशु कल्याणको सन्देश बोकेको महत्त्वपूर्ण अभौतिक सांस्कृतिक सम्पदा हो।
- युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदामा सूचीकरण गराउन र यस पर्वलाई विश्वव्यापी बनाउन नेपालले व्यवस्थित अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र जिम्मेवार पशु पालनपोषणको नीति अपनाउनुपर्छ।
कुनै पनि मुलुक विशेष बन्न सक्ने आधार उसको भूगोल मात्र होइन। उसको मौलिकता र विशेषता सो मुलुकले विश्वलाई के दिएको र के दिन सक्छ भन्ने कुराले पनि निर्धारण गर्छ। संसारले कुनै देशलाई सम्झँदा वा उसको पहिचानका रूपमा यदि त्यो देशको कुनै विचार, संस्कृति, दर्शन वा जीवनपद्धति सम्झिन्छ भने त्यो राष्ट्रले आफ्नो सीमाभन्दा धेरै ठूलो प्रभाव सिर्जना गरिसकेको हुन्छ। त्यो सम्झना सकारात्मक हो भने देशकै उपस्थिति सम्मानजनक बन्छ।
समयक्रमसँगै पहिचान फेरिंदै जान्छन्। फेर्ने प्रयत्न हुँदै जान्छन्। अहिले हेर्ने हो भने विश्वमा धेरै देश आफ्नो भौतिक र अभौतिक सम्पदाका नयाँ–नयाँ पहिचान बनाउन खोजिरहेका छन् र विश्वभर फैलाइरहेका छन्। योग, आयुर्वेदलाई भारतले आफ्नो ब्रान्डिङका रूपमा प्रयोग गरिरहेको छ। राष्ट्रिय खुशी मापन गर्ने सोच फैलाएर भूटानले आफ्नो देशको सांस्कृतिक पहिचान स्थापित गर्न खोजिरहेको छ।
नेपालको अन्तर्राष्ट्रिय पहिचान हेर्ने हो भने नेपाललाई संसारले बुद्धको जन्मभूमिका रूपमा चिन्छ। सगरमाथाको देशका रूपमा चिन्छ। इतिहास र युद्धशास्त्रका विद्यार्थीले गोर्खाली वीरगाथा पनि सम्झेलान्। तर यी विषय यति धेरै पल्ट दोहोर्याइएको छ कि यस्तो लाग्छ, नेपालको अन्तर्राष्ट्रिय पहिचान यिनै विषयमा पुगेर अड्किएको छ।
यसैले नेपालले आफ्नो मौलिकतामा आधारित भएर पहिचानका नयाँ–नयाँ धाराहरूको खोजी गर्न आवश्यक छ। नेपालसँग यस्ता विविध पहिचान र मौलिकता छन्, जसलाई अन्तर्राष्ट्रिय समुदायमा सम्मानपूर्वक फैलिनु समग्र मानव जातिकै लागि उपलब्धिमूलक हुन सक्छ। हामीले परम्परागत भनेर सामान्य मानेका कुराहरू संसारका लागि भने बिछट्टै नयाँ र विशेष बन्न सक्छन्। यसको सूची लामो हुन सक्छ। र, त्यही सूचीमा राख्न सकिन्छ, कुकुर तिहार।
नेपालले प्रयत्न गर्ने हो भने कुकुर तिहार विश्व पर्व बन्न सक्छ भन्दा यो कुरा धेरैलाई अतिशयोक्ति लाग्न सक्छ। कुकुरको पूजा कसरी विश्व पर्व बन्न सक्छ भन्ने प्रश्न आउन सक्छ। तर, इतिहासलाई हेर्ने हो भने आज विश्वभर मनाइने धेरै सांस्कृतिक पर्व पनि कुनै समय एउटा सानो समुदायको स्थानीय अभ्यास मात्र थिए। समयक्रमसँगै ती पर्वहरूले देशको सिमाना पार गरे। कारण हो, ती पर्वले कुनै न कुनै रूपमा मानवताले साझा रूपमा स्वीकार्न सक्ने मूल्य बोकेका थिए।
