‘कांग्रेस बदलियो, अब धनुषा–४ मा मत पनि बदलिन्छ’



६ फागुन, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ४ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव तेस्रो पटक मत माग्दै मैदानमा छन् । अघिल्ला दुई निर्वाचनमा झिनो मतले पराजित भए पनि उनी आफू निरन्तर जनताकै बीचमा रहेको दाबी गर्छन् । पञ्चायतकालदेखिको प्रजातान्त्रिक आन्दोलन, जेल–नेल र संविधान निर्माणमा गरेको योगदानलाई आफ्नो राजनीतिक पूँजीका रूपमा प्रस्तुत गर्दै यादव भन्छन्, ‘जनताले यसपालि मेरो निष्ठाको मूल्यांकन गर्नेछन् ।’

चुनावी स्थलगत रिपोर्टिङका लागि मधेशमा रहेको दुर्गा खनाल, कृष्ण ज्ञवाली, शैलेन्द्र महतो र कमल प्रसाईंसहितको अनलाइनखबर टिमले जनकपुरधाममा यादवसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईं यसअघि दुई पटक यही क्षेत्रबाट उम्मेदवार बन्नुभयो तर झिनो मतले पराजित हुनुभयो । तेस्रो पटक फेरि उम्मेदवार बन्दै गर्दा जनताले तपाईंलाई नै किन मत दिने ?

म दुई पटक झिनो मतले हारे पनि निरन्तर जनताकै बीचमा छु । जनताका दैनिक समस्या समाधान र विकास निर्माणमा म लागिरहेकै छु । अर्को कुरा, म पञ्चायतकालदेखि नै प्रजातन्त्र स्थापनाका लागि लडेको व्यक्ति हुँ । विद्यार्थी आन्दोलनदेखि जेल–नेल र यातना भोग्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी संविधान निर्माणमा मेरो निरन्तर योगदान छ । जनताको चाहना पूरा गर्न म सधैँ प्रतिबद्ध रहेकाले यसपालि मतदाताले मलाई न्याय गर्नेछन् भन्ने विश्वास छ ।

तपाईंसँग यसअघि जितेका सांसद नै प्रतिस्पर्धामा हुनुहुन्छ । अर्कोतिर पुराना दलले काम गरेनन् भन्दै नयाँ पार्टीहरू पनि आएका छन् । यो त्रिपक्षीय जस्तो प्रतिस्पर्धामा आफ्नो अवस्था कस्तो देख्नुहुन्छ ?

तपाईंले ठिक भन्नुभयो, यो क्षेत्रका पूर्व सांसदले राम्रो काम गर्न सकेनन् । उनीहरूले काम नगरेकै कारण पाँच वर्षको संसद् तीन वर्षमै भंग हुने स्थिति आयो । यदि यहाँका सांसदले राम्रो काम गरेको भए जनतामा यति ठूलो आक्रोश हुने थिएन । अहिले जनता ‘बदलाव’ चाहन्छन् र त्यो बदलाव मेरो पक्षमा छ ।

तपाईंले पूर्व सांसदलाई दोष दिनुभयो, तर सत्ताको नेतृत्व त कांग्रेस र एमालेकै गठबन्धनले गरेको थियो नि ? त्यही नेतृत्वमाथि प्रश्न उठाउँदै जेनजी आन्दोलन भयो र अहिले छिट्टै चुनाव हुँदैछ । त्यो गठबन्धन बनाउनेमध्येको एक नेता त तपाईं पनि हुनुहुन्थ्यो, होइन र ?

यहाँ दुइटा कुरा छन् । एउटा राष्ट्रिय राजनीति र अर्को हाम्रो क्षेत्रको मुद्दा । केन्द्रमा हामीले लोकतन्त्र बचाउन र संविधान संशोधनका लागि गठबन्धन गरेका हौँ । तर, हाम्रो क्षेत्रका सांसदले जनताका समस्यामा ध्यान दिएनन् ।

जहाँसम्म जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचारमुक्त समाजका मुद्दाहरू छन्, ती एकदमै सही छन् । यदि हाम्रा सांसदहरूले आफ्ना शीर्ष नेताहरूलाई सही सुझाव दिएको भए यस्तो परिस्थिति आउने थिएन । मेरो क्षेत्रका सांसदले नेतृत्वलाई सही फिडब्याक दिन सकेनन् ।

नयाँ उम्मेदवारहरूको लहरबीच तपाईंको जितको आधार के त ?

