सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षको उपस्थितिबिनै नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गरे। चार दर्जन केन्द्रीय सदस्यलाई साथमा राखेर दुई महामन्त्री थापा र शर्माले बिरुवामा पानी हालेर विशेष महाधिवेशन उद्घाटन गरेका हुन्।
पुसभित्र १५औं महाधिवेशन नभए विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए। ४९ दिनसम्म लम्बिएको कांग्रेस केन्द्रीय समिति बैठकमा औपचारिकरुपमा विशेष महाधिवेशनको अजेन्डा नै प्रवेश गरेन।
मंसिर १५ गते केन्द्रीय समिति बैठकले पुस २६ गतेदेखि नियमित महाधिवेशन गर्ने कार्यतालिका सर्वसहमतिले पारित गरेको थियो। उक्त कार्यतालिकाअनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वयको अगुवाइमा विशेष महाधिवेशन बोलाएका हो। विशेष महाधिवेशनको विधिवत माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाइएको हो।
कांग्रेस संस्थापन पक्षले मंसिर १५ गतेको बैठकले नियमित महाधिवेशनको कार्यतालिका ल्याएसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भएको दाबी गर्दै आएको छ। पुस १८ गते कार्यसम्पादन समितिको बैठकले पनि विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ। सोही बैठकले पूर्वनिर्धारित कार्यातालिका अनुसार पुस २६ मा महाधिवेशन हुन सक्ने वातावरण नबनेकाले वैशाखमा महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका पारित गरेको छ।
संशोधित कार्यातालिकाप्रति फरक मत राख्दै महामन्त्री थापाले विधानको व्यवस्था कार्यान्वयनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका थिए। सभापति देउवासहितको संस्थापन पक्ष विशेष महाधिवेशनका लागि तयार नभएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका हुन्। सोहीअनुसार विशेष महाधिवेशन सुरु भएको हो।
विशेष महाधिवेशन उद्घाटन सत्रमा धेरैजसो वक्ताले पार्टीलाई टुटफुटभन्दा अझ बलियो तथा एकताबद्ध बनाएर लैजाने बताएका छन्। उद्घाटन सत्रमा सभापतिसहितको संस्थापन पक्षको उपस्थिति नभएपछि सहभागीहरूमा कांग्रेस विभाजित हुने त होइन भन्ने संशय देखिन्थ्यो। पार्टी महामन्त्रीद्वय थापा र शर्मालाई सुन्न कांग्रेसका नेता तथा कार्यकर्ता साँझ अबेरसम्म बसेका थिए।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता र शक्तिका लागि नभएर नागरिकलाई बुझ्न र विधानलाई पालना गर्न विशेष महाधिवेशन गर्नुपरेको बताए।
विशेष महाधिवेशन पक्षधरले निम्ता गरेर आफू आएको आएको बताएका थापाले सोमबार बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्र सभापतिसहितका नेताहरू उपस्थित हुने विश्वास व्यक्त गरे। विशेष महाधिवेशन कहाँ पुगेर सकिन्छ भन्ने आफूलाई पनि थाहा नभएको धारणा राख्दै उनले भने, ‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ। नेताहरू आउने नआउने उहाँहरूको मर्जी। निर्णय गर्ने तपाईहरूको मर्जी। तपाईंहरूले नै निर्णय गर्ने हो।’
महाधिवेशनभन्दा ठुलो केही नभएको जिकिर गर्दै महामन्त्री थापाले हलले कांग्रेसको विधान, नीति र नेतृत्व चयन गर्नसक्ने बताए। ‘महाधिवेशनले चाह्यो भने नेता पनि छान्छ, नेतृत्व पनि बदल्छ, विधान पनि बदल्छ। त्यो अधिकार राख्नेको भेला हो यो,’ थापाले भने, ‘नेपाली कांग्रेसलाई ठिक ठाउँमा उभ्याउनका लागि।’
विष पिएर भए पनि पार्टी विभाजन हुन नदिने बताउँदै आएका महामन्त्री थापाले उद्घाटन सभामा आफूहरूको चिन्ता नलिन पनि सहभागीहरूलाई आह्वान गरे। ‘हाम्रा सन्दर्भमा चिन्ता नलिनुस्, कहिलेकाहीं युद्ध हार्न पनि तयार हुनुपर्छ, हामी तयार छौं,’ उनले भने, ‘कहिलेकाहीं ज्वाला जागृत गर्नका निम्ति आफू डढ्न पनि तयार हुनुपर्छ।’
कांग्रेस दास र लासको पार्टी नभएको बताउँदै थापाले भने, ‘हामी सबै बराबर छौं।’ कांग्रेसमा कसैले नबोल भनेर नबोल्ने कोही बाहरू नभएको तर्क गर्दै थापाले भने, ‘कांग्रेसमा अझै प्रश्न मरेको छैन। अरु अझ धेरै प्रश्न जागृत भएका छन्।’
कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै महामन्त्री थापाले चुनाव भन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताए। फागुन २१ गतेको चुनाव हारे अर्को चुनाव आउने धारणा राख्दै उनले भने, ‘चुनाव आउँछ जान्छ, जितिन्छ, हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्नेछ। त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्नेछ।’
कांग्रेसलाई राष्ट्रिय जिम्मेवारी बहन गर्ने पार्टी बनाउनुपर्ने उनले बताए। यसको स्थापना गर्दाका नेताहरूले मन्त्री र प्रधानमन्त्री बन्न कांग्रेस नबनाएको उल्लेख गरे। ‘यो देशलाई अँध्यारोबाट उज्यालोतिर लैजाने चाहनाले यो पार्टी बनेको हो’, थापाले भने, ‘कांग्रेस चुनावका लागि बनेको होइन, चुनावबाट बनेको पनि होइन।’
राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिमा फरक रहेको जनाउँदै उनले भने, ‘राष्ट्रिय पार्टी चुनावबाट बहुमत ल्याएर बन्छ तर राष्ट्रिय शक्ति भने जिम्मेवारीले बन्छ।’
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाको मात्र होइन, देशभरका लाखौं लाख नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको बताएका थापाले पार्टी नेतृत्वले त्यसलाई आत्मसात् गर्न नसकेको औंल्याए।
राजाको छोरा राजा हुने राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीहरूको राज देखेर नागरिक असन्तुष्ट रहेको उनले बताए। आमनागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको धारणा उनले राखे। त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेको बताउँदै उनले भने, ‘युवा हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्।’
अर्का महामन्त्री शर्माले विशेष महाधिवेशनले कांग्रेस नफुट्ने प्रतिबद्धता जनाए। विशेष महाधिवेशनमा सहभागी हुन देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिका साथै नेता र कार्यकर्ता भिड मात्र नभएको उनले बताए। उनले भने, ‘हामी सिंगो कांग्रेसको नेतृत्व गर्छौं।’
आवेगमा होइन, कांग्रेस बदल्ने निर्णय हलले गर्ने पनि शर्माले बताए। ‘हलले आवेगमा होइन, विवेकले निर्णय लिनेछ,’ शर्माले भने, ‘नयाँ संकल्प, आशा र विश्वाससहित वर्तमानको चुनौती सामना गर्न सक्ने नवीन कांग्रेस बनाउनेछौं।’
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते युवाको मृत्यु हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै उनले प्रश्न गरे, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबहिनी हुन्। २३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पथ्र्यो होला र ?’
त्यसो भएको भए नवयुवाको ज्यान नजाने र राष्ट्रिय तथा व्यक्तिका सम्पत्ति ध्वंश नहुने तर्क उनले गरे। नवयुवाले सुशासन र विकास खोजेको धारणा राख्दै शर्माले भने, ‘हामीले त्यसैका लागि संकल्प गरेका हौं। हामी तपाईंले मागेको सुशासनलाई पनि सम्बोधन गर्ने ल्याकत राख्छौं अबका दिनमा। अनि हामी जमेर बसेको पोखरी जस्तो भएर बसेको नेतृत्वलाई पनि बगेर जानुपर्छ भनेर सन्देश दिने ल्याकत पनि राख्छौं।’
कांग्रेसले अब आफूलाई पनि बदल्ने र देशलाई पनि बदल्ने धारणा राख्दै उनले भने, ‘सद्भाव, समुन्नति र सुशासनको संकल्पसहित हामी अघि बढ्ने छौं। अघि बढ्नु पर्छ।’
देशभरिका पार्टीका नेता तथा कार्यकर्ताको मात्र होइन, आमनागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, गल्ती नदोहोर्याउने संकल्प पनि गर्ने उनले बताए। ‘विशेष महाधिवेशनलाई केवल संगठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्नेछौं,’ उनले भने।
कार्यक्रममा पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसमा अब इतिहासको ब्याज खाएर बस्न पाउने अवस्था नहेको बताए। पार्टी सभापतिसहितका नेताहरू अहिले पनि आफ्नो हठमा रहेको आरोप लगाउँदै श्रेष्ठले भने, ‘पुराना साथीहरूको उपस्थिति देख्दा खुशी लागेको छ। यहाँ कसैले हठ गरिराख्न हुँदैन।’