हाम्रो लागि पो परम्परागत, अरूका लागि त नयाँ हो
हामी कुकुरलाई पूजा गर्छौं भन्ने कुरा बाहिरी संसारका लागि रोचक समाचार हुन सक्छ। सामाजिक सञ्जालमा फैलिएका तस्बिरले होस् वा विदेश गएका नेपालीको कारणले, थोरै थोरै गर्दै भए पनि विश्वका धेरै मानिसले यसबारेमा जानकारी पाएका छन्। तर हामीले गर्ने कुकुर पूजा धार्मिक वा सांस्कृतिक मात्र नभएर सभ्यताको कथा पनि हो भन्ने बारेमा संसार लगभग अनभिज्ञ छ।
कुकुर तिहार भौतिक कुकुरको पूजा मात्र होइन, यो कृतज्ञताको पूजा हो। यो निष्ठाको सम्मान हो। यो मानिस र प्रकृति बीचको सहअस्तित्वको उत्सव हो। यो आफूभन्दा कमजोर र वाणीविहीन जीवप्रतिको करुणाको सार्वजनिक घोषणा हो। यो कुरा विश्वलाई बुझाउन नै बाँकी छ।
हजारौं वर्षअघि मानिसले खेती गर्न सिकेको थिएन। राज्य थिएन। शहर थिएनन्। तर मानिससँग एउटा साथी थियो, कुकुर। अध्ययनहरूले देखाएका छन् कि करिब १५ हजारदेखि ३० हजार वर्षअघि मानिस र कुकुर बीच सम्बन्ध शुरू भयो। त्यहाँबाट आजसम्म कुकुरले मान्छेको सुरक्षा गर्यो। शिकारमा साथ दियो। खतरा चिनाएर सजग गरायो। बालबालिकाको रक्षा गर्यो।
त्यसैले कुकुर मान्छेको सबैभन्दा बफादार साथी हो भन्ने अभिव्यक्ति भावुकतामा आधारित मात्र होइन, इतिहासको सार हो भन्ने कुरा स्थापित गर्न हामीलाई गाह्रो पनि छैन।
महाभारतदेखि दिगो विकाससम्म कुकुरको गाथा
हाम्रा धार्मिक शास्त्र अनुसार कुकुर भैरवको वाहन हो। यमराजको दूत हो। महाभारत अनुसार पाण्डवहरूको स्वर्गयात्रामा युधिष्ठिर मात्र अन्तिमसम्म रहन्छन् र युधिष्ठिरलाई कुकुरले मात्र अन्तिमसम्म साथ दिन्छ। कुकुर सहित युधिष्ठिर स्वर्गमा पुग्छन्। कुकुरलाई भित्र जान नदिने भनेर द्वारपालले भन्छन्। युधिष्ठिरले कुकुर नजाने भए आफू पनि नजाने अडान लिन्छन्। र, अन्तिममा कुकुर पनि स्वर्ग जान पाउँछ।
यो कथाले भन्छ, निष्ठा त्यागेर प्राप्त हुने स्वर्गभन्दा निष्ठासँग बाँडिएको यात्रा महान् हुन्छ। आज विश्वलाई यही नैतिकताको आवश्यकता छ।
दिगो विकासका लक्ष्यहरूमा मानिस, पृथ्वी र समृद्धि बीचको सम्बन्धलाई केन्द्रमा राखिएको छ। जैविक विविधताको संरक्षण, पशु कल्याण र पर्यावरणीय सन्तुलन अहिले विश्व राजनीतिका पनि महत्त्वपूर्ण विषय बनेका छन्। जलवायु परिवर्तनले हामीलाई एउटा कठोर सत्य सिकाएको छ, मानिस प्रकृतिबाट अलग भएर बाँच्न सक्दैन। कुकुर तिहारले दिगो विकासका लागि प्रकृतिसँग सामीप्यतालाई करुणापूर्वक अपनाएको छ। यही कारणले पनि कुकुर तिहारको सन्देश धार्मिक सीमाभन्दा धेरै माथि उठ्छ।