मेरो निष्ठा र निरन्तरता नै मेरो जितको आधार हो । जनताले मेरो त्याग, जेल–नेल र प्रजातन्त्रप्रतिको लडाइँ नजिकबाट हेरेका छन् । हार्दा पनि नभागेर विकास निर्माणमा खटिएको देखेका छन् । त्यसैले, यसपटक जनताले मेरो काम र निष्ठाको मूल्यांकन गर्नेछन् ।

तपाईंले हारे पनि जनताको काम गरिरहेको छु र सहानुभूति छ भन्नुभयो । तर, कांग्रेसभित्रै जब परिवर्तनर पुस्तान्तरणको बहस चल्यो, तपाईं त परिवर्तनको पक्षमा उभिनुभएन नि ? आफ्नै पार्टीभित्र परिवर्तन नचाहने तपाईंले जनताको चाहना अनुसारको परिवर्तन कसरी ल्याउन सक्नुहुन्छ ?

हेर्नुस्, हामी अहिले त्यही नेतृत्वकै छत्रछायामा चुनाव लडिरहेका छौं । तर अहिलेको वास्तविकता के हो भने, नेपाली कांग्रेस अहिले एक ढिक्का भएर गगन थापाको नेतृत्वमादेशभर चुनाव लडिरहेको छ । गगन थापाकै नेतृत्वमा कांग्रेसले बहुमत ल्याउने बलियो सम्भावना छ । त्यसैले अहिले अरु कुनै द्विविधा छैन ।

तर जब पार्टीभित्र नेतृत्व बदल्ने मुख्य समय थियो, त्यतिबेला त तपाईं त्यसको विपक्षमा हुनुहुन्थ्यो नि ? अहिले आएर कांग्रेस बदलियोभन्नु अलि विरोधाभासपूर्ण भएन र ?

पार्टीभित्रका केही कुराहरू आन्तरिक हुन्छन् । प्रजातान्त्रिक प्रक्रियामा जब नयाँ नेतृत्व आउँछ, त्यसलाई स्वीकार गरेर अघि बढ्नु सबैको कर्तव्य हो । हामीले त्यही प्रक्रियाअनुसार नयाँ नेतृत्वलाई स्वीकार गरेका छौं । हामी अहिले जनतालाई भनिरहेका छौं, ‘तपाईंहरूको चाहना कांग्रेस बदलियोस् भन्ने थियो, हामी बदलियौं । अब तपाईंहरू पनि बदलिनुस् र यो बदलिएको कांग्रेसलाई साथ दिनुस् ।’

धनुषा–४ मा बसेर कांग्रेस बदलियो भन्न त सजिलो होला, तर के तपाईं काठमाडौंको पुगेर शेरबहादुर देउवालाई कांग्रेस बदलियो, अब तपाईं विश्राम लिनुस् भन्न सक्नुहुन्छ ?

हेर्नुस्, एउटा कुरा स्पष्ट पारौं, अहिले हामी गगन थापाको नेतृत्वमा चुनाव लडिरहेका छौं । चुनाव जितेपछि जनता र कार्यकर्ताको जुन चाहना छ, त्यसबारे हामी पार्टीमा समग्र छलफल गरेर एउटा ठोस निर्णयमा पुग्छौं ।

‘कांग्रेस बदलियो, अब धनुषा–४ मा मत पनि बदलिन्छ’

धनुषा–४ मा अहिलेको अवस्थामा तपाईंको मुख्य प्रतिस्पर्धी को हो ? बाहिर सुन्दा त नयाँ पार्टीहरूको लहर छ, उनीहरूले पुराना दललाई चुनौती दिइरहेका छन् । तपाईंको नजरमा एमाले मुख्य चुनौती हो कि रास्वपा जस्ता नयाँ दल ?

हेर्नुस्, हामीले सबै काम गर्न सकेनौं होला, तर ५० वटामा ३०–३५ वटा काम त हामीले नै गरेका छौं  नि ! नयाँ पार्टीले त अहिलेसम्म केही गरेकै छैन । जनताले उनीहरूलाई टेस्टगर्नै पाएका छैनन् । त्यसैले नयाँ पार्टीको अहिले खासै कुरै नगरौं ।

मेरो मुख्य प्रतिस्पर्धा जोसँग अघिल्लो पटक थियो, उहाँप्रति जनताको भावना अहिले सकारात्मक छैन । उहाँले काम नगरेकै कारण यसपालि जनताले परिवर्तन खोजेका छन् ।

हामीले जनताको चाहना अनुसार कांग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएर आफूलाई बदल्यौँ । तर हाम्रा प्रतिस्पर्धी दलहरूले त अझै पुरानै नेतृत्व बोकिरहेका छन्, जसलाई जनताले मन पराएका छैनन् । नयाँ भनिएका पार्टीहरूले पनि २०७९ को चुनावमा भाग लिइसकेकै हुन्, उनीहरू पनि पूर्णरूपमा नयाँ होइनन् । त्यसैले यो क्षेत्रमा जनताको भरोसा अहिले नेपाली कांग्रेसप्रति नै छ ।

अन्य दलहरू मुद्दा र कलंकले घेरिएका छन् । तर हाम्रा सभापति गगन थापामाथि त्यस्तो कुनै दाग छैन । उहाँले नेपाल बदल्ने जुन सपना र सोच राख्नुभएको छ, त्यसलाई अहिले देशभरका जनताले पत्याएका छन् । मेरो निर्वाचन क्षेत्रका जनताले पनि त्यही भावना व्यक्त गरिरहनुभएको छ ।

तपाईंले यसो भनिरहँदा, हामी तपाईंलाई भेट्न आउनुअघि यही क्षेत्रको एउटा मुसहर बस्ती पुगेका थियौं । त्यहाँको दयनीय अवस्था देख्दा तपाईंहरू जस्ता धेरै नेताले काम गर्यौं भनेर गरेको दाबीलाई त्यो बस्तीको तस्विरले गिज्याइरहेको भान हुन्छ । यसबारे के भन्नुहुन्छ ?