कांग्रेस नेता महेश आचार्यले लोकतान्त्रिक पार्टी विधि र विधानअनुसार चल्नुपर्ने बताए। विधानको जायज कुरा पालना गर्न महामन्त्रीद्वय थापा र शर्मासहितका नेताहरूले खेलेको भूमिका सराहनीय भएको पनि उनले जनाए। महाधिवेशन प्रतिनिधिको बहुमतलाई कसैले पनि लत्याउन नसक्ने र त्यस्तो चेस्टा नगर्न आग्रह गर्दै आचार्यले भने, ‘भोलिदेखि कुनै पनि अभिमानी पार्टीको पदाधिकारीले बहुमत प्रतिनिधि साथीहरूको भावना, महाधिवेशन प्रतिनिधिको बहुमत लत्याउने चेस्टा गर्ने छैन। विधिको स्थापना हुनेछ।’
पार्टी सभापति देउवालाई महाधिवेशन प्रतिनिधिहरूको भवानाको सम्मान गर्न पनि उनले आग्रह गरे। मेची, महाकालीका प्रतिनिधि नदी जस्तो प्रवाहित भएको जनाउँदै उनले थपे, ‘पुल भएर यही ठाउँमा उभिनुहोस्, साथीहरू एकतातिर पुल अर्कोतिर हुन सक्दैन।’
अर्का नेता अर्जुननरसिंह केसीले पार्टीलाई परिक्रमावादीबाट पराक्रमवादीहरूको बनाउनुपर्ने बताए। केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको लोकतन्त्र जोगाउन, अतिवाद समाप्त पार्न र भूराजनीतिक सन्तुलन कायम गर्न कांग्रेसलाई बलियो बनाउनुपर्ने धारणा राखे। पार्टी विधि, विधानसहित रुपान्तरण आवश्यक रहेको औंल्याउँदै उनले महाधिवेशन प्रतिनिधिहरूले त्यसैका लागि विशेष महाधिवेशन माग गरेको बताए।
केन्द्रीय सदस्य पुष्पा भुसालले कुनै गुटको आधारमा नभई विधानको आधारमा पार्टी चल्नुपर्ने बताइन्। पार्टीभित्र अवसरका लागि कुनै नेताको वरिपरि घुम्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै भुसालले भनिनन्, ‘कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ। हामी गुट चिन्दैनौं। कृपा मान्दैनौं।’
पार्टीका ३० केन्द्रीय सदस्यहरूका तर्फबाट धारणा राखेकी भुसालले भनिन्, ‘हाम्रो विधानको धारा १७ को २ लाई प्रतिबद्धता जनाउन, कोही नेता विधानभन्दा बाहिर जान सक्दैन भन्नका लागि यहाँ उपस्थित भएका छौं।’
केन्द्रीय सदस्य प्रकाश रसाइलीले पार्टीलाई परिवारवादबाट बाहिर निकाल्नु पर्ने बताए। अहिले पार्टी परिवारवादबाट चलिरेको जनाउँदै त्यसबाट कांग्रेसलाई रुपान्तरण गर्न विशेष महाधिवेशन बोलाएको उनले प्रस्ट पारे। विशेष महाधिवेशनबाट कांग्रेसलाई रुपान्तरण गरी फागुन २१ गते हुने आमनिर्वाचनमा दुई तिहाइ मत ल्याउनसक्ने पार्टी बनाउनुपर्ने उनको भनाइ थियो। ‘दुई तिहाइ बहुमत ल्याउने हो भने अब कांग्रेसलाई सालासाली, दाइभाइ, हुक्के, बैठके, ढोकेबाट मुक्त राख्नुपर्छ,’ उनले भने, ‘कांग्रेसको बहुमत आउँछ। अब नेपाली कांग्रेसका कार्यकर्ताले घन्टीमा, डण्डी, लौरो, सूर्य, हँसिया हथौडामा भोट हाल्दैनन्।’
नेता चन्द्र भण्डारीले पार्टी सभापति देउवालाई विशेष महाधिवेशनस्थलमा आएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे।
नेताहरूले सोमबार बिहान ८ बजे सुरु हुने बन्दसत्रमा नीति मात्र होइन, नेतृत्व चयन प्रक्रियामा पनि छलफल हुने दाबी गरेका छन्। बहुमत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको जनाउँदै आयोजक पक्षले अब नेतृत्व परिवर्तन गरेर जाने दाबी गरेका छन्।
संस्थापन पक्षका नेताले भने पार्टीलाई विभाजित हुन नदिने भन्दै अन्तिमसम्म मिलाएर जाने प्रयासमा आफूहरू रहेको दाबी गर्दै आएका छन्। कार्यवाहक सभापति खड्का निकट सदस्य रामहरि खतिवडाले भने, ‘पार्टीलाई विभाजित हुन नदिन हाम्रो प्रयास अन्तिमसम्म रहन्छ।’
महामन्त्री थापाको उद्घाटन सत्रको सम्बोधन पार्टीलाई विभाजनतर्फ उन्मुख रहेको बताउँदै उनले भने, ‘हामी विभाजन होइन, एकताबद्ध कांग्रेसको पक्षमा छौं।’
महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा संकल्प सम्मेलनमा रुपान्तरण गर्न तयार भए त्यो सहमति र मिलनको एउटा बिन्दु हुनसक्ने संस्थापन पक्षको बुझाइ छ।
प्रकाशित: २८ पुस २०८२ ०६:१५ सोमबार