कुकुरसँगको सम्बन्धको अर्को पाटो पनि छ। विश्व स्वास्थ्य संगठनका अनुसार रेबिजका कारण प्रत्येक वर्ष करिब ५९ हजार मानिसको मृत्यु हुन्छ। यसको अधिकांश हिस्सा एशिया र अफ्रिकामा हुन्छ। नेपालमा पनि रेबिजबाट हुने मृत्युको संख्या सानो छैन। यो तथ्यांकले एउटा अर्को सत्य पनि देखाउँछ, मानिस र कुकुर बीचको सम्बन्धलाई व्यवस्थापन गर्न करुणा र विज्ञान दुवै आवश्यक छन्। सडक कुकुरको हत्या होइन; खोप, बन्ध्याकरण, जिम्मेवार पालनपोषण र समुदायको सहभागिता नै दीर्घकालीन समाधान हो। यस अर्थमा कुकुर तिहार भावनाको मात्र होइन, उत्तरदायित्वको पर्व पनि बन्न सक्छ।
यसै पनि विश्वका प्रहरी, सेना, सीमा सुरक्षा निकाय, उद्धार टोली र विपद् व्यवस्थापन प्रणालीमा योगदान दिएर हजारौं कुकुरले दिनहुँ लाखौं जीवन बचाइरहेका छन्। विस्फोटक पदार्थ पत्ता लगाउने, लागूऔषध नियन्त्रण गर्ने, हिमपहिरोमा पुरिएका मानिस खोज्ने, भूकम्पका भग्नावशेषमा जीवनको संकेत पत्ता लगाउने जस्ता धेरै कार्यमा कुकुरको योगदान असाधारण छ।
आधुनिक चिकित्सा विज्ञानले कुकुरको भूमिकालाई नयाँ अर्थ दिएको छ। दृष्टिविहीनका लागि गाइड डग हुन् या अटिजम भएका बालबालिकाका लागि थेरापी डग या मानसिक तनाव घटाउन इमोशनल सपोर्ट डग हुन् या वृद्धवृद्धाको सहयोगीका रूपमा सर्भिस डग, यी सबैले कुकुरलाई घरपालुवा जनावरबाट मानव जीवनको सहयात्रीमा रूपान्तरण गरिरहेका छन्। धेरै अनुसन्धानले कुकुरसँग समय बिताउँदा तनाव कम हुने, एक्लोपन घट्ने र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने देखाएका छन्।
यसरी हेर्दा, नेपालले सदियौंअघि संस्कृतिमा स्थापित गरेको सम्मानलाई विज्ञानले आज पुष्टि गरिरहेको छ। नेपालमा पनि प्रहरी कुकुरहरूले अनेकौं अपराध अनुसन्धानमा निर्णायक भूमिका खेलेका छन्। प्राकृतिक विपत्तिपछि खोज तथा उद्धारमा उनीहरूको महत्त्व दिन प्रतिदिन बढिरहेको छ। यस्ता सेवाप्रति सार्वजनिक रूपमा कृतज्ञता व्यक्त गर्ने सांस्कृतिक परम्परा विश्वमै दुर्लभ छ। नेपालसँग त्यो परम्परा छ।
यसरी बन्छ विश्वव्यापी अभौतिक सम्पदा