तपाईंले ठिक भन्नुभयो, त्यस्ता बस्तीहरू अझै छन् । तर यसको मुख्य दोष त यहाँबाट लगातार दुई पटक जितेर मन्त्रीसमेत भएका वर्तमान सांसदलाई जान्छ नि ! उहाँले काम नगरेकै कारण त्यहाँको अवस्था नसुध्रिएको हो । मैले अघि नै भनेँ– जनताले मलाई रोज्नुको कारण नै यही हो कि पुरानो सांसदले केही गर्न सकेनन् ।

तर यो मुसहर बस्तीको समस्या दुई वर्षको मात्र त होइन नि, दशकौँदेखिको हो । तपाईं आफैँ पनि यहाँबाट दुई पटक चुनाव लड्नुभयो, झिनो मतले मात्र हार्नुभयो । चुनाव हारेपछि तपाईं ती जनताको अवस्था हेर्न कति पटक फर्केर जानुभयो त ?

विगत आठ वर्षदेखि यहाँका सांसदले मन्त्री पद पाउँदा पनि मुसहर बस्तीको अनुहार फेर्न सकेनन् । बाटोघाटो, पुल–पुलेसा र विद्यालयको अवस्था सुधार्न सकेनन् । आफ्नो क्षेत्रको विकासका लागि सदनमा आवाज उठाउने र सरकारलाई दबाब दिने मुख्य जिम्मेवारी सांसदकै हुन्छ । उहाँले त्यो जिम्मेवारी पूरा नगरेको कुरा जनताले पनि मलाई भनिरहनुभएको छ ।

तपाईं आफू सांसद हुँदा के गर्नुभएको थियो ? तपाईंको पालामा पनि त ती बस्तीको अवस्था उस्तै थियो होला नि, होइन र ?

म त्यतिबेला समानुपातिकबाट सांसद भएको थिएँ । त्यो समय हाम्रो मुख्य जिम्मेवारी भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नु थियो, जुन हामीले सफलतापूर्वक पूरा गर्यौं ।

संविधान बनिसकेपछि त्यसलाई कार्यान्वयन गर्ने, देशलाई आर्थिक समृद्धिमा लैजाने र विकास गर्ने जिम्मेवारी त्यसपछिका निर्वाचित सांसद र मन्त्रीहरूको हो । उनीहरूले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेकै कारण अहिले देश र हाम्रो निर्वाचन क्षेत्रमा असन्तोष बढेको हो ।

त्यसो भए यो क्षेत्रमा भएका विकासका काममा कांग्रेसको दाबी के रहन्छ त ?

धनुषा–४ मा जति पनि देखिने खालका ठूला विकास भएका छन्, ती सबै नेपाली कांग्रेसकै पालामा भएका हुन् । चाहे त्यो ‘सिक्स लेन’ सडक होस्, मेडिकल कलेज होस्, सिटिईभिटी भवन वा ल्याप्रोसी अस्पताल नै किन नहोस् । क्षेत्रीय सडक, स्वास्थ्य चौकी र विद्यालयका भौतिक संरचनाहरू कांग्रेसकै पालामा बनेका हुन् । यो कुरा यहाँका जनतालाई राम्रोसँग थाहा छ । पछिल्लो पटक निर्वाचित सांसदले न विकास गर्न सके, न त राजनीतिक व्यवस्था नै जोगाउन सके ।

नयाँ पार्टीहरूले त वडा तहसम्मै संगठन विस्तार गर्दैछन् भनिन्छ, तपाईंलाई साँच्चै चुनौती छैन र ?

नयाँ पार्टीहरूको कुनै जग छैन । देशभरि र हाम्रो क्षेत्रमा पनि वडा, टोल र पालिकास्तरसम्म पुरानै पार्टीहरूको बलियो संरचना छ । नयाँ पार्टीहरूले केही नयाँ कुरा र चुनाव चिह्नका कुरा त गरिरहेका छन्, तर उनीहरूको जरो छैन । अहिले नेपाली कांग्रेस यो क्षेत्रमा निकै अगाडि छ र जनताले हामीलाई पूर्ण विश्वासका साथ सहयोग गरिरहेका छन् ।





Source link

Leave a Comment