कुकुर तिहारलाई विश्वव्यापी बनाउनका लागि कार्ययोजना आवश्यक छ। यसका लागि हामीले प्रत्येक वर्ष कुकुर तिहारको दिन पारेर विश्वभर रहेका नेपाली दूतावासहरूमा कुकुर तिहार समारोह आयोजना गर्न सक्छौं। पशु संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्न सक्छौं। विदेशी पर्यटकका लागि कुकुर तिहारलाई सांस्कृतिक अनुभवका रूपमा प्रवर्धन गर्न सक्छौं। विश्वभर रहेका नेपाली समुदायले यही दिन स्थानीय पशु आश्रयस्थलमा गएर पूजा गर्ने अभियान चलाउन सक्छन्।
यति मात्र होइन, नेपालले भविष्यमा कुकुर तिहारलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा सूचीकरण गराउने दीर्घकालीन तयारी पनि गर्न सक्छ। त्यसका लागि व्यवस्थित अनुसन्धान, दस्तावेजीकरण, ऐतिहासिक प्रमाण संकलन र अन्तर्राष्ट्रिय प्रचार आवश्यक हुन्छ।
मलाई लाग्छ, आगामी दशकमा नेपालले विश्वलाई दिने सबैभन्दा प्रभावशाली सन्देशमध्ये एउटा करुणाको कूटनीति हुन सक्छ। संसार अहिले प्रविधिमा धेरै अगाडि पुगेको छ, तर करुणामा अझै धेरै यात्रा बाँकी छ। युद्ध, हिंसा, वातावरणीय संकट र बढ्दो एक्लोपन बीच मानवतालाई फेरि संवेदनशील बनाउने मूल्यहरूको आवश्यकता छ। कुकुर तिहारले यही मूल्य बोकेको छ।
यो एउटा यस्तो पर्व हो, जहाँ पूजा गर्ने पात्र बोल्न सक्दैन, धन्यवाद भन्न सक्दैन तर पनि हामी उसको योगदान सम्झन्छौं। वास्तवमा यही नै सभ्यताको उच्चतम रूप हो। नेपालले बुद्ध मार्फत संसारलाई करुणाको दर्शन दिएको थियो। कुकुर तिहार मार्फत त्यही करुणालाई जीवनको व्यवहारमा उतार्ने संस्कृतिको परिचय दिन सक्छ।
हामीले यदि यसलाई केवल धार्मिक संस्कारका रूपमा होइन, मानवता, सहअस्तित्व, पशु कल्याण, सार्वजनिक स्वास्थ्य, पर्यटन, सांस्कृतिक कूटनीति र विश्वशान्तिको साझा सन्देशका रूपमा प्रस्तुत गर्न सक्यौं भने कुकुर तिहार कुनै दिन विश्वभर मनाइने पर्व बन्ने कल्पना असम्भव छैन।
किनभने, संसारलाई जोड्ने शक्ति केवल अर्थतन्त्र वा प्रविधि होइन। संसारलाई जोड्ने सबैभन्दा ठूलो शक्ति करुणा हो। र, त्यस करुणाको एउटा सुन्दर उत्सव नेपालसँग पहिलेदेखि नै छ, कुकुर तिहार।
आत्मालोचना पनि आवश्यक छ
यदि हामी वर्षमा एक दिन कुकुरलाई माला लगाएर बाँकी ३६४ दिन उसलाई भोकै छोड्छौं, ढुंगा हान्छौं वा क्रूर व्यवहार गर्छौं भने हाम्रो संस्कृति केवल औपचारिकतामा सीमित हुन्छ। संस्कृतिको महानता पुस्तक वा अनुष्ठानमा होइन, व्यवहारमा देखिनुपर्छ।
त्यसैले कुकुर तिहारसँगै हामीले सडक कुकुर व्यवस्थापन, रेबिज नियन्त्रण, नियमित खोप, बन्ध्याकरण, पशु क्रूरता विरुद्ध कडा कानूनी कार्यान्वयन र जिम्मेवार घरपालुवा जनावर संस्कृतिलाई पनि राष्ट्रिय अभियान बनाउनुपर्छ।
